आवरण कथा» पूर्वराजाको धार्मिक अस्त्र
विराट हिन्दु महासम्मेलनका नाममा राजावादीहरू राजतन्त्र फर्काउने दाउमा

संविधानसभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि शक्तिपीठको पूजा अर्चनाबाहेक खासै सार्वजनिक समारोहमा नदेखिएका पूर्वराजा ज्ञानेन्द्र शाहले ४ कात्तिकमा हिन्दु राजाका रूपमा आफ्नो स्थान खोजेका छन् । हिन्दु धर्मका चार धर्माधिकारीमध्येका एक शंकराचार्य वासुदेवानन्द सरस्वती र भारतको गोरखपुरस्थित गोरखनाथपीठका पीठाधीश भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथलाई साक्षी राखेर उनले नेपाललाई हिन्दु अधिराज्य बनाउने हिन्दु धर्मका अगुवा, पूर्वपञ्ज र दरबारियाहरूको मागको समर्थन मात्र गरेनन्, विकसित राजनीतिक प्रक्रियाप्रति गम्भीर असन्तुष्टि प्रकट गर्नसमेत भ्याए ।
पशुपतिस्थित वनकालीमा महासम्मेलनको उद्घाटनमा दायाँतिर दक्षिणबाट आएका हिन्दु नेता तथा पीठाधीश अनि बायाँतिर आफ्ना मुख्य विश्वासपात्रलाई राखेर पूर्वराजाले फेरि राजा हुने आंकाक्षा पुन: प्रकट गर्नुका पछाडि लामै कसरतको शृंखला छ । पूर्वराजाको आकांक्षालाई मलजल गर्नेहरूको सक्रियताका कारण विश्व हिन्दु महासंघको यो सम्मेलन धार्मिक जमघट होइन, राजनीतिक रंगमञ्च हुन पुगेको छ । कारण, सम्मेलनमा हिन्दु धर्मको भन्दा बढी पूर्वराजाको जयगान र पुनरागमन आग्रहका लागि समय खर्च गरिएको थियो । सम्मेलनमा आएका शंकराचार्य वासुदेवानन्द सरस्वतीलगायतका सबै पीठाधीश, साधु तथा धर्माधिकारीहरूले पनि हिन्दु धर्मको चर्चा कम र पूर्वराजाको जयजयकार बढी गरेका थिए ।
दोस्रो जनआन्दोलनपछि पूर्वराजाले यति ठूलो सार्वजनिक मञ्च पाएका थिएनन् । त्यसैले विश्व हिन्दु महासंघले उपलब्ध गराएको मञ्चलाई पूर्वराजाले राम्रैसँग उपयोग गरे । हिन्दु सम्राट्का रूपमा पुरानै ढर्रा र हाउभाउमा उपस्थित पूर्वराजाले भने, ‘‘हामीसँग दर्शन छ । त्यो दर्शन अनुसार पुरानो बाटोमा अघि बढ्न नयाँ सोचको खाँचो छ ।’’ धार्मिक भन्दा पनि राजनीतिक लिखित भाषण पढ्दै उनले थपे, ‘‘चरम बाह्य हस्तक्षेपले देश गन्तव्यहीन यात्रामा लागेको छ, जनतामा चरम निराशा छाएको छ, यस्तो किन भयो भनेर जनताले प्रश्न गर्ने बेला भएको छ ।’’
जनआन्दोलनको सफलतापछि आफूलाई सम्पूर्ण राजनीतिक प्रक्रियाबाट निषेध गरिएकामा उनको असन्तुष्टि पनि प्रकट भयो, हिन्दु सम्मेलनमा । उनले भने, ‘‘निषेधको राजनीतिले असन्तुलन, असन्तुलनले उपेक्षा र उपेक्षाले अन्तत: विद्रोह जन्माउँछ । त्यसैले सबैले यो यथार्थ स्वीकारेर परिस्थिति सुधार गर्नु उचित हुन्छ ।’’
पर्दा पछाडि को ?
पूर्वराजाको यो राजनीतिक स्वर त्यतिकै आएको होइन । उनीबाट यो स्वर निकाल्न राजावादी र हिन्दु धर्मका पीठाधीश, सन्त तथा महन्तहरूले पर्दा पछाडि ठूलो कसरत गरेका छन् । परिणामत: पूर्वराजा मात्र होइन, विश्व हिन्दु महासंघका पदाधिकारी र पूर्वराजाका सहयोगीहरू समेत ‘राजासहितको हिन्दु राज्य नबनाइए विद्रोह गर्ने’ धम्की दिन थालेका छन् । महासंघका अध्यक्ष पूर्वजर्नेल हेमराज कार्की भन्छन्, ‘‘हिन्दु अधिराज्य कायम भएन भने दलहरू कहाँ पुग्छन्, हेर्दै जानुहोला । अब अति भयो, पूर्वराजा र देशवासीलाई भएको अन्याय हामी सहेर बसिरहन सक्दैनौँ ।’’
पूर्वराजालाई ८० वर्षीय कार्की जस्ता राजभक्तहरूले मात्र उक्साएका छैनन् । उनलाई सार्वजनिक रूपमा अहिलेको राजनीतिक विकासक्रम र प्रक्रियाको विरोधमा उतार्न मुख्य रूपमा भारतका हिन्दुवादी सक्रिय छन् । त्यसको संयोजन गरेका छन्, तत्कालीन राजाका तत्कालीन शाही पाश्र्ववर्ती भरतकेशर सिंहले । पूर्वराजाका दुई अति विश्वासपात्रमध्ये सिंह ८४ वर्षको उमेरमा फेरि राजा फर्काउने खेलमा सक्रिय छन् भने अर्का शरदचन्द्र शाहको निधन भइसकेको छ । सिंहको सक्रियता कतिसम्म भने उनी पूर्वराजासँग सरसल्लाह गर्न मात्र होइन, सम्मेलनमा निम्तालुलाई स्वागत गर्नदेखि वनकालीमा मञ्च बनाउने काममा समेट खटिएका छन् । सम्मेलनको व्यस्ततामै उनले नेपालसँग भने, ‘‘राजालाई निरंकुश भन्ने दलहरू त राजाभन्दा पनि बढी निरंकुश देखिए, जनताको रायविना नै राजा र धर्म स्वाहा बनाए । मेरो उद्देश्य राजा र धर्ममाथि भएको अन्याय उल्ट्याउनु हो ।’’
पूर्वराजा शाहको शासनकालका मुख्य सल्लाहकार सिंह विश्व हिन्दु महासंघका संरक्षक तथा मार्गदर्शक पनि हुन् । सिंहकै कारण जनआन्दोलनपछि सार्वजनिक सक्रियता नदेखाएका पूर्वराजा फेरि सक्रिय भएका छन् । हुन पनि राजावादी र दरबारियाहरूमध्ये पूर्वराजा सबैभन्दा बढी भरतकेशरकै भर पर्ने गरेका छन् ।
राजा फर्काउने खेलमा लागेका पूर्वशाही पाश्र्ववर्ती सिंहलाई उक्साउने मुख्य पात्र चाहिँ सत्तारूढ भारतीय जनता पार्टीका सांसद तथा गोरखपुरस्थित गोरखनाथपीठका योगी आदित्यनाथ पनि हुन् । स्रोतका अनुसार, आदित्यनाथकै कृपामा सिंह लगायतका पूर्वराजावादी चलायमान भएका हुन् । योगी आदित्यनाथ नेपालमा राजासहितको हिन्दु अधिराज्य कायम गर्ने अभियानमा धेरै पहिलेदेखि नै सक्रिय छन् । सिंह पनि भन्छन्, ‘‘राजनीतिक दलले बलपूर्वक राजा र हिन्दु धर्मलाई विस्थापित गरेका छन् । त्यसैले राजासहितको हिन्दु राज्य बनाउने अभियान चलाउनु परेको छ ।’’
दुई वर्षअघि आदित्यनाथ काठमाडौँ आएर सिंह लगायत पूर्वराजाका सहयोगीलाई हिन्दु राज्य र राजालाई पुन:स्थापना गर्ने अभियान थाल्न उक्साएका थिए । त्यो जमघटका एक सहभागीका भनाईमा, दोस्रो जनआन्दोलनको सफलताले ‘कोमा’मा पुगेका पूर्वराजाका सहयोगीलाई आदित्यनाथले होटल अन्नपूर्णमा भेला गरेर राजतन्त्र फर्काउने तयारीमा तुरुन्त लाग्न भनेपछि विराट हिन्दु सम्मेलनको तयारी थालिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमीत शाहसँग आदित्यनाथको बलियो सम्बन्ध छ । त्यो सम्बन्धलाई भजाउने दाउमा छन्, पूर्वराजा र राजावादीहरूचाहिँ । सके आफैँ राजा हुने, नसके नाति हृदयन्द्रलाई राजा बनाउने पूर्वराजाको चाहना सार्वजनिक भइसकेको छ । आदित्यनाथले वनकालीमा नेपालमा राजा फर्काउन र हिन्दु राज्य कायम गर्न भारतले आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएर पूर्वराजालाई साथ दिने संकेत गरेका छन् । आदित्यनाथको कथन छ, ‘‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नेपाली भावना फेरि जाग्नुपर्छ । किनभने नेपालका राजा नेपालका राजनीतिक इकाइ भए पनि दुनियाभरका हिन्दुहरूका लागि हिन्दु सम्राट् हुन् । त्यसैले यो नेपालीको मात्र मुद्दा होइन, हाम्रो पनि सरोकार हो ।’’
राजतन्त्र हटेपछि कतै नदेखिएका शाहीकालीन मन्त्री टंक ढकालदेखि केशरबहादुर विष्टसमेत विराट हिन्दु महासम्मेलनमा सहभागी भए । सोही सम्मेलनमा भाग लिन ३ कात्तिकमा गोरखपुरबाट भैरहवा हुँदै राजधानी आएका आदित्यनाथ तीन दिने नेपाल बसाइमा घोषित अभियानमा विशेष सक्रिय रहे । ५ कात्तिकमा गोरखपुर फर्किएका उनले पूर्वराजा र उनका सहयोगीलाई सक्रिय हुन प्रेरित त गरेका छन नै, हिन्दु अधिराज्य पुन:स्थापना गर्न भाजपाका अध्यक्ष अमीत शाह र भारतीय प्रधानमन्त्री मोदीको सहयोग प्राप्त हुने आश्वासन पनि दिएका छन् ।
स्मरण रहोस्, भारतीय जनता पार्टी हिन्दु धर्ममा आधारित दक्षिणपन्थी पार्टी हो । भारतीय संविधान धर्म निरपेक्ष भए पनि भाजपाको घोषित नीति हिन्दुवाद र हिन्दुत्वको रक्षा रही आएको छ । वनकालीको विश्व सम्मेलनमा भाजपा अध्यक्ष अमीत शाहले आफ्नो दलको प्रतिनिधिका रूपमा आदित्यनाथका अतिरिक्त भाजपा नेता रघुनन्दन शर्मालाई पनि पठाएका थिए । भाजपामा प्रधानमन्त्री मोदी, अध्यक्ष शाह र आदित्यनाथको राजनीतिक लाइन एउटै हो । सम्मेलनमा अमीत शाहको प्रतिनिधिका रूपमा सहभागी भाजपा नेता रघुनन्दन शर्माले आदित्यनाथको भनाइको समर्थन गर्दै नेपाल हिन्दु अधिराज्य बन्नुपर्ने धारणा मात्र राखेनन्, राजा पुन:स्थापनाको पक्षमा खुलेर तर्क पनि गरे । आदित्यनाथका सहयोगी केआर कँडेल भन्छन्, ‘‘भाजपा नेपालमा हिन्दु अधिराज्य होस् भन्ने चाहन्छ, हिन्दु अधिराज्य आएपछि स्वत: राजाको स्थान सुरक्षित भइहाल्छ । प्रधानमन्त्री मोदीलाई सोझै बोल्न कठिन भएको मात्र हो, उहाँको चाहना पनि हिन्दु अधिराज्य नै हो ।’’
हिन्दु सम्मेलनमा भाजपा ‘कनेक्सन’ कतिसम्म देखियो भने सम्मेलनको तयारी बुझ्न भाजपा अध्यक्ष अमीत शाहले आफ्ना नेपाली मूलका स्वकीय सचिव सन्दिप रानालाई असोजको अन्तिम साता काठमाडौँ पठाएका थिए । उनी एक साता काठमाडौँ बसेर २ कात्तिकमा भारत फर्किए । भाजपा र भारतका हिन्दुवादी नेताहरूकै योजनामा आदित्यनाथले दुई वर्षअघि काठमाडौँ आएर पूर्वराजाका विश्वासपात्र र दरबारियालाई विराट हिन्दु महासम्मेलन गरेर हिन्दु अधिराज्यको पक्षमा जनमत तयार गर्न अह्राएका थिए । त्यसपछि भरतकेशर सिंह लगायतका समूहमा ऊर्जा पैदा भएको थियो । सम्मेलनको तयारीका क्रममा १८ भदौ ०७३ मा सिंहले आदित्यनाथ मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर हिन्दु महासम्मेलनमा सहभागी हुन निम्ता पनि गरे । सिंह भन्छन्, ‘‘मैले मोदीजीलाई भारतमा भेटेर पशुपतिनाथको प्रसाद र रुद्राक्षसँगै सम्मेलनको निम्तो दिएँ । उहाँले सम्मेलन सफलताको शुभकामना दिनुभयो ।’’
संस्था धार्मिक, काम राजनीतिक
विस ०३७ मा विश्वभरि छरिएर रहेका हिन्दुहरूसँग समन्वय गर्ने उद्देश्यले विश्व हिन्दु महासंघ गठन भएको थियो । विश्वका ४४ देशमा शाखा रहेको महासंघ हिन्दु संघसंस्थाको छाता संगठन हो । तर, हिन्दु धर्मको विकासका लागि बनाइएको महासंघ हिन्दु धर्मको श्रीवृद्धिमा भन्दा राजाको चाकरीमै लिप्त भएकाले विवादास्पद बन्दै आएको छ । संविधानत: गणतन्त्र स्थापना भएको मुलुकमा फेरि महासंघले राजा फर्काउन धार्मिक समारोहलाई राजनीतिक मञ्च बनाएको छ ।
वनकालीको खुला सत्रपछि ५ र ६ कात्तिकमा प्रज्ञा भवन कमलादीमा आयोजित बन्द सत्रले नेपाललाई हिन्दु अधिराज्य कायम गर्ने, हिन्दु धर्म त्यागेकालाई फेरि हिन्दुमै फर्काउने कार्ययोजना तय गर्ने, नेपालमा बढ्दो इसाईकरण र गौहत्या रोक्न त्यसविरुद्ध सशक्त रूपमा उभिने नीति लिएको महासंघकी सचिव अस्मिता भण्डारी बताउँछिन् ।
महासंघको प्रथम सम्मेलन पर्साको वीरगञ्जमा ०३७ मा आयोजना गरिएको थियो । ०४४ मा महासंघले दोस्रो विश्व हिन्दु सम्मेलन गरी राजा वीरेन्द्रलाई हिन्दु सम्राट् घोषित गर्यो । दोस्रो जनआन्दोलनपछि महासंघले सार्वजनिक कार्यक्रमसमेत गरेको थिएन । यसपटक फेरि तेस्रो सम्मेलन गरेर धर्म निरपेक्ष देशमा हिन्दु अधिराज्यको मागअघि सारेको छ । त्यति मात्र होइन, २९ वर्षको अन्तरालमा भएको यसपटकको सम्मेलनले जनआन्दोलनपछि करिब गुमनाम भएका पूर्वराजावादी, हिन्दु धर्माधिकारी र दरबारियाहरूलाई जगाएको छ । त्यसैले धार्मीक संस्था भए पनि यसले गैरसंवैधानिक राजनीतिक नारा र एजेन्डालाई उचालेको छ ।
‘हाम्रो मिसन हिन्दु राजा, हिन्दु प्रजा’
– योगी आदित्यनाथ, भाजपा सांसद
तपाईंको नेपाल मिसन के हो ?
हामी नेपालमा पुरानो पहिचान पुन:स्थापना गर्ने आन्दोलनमा छौँ । बेलायत, थाइल्यान्डले राजा राखेर प्रगति गरेका छन् । यहाँ राजा किन हटाएको ?
तपाईं भाजपाको सांसद पनि हुनुहन्छ, के भाजपा पनि राजतन्त्र फर्काउन चाहन्छ ?
प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमीत शाह दुवै जना नेपालमा शान्ति र स्थिरता चाहनुहुन्छ । यो सम्मेलनमा उहाँहरूले सफलताको शुभकामना दिनुभएको छ र अध्यक्षको प्रतिनिधिका रूपमा भाजपाका नेता रघुनन्दन शर्माजी सहभागी हुनुहुन्छ । उहाँले हिन्दु राष्ट्र र हिन्दु पहिचान कायम गर्न प्रस्ट मन्तव्य दिनुभएको छ । त्यसको अर्थ नेपालमा हिन्दु राजसंस्था स्थापनाको चाहना समग्र भारत र भारतवासीको मात्र होइन, संसारका हिन्दुहरूको हो ।
हिन्दु अधिराज्य बन्न सम्भव छ र ?
नेपालको राजसंस्था एकता र भ्रातृत्वको प्रतीक हो । राजा संसारभरिका हिन्दुका सम्राट् हुन् । राजा हिन्दु पहिचानका प्रतीक हुन् । संविधानमा राखिएको धर्मनिरपेक्षता शब्द विकृत मानसिकताको उपज हो । नेपालको वास्तविक पहिचान हिन्दु हो । हिन्दु पहिचानका प्रतीक राजा हुन् । हिन्दु राजा, हिन्दु प्रजा नेपालको अस्तित्व हो, त्यो कायम हुनुपर्छ । हामी यसका लागि सक्रिय छौँ ।
गणतन्त्र संस्थागत भएको देशमा धर्मको नाममा राजनीति गर्नु हुन्छ ?
नेपाल सनातन हिन्दु राष्ट्र हो । भगवान् गोरखनाथको कृपा नेपाल राज्य र यहाँको राजसंस्थाप्रति रही आएको छ । हामी चाहन्छौँ नेपाल एक होस्, स्वतन्त्र होस् र सुरक्षित होस् । त्यसको लागि हिन्दु पहिचान पुन:स्थापना हुनुपर्छ । भारत र नेपाल दुईवटा शरीर हुन् तर आत्मा एउटै छ । त्यो आत्मा हिन्दुत्व हो । भारत र नेपालको साझा सांस्कृतिक विरासत भएको हुनाले हिन्दुत्वको रक्षा गर्न दुवै देशका हिन्दुहरू एक जुट हुनुपर्छ ।
‘हिन्दुत्वको उद्योग चल्दैन’
घनश्याम भुसाल, उपमहासचिव, नेकपा (एमाले)
हिजो क्रान्तिमा हातेमालो गरेका राजनीतिक शक्तिहरू आज विभाजित र कतिपय एजेन्डामा दिग्भ्रमित भएकाले विराट हिन्दु सम्मेलनका माध्यमबाट पूर्वराजा, राजावादी र दरबारिया हिन्दुहरू सलबलाएका हुन् ।
यसमा हाम्रा राजनीतिक दलको अकर्मण्यता, नालायकी र गैरजिम्मेवारीपन पनि केही हदसम्म कारक रहेको छ । किनभने जनआन्दोलन–२ सफल भएपछि जनताका आंकाक्षा पूरा गर्न राजनीतिक दलहरू जसरी एक ढिक्का भएर अघि बढ्न जरुरी थियो, दुर्भाग्यवश त्यस्तो हुन सकेन । यही कमजोरीको फाइदा उठाएर अहिले हिन्दु धर्मका नाममा राजावादीहरूले नयाँ उद्योग चलाउन खोजेका हुन् । यो उद्योग अब नेपालमा चल्दैन ।
जहाँसुकै पनि क्रान्तिपछि प्रतिक्रान्तिको तानाबाना बुनिन्छ । अहिले नेपालमा त्यस्तै प्रतिक्रान्तिको तयारी गरिएको हुनसक्छ । रुस, चीन र फ्रान्समा पनि क्रान्तिपछि प्रतिक्रान्तिको प्रयास भएको थियो, जो सफल भएन । त्यसैले नेपाललाई पछाडि फर्काउने र प्रतिगमनको बाटोमा लैजानका लागि गरिने कुनै पनि प्रतिक्रान्ति सफल हुन सक्दैन । किनभने नेपाली चेतना धेरै उन्नत छ । ओरालो लागेर समाप्त भइसकेको राजतन्त्र अब फेरि फर्किन्छ वा उकालो लाग्छ भन्ने ठान्नु दिवास्वप्नबाहेक केही होइन । हिजो क्रान्तिका लागि एक ढिक्का भएका शक्तिहरूबीचको कलहका कारण दुलाभित्र छिरिसकेकाहरूले टाउको उठाउन खोजेका छन् । तर, तिनको योजना कदापि सफल हुन सक्दैन ।
भारतीय जनता पार्टी र हिन्दु धर्मका केही ठेकेदारलाई हाम्रो चुनौती छ, पहिला भारतलाई धर्म सापेक्ष बनाएर देखाऊ अनि नेपालबारे कुरा गर । भारतको जस्तो संकीर्ण हिन्दुत्व छैन नेपालमा । नेपालको हिन्दुत्व समावेशी, लचिलो, सहिष्णु छ । यहाँ कट्टरवादलाई कुनै स्थान छैन् । किनभने हिन्दुवाद, जातिवाद र राजावादको भविष्य छैन । भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघको आडमा केही राजावादीले एकाध सम्मेलन, गोष्ठी र सभा गर्न सक्लान् तर तिनले धर्मका नाममा नेपाललाई हिन्दु अधिराज्य बनाउने सपना देख्नु बेकार हो ।