५० वर्षपछि...
१३ वर्षको उमेरमा बेपत्ता भएका उनी ६३ वर्षको उमेरमा घर फर्किए

र
“मलाई चिन्नुभयो ?”
“बाबुलाई त मैले चिनिनँ नि ।”
“म उद्धव के !”
“को उद्धव बाबु ?”
“नाम्जाङ (धनकुटा परेवादिन) बाट धरान पढ्न जाँदा हराएको थिए नि ।”
“ए उद्धवे !’ (आखाँभरि आँसु पारेर एक अर्कालाई अँगालो हाल्छन् ।)
प्रस्टसँग सुन्न सक्ने र जीवनमा एकदुई पटक देखेको मान्छेलाई सहजै ठम्याउन सक्ने हिरालाल पौडेल, ९१, लाई प्रश्न सोध्ने मान्छे ठम्याउनै गाह्रो पर्यो । कुरा खोतल्दै जाँदा चिन्न कम्तीमा १० मिनेट लाग्यो । यो संवाद पण्डित हिरालाल र उनका सहोदर छोरा उद्धव बीचको थियो । १३ वर्षको उमेरमा घरबाट बेपत्ता भएका उद्धव पौडेल ५० वर्षपछि फर्किए । फर्किएपछिको चिनाजानीको क्रम चलचित्रको काल्पनिक घटनाजस्तो लाग्थ्यो । वृद्ध भएका बाबुले त उनलाई नचिन्नु स्वाभाविक नै हो तर उद्धवले पनि बाबुलाई चिन्न अरुकै सहारा लिनुपर्यो । त्यति लामो बिछोडपछि भेट भएका बाबु–छोराको चिनजानमा भावुकता, उत्सुकता र खुसीको मिश्रण थियो । बाबु–छोरा मात्र नभएर मोरङको सुन्दरपुर हरैचामा रहेको पौडेल परिवारमा ४ असारका दिन खुसी छायो । “हामीले त माया मारिसकेका थियौँ,” अन्तरे भाइ विजय पौडेल भन्दै थिए, “एक–दुईपटक खोज्न भनेर भारतका विभिन्न ठाउँमा पुग्यौँ तर भेटिनुभएन, आज आफैँ आइपुग्नुभयो सबै समयको खेल रहेछ ।”
आफू ४१ वर्षको हुँदा बेपत्ता भएको छोरा टुप्लुक्क घरैमा आउलान् भन्ने कल्पना नै नगरेका बाबु हिरालाललाई अझै पनि सपना पो हो कि जस्तो लाग्छ । “घर आउँछ र देख्न पाइएला भन्ने लागेकै थिएन ।” हिरालालले त्यसो भनिरहँदा नजिकै रहेका उनका अन्य चार भाइ र दुई दिदी–बहिनी वरिपरि बसेर उद्धवको ५० वर्षे कहानी सुन्न उत्सुक थिए । उद्धव हिन्दी लवजमा सिलसिलवार रूपमा सुनाउँदै थिए, आफ्नो रामकहानी ।
विद्यालयबाट भागे
पण्डित बुबाबाटै अक्षर चिन्ने मौका पाएका उद्धवलाई बाबुकै गाउँघरको ठाँटले लोभ्यायो । उनलाइ बाबु जस्तै पण्डित बन्ने रहर चल्यो । रहर पूरा गर्न पहाडबाट १३ वर्षको उमेरमा धरानमा रहेको वेद विद्यालयतिर झरे । धरान झरेर कक्षा–१ मा भर्ना भए तर उनकै उमेरका अन्य दौतरी ४/५ कक्षामा पढेको देख्दा उनलाई लाज लागेर आयो । लाज मात्र लागेको भए त उनी केही दिनमा सहज हुन्थे होला तर माथिल्लो कक्षामा पढ्नेहरूले हेप्न थाले । “ठूलो भएर पनि कक्षा–१ मा पढ्ने भन्दै माथिल्लो कक्षामा पढ्ने साथीहरूले जिस्क्याउन र हेप्न थाले ।” त्यहाँ उनी जेनतेन एक वर्ष बसे तर अपमान सहनै नसकेपछि भने कसैलाई नभनी विद्यालयबाट भागे । भाग्नुअघि एक मनले घर फर्काैं कि भन्ने लागेको थियो रे उनलाई । होच्याउनेलाई देखाउन घर गएर सम्भव नहुने निष्कर्ष निकाल्दै मुग्लान जाने निधो गरे ।
त्यसपछि उनी धरानबाट दुई दिनमा विराटनगर पुगे । विराटनगर पुगेपछि उनलाई लाग्यो यही हो मुग्लान । बाँच्नका लागि गर्नुपर्ने संघर्षको क्रम सुरु भयो । “दैवले तँ आँट म पुर्याउँछु भनेझैँ एउटा होटलमा काम पाएँ,” उनी भन्दै थिए, “करिब एक वर्ष त्यही होटलमा काम गरेपछि थोरै बाटो खर्च जम्मा भयो त्यहाँबाट टाप कसियो ।” चाखपूर्वक भाइको कुरा सुनिरहेकी जेठी दिदी देवीले प्रश्न गरिन् “अनि सीधै कलकत्ता पुगिस त ?” जीवनकथा सुनाउन उत्सुक देखिएका उद्धवले संघर्षगाथा खोले, “कहाँ पुग्नु नि दिदी, १० वर्षमा कम्तीमा १० ठाउँ भौँतारिए ।” उनको जवाफ भुइँमा खस्न नपाउँदै साहिँलो भाइ टेकनाथ जिस्क्याउँदै थिए, “पूरै संसारै घुम्यौ कि के हो दाजु ?”
जोगबनीदेखि मुम्बई
विराटनगरबाट दक्षिण हानिएका उनको अबको यात्रा जोगबनीबाट सुरु भयो । त्यहाँ झन्डै डेढ वर्ष काम गरे, त्यहाँबाट फारबिसगन्ज, अररिया, पूर्णिमा लगायत विभिन्न ठाउँमा मजदुरी गर्दै कटरिया पुगे । “जहाँ जहाँ पुगेँ, अलिअलि बाटो खर्च जम्मा गर्दै झन्झन् दक्षिण सर्दै गर्थेँ,” उनी सम्झन्छन् ।
कटरियाबाट पनि हिँडेका उनी बिहार बरुणीछेउको देवुसरायस्थित एक गेस्टहाउसमा काम गर्न थाले । त्यो गेस्टहाउसमा काम गर्दै गर्दा त्यही लजमा बस्न आएको एउटा भारतीयको नजरमा परे । लक्का जवान अनि उस्तै मेहनती देखेपछि ती व्यक्तिले उनलाई आफ्नो घर दिल्ली लैजान फकाउन थाले । घुमन्ते बानी लागेका उद्धव ती दिल्लीबासीको पछि लागेर दिल्ली पुगे । तीन महिना पेटभर खानसमेत नपाएपछि त्यहाँबाट पनि भागेर मुम्बई हानिए । लामो समयको पारिवारिक बिछोड, विभिन्न ठाउँमा खानुपरेको हन्डरपछि बल्ल उनलाई घर, परिवार र समाजको सम्झनाले सताउन थाल्यो । दिनभरि मजदुरी गरेर बेलुका कोठामा आएर चिठी लेखे, बुबाको नाममा । चिठी बाबुको हातमा पर्यो । चिठी पाएपछि हिरालाल र उनकी जहानलाई पनि सन्तोष भयो, छोरा ज्यूँदै रहेछ भनेर । उद्धवले चिठी पठाउने क्रम लगभग एक वर्ष नियमित गरे । त्यसपछि उनी फेरि परिवारसँगको सम्पर्कबाट टाढा रहे ।
कोलकातामा पूर्णिमा
परिवारसँगको सम्पर्कबाट मात्र छुटेनन् उद्घव, मुम्बईलाई नै माया मारेर लागे कोलकातातिर । कोलकाता पुगेर तीन फिट अग्लो पर्खाल भएको एउटा साघुँ‘रो कोठा भाडामा लिएर पुन: मजदुरी थाले । त्यतिबेला उनको उमेर ३० वर्ष कटिसकेको थियो । परदेशको ठाउँ, फिरन्ते जीवन व्यवस्थित गर्न अब भने घरजम गर्नुपर्छ भन्ने सोचमा पुगे, उद्घव । विवाहका लागि आफूसँगै काम गर्ने साथीभाइसँग सल्लाह लिने क्रममा एकजना साथीले कोलकातामै काम गर्ने हेटौँडा घर भएका कृष्ण थापा क्षत्रीकी माइली छोरीको विवाहको कुरा चलेको सुनाइदिए । उद्धवलाई केटी हेर्ने हुटहुटी चल्यो ।
भोलिपल्ट बिहानै क्षत्रीको घरमा पुगे, कन्याको हात माग्न । “केटी देख्नेबित्तिकै मन पर्यो,” उद्घव सम्झिन्छन्, “तर गतिलो काम नभएको, घरबारको ठेगान नभएको भन्दै उहाँहरूले मलाई छोरी दिन मान्नुभएन ।” आफूलाई मन परेपछि त्यो पाउन मानिसले हदैसम्म प्रयास गर्छ । त्यस्तै भयो उद्धवलाई पनि । पटक पटक प्रयास गरे । चौथो पटकको प्रयासमा क्षेत्रीको मन उद्धवले पगालिछाडे । माइली छोरी पूर्णिमालाई क्षत्रीले उद्धवसँग कन्यादान गरिदिने निधो गरे ।
फिरन्ते जीवनमा पूर्णविराम
त्यही तीन फिट अग्लो पर्खालको कोठामा नै उद्घवले दुलही भित्र्याए । विवाह भएको तीन महिनापछि उद्धवले कोलकाताको नाम चलेको एउटा निजी फाइनान्स कम्पनीमा काम पनि पाए । विवाहपछि उनको फिरन्ते जीवन व्यवस्थित बन्न थाल्यो । त्यही सानो कोठामा पहिलो सन्तान छोरी इन्दुको जन्म भयो । इन्दु जन्मेको चार वर्षपछि उनको भाइ रोहितको जन्म भयो । त्यतिन्जेल अर्को घरमा सरिसकेको थियो, उद्घव परिवार । छोरा–छोरी हुर्काउन पूर्णिमाले साथ दिइन् भने जागिरसँगै आफू स्वाध्यायनमा पनि लागे । निजी भए तापनि राम्रो कम्पनी भएका कारण आन्तरिक बढुवा हुँदै गयो ।
छोराछोरी बढ्दै पढ्दै गए भने श्रीमतीले पनि साडी र बुटिक व्यवसाय सुरु गरिन् । कमाइ व्यवस्थित बन्दै गएपछि पौडेल दम्पती फ्ल्याट नै लिएर बस्न थाले । छोरी इन्दु मुम्बईमा एक प्रतिष्ठित केमिकल कम्पनीमा केमिकल इन्जिनियरका रूपमा कार्यरत छिन् । उनको विवाह पनि इन्जिनियरसँग भएको छ । छोरा रोहितले भारत सरकारको सहयोगमा अमेरिकामा नेचुरल ग्यास इन्जिनियरिङमा विद्यावारिधि गर्दैछन् । उद्धवले भने जागिरबाट अवकाश लिइसकेका छन् ।
गाउँ फर्कि आए
भारतका विभिन्न सहरमा भौँतारिँदै जब उद्घव कोलकाता पुगे, त्यसपछि भने उनको जीवन व्यवस्थित बन्दै गयो । “बेला बेला घरको यादले सताए पनि चिठी लेख्ने फुर्सद भएन, फोन गर्न त्यो बेला पहाडमा सम्भव थिएन,” उनी भावुक सुनिए, “उतै परिवार भएपछि बिस्तारै घर–परिवारको न्यास्रो पनि मेटिँदै गयो ।” छोराछोरीको शिक्षा–दीक्षा पूरा भएपछि विगत चार वर्षदेखि भने उद्धवले सपनामा घर–परिवार देख्न थाले । उनलाई जन्म स्थानको यादले समेत सताउन थाल्यो । छोरीको विवाह भएर गइसकेको अनि छोरा पनि अध्ययनका लागि अमेरिका गएपछि पौडेल दम्पती फुर्सदिला भए । फुर्सदको समयमा जन्मथलोको यादले सताउन थालेपछि दुई महिनाअघि भने नेपाल आउने निधो गरे । कोलकाताबाट जोगबनी विराटनगर हुँदै आफ्नो जन्मथलो धनकुटाको सिधुवा पुगे । खोज्दै सोध्दै जाँदा स्थानीय गोकुल पौडेलसँग भेट भयो । उनी नातामा भतिज परेछन् । उनै गोकुलले सुन्दरपुर बसाइँ आएका उद्धवका भाइ विजयसँग सम्पर्क गराइदिए ।
त्यो दिन सिधुवा नै बसेका उनी भोलिपल्ट मोरङ आइपुगे । आमा, बुबा, पाँच भाइ दाजु–भाइ र दुई दिदी–बहिनीमध्ये उद्धवले ५० वर्षपछि परिवारसँग भेट गर्दा आमा र जेठो दाजुलाई भने गुमाइसकेका थिए । परिवारका सबैलाई भेटे पनि आमालाई पाउन सकेनन् । हिन्दु धर्मअनुसार आमाको काजकिरियामा बसे । आमाको काजकिरिया सकेपछि भने उनलाई पौडेल परिवार मात्र नभएर छरछिमेक सबैले भव्य स्वागत गरे । “यत्रो स्वागत होला भनेर सोचेको पनि थिइनँ,” उनी भन्दै थिए “५० वर्ष हराएँ, अब बाँकी जीवन नेपाल आएर परिवारजनको नजिक
भएर बिताउनेछु ।”