राजाको बाटोमा राष्ट्रपति
नास्तिकदेखि आस्तिकसम्मको यात्रा
प्रसंग ४ कात्तिकको हो । यो त्यही दिन थियो, जुन दिन धर्मका माध्यमबाट पुन:स्थापित हुन चाहिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपति वनकालीमा विश्व हिन्दु महासंघको विराट् हिन्दु महासम्मेलनको उद्घाटन गरेका थिए । त्यही दिन पूर्वराजालाई टक्कर दिँदै राष्ट्र्रपति विद्यादेवी भण्डारीले नेपाल आर्य समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलनको उद्घाटन गरिन्, टुँडिखेलमा । तर, राष्ट्र्रपति भण्डारीद्वारा उद्घाटित सम्मेलनको आयोजक संस्था नै धर्मनिरपेक्षताको विरोधी रहेको हेक्का न शीतलनिवास संयन्त्रलाई भयो, न त स्वयं राष्ट्र्रपतिलाई नै ।
आर्य समाज त्यही संस्था हो, जसले नेपाललाई धर्म निरपेक्ष घोषणा गरिनुहुन्न भनेर पहिलो र दोस्रो संविधानसभा घेराउ गरेको थियो । समाजले संविधानको प्रस्तावनाबाट धर्म निरपेक्षता हटाउनुपर्ने माग गर्दै आएको छ । यसको घोषित लक्ष्य नै हो, नेपाललाई हिन्दु राष्ट्र्र कायम गर्ने । फरक यत्ति हो कि विश्व हिन्दु महासंघ राजतन्त्रसहितको हिन्दु राष्ट्र्र चाहन्छ भने आर्य समाज राजतन्त्रबिनाको हिन्दु राष्ट्र्र ।
संविधानको पालक र संरक्षकको हैसियतमा रहेकी राष्ट्र्रपति भण्डारीले संविधानकै प्रस्तावनाको विरोध गरिरहेको समूहको सम्मेलन उद्घाटन गरेर आफैँ संवैधानिक भूमिकाको उल्लंघन गरेकी छिन् । संविधानविद् विपिन अधिकारी भन्छन्, “राष्ट्र्रपति पद व्यक्तिगत पद होइन, त्यसैले संविधानविपरीत गर्न मिल्दैन । त्यो कार्यक्रममा राष्ट्र्रपतिलाई सहभागी गराउनु गम्भीर त्रुटि हो ।”
राजा र राष्ट्र्रपति एउटै होइन । किनभने, यी दुवैका पृष्ठभूमि, भूमिका र प्रचलित मान्यता फरक–फरक छन् । तर, विगतमा राजाले गर्ने गरेका धर्म–कर्म, पूजा–अर्चना र मन्दिर दर्शनजस्ता विशुद्ध धार्मिक कर्मले राष्ट्र्रपति पद पनि राजाभन्दा फरक नभएको सन्देश दिइएको छ । धर्म निरपेक्ष राष्ट्र्रको राष्ट्र्राध्यक्षको भूमिका हिन्दु राजाको जस्तो हुँदैन, सबै धर्मप्रति समान व्यवहार र दृष्टिकोण हुनुपर्छ । तर, राष्ट्र्रपति भण्डारीको एकवर्षे धार्मिक सक्रियताले हिन्दु धर्मप्रति उनको विशेष रुझान देखिएको छ । यस अवधिमा उनी सहभागी कार्यक्रम हिन्दु धर्मसम्बद्ध मात्र छन् । अरू धर्मका समारोह तथा कार्यक्रममा उनको सहभागिता शून्य छ । आजीवन कम्युनिस्ट राजनीतिमा रहेकी नास्तिक राष्ट्र्रपति भण्डारीको हिन्दु रुझान यसअघि कहिल्यै प्रकट भएको थिएन । तर, कार्यकालको एक वर्षमा उनी पूरै आस्तिक, अझ राजाजस्ती भएकी छन् । राष्ट्र्रपति भण्डारीकै पारिवारिक वृत्तमा यसलाई उनको जीवनमा आएको ‘यू टर्न’का रूपमा लिइएको छ ।
गएको ११ कात्तिकमा भण्डारी राष्ट्र्रपति भएको एक वर्ष पुगेको छ । उनको यो एकवर्षे धार्मिक सफर विगतमा राजाहरूले कायम गरेको धार्मिक–सांस्कृतिक परम्परा धान्नेमा मात्र सीमित छैन बरू विस्तार भएको छ । उनी मन्दिरमा पूजा अर्चना गर्नेदेखि मन्दिर उद्घाटन, दान–यज्ञ आदि कर्ममा समेत संलग्न छिन् । हुँदा हुँदा उनले आफूनो एक महिनाको तलब पशुपतिनाथमा दानसमेत गरेकी छन् ।
राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल भन्छन्, “धर्म निरपेक्ष देशको राष्ट्र्रपति तटस्थ हुनुपर्छ, एउटा धर्मलाई मात्र प्रश्रय दिने काम गर्न मिल्दैन । तर, अहिलेसम्म राष्ट्र्रपतिको भूमिका तटस्थ र निष्पक्ष देखिएको छैन ।” व्यक्तिगत रूपमा राष्ट्र्रपतिको कुनै धर्ममा आस्था रहन सक्ने तर राष्ट्र्रपतिको रूपमा एउटा धर्मको मात्र कार्यक्रम र धार्मिक समारोहमा सरिक हुन नमिल्ने उनको धारणा छ ।
राष्ट्र्रपति हुनुअघि विद्या भण्डारीको धार्मिक गतिविधिमा खासै रुचि थिएन । धार्मिक सभा समारोह, मन्दिर दर्शन, शक्तिपीठको पूजा अर्चना आदि कार्यक्रममा उनको संलग्नता थिएन । यसको कारण अरू केही नभएर दासढुंगा दुर्घटनामा निधन भएका उनका पति मदन भण्डारी हुन् । जनताको बहुदलीय जनवादका प्रणेता तत्कालीन एमाले महासचिव मदन भण्डारी आफ्नो दर्शन अनुसार आजीवन धर्मकर्म, मन्दिर दर्शन र पूजापाठबाट टाढै रहे । पत्नी विद्या भण्डारी पनि उनकै पथमा थिइन् ।
पतिको निधनपश्चात् एमालेको केन्द्रीय राजनीतिमा लागेपछि त राष्ट्र्र्रपति भण्डारी स्वयं धर्म निरपेक्षताको पक्षमा उभिँदै आएकी थिइन् । तर, जीवनभरिको आदर्शविपरीत भण्डारीमा एक वर्षमै अकल्पनीय बदलाव आएको छ ।
राष्ट्र्र्रपति भण्डारीको आशीर्वाद पाएपछि धर्म निरपेक्षताको विरोध गरिरहेको आर्य समाज नेपाल थप उत्साहित भयो । र त, भारतका स्वामी सम्पूर्णानन्दको अगुवाइमा ४–६ कात्तिकमा टुँडिखेलमा भएको समाजको सम्मेलनले नेपाललाई हिन्दु राज्य कायम गर्ने प्रस्ताव पारित गर्यो । सम्मेलनका सहसंयोजक जनार्दन घिमिरे भन्छन्, “हाम्रो एजेन्डा सनातन वैदिक नेपाल हो । सनातन वैदिक नेपाल र हिन्दु राज्य भन्नु एउटै हो ।”
हालको धर्म निरपेक्षतासहितको संघीय गणतन्त्र र विगतको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र उस्तै शासन प्रणाली होइनन् । तर, संघीय गणतन्त्रमा राष्ट्र्र्रपतिले गरेको धार्मिक अभ्यासले उनलाई राजाभन्दा फरक बनाउन सकेको छैन । राष्ट्र्र्रपतिका धर्म कर्मले विगतका राजा/महाराजकै झल्को दिएका छन् । “राजा र राष्ट्र्र्रपति एउटै होइन । विगत र अहिलेको राजनीतिक प्रणाली पनि उही होइन । तर, राष्ट्र्र्रपतिले आफूलाई राजाजस्तै बनाउन खेलेको भूमिकाले आममानिसलाई एउटै हो कि भन्ने भान पारेको छ,” वामपन्थी विश्लेषक एवं सांसद श्याम श्रेष्ठ भन्छन् ।
त्यसो हो भने संवैधानिक राष्ट्र्रपतिले के गर्नुपर्ला ? संविधानविद् विपिन अधिकारी संवैधानिक राष्ट्र्र्रप्रमुखको रूपमा राष्ट्र्र्रपति सबै धार्मिक सम्प्रदायको प्रमुख संरक्षक भएकाले राष्ट्र्र्रपतिबाट अहिले जसरी कुनै एउटा धर्मको मात्र प्रवद्र्धन गरिन नहुने धारणा राख्छन् । श्रेष्ठ भन्छन्, “सर्व धर्म समभाव हुनुपर्छ ।”
तर, राष्ट्रपति भण्डारीले औसतमा महिनाको दुइटा हिन्दु धर्मसम्बद्ध कार्यक्रममा सहभागिता जनाएकी छन् । यस अवधिमा उनले मन्दिर उद्घाटन, दर्शन तथा पूजा अर्चना मात्रै १२ भन्दा बढी गरेकी छन् ।
६ कात्तिकको एउटा अर्को प्रसंग लिऊँ, जसमा धार्मिक कार्यक्रमकै दौरान प्रदर्शित व्यवहारले राष्ट्र्रपतिको आलोचना भयो । त्यस दिन राष्ट्र्रपति भण्डारी सप्तरीको राजविराजमा दुई छोरी उषाकिरण र निशाकुशुमसहित छिन्नमस्ता मन्दिर दर्शन र मन्दिर शिलान्यास गर्न पुगेकी थिइन् । त्यस दिन सैनिकले राष्ट्र्रपति र उनका छोरीहरूका जुत्ता बोकेको विषय आलोचित बन्यो । त्यति मात्र होइन, माक्र्सवादी पृष्ठभूमिकी राष्ट्र्रपति भण्डारीले छिन्नमस्ता भगवतीसँग देशमा शान्ति र अमनचैन कायम होस् भनेर कामनासमेत गरिन् । वाम विश्लेषक श्रेष्ठ भन्छन्, “राजाले जस्तो गणतन्त्र
नेपालका राष्ट्र्रपतिले अदृश्य शक्तिले जनताको कल्याण गरून् भनेर कामना गर्नु गणतन्त्रको स्पिरिट होइन ।”
पछिल्लो जनगणना अनुसार देशमा हिन्दु धर्मावलम्बीको संख्या करिब ८१ प्रतिशत, बौद्धमार्गी करिब ११ प्रतिशत, इस्लाम चार प्रतिशत, किराँत करिब चार प्रतिशत, इसाई करिब आधा प्रतिशत छ ।
संक्रमणकालमा राजाले विगतमा गरेका सांस्कृतिक तथा धार्मिक अभ्यासलाई निरन्तरता दिने नाममा प्रथम राष्ट्र्रपति रामवरण यादवले पनि शक्ति पीठको पूजा अर्चना, मन्दिर दर्शन तथा शक्ति पीठको भक्तिजस्ता धार्मिक कार्यक्रममा सहभागिता जनाउने गरेका थिए । तर, उनी आठवर्षे कार्यकालमा मन्दिर उद्घाटनमा चाहिँ संलग्न थिएनन् । तर, भण्डारीले यादवभन्दा अझ अघि बढेर १० भदौमा सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण मन्दिर उद्घाटन गर्नसमेत भ्याइसकेकी छन् । श्रेष्ठ भन्छन्, “राष्ट्राध्यक्षको कर्मबाट देशले आरम्भ गरेको संघीय गणतन्त्रात्मक प्रणालीको उपहास भएको छ ।”
मर्मविपरीतको कर्म
– श्याम श्रेष्ठ
धर्म निरपेक्षताको अर्थ धर्मका विषयमा राज्य तटस्थ रहने भन्ने हो । राज्यले धर्ममा हस्तक्षेप नगर्ने र सबै धर्मप्रति समान दृष्टिकोण र व्यवहार गर्ने भएकाले देशले गणतन्त्र र धर्म निरपेक्षता अपनाएको हो । धर्म निरपेक्षताको सार देशको कुनै धर्म हुँदैन भन्ने हो । जब देशको प्रमुखले नै एउटा धर्मको पक्षपोषण गर्न थाल्छ, त्यसले संविधानको मूल मर्ममै प्रहार हुन्छ । राष्ट्रपतिको एकवर्षे धार्मिक गतिविधिले हाम्रो संविधानको मूल मर्ममै प्रहार गरेको छ ।
धर्म मान्ने वा नमान्ने कुरा नागरिकको व्यक्तिगत अधिकार हो । त्यसमा राज्यको विशेष हस्तक्षेप वा भूमिका केही हँुदैन । अहिलेको राज्यको नजरमा सबै बराबर हो । यो धर्म राम्रो र त्यो नराम्रो भन्ने हैसियतमा राज्य छैन । तर, राज्यको प्रमुख राष्ट्रपतिले जानी जानी एउटा धर्मलाई प्रश्रय दिइरहनुभएको छ । यो गम्भीर विषय हो ।
जसले सबैभन्दा बढी संविधानको पालना गर्नुपर्छ, उसैबाट संविधानको उल्लंघन भएको छ । त्यसैले अहिले र पहिलेका राष्ट्रपतिले पनि धर्म निरपेक्षतालाई दिलले स्वीकार गरेको देखिएन । संविधानमा लेखेको कुरा स्वीकार गर्न उहाँहरूलाई कठिन भएकाले सुरुदेखि एउटा धर्मप्रति विशेष रुझान देखाउनुभएको छ ।
संविधानको मर्म र भावनाविपरीत दल र सरकार नलाग्दा तिनलाई सचेत तुल्याउने संवैधानिक भूमिका राष्ट्रपतिलाई संविधानले नै प्रदान गरेको छ । तर, पालक आफैँ संविधानविपरीत गएपछि संविधानको पालना कसले गर्ने ? राष्ट्रपतिले संविधानको प्रावधान, मर्म र भावना अनुसारको भूमिका निर्वाह गर्दा नै त्यो पदको गरिमा र मर्यादा बढ्छ । अन्तत: त्यसले राष्ट्रपतिको आमस्वीकार्यता पनि बढाउँछ । संविधानलाई नै कमजोर तुल्याउने गरी काम गर्दा राष्ट्रपतिको कार्यकाल सुखद र सम्झनयोग्य हुँदैन ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...