रगतमा कालो धन्दा
'स्वास्थ्य र सामाजिक रूपमा प्रतिबद्ध व्यक्तिहरूद्वारा स्वैच्छिक रूपमा रक्तदान गरी प्राप्त भएको रगतलाई राष्ट्रिय स्रोतको रूपमा लिई रगत र रक्त तत्त्वहरू व्यापारिक दृष्टिकोणबाट नाफा कमाउने उद्देश्यले गरिने प्रयोगलाई बन्देज लगाइएको छ ।'

(राष्ट्रिय रक्त सञ्चार नीति, २०७१)
——————-
'रगतदान जीवनदान' भन्ने मूल नारा तय गरेर सेवाग्राहीलाई निःशुल्क रगत उपलब्ध गराउने सरकारी नीति भए पनि पछिल्लो समय यसको कारोबारमा बेथिति बढेको उल्लिखित अंशले नै प्रस्ट्याउँछ ।
राजधानीमा केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र तथा विराटनगर, चितवन, पोखरा र नेपालगन्जमा गरी चारवटा रक्त सञ्चार केन्द्र सञ्चालनमा छन् । यस्तै २१ जिल्ला, ३० अस्पताल र ३१ वटा आकस्मिक गरी ८७ वटा रक्त सञ्चार केन्द्रका शाखा छन् । यी सबैको सञ्चालन र व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गरिरहेको छ । केन्द्रीय रक्त सञ्चार केन्द्रमा मात्रै २ हजार ५ सय पिन्ट रगत भण्डारण क्षमता छ ।
यसबाहेक १ सय ४० पटक रक्तदान गरिसकेका प्रेमसागर कर्माचार्यको अगुवाइमा स्वयंसेवी रक्तदाता समाजसमेत सक्रिय छ । त्यसले पनि समयमै निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले जिल्लादेखि गाउँसम्म शाखा विस्तार गर्दै छ । तर, रक्त सञ्चार केन्द्र हरूमा राष्ट्रिय समन्वयको अभाव, वितरणमा असमानता, दक्ष जनशक्तिको न्यूनतालगायतका कारण पछिल्लो समय निःशुल्क पाइने रगतमा तस्करी बढिरहेको छ ।
सरकार र रक्त सञ्चार केन्द्रका हर्ताकर्ताले रगत के हो ? स्वयंसेवी दाता के हुन् र पीडित पक्ष कति पीडामा हुन्छ भन्ने बुझ्न/बुझाउन नसकेकाले पटक-पटक रगत अभाव देखाएर तस्करी हुने गरेको स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कर्माचार्य बताउँछन् । "अन्यत्र त माफियाको चलखेल थियो नै, दाताको शरीरबाट निःशुल्क निकालेको रगतमा समेत आर्थिक स्वार्थ हावी भएपछि यसभन्दा ठूलो कालोबजारी के हुन सक्छ ?" कर्माचार्यको गुनासो छ, "सरकार र ब्लड बैंकको नियन्त्रण, निगरानी र हस्तक्षेपको अभावमा रगतमा कालो धन्दा फस्टाएको हो ।"
जानकारहरूका भनाइमा रगतको तस्करी हुने माध्यम एउटा मात्र छैन । सरकारी हुन् वा निजी अस्पताल, त्यहाँ कार्यरत चिकित्सकले आवश्यकताभन्दा बढी रगत माग गर्छन् । माग अनुसार लगेको रगत उपयोगमा नआएपछि समयमै फिर्ता गरिन्न । बरू त्यही रगत अर्को अस्पतालमा बिक्री गरिन्छ ।
प्रसूति, मुटु एवं रक्त रोगीका लागि सबैभन्दा बढी रगतको माग हुन्छ । यसमध्ये थापाथलीस्थित प्रसूति गृह, नर्भिक अस्पताल, बाँसबारीस्थित गंगालाल हृदय केन्द्र, धापासीस्थित ग्रान्डीलगायत सरकारी तथा निजी अस्पताल तथा नर्सिङ होमबाट बढी दुरुपयोग एवं अवैध कारोबार भइरहेको जानकारहरू सुनाउँछन् । थापाथलीस्थित प्रसूति गृहको एउटा उदाहरण हेरौँ । गर्भवतीलाई सामान्य शल्यक्रियाका लागि लगिँदासमेत प्रतिपोका ६ सय रुपियाँ धरौटी लिएर न्यूनतम दुई पिन्टसम्म रगत जम्मा गर्न लगाइन्छ । त्यसमध्ये पाँच प्रतिशतलाई पनि रगत चढाउनु पर्दैन । तर, प्रयोग भए/नभएको सोधीखोजी गर्ने दुई-चार प्रतिशतले मात्र धरौटी वा रगत फिर्ता पाउँछन् । किनभने, बिरामीका आफन्तलाई रगत चढाइयो होला भन्ने विश्वास हुन्छ । खुसी/तनावमा रहेका उनीहरूलाई सोधीखोजी गर्ने समय पनि हुँदैन । अस्पताल प्रशासनले यही मौका छोपेर रगत फिर्ता दिँदैन ।
प्रसूति गृहमै कार्यरत एक चिकित्सकको भनाइमा धरौटीमा राखिएको एउटै रगत आलोपालो गरेर आठ/दस जनासम्म गर्भवतीका लागि 'स्ट्यान्ड बाई' राखिन्छ । तर, धरौटी भने प्रत्येकबाट लिइन्छ । त्यसपछि कि त्यो रगतलाई फालिन्छ कि अर्को अस्पताल पठाइन्छ । बाँसबारीस्थित गंगालाल हृदय केन्द्र अस्पतालमा केही समयअघि एक कर्मचारीको मिलेमतोमा दाताले निःशुल्क दिएको रगतलाई पाँच हजार रुपियाँमा बेचेको समेत पाइएको रक्तदाता समाजका कर्माचार्यको कथन छ ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा भने वाषिर्क करिब दुई लाख दाताबाट रगत संकलन गरेर झन्डै तीन लाखलाई सेवा दिइरहेको दाबी गर्छन् । "देखिने गरी रगतमा अवैध कारोबार छैन । तर, छँदै छैन भनेर नकार्न सकिने अवस्थाचाहिँ छैन," धाख्वाको भनाइ छ, "गुनासा आइरहेका छन् । सकेसम्म निगरानी गरिरहेका छौँ ।" रक्त सञ्चार केन्द्र रगत उपलब्ध गराउन तयार रहँदारहँदै पनि गंगालाललगायत केही अस्पतालले ताजा रगत चाहिन्छ भनेर रक्तदातालाई तयारी अवस्थामा राख्ने गरेको धाख्वा सुनाउँछन् ।
अस्पतालहरूको मनखुसी कतिसम्म छ भने धापासीस्थित ग्रान्डी अस्पतालले केन्द्रीय रक्त सञ्चार केन्द्र, प्रदर्शनीमार्गबाट प्रतिपिन्ट ५ सय २५ रुपियाँमा रगत लैजान्छ । तर, त्यही रगतलाई उसले परीक्षणका नाममा १ हजार ४ सय ५० रुपियाँमा बिरामीलाई बेच्छ ।
गंगालालको अर्को घटना नियालौँ । २३ पुसको बिहान दाङकी सिर्जना चौधरी, १८, लाई तीन पिन्ट प|mेस, दुईवटा एफएफपीलगायत रगत चाहियो । उनका आफन्तले कर्माचार्यलाई गुहारे । बिहानै अस्पताल पुगेर उनले दाताहरूको खोजीनिती गर्दा बानेश्वरका सुदशर् न रेग्मी, सीतापाइलाका बैकुण्ठ ढुंगाना र मच्छेगाउँकी दीपा शर्मा राजी भए । आफ्नै खर्चमा गंगालाल अस्पताल पुगेर दाताहरूले रगत पनि दिए । तर, रगत परीक्षणका निम्ति अस्पतालले प्रतिव्यक्ति २ हजार ३ सय २५ रुपियाँ शुल्क लियो । यसर्थ, चौधरीले तीन पिन्ट ताजा रगत दातामार्फत पाए पनि परीक्षणका लागि ६ हजार ९ सय ७५ रुपियाँ लाग्यो ।
यसबाहेक एफएफपी र आरसीसीको पाँच पिन्ट रगतचाहिँ रक्त सञ्चार केन्द्रबाट लगेको हुनाले एउटा 'ट्रान्सफ्युजन' सेटसहित ५ सय २५ र थप चारवटाको ४ सय ९५ गरी २ हजार ५ सय ५ रुपियाँ खर्च भयो । दाताले दिएको रगत एचआईभी, हेपाटाइटिस बी र सी तथा यूडीआरएल गरी चारवटा परीक्षण नगरी प्रयोग गर्न पाइन्न । जबकि, रक्त सञ्चार केन्द्रले परीक्षण गरिदिएर गंगालालले त्यसलाई स्वीकार गरेको भए चौधरीले त्यति महँगोमा रगत लिनुपर्ने थिएन ।
केेन्द्रीय रक्त सञ्चार केन्द्रले यसअघि एक पिन्ट रगतलाई ८ सय ४० रुपियाँमा दिने गरेको थियो । मूल्य बढी भएको भन्दै दाताहरूले खबरदारी गरेपछि घटाएर ५ सय २५ रुपियाँमा झारेको हो । समाजका अध्यक्ष कर्माचार्य ५ सय २५ रुपियाँमा पनि केन्द्रलाई फाइदा भइरहेको बताउँछन् । "सबै लागत जोड्दा पनि प्रतिपिन्ट तीन सय रुपियाँभन्दा बढी पर्दैन । सरकारी निकाय, रक्त सञ्चार केन्द्रका प्रतिनिधिहरूलाई म त्यसको प्रमाण दिन सक्छु," उनको दाबी छ, "यसमाथि बिचौलियासमेतको मिलेमतोमा देखे/सोचेभन्दा ठूलो मात्रामा रगतको अवैध कारोबार भइरहेको छ ।"
अवैध कारोबार भइरहे पनि सबै रगत दाताबाट निःशुल्क संकलन भएका हुन् । रगत दिएपछि दाताले एउटा चिसो पेय पदार्थबाहेक केही पाउँदैनन् । त्यसमाथि स्वास्थ्य विज्ञानले रगतदान गरेको तीन महिनापछि मात्र रक्तकणहरू पुनः परिपक्व हुने बताउँछ । त्यही रगतमा बेथिति हुन थालेपछि हाहाकार मच्चिनु स्वाभाविकै हो ।
निजामती कर्मचारी अस्पतालमा कार्यरत बोन म्यारो प्रत्यारोपण तथा रगतसम्बन्धी रोगका विशेषज्ञ डा विशेष पौड्यालका शब्दमा नेपालमा मात्र होइन, संसारभर नै चिकित्सकहरूले आवश्यकताभन्दा केही बढी रगत माग गर्छन् । तर, विकसित देशहरूमा माग गरिए अनुसारको रगत आवश्यक हो कि होइन भन्ने खुट्याएर मात्र दिइन्छ । यहाँ रक्त सञ्चार केन्द्रमै रगतसम्बन्धी पढेका विशेषज्ञ चिकित्सक छैनन् । त्यो खुट्याउने डाक्टरको दरबन्दी तथा क्षमता पनि छैन ।
पौड्याल सबैभन्दा बढी रगतको माग निजामती कर्मचारी अस्पताल मीनभवनमा भइरहेको सुनाउँछन् । "हाम्रो विभागले मात्र दैनिक न्यूनतम ४० पिन्ट रगत माग्नुपर्छ । सर्जन विभागले उत्तिकै माग्ला," उनी भन्छन्, "कहिलेकाहीँ रक्त सञ्चार केन्द्रले छैन भनेर त्यत्तिकै पठाउने गरेको छ । त्यसैले रगतको अभाव भइरहेको देखिन्छ । यस्तो बेलामा केही न केही गडबडी भइरहेको पनि होला ।"
पछिल्लो समय नेपालमा रगतसम्बन्धी रोगको उपचार गर्ने अस्पताल निजामती मात्र हो । रगतसम्बन्धी रोगका सबै बिरामी पछिल्लो समय निजामती अस्पतालमै आउने गरेका छन् ।
जानकारहरूका भनाइमा शरीरबाट झिकेको ६ घन्टासम्म रगतलाई ताजा मानिन्छ । यस्तो रगतको प्रयोग बढी मात्रामा मुटुको शल्यक्रिया, ठूलो दुर्घटनामा अत्यधिक रक्तश्राव भएका घाइते आदिलाई गरिन्छ । ६ घन्टापछि रगतलाई 'होल ब्लड' भनिन्छ । रगत विशेषज्ञ डा पौड्यालका शब्दमा यही होल ब्लडबाट प्याक सेल, प्लाज्मा, प्लेटलेट र क्रायो गरी चारवटा -रातो, सेतो, अत्यधिक रक्तश्राव थाम्ने) रगत बनाइन्छ ।
रक्त सञ्चार केन्द्रसँग यी चारवटै रगत बनाउने प्रविधि छन् । र, सबै रगत बनाए एउटै रगतबाट चार जनाको ज्यान बच्छ । प्रविधि भएर मात्र के गर्ने ! चिकित्सकले प्याक सेल, प्लाज्मा, प्लेटलेट, क्रायो रगतको सिफारिस गरे पनि रक्त सञ्चार केन्द्रले होल ब्लड नै पठाइदिन्छ । होल ब्लडबाट अन्य रगत बनाउन दुई घन्टासम्म लाग्छ ।
"रक्त सञ्चार केन्द्रले होल ब्लड मात्र दिँदा अरू रगत बनाउन सकिएन । जसले गर्दा सधैँ रगतको अभाव भयो," डा पौड्यालको कथन छ, "अन्तर्राष्ट्रिय अस्पतालहरूमा ९७ देखि एक सय प्रतिशतसम्म कम्पोनेन्ट बनाएर राखिन्छ । तर, हाम्रोमा चाहिँ ८० प्रतिशत होल ब्लड र २० प्रतिशत मात्र कम्पोनेन्ट छ । त्यसैले गडबडी भएको हुन सक्छ ।"
रगत संकलनको लामो इतिहासमा अहिलेसम्म मार्गनिर्देशिका नबनेकाले समस्या आइलागेको पौड्यालको ठम्याइ छ । धाख्वा भन्छन्, "हामीले होल ब्लडबाट बनाइएको कम्पोनेन्ट दिन खोज्दासमेत अधिकांश डाक्टर होल ब्लड नै माग्छन् । त्यसैले केही समस्या देखा परेको हो ।"
हालै आएको राष्ट्रिय रक्त सञ्चार नीतिले निजी क्षेत्रलाई ब्लड बैंक खोल्न सक्ने व्यवस्था गरिदिएको छ । मुनाफाका लागि आउने त्यस्ता ब्लड बैंकका कारण रगतमा कालो बजारी अझै मौलाउने रक्तदाताहरूको अनुमान छ ।
कर्माचार्यका अनुसार अहिले देशभर दैनिक करिब सात सय पिन्ट रगत माग हुन्छ । त्यत्तिकै हाराहारीमा संकलन पनि भइरहेको छ । खपतचाहिँ मागको आधा पनि छैन । भलै, रगतको अभाव देखाउन छाडिएको छैन । कुशल व्यवस्थापनको कमी र रगत बिक्री गर्ने गिरोहका कारण यस्तो हाहाकार मच्चाइएको कर्माचार्यको बुझाइ छ ।
रक्त संकलनको विगत
नेपालमा पहिलोपटक १२ साउन ०२३ मा लक्ष्मी ब्लड बैंक स्थापना गरेर रगत संकलन सुरु भएको हो । त्यही साल सरकारले पनि वीर अस्पतालमा रगत संकलन सुरु गर्यो । त्यसको लामो समय नबित्दै सरकारले संकलनको जिम्मा लक्ष्मी ब्लड बैंकलाई नै दियो । अहिले त्यसैको नाम परिवर्तन भएर केन्द्रीय रक्त सञ्चार केन्द्र भएको हो । जसको संयोजन, रेखदेख नेपाल रेडक्रस सोसाइटीले गर्छ ।
रक्त सञ्चार केन्द्रमा चिनजानका मान्छे गए फालाफाल दिने, नत्र छैन भनेर फर्काउने प्रवृत्तिका कारण पनि रगतको अभाव देखिन्छ । त्यसो त स्थापनाकालमा जे जति पूर्वाधार र प्राविधिक थिए, त्यसमा खासै बढोत्तरी भएको छैन ।
कसलाई कस्तो अवस्थामा कुन रगत चाहिने भन्ने निर्देशिका नहुनु त समस्या हो नै, ट्रान्समिसन मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकसमेत छैनन् । यसैको फाइदा उठाएर चलखेल बढेको देखिन्छ । त्यसो त रगतमा देखिएको अवैध कारोबार रोक्ने उद्देश्यले निजामती कर्मचारी अस्पतालले दुई महिनाभित्रै अत्याधुनिक ब्लड बैंक खोल्ने तयारी गरिरहेको छ । जसका लागि प्रविधि झिकाउन 'टेन्डर'को समेत आह्वान भइसकेको छ ।
पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ब्लड इराडिएसन मेसिन -रक्त विकिरण यन्त्र) खुल्न लागेको हो । "निजामती अस्पतालमा खुल्ने आधुनिक ब्लड बैंकले रगतमा हुने चलखेललाई रोक्न सक्छ," डा विशेष पौड्याल भन्छन्, "त्यसका लागि हामी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन लागिपरेका छौँ ।"