हिमाली सरदार
गत वर्ष मनासलु आरोहण गरेर क्याम्प–४ मा फर्कंदा भारतीय पर्वतारोही कुन्तल जोइसरलाई सरदार मिङ्मा तेन्जी शेर्पाले भनेछन्, ‘तिमी निकै बहादुर मानिस हौ ।’ जसलाई संसारकै निकै बहादुर मान्थे, उनकै मुखबाट आफू बहादुर कहलिनुलाई जोइसरले जीवनमा पाएका थुप्रै सम्मानभन्दा धेरै माथि राखेका छन् ।
गत वर्ष मनासलु आरोहण गरेर क्याम्प–४ मा फर्कंदा भारतीय पर्वतारोही कुन्तल जोइसरलाई सरदार मिङ्मा तेन्जी शेर्पाले भनेछन्, ‘तिमी निकै बहादुर मानिस हौ ।’ जसलाई संसारकै निकै बहादुर मान्थे, उनकै मुखबाट आफू बहादुर कहलिनुलाई जोइसरले जीवनमा पाएका थुप्रै सम्मानभन्दा धेरै माथि राखेका छन् ।
आरोहणको अन्तिम अवस्थामा अर्का आरोहीको ‘गियर’ (पर्वतारोहणको बन्दोबस्ती प्याकेज)मा समस्या आयो । मिङ्माले आफ्नो गियर तिनलाई दिएर चुचुरो चुमाए । अनि, केही भइहाल्छ कि भनेर क्याम्प–४ मै कुरेर बसे । हिमाल सिर्फ आरोहण कौशलले चढिँदैन, न त हिमालको अनुभवले कोही पूर्ण नै हुन्छ । हिमालको यही विशिष्टतालाई जोडेर धेरैले आरोहणलाई रहस्यमय यात्रा मान्छन् । र, ‘बेटर’ होइन, ‘बेस्ट’ सहयोगी खोज्छन्, आरोहणका सोखिनहरू । हिमालको फेदीमै बसोवास गर्ने शेर्पा समुदाय, त्यही साहस, उच्च तहको जिम्मेवारीबोध र नि:स्वार्थ भावना बोकेको व्यावसायिक समुदाय हो । र, अन्तर्राष्ट्रिय ब्रान्ड बन्ने बलियो आधार पनि ।
खुम्बु क्षेत्रमा पदयात्रा गर्दा शेर्पा नजोडिने कुनै मोड हुँदैन । पदयात्रादेखि हिमाल चढाउने गाइडसम्म, होटल व्यवसायदेखि भरियासम्म । धेरै नसोचीकनै कुनै शेर्पालाई कतिपटक सगरमाथा चढेको भनेर सोधियो भने खोजेकै उत्तर आउँछ । चुचुरोमै नपुगेका भए तापनि बेसक्याम्प माथिसम्म वा अन्य स–साना हिमाल कुनै न कुनै कालखण्डमा पुगेकै हुन्छन् । ‘नाइँ हिमाल चढेको छैन’ भन्ने उत्तर सायदै आउँदैन । प्रसिद्ध अमेरिकी आरोही एलन अर्नेटका शब्दमा शेर्पाको त्यही परिचय खुम्बु क्षेत्रको सांस्कृतिक हिस्सा हो ।
सन् १९८७ यता नेपाल सरकारले एकै यामका लागि एकभन्दा बढी आरोहण दललाई समेत अनुमति दिने व्यवस्था ल्यायो । त्यसपछि मात्र शेर्पाहरूले व्यावसायिक रूपमै यसलाई आफ्नो पेसा बनाउन थाले । जसरी आरोहणसँग त्यति लेनदेन नभएका अनेकथरी भूगोल, परिवेश र शारीरिक क्षमताका मानिस सगरमाथाका कीर्तिमानसँग जोडिन पाए, त्यसरी नै शेर्पाले जातिबाट व्यवसाय वा पेसामा परिणत हुने अवसर पायो ।
सगरमाथा मात्रको आरोहणको सफलता दर सन् १९९० यता तीन गुणाले बढेको छ । तिनै शेर्पाको भर परेर अन्य हिमाल आरोहण गर्न आउनेको लर्कोसमेत उत्तिकै छ । अहिले आरोहणमै पनि शेर्पासँगै गुरुङ, तामाङ, क्षेत्रीहरू पनि जोडिइरहेका छन् तर तीसमेत शेर्पाकै रूपमा बुझिन्छन् । तीन करोड जनसंख्या भएको नेपालको शेर्पा जाति भने एक प्रतिशत हाराहारीमा मात्र छ ।
पुराना आरोही आङकामी शेर्पा पछिल्लो वसन्त ऋतुमा सगरमाथा आधार शिविरसम्म भेटिएका थिए । सन् १९७५ मै जुन्को ताबेईलाई चुचुरोमा पुर्याउने दलमा काम गरिसकेका आङकामी सन् १९९० यता ‘आइसफल डाक्टर’ (आरोहणको बाटो बनाउने काम) छन् । चौरीखर्क, सोलुखुम्बुका स्थानीय उनका लागि भलै हिमाल चढ्नु नामभन्दा पनि घरखर्चको जोहो गर्ने माध्यम मात्र हो । हिमाल उनी त्यस कारण चढे किनभने उनीसँग पढ्ने वा अन्य सीप सिक्ने क्षमता थिएन । उनले सगरमाथाको चुचुरो मात्रै १५ पटक नापिसके, आठपटक दक्षिणी मोहडाबाट, चारपटक उत्तरी मोहडा त तीनपटक पश्चिमी उभाग (वेस्ट रिज)बाट । सुनाउँछन्, “अघिल्लोपटकको अनुभव पछिल्लोपटक हिमाल चढ्दा तालिम बन्थ्यो ।”
शेर्पाको पछिल्लो पुस्ता भने केवल गुजाराका लागि आरोहण गर्ने पक्षमा छैन । उनीहरूका लागि नेपालका हिमाल मात्र कार्यक्षेत्र रहेन । इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसिएसनले दिने अन्तर्राष्ट्रिय सर्टिफाइड माउन्टेन गाइडको प्रमाणपत्र पाउने नेपाली शेर्पाको संख्या ३३ पुगेको छ । उनीहरूले विश्वका जुनसुकै भेगमा आरोहण सहयोगी भएर नेपाली शेर्पाको ब्रान्ड विस्तार गरिरहेका छन् ।
निकै कठिन मानिने यस्तो प्रमाणपत्र पाउने अन्तर्राष्ट्रिय गाइडको अमेरिका, युरोपतिर दैनिक कम्तीमा ५० देखि ७० हजार रुपियाँसम्म कमाइ हुन्छ । चार वर्ष अर्जेन्टिनामा काम गरेर फर्केका अन्तर्राष्ट्रिय सर्टिफाइड गाइड टेन्डी शेर्पा भन्छन्, “शेर्पा भन्नासाथ आरोहण जगत्मा सर्टिफिकेटबिनै विशेष मानिन्छ, सर्टिफाइड भएपछि त झन् के चाहियो ?”
यस्ता अन्तर्राष्ट्रिय गाइडको संख्या उच्च भएपछि अब त्यस्तो तालिम यहीँ सम्भव छ । यसमा उच्च हिमालको आरोहण अनुभव, उद्धारमा दक्ष, आधारभूत प्राथमिक उपचार सीप, भूगोल, मौसमको राम्रो ज्ञानजस्ता पक्ष जोडिन्छन् ।
सर्टिफाइड गाइड मात्र नभएर ‘सगरमाथा चढेको गाइड’का रूपमा चिनिन पाउनु हाम्रा लागि लाभको विषय हुन सक्छ । अहिले विश्वभर ६ हजार त्यस्ता गाइड रहे तापनि ती धेरैजसो तीन/चार हजार मिटरको उचाइमा मात्र काम गरेका हुन्छन् । जबकि, चार हजार मिटरको उचाइसम्ममा त हाम्रा शेर्पाहरू जन्मिन्छन्, हुर्किन्छन् । त्यही भएर उनीहरू उच्च भूभागमा समेत जबरजस्त रूपमा आफ्नो भूमिकामा टिक्न सक्छन् ।
शेर्पाहरू ठान्छन्, अन्तर्राष्ट्रिय सर्टिफाइड माउन्टेन गाइडहरू बढेको खण्डमा विदेश जानै पर्दैन, नेपालभित्रै कामको भ्याइनभ्याइ हुनेछ । पूर्ण सुरक्षित महसुस भएर आउनका लागि अहिले धेरैले पश्चिमा गाइड नै लिएर आउँछन्, जुन निकै महँगो पर्न जान्छ । जबकि, हिमालहरू नेपालमै प्रशस्त छन् । त्यतिबेला युरोपको आल्पसदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वत शृंखलासम्मका चर्चित गन्तव्यमा पहिलो रोजाइमा पर्नेछन् शेर्पाहरू । अनुमान गरौँ, त्यो अवस्थामा शेर्पाहरूले हासिल गर्ने समृद्धि र मुलुकले प्राप्त गर्ने आर्थिक लाभ !
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...