वर्ष : ४, दुर्घटना : १६३ मृत्यु : २३४
अघिल्लो वर्ष माघको एक साता धादिङ, चरौदीका बासिन्दा अत्यन्त सक्रिय भए । हरेक दिन माइकमा वेदका ऋचापाठ र पूर्णाहुति गरेको देखियो ।
र
विडम्बना के भने सप्ताहको शक्तिले न कुनै चमत्कार गर्यो, न त दुर्घटनाको संख्यामै कमी आयो । बरू हरेक दिनजसो दुर्घटना र मृत्युका समाचार राजमार्ग वरपरका बासिन्दाका निम्ति नियमित आकस्मिकताकै रूपमा छ । मुलुकका ५८ जिल्ला जोडिने सरदर रूपमा दैनिक नौ हजार गाडी गुड्ने बाटो मात्रै पृथ्वी राजमार्गको परिचय होइन, दुर्घटना र मृत्युका शृंखलाले यसलाई 'मृत्युमार्ग'जस्तै बनाइदिएको छ । किनभने, सडक दुर्घटनामा, केही यात्रुको ज्यान जाँदा र केही घाइते हुँदा कसैलाई नौलो खबरजस्तो लाग्दैन । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चार वर्षमा भएका १ सय ६३ दुर्घटनामा २ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।
गुडेको कि उडेको ?
२१ मंसिरमा पृथ्वी राजमार्गमा राडार गन -गाडीको गति नाप्ने यन्त्र) लिएर बसेको ट्राफिक टोलीले दुई घन्टाको अवधिमा तोकिएभन्दा तीव्र गतिमा गुडिरहेका १८ वटा गाडीका चालकमाथि कारबाही गर्यो । ट्राफिक प्रहरीका अनुसार राजमार्गको धादिङ जिल्लामा पर्ने ८३ किमिको सडक खण्डमा औसत सवारीको गति ६० किलोमिटर प्रतिघन्टा मात्रै हो । जबकि, यो सडक खण्डमा सामान्यत: ७० देखि ८० किलोमिटरको गतिमा सार्वजनिक सवारी हाँक्ने चलनै छ ।
ट्राफिक प्रहरीले २१, २२ र २३ मंसिरमा राडार गन प्रयोग गरेर ६८ वटा सवारीलाई तीव्र गतिमा हाँकेको भन्दै कारबाही गर्यो । गजुरीका प्रमोद शर्मा टिप्पणी गर्छन्, "सवारीको गति ध्यान दिएर हेर्दा गाडी गुडेको होइन कि उडेको जस्तो लाग्छ । जुनसुकै मोडमा जुनसुकै गाडी घोप्टिन सक्छ ।"
यसरी तीव्र गतिमा सवारी हाँक्नेमध्ये अधिकांश यात्रुवाहक नै हुन्छन् । जस्तो कि, २३ मंसिरमा ट्राफिक प्रहरीले एकाध घन्टाको चेकजाँचमा तीव्र गतिमा सवारी हाँक्ने २३ सवारीलाई जरिवाना गरायो । तीमध्ये सबैभन्दा धेरै माइक्रोबस थिए ।
आर्थिक वर्ष ०७०/७१ मा मात्रै यो सडक खण्डको ८३ किलोमिटरमा ६१ जनाको मृत्यु सवारी दुर्घटनाकै कारण भयो । अर्थात्, औसत हिसाब निकाल्ने हो भने प्रत्येक साता प्रत्येक डेढ किलोमिटरमा एक जनाभन्दा धेरैको ज्यान गइरहेको छ ।
२२ मंसिरमा नेपाल प्रतिनिधि पुग्दा धादिङका प्रहरी नायब उपरीक्षक -डीएसपी) प्रकाश मल्लको वाकीटकी बजिरहेको थियो । पछिल्लो खबर थियो, काठमाडौँबाट पोखराका लागि छुटेको माइक्रोबस बिहान साढे ८ बजे बेनीघाटस्थित गोमती खोलामा खस्दा १० जना घाइते भए । तीमध्ये चार जनालाई उपचारका लागि काठमाडौँ पुर्याउनुपर्यो । धुनीबेसी उच्च मावि, नौबिसेका अध्यक्ष केदार पाठक भन्छन्, "दुई-चार घन्टाको जाम र दुई-चार दुर्घटना नियमित कुरा भइसक्यो ।"
डीएसपी मल्लका निम्ति उक्त दिनको दुर्घटनाको त्यो पहिलो समाचार थिएन । भन्दै थिए, "यो आजको तेस्रो खबर हो र यही अन्तिम पनि होइन । कतिखेर के हुने हो, कहाँ कति मर्ने हुन्, कुनै टुंगो छैन ।"
रामभरोसे राजमार्ग
भूमेस्थान गाविसको चालिसेमा पाँच वर्षदेखि होटल गरेर बसेका अर्जुन श्रेष्ठले आफ्नै आँखाले होटलअघिको घुमाउरो र साँघुरो बाटोमा दुर्घटनाका अने कन् दृश्य देखिसकेका छन् । उनको होटलअघिको यो खण्डमा प्रत्येक साता सानो होस् वा ठूलो, एउटा दुर्घटना हुने भएकाले सडक विभागले दुर्घटनाग्रस्त क्षेत्र लेखिएको साइनबोर्ड राखिदिएको छ । तैपनि, दुर्घटनामा कत्ति कमी आएको छैन । भन्छन्, "पाँच वर्षमा झन्डै आधा दर्जन बीभत्स दुर्घटना देखेको छु । दुर्घटनाको पहिलो र प्रमुख कारण भनेकै तीव्र गति र क्षमताभन्दा धेरै भार नै हो ।"
ज्ाोगीमारा प्रहरी चौकीका असई बालकृष्ण भट्टराईको कार्यक्षेत्रमा पर्ने जोगीमारा-९ स्थित हुग्दी खोलामा पछिल्ला तीन महिनामा मात्रै तीनवटा ट्रक खस्दा ६ जनाको मृत्यु भयो । राजमार्गको आठ किलोमिटरमा मात्रै मंसिर महिनामा पाँच ठूला दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । भट्टराई भन्छन्, "सडक मार्ग मृत्यु मार्गजस्तो भइसक्यो । गति मात्रै कम गर्ने हो भने आधा दुर्घटना कम हुन्छन् ।"
जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङले सवारीहरूबाट असुलेको जरिवाना शुल्कको परिणामले नै देखाउँछ, सवारीको लापरबाही । जस्तो कि, गत कात्तिक महिनाभरि २४ लाख ७८ हजार २ सय रुपियाँ जरिवानाबाट उठ्यो । सबैभन्दा धेरै जरिवाना क्षमताभन्दा धेरै वजन बोक्ने सवारीबाट भएको दे खिन्छ । डीएसपी मल्ल भन्छन्, "राजमार्गको यात्रा अझै रामभरोसे छ ।"
छैन उद्धार संयन्त्र औसतमा दैनिक तीन दुर्घटना हुने पृथ्वी राजमार्गको यस खण्डमा दुर्घटना भइहालेमा तत्काल उद्धारको कुनै संयन्त्र छैन । न तत्काल प्रहरीको उपस्थिति सम्भव छ, न त तिनीहरूको उपस्थितिले च्यापिएका, डुब्नै आँटेका र उद्धारको आश गरेका यात्रुको ज्यान जोगाउन सकिने सम्भावना नै छ । यति लामो सडक खण्डमा दुई ठाउँमा मात्रै ट्राफिक प्रहरीका पोस्ट छन् । तर, प्रहरीसँग कुनै आधुनिक उद्धार संयन्त्र छैन । प्रहरी उपरीक्षक मल्ल स्वीर्काछन्, "उद्धार सामग्रीको कुनै बन्दोबस्त छैन ।"
बढ्दो दुर्घटना र तत्काल उद्धारको अभावमा यात्रुले ज्यान गुमाइरहेको देखेर गजुरीका बासिन्दाले सडक सुरक्षा समिति नै स्थापना गरेका छन् । तर, उनीहरूको पनि समस्या उही छ, आवश्यक उपकरण नहुनु । समितिका अगुवा दिवससागर श्रेष्ठ भन्छन्, "उद्धार उपकरणका नाममा हामीसँग खासै केही छैन । केही थान पुराना स्ट्रेचर र केही लाइफ ज्याकेट मात्रै हो ।"
१६ मंसिरमा हुग्दी खोलामा खसेको ट्रकका दुई यात्रु धेरै बेरसम्म 'बचाऊ बचाऊ' भनेर कराइरहेका थिए । तीव्र गतिमा फलाम काट्ने गतिलो उपकरण मात्रै भएको भए पनि बचाउन सकिन्थ्यो भन्ने श्रेष्ठलाई लाग्छ । तीन महिनाअघि चामेवासमा बस र माइक्रोबस जुधेर भएको दुर्घटनामा च्यापिएका तीन यात्रुको उद्धार गर्न प्रहरी, उद्धारक र स्थानीयलाई तीन घन्टा लाग्यो । श्रेष्ठ भन्छन्, "फलाम काट्ने ह्याक्सो हातैले चलाएर तिनलाई निकाल्नु सास्ती नै हो ।"
बारम्बार दुर्घटना भइरहने राजमार्गको यस खण्डमा न प्रहरी, न सडक विभाग, न त अन्य उद्धारमा संलग्न संघसंस्थासँगै आवश्यक उपकरण छ । सडक विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय साइट क्याम्प धादिङका इन्जिनियर मधुसूदन साखी नै दुर्घटना भएका गाडी हटाउने वा तिनलाई खो लाबाट झिक्ने उपकरण नभएको बताउँछन् । फिस्लिङ, गजुरी र नौबिसेमा तीन लोडर -पहिरो सफा गर्ने) भए पनि अहिले एउटा मात्रै छ । इन्जिनियर साखी भन्छन्, "दुर्घटना भएपछि घन्टौँको जाम सामान्य भइसक्यो । यति लामो दूरीमा कम्तीमा एउटा शक्तिशाली मोबाइल क्रेनको खाँचो छ ।" जस्तो कि, १५ असोजमा सिम्लेमा एकआपसमा बस ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु हुँदा पनि त्यसलाई हटाउन प्रहरीलाई चार घन्टा लाग्यो । यसको असर सडकमा झन्डै १० घन्टासम्म जाम भयो ।
समयमै घटनास्थल पुगे पनि ट्राफिक प्रहरी मान्छेको भीड हटाउनेबाहेक अरू केही गर्न सक्दैन । आवश्यक उपकरणको अभावमा मूकदर्शक बन्नुको विकल्प छैन । यति लामो दूरीमा पर्याप्त ट्राफिक जनशक्ति नहुनु पनि दुर्घटनाको एउटा कारण हो । २४सै घन्टा सवारी चल्ने ८३ किमि राजमार्गमा जम्मा २८ जना मात्रै ट्राफिक छन् र दुईवटा मात्रै स्थायी पोस्ट । धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे भन्छन्, "कम्तीमा पनि आठवटा पोस्ट नभई राम्ररी निरीक्षण गर्न सकिँदैन । ट्राफिकको संख्या त दुई सय प्रतिशत बढाउन जरुरी छ ।"
धादिङ सडक खण्डमा दुर्घटना भइहाले तत्काल उपचारका निम्ति एउटै सुविधाजनक अस्पताल छैन । भएका तीन साना अस्पतालले दुर्घटनाका गम्भीर घाइतेलाई बचाउन सक्दैनन् । दुर्घटनामा मर्नेकै हाराहारीमा दुर्घटनापछि उपचार नपाएर मर्नेको संख्या छ । दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाउनु पहिलो र अन्तिम विकल्प हो । तर, लामो जामका कारण भनेकै समयमा घाइतेलाई काठमाडौँ पुर्याउन कठिन छ । समितिका अगुवा श्रेष्ठ भन्छन्, "उपचार गर्न काठमाडौँ लैजानुपर्ने हुन्छ तर बाटो घन्टौँसम्म जाम हुन्छ र घाइते बीचमै मर्छन् ।" धादिङका प्रमुख जिल्ला अधिकारी पनि दुर्घटनाको व्यवस्थापन गर्नु र घाइतेको उपचार गर्नुलाई चुनौतीपूर्ण ठान्छन् ।
झस्काउने दुर्घटना
२६ वर्षपहिले सदरमुकाम धादिङबेसीका सीतारामप्रसाद बर्मा (कट्टेल) वन विभागका लेखापाल थिए । काठमाडौँबाट पूर्व जाँदै गरेको बस २९ यात्रुसहित त्रिशूलीमा बेपत्ता भएपछि खोजबिन कमिटीको हिसाबकिताब गर्न अञ्चलाधीश कार्यालयबाट खटिएर उनी घटनास्थल पुगेका थिए । बंगलादेशबाट चार गोताखोर ल्याएपछि माछाले खाइसकेको अवस्थामा महिनौँपछि कंकाल फेला परेका थिए । पूर्वपत्रकारसमेत रहेका बर्माका अनुसार त्यति बेला झन्डै ६० लाख रुपियाँ शव खोज्नमा मात्रै खर्च भएको थियो । बर्मा भन्छन्, "त्यति ठूलो जनधनको क्षतिपछि पनि कसैले पाठ सिकेन । दुर्घटना दोहोरिरहने नियति बन्यो ।"
२३ फागुन ०६२ मा जोगीमाराको ज्यामिरे घाटमा भएको बस दुर्घटना यो सडक खण्डमा भएको सम्भवत: सबैभन्दा ठूलो सडक दुर्घटना हो । साँझ ६ बजे भएको बस दुर्घटनामा ५२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । आवश्यक उपकरणको अभावमा त्यतिबेला पनि हराइरहेका ३८ शव निकाल्न चार दिन लागेको थियो । दुर्घटनाको विषयमा कैयौँ समाचार लेखेका स्थानीय पत्रकार शिव सिलवाल दुर्घटना टार्नै नसकिने नियतिजस्तो बनेको बताउँछन् । भन्छन्, "मान्छेको मृत्युको संख्या गन्दागन्दै हामी त थाकिसक्यौँ ।"
सडक उस्तै, सवारी तेब्बर
०५५/५६ सालमा बि्रटिस सरकारको सहयोगमा पृथ्वी राजमार्गको धादिङ सडक खण्ड पुन: निमर्ाण गर्दा दैनिक दुईदेखि तीन हजार गाडीका लागि इस्टिमेट तयार पारिएको थियो । औसतमा साढे ६ मिटरको चौडाइ भएको सडकको अवस्था अहिलेसम्म उत्रै छ । तर, गाडीको संख्या तेब्बर भइसक्यो । क्षेत्रीय सडक निर्देशनालय साइट क्याम्प धादिङका इन्जिनियर मधुसूदन साखी भन्छन्, "अब सडकको चौडाइ नबढाई सुख छैन ।"
साखीका बुझाइमा दुर्घटनाका अन्य कैयौँ कारणमध्ये साँघुरो बाटो र अत्यधिक सडक चाप पनि हो । सवारी साधनको संख्या अनुसार यो सडक चार ले नको हुनुपर्ने हो । स्थानीय पत्रकार शिव सिलवाल १० टन क्षमताको गाडीले ३० टनसम्म सामान बोक्नु र तिनीहरूको सुस्त गतिका कारण पनि दुर्घटना हुने गरेको बताउँछन् । भन्छन्, "सडकले न सवारीको धेरै संख्या थेग्छ, न त क्षमताभन्दा धेरै भारका सवारी नै ।"
राजमार्गमा जे देखियो
तीव्र गतिमा हुँइकेका सवारी जहाँ पायो त्यहीँ रोक्ने, यात्रु ओराल्ने र चढाउने, ट्राफिकको अत्यन्तै पातलो उपस्थिति पृथ्वी राजमार्गमा जति बेला पनि दे ख्न पाइने दृश्य हुन् । राजमार्गका निम्ति न आवश्यक पूर्वाधार पृथ्वी राजमार्गमा छ, न त राजमार्गको नियम पालना गरेर सवारी हाँक्ने चालक नै । घुमाउरो सडकमा जहाँ पायो त्यहीँ ओभरटेक गर्नु, निश्चित सीमितता तोकिएको स्थानमा त्यसको उल्लंघन भइरहेका छन् ।
दोष चालकको मात्रै छैन । राजमार्गका निम्ति आवश्यक ट्राफिक पूर्वाधारको व्यवस्था यहाँ कतै छैन । कतिसम्म भने ८३ किमि राजमार्गमा कहीँकतै पनि सडक बत्तीको व्यवस्था छैन । जबकि, दैनिक झन्डै तीन हजारभन्दा धेरै गाडी रातीको समयमा कुद्छन् । पर्याप्त ट्राफिक चिह्न, गति सीमित गर्नका निम्ति आवश्यक संकेत, सडकछेउमा बारको अभाव राजमार्गमा हुने दुर्घटनाका थप कारण हुन् ।
राजमार्ग कतिसम्म अस्तव्यस्त छ भने छेउमा पर्ने अधिकांश बजार र गाउँ क्षेत्रमा समेत पैदल यात्री हिँड्ने फुटपाथको व्यवस्था छैन । कतिपय ठाउँमा त सडक लेनसमेत छुट्याइएको छैन । जस्तो कि, फेदीखोलादेखि नौबिसेको उकालो सुरु हुन्जेल कतै सडक लेनको संकेत चिह्नसमेत देख्न पाइँदैन । कतिपय ठाउँमा संकेत चिह्नका बोर्ड त छन् तर त्यहाँ संकेत चिह्न खुइलिसकेको छ । माझखोलादेखि नौबिसेको उकालोसम्म झन्डै ४० किलोमिटरमा कतै सडक लेन छुट्याइएको छैन । नौबिसेका केदार पाठक भन्छन्, "जेब्रा क्रसिङ र ट्राफिक चिह्न यहाँका मान्छेलाई कुन चराको नाम हो भन्याजस्तो छ ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...