कांग्रेस नेतृत्वमा को ?
कसले जित्ला, के गर्ला भन्ने नै कांग्रेस कार्यकर्ताको मूल चासो
नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनअघि २१ फागुनमा काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएको एक झुन्ड महाधिवेशन प्रतिनिधिबीच संवाद चल्दै थियो । चितवनबाट आएका एक प्रतिनिधिले भने, “सभापतिमा कसलाई भोट हाल्ने हो, साह्रै सकस हुने भयो ।” उनको अनुहारमा आँखा अड्याइरहेका अर्का प्रतिनिधिले जवाफ दिए, “व्यक्तिको राजनीतिक क्षमता हेरेर भोट हाल्ने नि !” सँगै उभिएका तेस्रा प्रतिनिधिको प्रश्न थियो, “क्षमता भनेको के हो ? पहिचान कसरी गर्ने ? गाह्रो त्यसैले पार्छ ।”
हुन पनि लामो राजनीतिक यात्रा छिचोलेर १३औँ महाधिवेशनमा कांग्रेस सभापतिका प्रत्याशी बनेका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई स्वतन्त्र रूपमा नापतौलको कसीमा छनोट गर्न प्रतिनिधिहरूलाई त्यति सहज छैन । यद्यपि, मूल्यांकनका सजिला–अप्ठ्याराबीच प्रतिनिधिहरूले महाधिवेशनको चुनावी प्रक्रियामा उत्साहजनक सहभागिता जनाएका छन् ।
अलग घुम्ती, अलग चरित्र
महाधिवेशनका प्रमुख आकर्षण बनेका पौडेल र देउवा दुवैको कांग्रेसभित्र लामो योगदान छ । दुवैका आ–आफ्नै खालका मान्यता, चरित्र र स्वभाव छन् । नेतृत्वसँग विचार र निष्ठा पनि गाढा रूपमा समाहित हुनुपर्छ भन्ने मान्यता राख्ने नेता पौडेल सांगठनिक भन्दा पनि तुलनात्मक रूपमा व्यक्तिगत छवि अग्लो भएको नेताका रूपमा परिचित छन् । यद्यपि, १२औँ महाधिवेशनले बनाएका सभापति सुशील कोइरालाको देहान्त र कोइराला परिवारबाट नेतृत्वको विकल्प तयार भइनसकेको अवस्थाका कारण संस्थापनको ‘लोयल’ पात्रका रूपमा अघि सरेका पौडेल आफ्नो बुर्जाबाट निर्विकल्प उम्मेदवार हुन भने सकेनन् । संस्थापन भनिने उनकै खेमाबाट निवर्तमान महामन्त्री कृष्ण सिटौला, निवर्तमान केन्द्रीय सदस्यद्वय गगन थापा र उमाकान्त चौधरीले पनि क्रमश: सभापति, महामन्त्री र कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
“सबै मिलेर जाऊँ भनेको केही साथीहरू बाहिर बस्नुभो तर विधि र प्रक्रियालाई मानेर म अघि बढेको हुँ,” सभापतिका उम्मेदवार पौडेल भन्छन्, “मेरो मूल्यांकन अब प्रतिनिधिहरूले गर्ने हो । विवेकले गर्ने हो ।” चर्को दबाब र अव्यवस्थापनको माथापच्ची झेलिरहेका पौडेलको राजनीतिक चरित्रमा सबैभन्दा कमजोरी पनि यहीँ देखिएको छ, जहाँ उनको टिम छैन, सहयोगी र रणनीतिकारहरू छैनन् ।
राजनीतिक दलको नेतृत्वको आयु नेताले आर्जन गरेको समूहगत, वैचारिक र रणनीतिक शक्तिमा निर्भर गर्छ । खास गरी महाधिवेशनको चुनावी दाउपेच एक प्रकारले यान्त्रिक र गणितीय रुझानको हुन्छ । यतिबेला विचार, सिद्धान्त र दृष्टिकोणलाई अलिक ओझेल पर्छ र टिम परिचालनको रणनीति प्रखर बन्छ । १३औँ महाधिवेशनमा सभापतिका प्रत्याशी नेता पौडेलका लागि काभ्रे सभापति मधु आचार्यको अगुवाइमा परिवारका केही सदस्यसहितको टिम अहोरात्र खटिरइरहेको छ । यससँगसँगै निवर्तमान महामन्त्री प्रकाशमान सिंह, पटक–पटक अर्थमन्त्री बनिसकेका निवर्तमान केन्द्रीय सदस्यद्वय रामशरण महत र शेखर कोइराला पनि महाधिवेशन प्रतिनिधिबीच रणनीतिक भेटवार्तामा सक्रिय छन् । तर, पौडेललाई सघाइरहेको खास समूहभित्र शशांक कोइरालाको खटन अपेक्षाकृत नभएको गाइँगुइँ छ ।
७१ वर्षअघि तनहुँको रिस्तीमा जन्मेका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । संस्कृत साहित्यमा त्रिभुवन विश्वविद्यालयबाटै शास्त्री पनि गरेका पौडेल मौजुदा अग्रपंक्तिका नेतामा पार्टीको सैद्धान्तिक भाष्य क्षमताको अगुवा नै मानिन्छन् । प्रजातान्त्रिक समाजवाद : एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? र नयाँ सन्दर्भमा समाजवादजस्ता पुस्तकका लेखक नेता पौडेलको प्राज्ञिक र सैद्धान्तिक ज्ञान वाक्कलामा भने सापेक्षित रूपमा प्रकट हुन सक्दैन । पौडेलका आलोचक उनमा राजनीतिक, सांगठनिक संकीर्णता रहेको र निर्णय क्षमता नभएको नेताका रूपमा मान्छन् ।
सभापति पदकै प्रतिस्पर्धी वरिष्ठ नेता शेरबहादुर देउवामा भने पार्टीको सैद्धान्तिक व्याख्यानभन्दा बढी नेता, कार्यकर्ताको व्यवस्थापनमा रुचि र कौशल देखिन्छ । शैक्षिक योग्यताका हकमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी र कानुनमा स्नातक गरेका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । उनी ०४४/४५ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कुल अफ इकोनोमिक्समा राजनीतिशास्त्रका रिसर्च फेलो थिए ।
यसअघिका दुई महाधिवेशनमा पनि सभापति पदका प्रत्याशी बनेका देउवाको निर्णय क्षमतालाई पार्टी पंक्तिमा सबैले प्रशंसा गर्छन् । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग टक्कर लिने प्रसंगमा होस् वा कुनै काम आँट्ने प्रसंगमा, देउवा हिम्मतिला नेता मानिन्छन् । विद्यार्थी राजनीतिको लामो यात्रा हुँदै ०४६ को परिवर्तनपछि पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका देउवालाई प्रारम्भमा दिवंगत गिरिजाप्रसाद कोइरालाको विश्वास र भरथेग थियो, जुन कालान्तरमा अर्को बुर्जामा परिणत भयो । यद्यपि, देउवाको राजनीतिक व्यवहारमा गिरिजाप्रसादको गहिरो छापचाहिँ छ ।
“उहाँमा आफ्नो टिम व्यवस्थापन गर्ने र त्यसलाई जीवन्त बनाइराख्ने क्षमता देखिन्छ,” देउवा खेमाभित्रका एक महत्त्वपूर्ण रणनीतिकार मानिने नेता पूर्णबहादुर खड्का भन्छन्, “सबैलाई मिलाएर लैजानुपर्छ भन्ने सोचले नै पार्टीभित्र उहाँलाई सधैँ प्रभावशाली बनाएको हो ।” हुन पनि पछिल्लो महाधिवेशनमा आफ्नो समूहका सबै पदीय आकांक्षीहरूलाई मौन बनाएर संस्थापनबाट प्रभावशाली व्यक्ति तान्ने रणनीतिमा उनी एक हदसम्म सफल देखिए ।
गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई मनाउँदै देउवाले संस्थापनतिर भएका अर्जुननरसिंह केसीलाई महामन्त्री पदको उम्मेदवार बनाएर आफू चुनावी रणनीतिमा खरो उत्रेको परिचय दिए । त्यति मात्र होइन, प्रत्याशी पौडेलसँग रहेको भनिएका नेता खुमबहादुर खड्का, केबी गुरुङको समूहसँग उनले सहयोगको तार जोडे । यद्यपि, भ्रष्टाचारको मुद्दामा जेल भुक्तानी गरेका खड्का र अरू केही आरोपीहरूलाई आफ्नो पक्षमा जोडेपछि उनी आलोचना पनि खेपिरहेका छन् । स्मरणीय कुरा के छ भने देउवा नै प्रधानमन्त्री भएका बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनाइएको थियो ।
भोटको गणितीय शक्ति आर्जनका लागि देउवालाई भित्री टिममा बसेर पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र प्रकाशरण महतले सघाइरहेका छन् । यतिसम्म कि, पौडेल प्यानलबाट कोषाध्यक्ष पदका आकांक्षी फरमुल्लाह मन्सुर असन्तुष्ट बनेको खबरलगत्तै उनलाई समेत देउवाले आफ्नो क्याम्पमा माला लगाएर स्वागत गरे ।
एकपटक गृहमन्त्री र तीनपटक प्रधानमन्त्री बनेका देउवाको सरकारी कार्यकाल मूल्यांकन गर्दा उनका पालामा लागू भएको भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमिनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गरिएको कुरा स्मरण गरिन्छ । त्यसैगरी, उनकै पालामा विशेष वर्ग एवं समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिए । तर, संसदीय व्यवस्थालाई बदनाम बनाउन सांसद किनबेच गरेको र आफ्नो प्रधानमन्त्रीत्वकाल बढाउन संसद् विघटन गरेर लोकतन्त्रको साँचो दरबारमा बुझाएको आरोप पनि उनले सदा झेलिरहनु परेको छ । “आरोपका पछाडि लागेर हुन्छ ? सही कुरा त म राजाबाट अपदस्थ भएको हो,” देउवाको भनाइ छ, “म बीपीपछि राजाले अपदस्थ गरेको प्रधानमन्त्री हुँ ।”
उता रामचन्द्र पौडेललाई पछिल्ला वर्षमा परिवारप्रेमी भएको आरोप लाग्ने गरेको छ । छोरा चिन्तन पौडेललाई सरकारद्वारा गठित गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्ति दिलाएको र सम्धी युवराज भुसाललाई मुख्यसचिव बनाउन निष्फल प्रयास गरेकामा उनी आलोचित छन् ।
देउवाभन्दा राजनीतिक ‘करिअर’ पहिला सुरु गरेका पौडेल सभामुखसहित कांग्रेस सरकारमा गएका बेला उपप्रधानमन्त्री वा मन्त्री भएका छन् । सभामुख, उपप्रधानसहित गृह मन्त्रालयसम्मको कार्यभार सम्हालेका पौडेलको मन्त्रित्वकाल न त उल्लेखनीय मानिन्छ, न विवादित नै । पार्टीभित्र पनि उनी महामन्त्री र उपसभापति बनिसकेका व्यक्ति हुन् । उता देउवा पनि आफ्नो गृहजिल्लाबाट ०४६ पछिका सबै निर्वाचनमा प्रत्यक्ष निर्वाचित राजनीतिक पात्र हुन् । तीनपटक प्रधानमन्त्री बनेका उनी राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा आफ्नो उचाइ बनाइसकेका नेता हुन् ।
उस्तै–उस्तै प्रतिबद्धता
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका सभापतिका दुवै उम्मेदवारले कांग्रेसको १३औँ महाधिवेशनमा समकालीन मुद्दाहरूबारे आ–आफ्ना प्रतिबद्धता बाहिर ल्याएका छन् । संघीय लोकतान्त्रिक नेपालको नयाँ संविधान कार्यान्वयनको अगुवाइ नेपाली कांग्रेसले नै गर्नुपर्ने तर्कसहित श्वामश्वेत रंगको पौडेलको प्रतिबद्धता–पत्र र देउवाको रंगीन प्रतिबद्धता–पत्रमा आफूले जितेमा पार्टीलाई जीवन्त बनाउने फरक–फरक बुँदा समेटिएका छन् ।
०४६ को परिवर्तनपछि पटक–पटक सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस विचार र सिद्धान्तले भन्दा पनि व्यक्तिगत अहं र शक्ति संघर्षका कारण गुटीय राजनीतिको दुष्चक्रमा फस्यो । कोइराला परिवारका अगुवासँग कहिले नेता गणेशमान सिंह र कहिले सन्तनेता कृष्णप्रसाद भट्टराईको छिनाझप्टीले उहिल्यैदेखि पार्टीभित्र खेमा राजनीतिले संकट पैदा गरेको थियो । पछि, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको कलहले टुक्रिनुसम्मको प्रहार कांग्रेसले भोग्यो ।
०५९ मा मूल कांग्रेसबाट छुट्टिएर नेता देउवाको नेतृत्वमा बनेको प्रजातान्त्रिक कांग्रेस ०६२/६३ को पछिल्लो जनआन्दोलनपछि फेरि एक हुन त आयो तर तल्लो तहसम्म विभाजनको प्रभाव कायमै रह्यो । त्यसैले होला पौडेल र देउवा दुवैले पार्टीलाई एक बनाउने अभियान सुरु गर्ने प्रण गरेका छन् । आफूले जितेमा देउवाले ‘नेताकोमा होइन, जनताकोमा जाऊँ’ अभियान चलाउने बताएका छन् भने पौडेलले ‘सुख–दु:खमा कांग्रेस’ भन्ने नारासहित घुमाउरो पारामा कार्यकर्ताको मनोभाव समेट्ने उद्घोष गरेका छन् ।
“प्रचार सामग्रीका रूपमा आउने कुराहरू एक ठाउँमा होलान् तर पार्टी शुद्धीकरण गर्न यसको आयामिक समस्याको पहिचान र त्यसलाई निर्मुल पार्ने ठोस उपायको खोजी जरुरी हुन्छ,” कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा भन्छन्, “त्यसका लागि बोलेर हुन्न, व्यवहार नै चाहिन्छ ।” शर्माले भनेजस्तै व्यावहारिक पक्ष त नेतृत्वमा पुगेपछि देखिएला तर कांग्रेसभित्र सबैभन्दा बढी टाउको दुखाइको विषय रहेको गुट र भागबन्डाबारे धेरै कांग्रेसजनको चासो छ ।
त्यसै गरी देउवाले पार्टीभित्र प्रतिपक्षको शैलीमा भ्रातृसंगठन, विभाग र केही संस्थागत समस्याहरू राख्दै यिनमा सुधारको दृष्टिकोण ल्याएका छन् भने पौडेलले ‘सुन्दर गाउँ, व्यवस्थित सहर’को सपना देखाएका छन् । जातीय एकता, राष्ट्रियता र समृद्ध नेपालको साझा कागजी चाहना दुवै प्रत्याशीसँग त देखिन्छ तर उनीहरू दुवैको विगतको व्यवहार र भूमिकाले भने कार्यकर्तालाई आश्वस्त पार्न मुस्किल देखाउँछ । “ठूलो कुरा गर्नै पर्दैन, जसले जिते पनि पार्टीमा खुट्टा तान्ने प्रवृत्ति मात्र समाप्त भयो भने कांग्रेस आफैँ सुध्रिन्छ,” अर्का युवा नेता बद्री पाण्डे भन्छन्, “चुनावी परिणामपछि एकअर्कालाई गर्ने व्यवहारले सबै कुरा छर्लंग हुनेछ ।”
जे भए पनि कांग्रेसको १३औँ महाधिवेशनको रौनक अन्तिम चरणमा आइपुगेको छ । प्रतिनिधिहरूले आफ्नो मत ब्यालेटमा कैद गरिसकेपछि फैसला तय निश्चित छ । यसअघि आफ्नो जित दाबी गरेका प्यानल र उम्मेदवारको छिनोफानो छिट्टै हुनेछ । कांग्रेस महाधिवेशनको महाभारत कसले जित्ला, चासो यसैमा छ ।
सिटौला, ‘किङ’ कि ‘किङ मेकर’ !
आफूलाई संस्थापन पक्षको खास उम्मेदवार दाबी गर्दै निवर्तमान महामन्त्री कृष्ण सिटौलाले सभापति पदमा दिएको उम्मेदवारीलाई जितको लक्ष्य भन्दा पनि पार्टीमा नयाँ शक्तिकेन्द्र बन्ने दाउ मानिन्छ । उनले महामन्त्रीमा युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई पनि प्यानलमा राखेर साख आर्जनको सूत्र अपनाएको धेरै कांग्रेजनको बुझाइ छ ।
‘पहिलो चरणमा परिणाम नआए दोस्रो चरणमा जाँदा सहमति गर्न सकिन्छ’ भन्ने सिटौलाले संस्थापन पक्षको कति मत लेलान् र कुन रूपमा नेता पौडेलको मत प्रभावित होला भन्ने चासो सबैमा छ । सँगसँगै, यदि निर्वाचन दोस्रो चरणमा पुग्यो भने उनको समर्थन कसलाई होला भन्ने कौतूहल पनि छ ।
०४८ र ०५१ को निर्वाचनमा झापाबाट पराजित सिटौला ०५६ को चुनावमा पहिलोपटक संसद् सदस्य निर्वाचित भएका थिए । त्यसै गरी ०६४ को संविधान–सभा निर्वाचनमा पराजित सिटौला दोस्रो संविधानसभा निर्वाचनमा झापा–३ बाट विजयी भए । १२औँ महाधिवेशनपछि मनोनीत महामन्त्री बनेका र शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पार्टी नेतृत्वको आशीर्वाद प्राप्त पात्रका रूपमा सहयोगी बनेका सिटौला पार्टीको नयाँ चरणमा उनी आफैँले दाबी गर्दै आएको ‘किङ’ हुन्छन् कि मात्र ‘किङ मेकर’ हुन्छन्, समयले बताउला ।
महामन्त्रीमा महासंग्राम
पार्टी नेतृत्व चयनको रस्साकसीलाई महामन्त्रीका तीन प्रत्याशीका कारणले पनि अझै पेचिलो बनाएको छ । संस्थापनबाट आधिकारिक उम्मेदवार बनेको दाबी गर्ने बीपी–पुत्र शशांक कोइराला, अवसरको खोजी गर्दै संस्थापनबाट बाहिरिएका अर्जुननरसिंह केसी र युवा पुस्ताका चर्चित नेता गगन थापाबीचको यो त्रिकोणात्मक भिडन्तलाई आयामिक रूपमा अथ्र्याउनेको कुनै कमी छैन ।
देउवा प्यानलमा परेका केसीचाहिँ सिटौला प्यानलबाट उठेका थापाका ससुरा भएकाले पनि महामन्त्री पदको यो घम्साघम्सीलाई घुमाउरो गणित ठान्नेहरू पनि छन् तर प्रत्याशी थापा भने आफू बाबु पुस्ताका लागि भन्दा सन्तति पुस्ताको राजनीतिका लागि अघि बढेको तर्क गर्छन् ।
दुईपटक संविधानसभा र अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएर पनि अपेक्षाकृत ढंगमा राजनीतिक सक्रियता दर्शाउन नसकेको गुनासो खेपिरहेका कोइराला र राजनीतिमा अवसरका लागि पञ्चायतसमेत प्रवेश गरेर फेरि कांग्रेस फर्केका केसीको चुनावी आकलनलाई गगनको उपस्थितिले झिल्का मात्र हान्छ कि ढाल्छ पनि भन्ने जिज्ञासा तमाम कांग्रेसजनमा देखिन्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...