देउवा वरिपरिकै वृत्तमा आकांक्षाको आँधी–तुफान
हिजोसम्म ‘माग्ने’ अवस्थाका देउवा अब अरूलाई ‘दिने’ अवस्थामा पुगेपछि परिस्थिति स्थिर नरहने निश्चित छ ।
संसदीय दलको नेता चयनको सरगर्मी बढ्दै जाँदा ११ चैतमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र रामशरण महत सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । सिंह र महत वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि माहौल बनाउन त्यहाँ पुगेका थिए तर उल्टै देउवाले व्यंग्यात्मक रूपमा पाठ पढाए । भने, ‘सधैँ अरूलाई मात्र नेता बनाउने कुरा हुन्न, आफू बन्ने कुरा पनि महत्त्वपूर्ण हो प्रकाशमानजी ।’ कुनै बेला देउवासँगै काँधमा काँध मिलाएर कोइराला परिवारको विपक्षमा उभिएकाले पनि सिंहलाई देउवा–वचनले मर्ममै हान्यो । उनी बलजफ्ती मुस्कुराए, सँगै रहेका महत पनि मौन बने ।
देउवाको घुमाउरो प्रहारले त्यतिबेला काम गर्यो, जतिबेला पौडेल समूहको बैठकमा उनै पूर्वमहामन्त्री सिंहले ‘अस्तित्व रक्षाकै लागि मात्र भए पनि आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने’ भन्दै किचलो गरे । पौडेल समूहबाट संसदीय दलमा जो प्रतिस्पर्धी भए पनि सहजै जितिने विश्वासमा रहेका देउवाले सभापति निर्वाचित भएपछि नै आफूसँग ठोक्किन आइपुग्ने गुट र व्यक्तिलाई कमजोर पार्ने रणनीतिसहित अघि बढ् ने मार्गचित्र बनाएका छन् । महाधिवेशनअघि नै तत्कालीन संस्थापन पक्षका नौ जना सांसदलाई छानीछानी आफ्नो पोल्टामा लगिसकेका देउवाका लागि २४ चैतको संसदीय दल चुनाव एउटा प्रक्रियाको अनुमोदन मात्र बनेको छ । भलै संसदीय समितिका लागि पार्टी विधान संविधानको मर्म अनुरूप संशोधन गर्नुपर्ने पौडेल पक्षीय दबाबलाई उनले टार्न सकेनन् ।
यति हुँदाहुँदै व्यक्तिगत रूपमा उच्च मनोबल भए पनि हिजोसम्म ‘माग्ने’ अवस्थाका देउवा अब अरूलाई ‘दिने’ अवस्थामा पुगेपछि परिस्थिति स्थिर नरहने निश्चित छ । यतिसम्म कि, देउवाको आफ्नै ‘क्याम्प’मा समेत अपेक्षा र आग्रहको आँधीतुफान सुरु भइसकेको छ । स्वार्थहरूका गठजोड र खेमाभित्रै नयाँ शक्तिकेन्द्र जन्माउने क्रम सतहमा आउन थालेको छ । “यतिका वर्षसम्म साथ दिइयो, अब मलाई के अवसर दिने भनेर प्रश्नहरू मात्र होइन, दबाबको शृंखला सुरु भएको छ,” सभापति देउवानिकट एक नेताका भनाइमा, “सबैभन्दा अप्ठ्यारो त देउवा आफैँले बाँडेका आश्वासन र गरेका सहमतिका कारण पर्ने देखिन्छ ।”
महाधिवेशनको गणितमा देउवाका लागि महत्त्वपूर्ण साबित भएका भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्का र शालीन नेता कुलबहादुर गुरुङलाई उनले योग्य स्थान दिने वाचा गरेका थिए । खड्कालाई उपसभापति र गुरुङलाई वरिष्ठ नेता दिने उनको वचन थियो । तर, पछिल्ला दिनमा दुवैसँग देउवा छड्के परेर हिँड्न थालेपछि उनीहरू आक्रोशित छन् । आफूलाई सोध्दै नसोधी पदाधिकारीमा हारेकाहरू सबैलाई सदस्य मनोनयन गरेकामा खड्काले त देउवासँग असन्तुष्टि जाहेर गरिसकेका छन् । “अरूको कुरा थाहा भएन, मलाई भने उहाँले योग्य स्थान दिने कुरा गर्नुभएको हो,” नेता गुरुङ भन्छन्, “मलाई विश्वास छ, उहाँले सबैलाई मिलाएर लैजानु हुन्छ ।”
मिडिया अभिव्यक्तिमा सबैलाई मिलाएर लैजाने कुरा गरे पनि देउवा खड्कालाई उपसभापति र गुरुङलाई वरिष्ठ नेताको पद नदिने निष्कर्षमा छन् । खड्कालाई उपसभापति बनाउँदा धर्मसहितका पश्चगामी एजेन्डा सकारेको मात्र होइन, प्रमाणित भ्रष्टाचारीलाई बोकेको आरोप उनले खेप्नुपर्ने छ । त्यसभन्दा पनि उनलाई उक्त पद दिँदा देउवालाई उहिल्यैदेखि सघाइरहेका नेताहरूको विश्वास गुम्ने जोखिम रहन्छ । त्यसैले उनी उपसभापतिमा आफूलाई वर्षौंदेखि सघाइरहेका नेता विमलेन्द्र निधि मनोनीत गर्ने सोचमा छन् ।
खड्कासँग नजिक भनिएका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई महामन्त्री मनोनीत गर्दा कुनै समस्या नहुने विश्लेषण देउवाको छ । गुरुङलाई भने उनले अबको निर्वाचनपछि हुने राष्ट्रपति चुनावमा दोस्रोपटक उम्मेदवार बनाउने र उनले सिफारिस गरेका एक जनालाई केन्द्रीय सदस्य मनोनयन गर्ने सोच बनाएका छन् । केबी गुरुङ त्यसले पनि मानेनन् भने उनलाई आफू प्रधानमन्त्री बनेको अवस्थामा उपप्रधानसहित गतिलो मन्त्रालय दिने आश्वासन देउवाले दिन सक्छन् ।
तत्कालीन संस्थापनसँग रहेका भनिएका चन्द्र भण्डारी, केशव बुढाथोकी, अमरेशकुमार सिंह, जगदीशनरसिंह केसी, अमृत अर्याल, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी र फरमूल्लाह मन्सुरजस्ता सांसदलाई सभापति देउवाले महाधिवेशनअघि मन्त्री पद दिने वाचा गरेको सतहमा आइसकेको छ । तर, संसदीय दलको निर्वाचनपछि यिनीहरूका अपेक्षामा बिस्तारै पानी फ्याँक्ने रणनीति अख्तियारी गर्ने छन्, देउवाले । यीमध्ये प्रभाव हेरेर एकाधलाई मन्त्री पदको बाटो देखाए पनि सबैका अपेक्षा सम्बोधन हुन सम्भव रहने छैन । “हिजो भागबन्डा प्रवृत्तिका एक हिस्सा देउवाले अबका दिनमा पनि पौडेल समूहलाई ४० प्रतिशतभन्दा बढी भाग छुट् याउनुपर्ने छ,” कांग्रेसका एक प्रभावशाली केन्द्रीय सदस्य भन्छन्, “पटक–पटक बोहोराटार नै पुगेर देउवाले पौडेललाई यही कुरामा आश्वस्त पार्न
खोजेका हुन् ।”
नयाँ थपिएका सांसद र नेताहरूलाई भाग पुर्याउने त कुरै छाडौँ सबैभन्दा बढी चेपुवामा त पार्टी विभाजनभन्दा अघिदेखि देउवालाई साथ दिएका गोपालमान श्रेष्ठ पर्ने सम्भावना बढेको छ । देउवा सभापति भएपछि स्वाभाविक रूपमा उपसभापति दाबी गरिरहेका श्रेष्ठलाई अब पहिले जस्तै भाउ नदिने मनस्थिति देउवाले बनाएको उनको क्याम्पकै नेताहरू बताउँछन् । पछिल्लो संविधानसभा निर्वाचनमै स्याङ्जाबाट श्रेष्ठलाई प्रत्यक्षमा टिकट नदिएर कमल पंगेनी र राजु थापालाई काँध थापेपछि श्रेष्ठले देउवाको मनसाय बुझेका हुन् । “तर, अपमानित भएर पनि संगठनमा कमजोर पकड भएकाले उनले क्याम्प परिवर्तन गर्न सकेनन्,” देउवानिकट एक नेताको भनाइ छ ।
देउवाका दाहिना मानिएका श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, डीना उपाध्याय र भीष्म आङदम्बेजस्ता प्रभावशाली नेताहरूको आ–आफ् नै स्वार्थ र सपना तिख्खर हुँदै छन् । यीमध्ये कार्की, खाँण, महत र लेखकले सके महामन्त्री, नसके सहमहामन्त्रीमा आफूलाई ‘एडजस्ट’ गर्नुपर्ने तर्क देउवासँग गरिरहेका छन् । तर, उनीहरूलाई पदाधिकारीमा नसके पार्टीका एउटा एउटा विभाग भिडाउनुपर्ने वाध्यता देउवासँग छ । महतले भने पार्टी प्रवक्तामा आश गरिरहेका छन् ।
देउवानजिकको वृत्तभित्र पनि व्यक्तिगत र समूहगत शक्तिसंंषर्घ सुरु भएको छ । पूर्णबहादुरलाई महामन्त्री बनाउनै हुँदैन भन्दै खाँण र कार्कीले लबिङ गरिरहेका छन् । अघिल्लो कार्यकालमा देउवालाई नसोधी राजीनामा दिएको, पदाधिकारी बैठकहरूमा बिनासल्लाह जाने गरेको र देउवासँगभन्दा बढी खुमबहादुरप्रति वफादार भएको आरोप उनीहरूबाट झेलिरहेका छन्, पूर्णबहादुर । त्यसै गरी, पूर्णबहादुरले पनि आफू बलियो बन्ने अन्तर्यका साथ सभापतिमा पराजित कृष्णप्रसाद सिटौलालाई देउवा क्याम्पमा औपचारिक रूपले ‘एक्सपोज’ गराउने प्रयास गरिरहेका छन् ।
सिटौला आफूसँग जोडिने कुरामा भने स्वयं देउवा पनि उत्साही छन् । यसका लागि सभापति देउवाले पनि सिटौलासँग पटक–पटक छलफल गरेका छन् । त्यसैले सिटौलालाई देउवा क्याम्पभित्रको नयाँ ‘ पावर सेन्टर’ भन्न थालिएको छ । पहिलो कुरा त सिटौला आउँदा उनीसहित सांसद गगन थापा, गणेश विमली, सुधीर सिवाकोटी, अमृतलाल राजवंशी, उषा गुरुङ, राजु खनाल र मधु शाहीको भोट संसदीय दलको निर्वाचनमा देउवालाई पर्ने र यसले उनलाई पार्टी क्रियाकलाप अगाडि बढाउन सजिलो हुनेछ । त्यसैले, संविधान संशोधन, वैदेशिक सम्बन्ध र अन्तरदलीय वार्ताहरूमा सिटौलालाई अगुवाको जिम्मेवारी दिने सोच देउवाको छ ।
सभापति देउवा समीपमा सिटौलाको उदयको तयारीबाट उनीपछिका शक्तिशाली मानिने नेता विमलेन्द्र निधि भने झस्कनु स्वाभाविक हो । त्यसैले उनी सिटौलासँगको देउवाको सम्बन्ध निश्चित दूरीसहितको हुनुपर्ने ठान्छन् । समूहमा अर्को शक्तिकेन्द्र उदाउनुभन्दा देउवापत्नी आरजु राणा नै योजना र निर्णयका लागि सक्रिय भइदिऊन् भन्ने चाहना देउवाका कतिपय पुराना सहयोगीहरूमा देखिन्छ ।
सत्ता, शक्ति र समीकरणका लागि अडिगभन्दा बढी लचकदार मानिने सभापति देउवाले भने आफूलाई अलिक लामै दौडको शक्तिशाली घोडाका रूपमा तयार पार्न ढिलोचाँडो पार्टी विधान संशोधन गर्ने तयारी पनि गरिरहेकै छन् । यसअघिको संस्थापनले जसरी विधान संशोधन गरी बढीभन्दा बढी पदका आकांक्षीलाई समेट्ने योजना बनाएको थियो, त्यो अब नवनिर्वाचित सभापति देउवामा सवार भएको छ । खास गरी एकढिक्का बनेको कोइराला परिवारलाई टुक्र्याउन सभापति देउवाले विधान संशोधन गर्ने ठोकुवा उनीनिकटका नेताहरूको छ । देउवापक्षीय एक नेता भन्छन्, “अहिल्यै त नभनौँ, बिस्तारै अरूलाई कमजोर पार्दै थप बलियो हुने कुनै पनि कसरत देउवाबाट हुन सक्छ । अहिलेलाई देउवासामु संसदीय दलको नेता र सत्ता प्रमुख बन्ने चासो नै प्राथमिकतामा छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...