बुद्धत्वको मूल
बुद्धत्वको मूल लुम्बिनीको व्यवस्थापन गर्न सके तेलखानीजस्तै हुने सम्भावना जति टड्कारो छ

भूकम्पले पुर्याएको पोहोरको बुद्ध जयन्तीको क्षति समेत खप्टेर सरकारले विश्व बौद्ध सम्मेलन गर्यो । स्वयम्भूको तेस्रो आँखा खोलेर बौद्धनाथजस्ता थुप्रै आस्थाका चैत्यहरूको पुन:निर्माणमा शान्तिकामी नेपालीहरू जुटेकै छन् । सिद्धार्थ गौतम जन्मेको दिन, बुद्धत्व प्राप्त गरेको र निर्वाण भएको सुसंयोग पूर्णिमाकै दिन हो । यसपालिको २५६०औँ जन्मजयन्ती इस्वी ५४३ बाट गणना भएको हो भने उक्त मिति निधन भएको मिति हो । जन्म जयन्तीका लागि ८० वर्ष थप्नुपर्ने हुन्छ । यसरी वैशाख पूर्णिमाका दिन संयुक्त राष्ट्रसंघलगायत धेरै देशमा बुद्ध जयन्ती मनाइन्छ । तर, नेपालमा यो परम्पराको जग धर्माधिकारी जगतमान शाक्यले भित्र्याएका थिए । करिब २५ सय वर्षअगाडि कपिलवस्तुको शाक्य वंशका राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट पैदा भएका शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा संसारलाई दु:खमुक्त गर्ने उद्देश्यले दरबार त्यागे । गयाको एउटा पीपलको रूखमुनि ४९ दिनसम्म ध्यानमा बसेपछि पूर्णिमाको दिन चरणबद्ध, पूर्वजन्मको ज्ञान, दिव्यचक्षु र बोधिज्ञान हुँदै बुद्धत्व प्राप्त गरे । त्यसैले शाक्यमुनि बोधिसत्वलाई बुद्ध र त्यो वृक्षलाई बोधिवृक्ष भनियो ।
सारनाथ, बुद्धले पाँच भद्र शिष्यलाई जीवन, जगत्, रसद धर्मबारे उपदेश गरेको स्थान हो । शील, समाधि, प्रज्ञाका आठओटा सत्य बाटा र चार आर्य सत्यबारे दिनुभएको उपदेशलाई ‘धर्म–चक्र–प्रवर्तन’ भनिन्छ र संघको गठन र भिक्षुहरूसँगको वर्षावास पनि सारनाथबाटै सुरु भएको हो ।
भगवान् बुद्धले जन्मस्थल लुम्बिनी, ज्ञान–मोक्ष प्राप्त बोधिगया, धर्म प्रवर्तन स्थल सारनाथ र परिनिर्वाण स्थल कुशीनगरको यात्रा गर्न सबै बुद्ध धर्मावलम्बीलाई सल्लाह दिएका छन् । यसैको शिरोपर गरेर सम्राट अशोकले राज्याभिषेकको दुई दशकपछि देवदूतका रूपमा लुम्बिनीमा अशोक स्तम्भ निर्माण गरे । उनैको प्रसाद र प्रतापले नेपालबाट एसियाको ज्योति फैलिएको छ ।
परिनिर्वाणको दुई सय वर्षपछि अशोकले अफगानिस्तानदेखि एसियाका चारै दिशामा बुद्ध धर्म फैलाए । शान्ति र मानव मुक्तिका लागि समर्पण गर्दै छोरी संघामित्रा र छोरा महेन्द्रलाई श्रीलंका पठाएर भिक्षु र भिक्षुणीको संघ खोल्न लगाए । यसबाट नारी समानता झल्किन्छ भने सबै उपदेशमा संस्कृतीकरण नगरेर जनभाषाको प्रयोग गरिएको छ ।
थेरवादको कठोर आचारबाट फुत्केर महासांघिक हुँदै खुकुलो भएको बौद्ध धर्म बज्रायनमा पुगेर परिमार्जित भएको छ । १८ शाखामा विभाजित बौद्ध साहित्यमा पाली भाषामा उद्धृत ८४ हजार श्लोक छन्, जसलाई पछि राजा कनिष्कले र विद्वान् नागार्जुनले संस्कृत भाषामा लिपिबद्ध गराए । खास गरेर काठमाडौँ उपत्यका लिच्छवि काल, बौद्ध धर्मका लागि चीन र भारतबीचको रेशमी सडक (सिल्क रुट) एउटा सडक मात्र होइन, भण्डारण गर्ने गोदाम पनि थियो । अंशुवर्मा कालमा नै भृकुटी धर्मदूतसमेत भएर चीन पुगेकी हुन् । नालन्दामा पढेका चिनियाँ यात्री हुयन साङ र गुरु पद्मसम्भवको पनि नेपालको बुद्ध धर्मको विकासमा यथेष्ट योगदान छ । तर पनि, नेपालमा बुद्धवादीहरूको संख्यामा कमी छ । यसका लागि जयस्थिति मल्लले शैव र बौद्धको भेद गराउनु पनि हो भनिन्छ । गोरखाली हिन्दुत्वको पनि यसलाई सेप लाग्यो भनिन्छ । राणाहरूले त वैशाख पूर्णिमाका दिन देवालीको वली दिएर अहिंसाको मर्ममाथि प्रहार नै गरे ।
नेपालमा आयोजित २०१३ को चतुर्थ विश्व बौद्ध सम्मेलनमा राजाले ‘नेपाल आमाका सुपुत्र’ भनेर गरेको उद्घोष अझै जपिराख्नु परेको छ । गत वर्ष नेपालको संसद्मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मेको सहर्ष सकारेका थिए । तैपनि, लुम्बिनीमाथिको चलखेलमा झेल गर्ने क्रममा पूर्णविराम लागिसकेको छैन । इसापूर्व २४९ मा मौर्य सम्राटले लुम्बिनीमा बुद्ध जन्मस्थल भएको किटानसाथ अशोक स्तम्भ राखेर गए । सयौँ वर्षसम्म अज्ञात पवित्र स्थलमा सन् १८९६ मा जंगल कटान गर्न पुगेका पाल्पाली जर्नेल खड्गशमशेरका कामदारले पुरिएको अशोक स्तम्भ पत्ता लगाए । साथै, पाइलट मेजर जसकरणको सूचनाका आधारमा जर्मन पुरातत्त्वविद् फुअररले स्तम्भमा पाली भाषामा लेखिएको बेहोरा उतारेर बुद्धको जन्मस्थलको घोषणा गरे । उनको योगदान सम्झँदा सबै देशभक्तको शिर निहुरिन्छ ।
त्यसपछि सन् १९६७ मा महासचिव ऊथान्तले लुम्बिनीमा पाइला मात्र टेकेनन् । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पहिचान दिएर सन् १९७० मा राष्ट्रसंघमा लुम्बिनी विकास समिति गठन गरे । उनकै प्रेरणामा विख्यात वास्तुकलाविद् केन्जो टाँगेले नि:शुल्क रूपमा २५ स्क्वाएर माइल क्षेत्रमा पुन:निर्माण गर्ने गुरुयोजना बनाइदिए । मायादेवी मन्दिर, उद्यान, पोखरी, विभिन्न राष्ट्रका गुम्बा, चैत्य र विहार अनि ठूला होटल जो छन्, ती सबै केन्जो टाँगेका समर्पण र परिकल्पना हुन् भन्दा अत्युक्ति हुँदैन । श्रद्धेय ऊथान्तको प्रेरणाले विश्व सम्पदा सूचीमा स्थान पाउन पनि सफल भयो । यस महान् निर्माणको गर्भमा सन् १९९७ सालको एकै महिनामा दुइटा जघन्य हत्या भएको छ । युवा जापानी भिक्षु युताका नावातामेको हत्या भयो, उनी सुतेको ठाउँमै गोली हानेर । अर्को हत्या मायादेवीे मन्दिरमा उम्रेको बोधीको रूख काटेर भयो । जसको जराबाट टिस्यु कल्चर गरेर निकालेको सन्तानको बिरुवा संस्कृतिविद् सत्यमोहन जोशीको घरमा हुर्केको देख्न सकिन्छ ।
बुद्धका अग्रणी श्रावक सारिपुत्र र मौदगल्यायनको स्मृतिमा बनेको बिहारले नालन्दा विश्वविद्यालयको रूप लियो । आठ सय वर्षसम्म विश्व शिखरमा पुगेको यो प्रज्ञा केन्द्रमा प्राचार्य नागार्जुन, लामा धर्मका जनक पद्मसम्भवले अध्ययन गरेका थिए भने पाँचौँ शताब्दीमा यही केन्द्रमा तन्त्रको अध्ययन गरेका थिए । १२औँ शताब्दीमा मुसलमानले पुस्तक जलाउने, संरचना भत्काउने र छात्र भगाउने काम गरे । लुम्बिनीलाई बुद्धत्वको उद्गमस्थल बनाउने उद्देश्यले नेपाल सरकारले ०६१ मा लुम्बिनीमा बौद्ध विश्वविद्यालय खोलेको छ । सन् १९९८ मा भएको शिखर सम्मेलनको प्रस्ताव अनुसार सन् २०११ मा हिरोसिमा र नागासाकीका मेयरहरूलाई ५० हजार डलरको पुरस्कार प्रदान गरियो । श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रस्ताव कार्यान्वयनको तहमा छ । डुराहाम विश्वविद्यालयको मूर्त, अमूर्त पुरातात्त्विक उत्खननले इसापूर्व ६०० वर्षअगाडि मानव अवस्थितिको टुंगो लगाएर आशातीत सफलता पाएको छ । अब बुद्धत्वको मूल लुम्बिनीको व्यवस्थापन गर्न सके तेलखानीजस्तै हुने सम्भावना जति टड्कारो छ, राजनीतिक अस्थिरता, अकुशल कर्मचारीतन्त्रले गर्दा भुइँको टिपौँ भन्दा पोल्टाको पनि झर्न के बेर !