बारपाकको व्यथा
हेलिकप्टरबाट जति नै राहत ओसारेको भनिए पनि दुर्गम भेगका जनता अझै छटपटीमा छन् । ठूला पहाड र पहिरो खसेर कतिपय गाउँमा जान सक्ने अवस्था पनि देखिँदैन । १२ वैशाखको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक माइती भएकी विना घले पनि भूकम्पपीडितको अवस्था देखेर चिन्तित छिन् ।
बालुवा बेसीमा तीन दिनदेखि राहतको पर्खाइमा बसेका सौरखपानी-८, कुलगाउँका रेशम गुरुङको अनुहार फुंग उडेको छ । ओठ कलेटी परेको छ । घन्टौँ हिँडेर आएका उनले पनि राहत पाएका रहेनछन् । "घर लडेर बारीमै बास भएको यतिका दिन भइसक्यो," उनले निराशा पोखे, "एक बोरा चामल पाउन पनि यस्तो सास्ती भयो ।" राहत बोकेका सवारीहरू त दिनदिनै भूकम्प प्रभावित क्षेत्रसम्म पुगेका छन् तर पीडितको हातमा अझै पुगेेकै छैन । सक्नेहरू बेसीतिर झरे पनि अशक्त वृद्धवृद्धा गाउँमा भोकभोकै लडिरहेका छन् । "सबै राहत सदरमुकाम र पहुँचवालालाई मात्रै भएको छ, गाउँमा केही पुगेको छैन," विकट मान्बुका सन्तबहादुर लामिछानेले भने, "गाउँ पुग्ने बाटाहरू अवरुद्ध छन्, पन्छाउने पहल भए पनि स्थानीयलाई राहत हुने थियो ।"
चर्चित पदयात्रा मार्ग मनासलु क्षेत्रको १५ गाविस जोड्ने सडक खण्ड भूकम्पसँगै आएको पहिरोले अवरुद्ध छ । जमिन भासिने र ढुंगा खस्ने क्रम अझै रहेकाले हिमालपारिका गाउँ छेकम्पार, सुनखेत, लो, प्रोक, बिहु सामगाउँ तथा सिर्दिबासमा कोही पुगेका छैनन् । पुग्ने अवस्था पनि छैन । छेकम्पार गाविसका सचिव लालप्रसाद शर्मा भूकम्प गएको केही दिनपछि मुस्किलले हेलिकप्टरमा गाउँ अवतरण गरेछन् ।
"हेलिकप्टर ओराल्ने अवस्था पनि छैन, हिँडेर आउने त झन् सम्भवै भएन," उनले सुनाए, "गाउँमा खाद्यान्न अभाव भएको छ, भोकमरी फैलिने अवस्था आइसक्यो ।" शर्माका अनुसार बाटोमा ढलेका शव र सामान ढुवानी गरेर फर्किने क्रममा पहिरोमा परेका खच्चड अहिलेसम्म उठाइएको छैन । त्यहाँ पुगेका हे लिकप्टरसमेत अवतरणको समस्याले रेकी गरेर फर्किएका छन् ।
बाटो पहाड खसेर पुरिएको छ भने जमिन भासिएर हिँड्ने अवस्था छैन । "तलबाट सामान बोकेर उक्लने खच्चड र माथिबाट पैदल हिँडेका मान्छेको जम्काभेट भयो भने भीरबाट लड्ने खतरनाक बाटो छ," आरखेत प्रहरी बिटका हबलदार कृष्णमान श्रेष्ठले भने । आरखेतबाट गाउँ जान हिँडेको प्रहरीको टोली बाटोको अवस्था डरलाग्दो भएपछि बीच बाटोबाटै फर्किनुपर्यो । सञ्चारसम्पर्क समेत नभएकाले हताहतीको विवरण यी हिमाली गाउँबाट आउन नसकेको प्रहरी बताउँछन् ।
जिल्लाका अधिकांश अस्थायी प्रहरी बिट भूकम्पले ध्वस्त छन् । कार्यालय भत्केपछि प्रहरी त्रिपालमुनि छन् । आर्खेत अस्थायी प्रहरी बिटको सबै हतियार भूकम्पले पुरिए पनि बाहिर निकालेको छैन । निकाले पनि सुरक्षाको कारण राख्ने ठाउँ नभएकाले पुरिएको ठाउँमा सुरक्षित ठानेर ननिकालेको प्रहरीको भनाइ छ ।
घर/कार्यालय ध्वस्त भएकाहरू बारी र खुला चौरमा बसेका छन् भने अलिअलि बचेका घरका पनि ताल्चा मारेर बाहिर बसेको अवस्था छ । बारपाक-१, पोखरी गाउँमा पानीको मुहान दबिएर अन्यत्र गएपछि स्थानीयलाई पिउने पानीको समेत समस्या छ । "यहाँको पानीको मुहान दबिएर कुलगाउँतर्फ पुगेको छ," स्थानीय सन्तबहादुर गुरुङले भने, "पहिरोले बाटो छिचोली साध्य छैन ।" अधिकांश गाउँ जोड्ने बाटाहरू पहाड खसेर पुरिएपछि स्थानीयले ट्रयाक खोलिदिन आग्रह गरेका छन् । बाटोकै कारण स्थानीयलाई हिँडडुल र राहत पुर्याउन समस्या भएको छ ।
गाउँ पुग्दा अधिकांश राहत नपाएको र राज्यका तर्फबाट कोही नआएको भन्दै राहत सामग्री बोकेर जानेहरूलाई गुनासो सुनाउँथे । लानेहरूले पनि गाउँमा राहत पुर्याएका छैनन् । सरकारी पहलमा जिल्लामा पुगेको अधिकांश राहत कैयौँ दिनसम्म सदरमुकामको जिल्ला विकास समिति र पालुङटारमै थुपि्रएको रहेछ । यही आक्रोशमा कति दिन त प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई घेराउ गर्न पनि पुगेका थिए पीडितहरू । केही दिन प्रमुख जिल्ला अधिकारीले मोबाइल नै अफ गरेर बसेका हुन् ।
क्षेत्रफलका हिसाबले मुलुककै चौथो ठूलो जिल्लाका रूपमा रहेको गोरखाका अधिकांश गाउँ पुग्न उत्तिकै कठिन छ । हिँडेरै जान पनि तीनदेखि पाँच दिनसम्म लाग्ने गाउँहरू छन् । सदरमुकामबाट मोटरबाटो छिचोल्दै गए पनि पहिरा र पहाड खसेका बाटो नपन्छाइएकाले जाने अवस्था छैन । भौगोलिक विकटताका कारण घरमा पुरिएकाहरू कतिपयले समयमा उद्धार हुन नसक्दा ज्यान गुमाउनु परेको थुमी, धारापानीकी कालीमाया आले मगरले सुनाइन् ।
राहत हारालुछ गरिरहेका गाउँलेको दृश्यले पनि गोरखाका एक दर्जन गाउँको पीडा झल्काउँछ । दिनहुँजसो अझै पनि चार-पाँचपटक भूकम्पको धक्का आइरहेकाले बचेखुचेका घरका बासिन्दा पनि घरमा बसेका छैनन् । त्रासको वातावरणले राती अबेरसम्म पनि मान्छेको चहलपहल दिनमा जस्तै छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...