सिद्धिए सम्पदा
विनाशकारी भूकम्पको तेस्रो दिन भक्तपुर दरबार स्क्वायर पुग्दा स्थानीयहरू भत्किएका मन्दिरबाट बाहिर निकालिएका देउताका मूर्तिलाई श्रद्धापूर्वक नमन गरिरहेका थिए।
मल्लकालीन सम्पदाको वैभवका रूपमा रहेको भक्तपुर दरबार क्षेत्रमा भूकम्पबाट सबैभन्दा धेरै क्षति पुगेको छ। वसन्तपुर र पाटन दरबार क्षेत्रको पनि यसभन्दा फरक अवस्था छैन।
१२ देखि १८औँ शताब्दीसम्मको मल्लकाललाई कलाका हिसाबले नेपालको स्वर्णयुग मानिएको छ। यही कालमा सबैभन्दा धेरै कलात्मक मठ, मन्दिर, सत्तल, दरबार र अन्य सम्पदा निर्माण भएका थिए। काष्ठकला, मूर्तिकला र धातुकलाका साथै वास्तुशैलीको आधुनिक शैलीको विकास पनि त्यही कालमा भएको हो।
१२ वैशाखको भूकम्पले १६औँ शताब्दीदेखि १९औँ शताब्दीको बीचमा बनेका र विशेष गरी १७औँ शताब्दीका अधिकांश मल्लकालीन सम्पदा ध्वस्त भएको सम्पदाकर्मी रवीन्द्र पुरी बताउँछन्। भन्छन्, “सम्पदाको इतिहासको यसभन्दा ठूलो क्षति हामीले कहिल्यै बेहोरेका थिएनौँ।”
स्वयम्भू मन्दिर परिसरमा प्रताप मल्लले निर्माण गरेको शिखर शैलीको अनन्तपुर चैत्य भूकम्पपछि ध्वस्त भयो भने सँगैको प्रतापपुर चैत्य पनि चर्कियो। सम्पदाको विनाश काठमाडौँको एक ठाउँमा मात्रै सीमित छैन। हनुमानढोकामा रहेको दस अवतार देखाउने नारायण मन्दिर पनि क्षतिग्रस्त छ।
पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौँ जितेपछि बनाएको नौतले दरबारको माथिल्लो चार तला ध्वस्त भयो। यसलाई काष्ठकलाको उत्कृष्ट नमुना मानिएको छ। नौतले दरबारसँगै रहेको कागेश्वर मन्दिरको शिखर भागदेखि लौहचोकको भक्तपुर टावरसम्म भूकम्पकै कारण क्षतिग्रस्त छन्। तगे तलेजु मन्दिरको कौसी पनि भूकम्पबाट जोगिएन। इतिहासकार त्रिरत्न मानन्धर मल्ल परम्पराको उत्कृष्ट वास्तुकला सधँैका निम्ति विलीन हुने हो कि भनेर चिन्ता गर्छन्। भन्छन्, “हामीले अमूल्य सम्पदाको वैभव गुमायौँ। अब यसलाई पुन:निर्माण गर्न कति दशक लाग्ने हो, पत्तो छैन।”
सम्पदाको केन्द्रका रूपमा रहेको वसन्तपुर दरबार क्षेत्रमा प्रताप मल्लका पालादेखि राणाकालसम्म बनेका सम्पदामा पुगेको क्षतिको पूर्ण विवरण आइसकेको छैन। हनुमानढोका संग्रहालयका काजीमान प्याकुरेल झन्डै एक दर्जन सम्पदा पूर्ण रूपमा ध्वस्त भएको र त्यति नै संख्यामा क्षतिग्रस्त भएको बताउँछन्। भन्छन्, “आंशिक क्षति भएका कतिपय सम्पदालाई पूर्ण रूपमा नभत्काईकन पुन:निर्माणको काम सुरु हुनै सक्दैन।”
पाटन दरबार क्षेत्रका अधिकांश मल्लकालीन सम्पदा धुलिसात बनेका छन्। चारनारायणको मन्दिर तिनैमध्ये एक हो। वैष्णव सम्प्रदायको बाहुल्य रहेको उक्त कालमा उपत्यकामा रहेका चाँगु नारायण, शेष नारायण, विशंखु नारायण र इचंगु नारायणको दर्शन एकैचोटि गर्न सकियोस् भनेर चार नारायणको मन्दिर बनाइएको इतिहास छ। ठूलीशयनी र हरिशयनी एकादशीमा चार नारायणको दर्शन गर्ने चलन लिच्छविकालदेखिकै हो। पाटन दरबार क्षेत्रका अधिकृत निरन राजवंशी भन्छन्, “१५ र १६औँ शताब्दीमा निर्माण गरिएका धेरै सम्पदा गुमायौँ।”
उपत्यकाका तीन दरबार क्षेत्रभित्र रहेका तीन हिटी पनि भूकम्पका कारण चर्किएका छन्। भक्तपुरको लु हिटी, पाटनको तुसा हिटी र वसन्तपुरको मोहनहिटीले भूकम्पको क्षति खेपे। यी तीनै दरबार क्षेत्रमा मल्ल राजाका आराध्यदेव तलेजु भवानीलाई चोखो जल चढाउन यी तीन हिटीको निर्माण गरिएको हो।
भक्तपुर दरबार क्षेत्रमा सम्पदामाथि कति क्षति पुग्यो भन्ने हिसाब नै निकाल्न सकिएको छैन। भक्तपुर दरबार क्षेत्रकी संग्रहालय अधिकृत मंगला प्रधान भन्छिन्, “कहाँ र कति क्षति पुग्यो ? त्यसको हिसाब निकाल्न केही समय लाग्छ।”
बचेकामा क्षति
विनाशकारी भूकम्पबाट पूरै ध्वस्त हुनबाट बचेका धेरैजसो सम्पदा पनि आंशिक रूपमा क्षतिग्रस्त छन्। पशुपतिछेउको रातो गणेशको मन्दिर र गुम्बज शैलीको विश्वरूपा मन्दिर चर्किएको छ भने पशुपतिकै बज्र घरमा चिरा परेको छ। बौद्धको गयादेश भवन चर्केको छ भने साँखुको बज्रयोगिनी मन्दिर थोरै ढल्केको छ।
विसं ५२१ मा राजा मानदेवले निर्माण गरेको लिच्छविकालीन चाँगुनारायण मन्दिरको बाहिरको गाह्रो भत्किए पनि यसको मूल स्वरूप बिग्रिएन। हनुमानढोकामा रहेको नगरा घर, गद्दी बैठक र नौतले दरबारसँगैको भवन पूर्ण क्षति हुनबाट जोगिए। लौह चोकको ललितपुर टावर, पञ्चमुखी हनुमान मन्दिर ढल्केका छन् भने नासल चोकको दक्षिण–पश्चिमपट्टिको अधिकांश भागमा चिरा परेका छन्।
९० सालको भूकम्पको प्रमाण
भक्तपुर दरबार क्षेत्रको मध्य भागमा सिंहका दुईवटा मूर्ति ठिंग उभिएका देखिन्छन्। अहिले पनि भक्तपुरका पाका मानिस सिंहका मूर्ति देखेपछि ९० सालको भूकम्प सम्झिन्छन्। ९० सालअघि त्यहाँ लापाङद्यो मन्दिर थियो। ठडिएका सिंह त्यही मन्दिरको प्रवेशद्वार हो। भूकम्पका परी मन्दिर भत्किएपछि सिंहका मूर्ति त्यहीँ रहे।
उक्त मन्दिरको हरिहरको मूर्ति अहिले भक्तपुर संग्रहालयभित्र छ। भक्तपुरकै खौमामा अहिले पनि मन्दिरको खुड्किला र उपल्लो भागमा मूर्ति छन्। तर, मल्लकालीन उक्त मन्दिर भने ९० सालकै भूकम्पले भत्कियो।
‘अब सम्पदा पुन:निर्माण महाअभियान’
रवीन्द्र पुरी, सम्पदाकर्मी
भूकम्पका कारण भत्किएका अधिकांश धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा पुरानो भएकै कारण मात्र भत्किएका होइनन्। सम्पदाको जीर्णोद्धार गर्न कहिल्यै ध्यान नदिनाको परिणाम हो, भत्किएका सम्पदा। एउटा सम्पदामा कम्तीमा पनि १० देखि १५ लाख रुपियाँ मात्रै खर्चिन सकेको भए धेरै सम्पदालाई बचाउन सकिन्थ्यो। उदाहरणका निम्ति मैले नै पुन:निर्माण गरेको नमुना घरको उदाहरण काफी छ। भत्कनै आँटेको उक्त घरको जीर्णोद्धार थोरै लगानीमा नै सम्पन्न भएको थियो। ६ रेक्टर स्केलका तीनवटा भूकम्प सहँदा पनि त्यो भवन केही भएन। एक दशकदेखि नेपालको सरकार र सिंगो प्रशासन संयन्त्रको ध्यान अरू नै कुरामा थियो। ऐतिहासिक सम्पदा सबै क्षेत्र र तहबाट उपेक्षाको सिकार बन्यो। जबकि, सम्पदाकै आडमा हामीले अन्तर्राष्ट्रिय छवि निर्माण गरेका थियौँ र बर्सेनि लाखौँ पर्यटक भित्र्याउने माध्यम बनाएका थियौँ।
वर्षौंदेखि सम्पदाको संरक्षणमा सरकारी निकाय आफू त उदास थियो नै, निजी क्षेत्रबाट हुन सक्ने प्रयासलाई पनि सघाएन। पाँच वर्षअघि मात्रै मैले काठमाडौँ विश्वविद्यालयमा पढाउँदा विद्यार्थीसहितको टोलीले भक्तपुरको तलेजु मन्दिरभित्र रहेको १५औँ शताब्दीको पेन्टिङको अभिलेखीकरण गर्न खोजेका थिए। तर, पुरातत्त्व विभागले अनुमति नदिएपछि त्यो काम रोकियो। यस्ता अरू पनि उदाहरण छन्।
पुरातत्त्व बचाउनका निम्ति आर्थिक स्रोत मात्रै ठूलो कुरा होइन। समयमा सही प्रयत्न मात्रै गरेको भए धेरै सम्पदालाई जोगाउन सकिन्थ्यो। जस्तो कि, नेपालका धेरैजसो ठूला मन्दिरको आफ्नै ढुकुटी छ। चाँगुनारायण, दत्तात्रय, पशुपति आदि सबै मन्दिरको आफ्नै ढुकुटी छ। विपत्तिमा परेर सम्पदा नासिएका बेला प्रश्न उठ्छ, के ढुकुटीको सही सदुपयोग भइरहेको छ त ?
अब सम्पदाको ठूलो क्षति भइसक्यो। नगरपालिका र पुरातत्त्व विभागले जागरुकता देखाउने हो भने पाँच वर्षमा यी सबै सम्पदाको पुन:निर्माण गर्न सकिन्छ। अभियानका रूपमा त्यसलाई सुरु गर्ने हो भने व्यक्ति, निजी क्षेत्र, विदेशी दाता सबैले सहयोग गर्न सक्छन्। तर, त्यसका निम्ति गतिलो संयन्त्रको खाँचो पर्छ। जस्तो, सम्पदा पुन:निर्माण आयोग नै गठन गर्न सकिन्छ। त्यसो नगरेसम्म सम्पदाको पुन:निर्माण महाअभियान सुरु हुनै सक्दैन ।
जसलाई भूकम्पले छोएन
भूकम्पका कारण देशभरिका कैयन् ऐतिहासिक र धार्मिक सम्पदा क्षेत्रहरू ध्वस्त भए । तर, समयमै जीर्णोद्धार भएका कतिपय सम्पदा भूकम्पको चपेटामा परे पनि सुरक्षित छन् । मल्लकालीन नेपालको उत्कृष्ट सम्पदाका रूपमा कहलिएको पनौतीको इन्द्रेश्वर महादेव त्यसैमध्ये एक हो । इस्वीको १३औँ शताब्दीमा राजा जयराम सिंह मल्लले यसको निर्माण गरेका हुन् । विसं १८९०, १९९०, २०७२ को भूकम्पका अतिरिक्त अन्य स–साना कैयन् भूकम्पले पनि यो मन्दिरलाई कुनै क्षति पुर्याउन सकेन ।
प्रत्येक भूकम्पबाट जोगिनुका पछाडि यो मन्दिरको फराकिलो संरचना र परम्परागत वास्तुशैली नै हो । समयका हिसाबले यो मन्दिरलाई चाँगुनारायण र पशुपतिभन्दा पुरानो मानिएको छ । यो मन्दिरको छाना करिब २५ वर्षअघि फ्रेन्च टोलीले पुन:निर्माण गरेको थियो ।
विनाशकारी भूकम्पको विपत्तिबाट जोगिएको सम्पदाको सूची धेरै लामो छैन । जेजति छन्, ती सयौँ वर्षको इतिहास बोकेका छन् । विसं १९९० को भूकम्प खेपेको वसन्तपुर, भक्तपुर र पाटन तीनै ठाउँका तलेजु मन्दिरमा भूकम्पबाट खासै क्षति पुगेन । हनुमानढोका संग्रहालयका अधिकृत काजीमान प्याकुरेल यी मन्दिरको संरचना ठूलो र जग चतुष्कोणाकार भएकाले क्षति नपुगेको बताउँछन् ।
हनुमानढोकाको महाविष्णु मन्दिर, शिव पार्वती मन्दिर, कुमारी घर, कवीन्द्रपुर सत्तल, महेन्द्रेश्वर मन्दिर पनि भूकम्पबाट जोगिए । इस्वी संवत् १७औँ शताब्दीमा भूपतिन्द्र मल्लले बनाएको भक्तपुरको न्यातपोल मन्दिरलाई भूकम्पले हल्लाउन सकेन । ९० सालको भूकम्पले यो मन्दिरको माथिल्लो छाना मात्रै खसेको थियो । यो मन्दिर आधुनिक इन्जिनियरिङलाई ठूलो चुनौती हो । लिच्छविकालीन सम्पदाको वैभव इचंगुनारायण मन्दिरको छानाछेउबाट केही इँटा मात्र खसेको छ ।
रोचक के भने विसं १९९० को महाभूकम्पले भत्किएका केही मन्दिरसमेत यसपालिको भूकम्पमा जोगिए । पाटनको शिवजीको मन्दिर ९० सालमा क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दाले पुरानो शैली बिगारेर गुम्बज शैलीमा पुन:निर्माण गरेका थिए । यो मन्दिर अहिलेको भूकम्पबाट भने जोगियो । भूपतिन्द्र मल्लले १५आँै शताब्दीमा बनाएको पचपन्नझ्याले दरबार पनि भूकम्पबाट जोगियो । उत्कृष्ट परम्परागत निर्माण शैलीका कारण यी सम्पदा जोगिएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालको टिप्पणी छ ।
भक्तपुरमा रहेको दत्तात्रय मन्दिर कैयन् भूकम्पको महाविध्वंशपछि पनि जस्ताको तस्तै ठडिएको छ । १५औँ शताब्दीमा यक्ष मल्लले बनाएको यो मन्दिर सन् १९७४ देखि १९८७ सम्म जर्मन परियोजनाले सुरु गरेको जीर्णोद्धार अभियानका क्रममा मर्मतसम्भार गरिएको थियो । पुरातत्त्व विभागका महानिर्देशक दाहाल भन्छन्, “परम्परागत शैलीका भए पनि समय समयमा जीर्णोद्धार गरिएका सम्पदाहरू सुरक्षित रहेको देखियो ।”
—————————————
१७औँ शताब्दीमा ढुंगाबाट बनेको भक्तपुर दरबार क्षेत्रमा अवस्थित शिखर शैलीको यो मन्दिरको पुरानो नाम शिलु महादेव हो । गोसाईंकुण्डलाई नेवार समुदाय शिलु भन्छन् । यो मन्दिर मल्लकालदेखि नेवार समुदायका मानिस तीर्थ जाने ठाउँ हो । विसं १९९० मा यो मन्दिर भत्किएपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले शिखर शैलीको मन्दिरलाई गुम्बज शैलीमा पुन:निर्माण गरे । मन्दिरको माथिल्लो भाग झट्ट हेर्दा फर्सीजस्तो देखिने भएकाले नेवार समुदायले यसको नाम नै फसिदेग राखेका हुन् । १२ वैशाखको भूकम्पले यो मन्दिर ध्वस्त भयो ।
—————————————
इँटाबाट शिखर शैलीमा निर्मित यो मन्दिर बीसौँ शताब्दीमा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरका भाइ जगतबहादुरले शंखमूलपारिको वाग्मतीछेउमा निर्माण गरेका हुन् । मन्दिरअघि कछुवाको ढाडमा ठडिएको स्तम्भ र सँगै कलात्मक गणेश, गरुड र हनुमान थिए । भूकम्पमा परी यो सबै क्षतिग्रस्त भयो । झन्डै नौ वर्षअघि यो मन्दिरछेउमा रहेको भैरवको मूर्ति चोरी भएको थियो ।
—————————————
१ सय ६३ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले यस मन्दिरको निर्माण गरेका हुन् । कोतपर्वमा मारिएकाहरूको शव यही मन्दिरमुनि गाडिएको र जंगबहादुरले कोतपर्वको प्रायश्चित्तस्वरूप यसको निर्माण गरेको इतिहासकारहरू बताउँछन् । बोलीचालीमा कालमोचनको मन्दिर भनिए पनि यसको नाम जंगहिरण्य नारायणको मन्दिर हो । हिरण्य उनकी पत्नीको नाम हो । जंगबहादुरको श्राद्ध अहिले पनि यही मन्दिरको प्रांगणमा गरिँदै आएको छ । मन्दिरको शिखरमा रहेको सिंहको कलात्मक मूर्ति यो मन्दिरको थप आकर्षण थियो ।
—————————————
१७औँ शताब्दीमा बनाइएको प्रस्तर कलाको उच्च नमुनाका रूपमा रहेको शिखर शैलीको वत्सला देवीको मन्दिर पनि भूकम्पबाट जोगिएन । यो मन्दिर प्रस्तर कलाको अद्वितीय नमुना थियो । भूपतिन्द्र मल्लका पालामा बनेको यो मन्दिर १९९० सालको भूकम्पमा पनि क्षतिग्रस्त भएको थियो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...