सिरिया रोइरहेछ
सिरियामा अब एउटै विकल्प बाँकी छ— तानाशाह कि अतिवादी धार्मिक कट्टरपन्थी । जुनसुकै चयनले जीवनलाई सधैँ धारमा पार्नेछ ।
६ फागुनदेखि पुन: एकपटक सिरियाले विश्वको ध्यान खिचेको छ । राजधानी दमास्कस छेवैको पूर्वी गुट सहरमा रुस समर्थित सिरियाली सैन्यबलले गरेको हमलामा १० दिन बीचमा ६ सयभन्दा बढी मानिस मारिए । ४ लाख जनसंख्या भएको उक्त क्षेत्र उसै पनि विद्रोहीको आधार क्षेत्र भन्दै सुरुदेखि नै आन्तरिक नाकाबन्दीमा थियो । भोकमरीका कारण बालबालिकाहरूले कुपोषणको समस्या झेलिराखेका थिए । टर्की, रुस र इरानबीच त्यस क्षेत्रमा हवाई उडान नगर्ने सहमतिसमेत भएको थियो । तर, राजधानीलाई पर्नसक्ने संकटको डरमा सरकारी पक्षले जोखिम मोल्न चाहेन । त्यहाँ रासायनिक हतियारको समेत प्रयोग भएको आशंका गरिएको छ, जसलाई सिरियाली सरकार र रुस पक्षले अस्वीकार गर्दै आएका छन् ।
युद्धरत पक्षहरू अनेक कोणबाट बढी विभाजित छन् । र, सबैतिर विदेशी हस्तक्षेप छ । उनीहरू कुनै मिलनबिन्दु खोज्ने प्रयासमा पनि छैनन् । अमेरिकाको निशाना कम्तीमा देखिने गरी यसअघिसम्म आईएस भनिने इस्लामिक स्टेट्ससँग थियो, जुन पछिल्लो समय सीधै राष्ट्रपति बसर अल असादप्रति लक्षित छ । साउदी अरब, रुस, इरानका आफ्नै भूमिका, स्वार्थहरू झन्–झन् जेलिइराखेका छन् । ३ लाखदेखि ५ लाखबीचमा भिन्नभिन्न दाबीबीच मृत्युकै स्पष्ट आँकडा नै राख्न छाडिएको छ ।
इजिप्टदेखि यमनसम्म, लिबियादेखि बहराइनसम्म फैलिएको ‘अरब स्प्रिङ’ भनिने प्रजातन्त्रको लहर त्यतिखेर सिरियामा समेत बेरोजगारी र प्रजातन्त्रको बहानामा उठेको थियो । त्यसको सुरुआती कडी भित्तामा सरकारविरोधी नारा लेखेका कारण पक्राउ परेका १५ बालबालिका परे, जसलाई यातनासमेत दिइएका समाचार आएका थिए । उनीहरूको रिहाइको माग गर्दै सन् २०११ को मार्चमा प्रजातन्त्र पक्षधर आन्दोलनकारी समूहको शान्तिपूर्ण प्रदर्शनमा भएको हमलाबाट सिरियामा युद्धको झिल्को उठेको थियो । एकपछि अर्को गर्दै प्रदर्शनकारी र सत्तापक्षबीच संकट चुलिन थाल्यो । प्रदर्शनकारी पक्षबाट समेत शृंखलाबद्ध गोलाबारी सुरु भयो ।
केही सिरियाली सेनाहरू नै जागिर छाडेर प्रदर्शनकारीको कित्तामा गएर आफूलाई ‘फ्रि सिरियन आर्मी’ घोषित गरेपछि प्रदर्शनले गृहयुद्धको स्वरूप लिएको थियो । अतिवादी सोच बोकेका मुस्लिमहरू विश्वभरबाट सिरिया पुग्न थाले । त्यसैबेला असाद आफँैले जेलमा रहेका अतिवादी आतंककारीहरूलाई छाडिदिएपछि युद्धले नयाँ मोड लिएको थियो । असादको उद्देश्यचाहिँ सिरियामा खेल्न खोजिराखेका विदेशी शक्तिलाई रोक्ने कवचको रूपमा त्यसले काम गरोस् भन्ने थियो । उनले सोचेजस्तो अल कायदाले सन् २०१२ को सुरुमै सिरियामा आफ्नो शाखाको रूपमा जबात अल नुर्साको स्थापना गर्यो ।
सन् २०१२ मै घटनाक्रमले छद्म युद्धको स्वरूप लियो । सिया मुस्लिम कित्ताको नेतृत्व गरिराखेको इरानले अघोषित रूपमै असाद राजलाई सघाउन थाल्यो । उतिखेरै पर्सियन खाडीबाट साउदी अरब नेतृत्वका सुन्नी बाहुल्य देशहरूले इरानलाई रोक्ने दाउमा असादविरुद्ध लडिरहेका विद्रोहीहरूलाई हतियार र पैसा पठाउन थाले । इरानले लेबनानी सैन्य दस्ता हेजबुल्लालाई असाद पक्षबाट लड्न लगायो । हेजबुल्ला लेबनानको सिया राजनीतिक पार्टीसमेत हो, जसलाई अमेरिका, बेलायत, इजरायल, गल्फ को–अपरेसन काउन्सिल र अरब लिगसमेतले आतंककारी घोषणा गरेका छन् । युद्धमा हेजबुल्लाको प्रवेशसँगै सुन्नी मुलुकहरूले विद्रोहीलाई गरिराखेको आफ्नो सहयोगलाई बढोत्तरी गरे । सिरिया युद्धले सिया–सुन्नी युद्धको रंग लियो ।
अमेरिका सिरिया युद्धमा छिरेको सन् २०१३ मा हो । राष्ट्रपति बाराक ओबामाले आफ्नो गुप्तचर संस्था सीआईएलाई एक गोप्य आदेशमार्फत असादविरुद्ध लडिराखेका विद्रोहीलाई तालिम र हतियार दिन लगाए । उतिखेरै अमेरिकाले सुन्नी मुलुकहरूलाई विद्रोहीहरू पोस्ने काम नगर्नसमेत भन्यो । सुन्नीहरूले सुनेको नसुन्यै गरे । तर, असादले अगस्त सन् २०१३ मा रासायनिक हतियारको प्रयोग गरेपछि सारा विश्वले सिरियाको आलोचना मात्र गरेन, खुलेरै असादविरुद्ध उत्रने अवसर पायो । राष्ट्रपति ओबामाले तत्काल ह्वाइटहाउसबाटै असादको कदम सीधै अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै उनलाई ‘जवाफ’ दिन आवश्यक रहेको बताएका थिए ।
सन् २०१४ मा पुग्दा अलकायदाभित्रको आन्तरिक विवादले उसमा फुट उत्पन्न भयो । उसबाट टुक्रिएको आईएस खालिफा भनिने धार्मिक कानुनीराजतर्फ मोडियो । र, आईएसआईएस अर्थात् इस्लामिक स्टेट्स इन इराक एन्ड सिरिया बन्यो । सिरियामा बिग्रिएको अवस्थालाई आफ्नो उदयका लागि सबैभन्दा उत्कृष्ट अवसर ठानेको आईएस संसारकै क्रूर संगठनसमेत बन्यो ।
आईएसको लडाइँ त्यसपछि असादभन्दा बढी कुर्द र अल कायदाविरुद्ध हुन थाल्यो । उता त्यसै वर्षको अन्त्यतिर असादविरुद्ध लडिराखेको अमेरिकाको शक्ति आईएसविरुद्ध मोडियो । कालान्तरमा नयाँ अमेरिकी रणनीतिमा उसले त्यस्ता विद्रोहीलाई मात्र प्राथमिकतामा राखेर तालिम दिने भयो, जो आईएसविरुद्ध लड्नेछन् । सन् २०१५ मा आइपुग्दा अमेरिकी नेतृत्वको प्रतिरक्षा संगठन नेटो सदस्य रहेको टर्की सिरियामा जोडियो । तर, उसको हमला आईएसविरुद्ध नभई केवल कुर्दिसविरुद्ध सोझियो । अमेरिका र उसका मध्यपूर्वकै साझेदारका स्वार्थ र प्राथमिकतासमेत बाझिन थाले । टर्कीले किन त्यसो गर्यो ? विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजअनुसार राष्ट्रपति रिसेप एर्दोगानका ज्वाईं, जो सरकारका वरिष्ठ मन्त्रीसमेत हुन्, को संलग्नता आईएसआईएस नियन्त्रित क्षेत्रका तेल प्रशोधन केन्द्रसँग भइराखेको पाइनुले उनीहरूबीच व्यापार भइराखेको हुनसक्ने बलियो आधार दियो ।
सन् २०१५ को अन्त्यतिर रुसले आईएसविरुद्ध लड्ने भन्दै असाद राजको कित्तामा आफूलाई उभ्यायो । पछि उसका हवाई हमलाहरूदेखि प्रायोजित आतंककारीजस्ता अस्त्रहरू बाक्लिन थाले । तर, रुसको निशानामा आईएसजत्तिकै अमेरिकी साथ पाएका विद्रोहीसमेत पर्न थाले । अनि, सिरिया विश्वका दुई ठूला सैन्यशक्ति अमेरिका र रुसबीच छद्म युद्धको रणभूमि बन्न पुग्यो ।
रुसले खुला रूपमा आफूलाई सिरिया युद्धमा सामेल गराएपछि त्यसको सबैभन्दा बढी मार सर्वसाधारणमा पर्यो । त्यही उत्कर्षका बीच सन् २०१५ मा मध्यपूर्व र युरोपले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो शरणार्थी संकट झेल्न पुगे । अहिले एक तिहाई सिरियालीहरू आफ्नै देशभित्र विस्थापित छन् भने ४० लाखभन्दा बढी शरणार्थी बनेका छन् ।
छिमेकी इराक, जोर्डन, इजिप्ट, लेबनान र टर्कीका शरणार्थी शिविरमा छन् । जबकि, साउदी अरब, कतार, कुवेत, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएई), ओमानजस्ता पर्सियाली खाडीका अरब राष्ट्रहरूले मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको शब्दमा ‘लज्जाजनक’ रूपबाट एकजना सिरियालीलाई पनि शरण दिएनन् । शताब्दीकै ठूलो शरणार्थी संकटका रूपमा अथ्र्याइएको सिरियाली संकटका लागि राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) दुवै तयार थिएनन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै सुरुमा उनले सिरियामा आफू थप नफस्ने बताएका थिए । तर, २०१७ को सुरुतिरै असादले प्रयोग गरेको रासायनिक हतियारले ओबामाजस्तै ट्रम्पलाई पनि तर्सायो । ‘टमहक’मार्फत सिरियाली सैन्य आधारहरूमा हमला गर्यो । अमेरिकाले सीधै र खुला रूपमा सिरियामाथि गरेको पहिलो हमला थियो त्यो ।
सिरिया युद्ध यतिखेर झन् भद्रगोल अवस्थामा पुगेको छ । गुमेका क्षेत्र असादराजले फिर्तै पाए पनि पुरानो स्वरूपमा आउला भनेर अनुमानसमेत गर्न सकिँदैन ।
शरणार्थीमार्फत सिरिया संकटको सबैभन्दा बढी मार खेप्ने एउटा भूगोल युरोप पनि हो । तर, सुरुदेखि यस मामिलाबाट पन्छिन खोजिराखेको छ, ऊ । सन् २०१५ तिरबाट जब शरणार्थी आउने क्रम बढ्यो, युरोपेली युनियनले आफ्ना सीमामा उच्च स्तरको सुरक्षा संयन्त्र खडा गर्न भन्दै २ अर्ब युरो खर्चेर हाइटेक प्रविधिहरू जडान गर्यो । तर, शरणार्थीका लागि उल्लेख्य खर्च गरेन । पहिलो पाइला टेकेकै देशमा शरण लिनुपर्ने कानुनी प्रक्रियाका कारण थुप्रै देश कानुनी रूपबाटै संकटमा छन् । तटीय मुलुकहरूले उक्त कानुनी संकट निरुपण गर्न अन्यबाट साथ पाएका छैनन् नै । यस्तो मानवीय संकटबीच विश्व एकजुट हुनुको साटो झन् विभाजित देखिन्छ । सबैभन्दा नजिकको ग्रिस आफ्नो आर्थिक संकटकै बीच शरणार्थीको अर्को चेपुवामा परेको छ ।
बेलायतले भू–मध्य सागरमा शरणार्थीलाई रोक्ने र फिर्ता पठाउने अपरेसन ‘मारी नोस्टम’ नै चलायो, जसको अर्थ अरूले त्यस्तो बाटो नखोजून् भन्ने थियो । तर, त्यो पाठ सिकाउने क्रममै समुद्रमा डुबेर धेरैको ज्यान गयो । बेलायतले सन् २०२० सम्ममा जम्मा २० हजार सिरियाली लिन सक्ने बताएको छ । अमेरिकाको झनै कम अर्थात्् १० हजार लिने भन्ने छ ।
टर्की तटमा ज्यान गुमाएका एक बालकको तस्बिरपछि बल्ल संसारको ध्यान यो घटनाक्रमतर्फ खिचियो । जर्मनीले नि:सर्त आठ लाख शरणार्थी लिने घोषणा गर्दै उनीहरूका लागि तयारी सुरु गर्यो । त्यो संख्या सन् २०१४ मा पूरा युरोपले लिएको शरणार्थीभन्दा बढी थियो ।
अधिकांश शरणार्थीको घर फिर्ने आशा नै मरिसकेको छ । एक त सिरियामा युद्ध कहिले रोकिने टुंगो छैन भने अर्कोतर्फ रोकिए पनि सबैतिर भग्नावशेष मात्र बाँकी रहेको सिरिया पुरानै वा नयाँ स्वरूपमा कहिले फर्कने भन्ने टुंगो छैन । सबैभन्दा ठूलो डर त सिरियामा रहेको एउटै विकल्प तानाशाह कि अतिवादी धार्मिक कट्टरपन्थी भन्ने हो । जुनसुकै चयनले जीवनलाई सधैँ धारमा पार्नेछ ।
(एजेन्सीहरूको सहयोगमा)
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...