पौरखी प्रवासी
विदेशी भूमिमा आफ्नै प्रतिभा र क्षमताले मातृभूमिको मान राख्ने १९ नेपाली

मुगलानिनु भनेको दु:खै पाउनलाई हो भन्ने आम नेपाली ठहर लामो कालसम्म रह्यो । बसाइँ पढेर हुर्केको पुस्ताले बसाइँसराइ सह्राउने कुरै थिएन । रेडियो नेपालले मविवि शाह रचित गीत बजाइरहन्थ्यो, ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर ।’
उबेलाका गीत, कविताले जे–जे भन्दै गरे पनि पछिल्लो समय यहाँभन्दा सुविस्ताको आश गर्दै विदेसिनेहरू घटेनन् । भारत या समुद्रपारि पुग्ने नेपालीहरू कोही युद्धका लाहुरे भए, कोही कामदार । कोही छात्रवृत्ति पाएर पढ्न गए, कोही व्यवसायमा तरक्की गर्न । त्यसैले पछिल्लो पुस्तालाई मविवि शाहका राष्ट्रिय गानले पुगेन । नेपाली डायस्पोराले आफ्ना लागि नयाँ गीत छान्यो । कतिपय गैरआवासीय नेपालीले लगाउने टिसर्टहरूमा हामी देख्छौँ, ‘यु क्यान टेक मी आउट अफ् द कन्ट्री, बट् यु क्यान्ट टेक द कन्ट्री आउट अफ् मी ।’ अर्थात्, तिमी मलाई देशबाहिर लैजान सक्छौ, तर मेरो देशलाई मबाट बाहिर लैजान सक्दैनौ ।
खेतीपातीले जेनतेन धानेको निर्वाहमुखी अर्थतन्त्रबाट माथि उठ्ने हुँदा नेपाली जातिले प्रवासमा पनि दु:खै गर्यो । त्यसले अरूको जीवन बुझ्न सघायो । तिनको आँखाबाट आफूलाई हेर्न सिकायो । प्रवासको नौलो रहनसहनमा घुलमिल हुन सुरुमा पक्कै सजिलो थिएन । आपसका बसिबियाँलोदेखि एक्लै देखिने रातीका सपनाहरू मातृभूमिको मायाले लछप्पै भिजे होलान् । बिस्तारै उनीहरू उतैको हावापानीमा अभ्यस्त हुँदै गए । उता गएकाहरूमध्ये कति नेपाली एउटा अन्तरालपछि खुसी–खुसी देश फर्के । कतिका पिँढी दरपिँढी उतै रहेबसे, बिते ।
बसाइँसराइले सधैँ दु:ख मात्रै दिँदैन । यसले संसार सिकाउँछ । धेरै देश घुम्ने एक अग्रजले एउटा जमघटमा भनेका थिए, ‘सायद संसारका अधिकांश देशमा पुग्न सक्ने जातिमध्ये नेपाली पनि हुनुपर्छ । जुनै देशमा गए पनि यताका कोही न कोही भेटिन्छन् ।’
एक दशकअघि जोन डेनियल्सको अ वर्ड इन् फेभर अफ् रुटलेसनेस पढ्न नपाउँदासम्म यो पंक्तिकार पनि विदेसिनु भनेको गलतै हो भन्ने मान्यतामा अडिग थियो । विदेसिनेहरूलाई ‘पलायनवादी’ ठान्ने आम प्रवृत्ति नै हो । डेनियल्स लेख्छन्, ‘बसाइँसराइ सधैँ खराब हुँदैन । यसले अरू मानिस र समाजलाई हेर्ने दृष्टि चौडा पारिदिन्छ । एकै ठाउँ बसिरहँदा माटोप्रतिको अपनत्व त बढ्ला, तर पृथ्वीको बृहत्तर सौन्दर्य चिन्ने क्षमता र मौका खेर जान सक्छ ।’
यो सत्य हो, देश बनाउन कस्सिनुपर्ने बेलामा हामीलाई आवश्यक पर्ने कतिपय क्षमतावान् मस्तिष्कहरू उपलब्ध छैनन् । तीमध्ये कोही अमेरिका, युरोपमा पहिलो विश्व खोज्दै ‘भासिए’ । कमजोर आयस्ता हुनेहरू कोही खाडी, कोही भारत, बर्मा या एसियाली देशहरूमा श्रम गर्न गए । राज्यले आफ्नो भागको क्षति बेहोरिरहेको छ, थातथलो छाडी गएका आफ्ना पौरख र प्रतिभाहरूलाई ‘ब्रेन ड्रेन’ हुन दिएकामा ।
तर, चित्र यत्तिमै पूर्ण हुन्न । हरेक मानिस आफैँमा विश्वनागरिक पनि हो । जसले आफ्नो पढाइ र तोकिएको जिम्मेवारी पूरा गरी स्वदेश फर्किए, तिनलाई सलाम छ । जसले अन्यत्र रहेबसेर, त्यतैको नागरिक भएर नेपाली पहिचानको सुवास फैलाए, तिनलाई पनि अभिवादन छ । नेपाली पहिचान भनेको नागरिकता मात्रै होइन, जसलाई मेची महाकालीका ७७ जिल्लाभित्र समेट्न सकियोस् । बाहिर बसेर पनि नेपाली मौलिकता र सहिष्णुताको समष्टिलाई माया गर्नेहरू नेपाली हुन् ।
प्रवासमा रहेर नेपाली जातिको सुनाम फैलाउन आ–आफ्नो क्षेत्रबाट योगदान दिने १९ पौरखीहरूमाथि नेपालको यो वार्षिकोत्सव विशेषांक प्रस्तुत छ । प्राज्ञिक क्षेत्र, अनुसन्धान, व्यापार, उद्योग, कला, साहित्य, सिनेमा, संगीत, फेसनजस्ता क्षेत्रमा दुर्गम उचाइसम्म अग्लिने यी अनुहार हेर्दा थाहा लाग्छ, नेपाली जाति अब सीमापारिबाट आएको श्रमिक मात्रै रहेन । ऊ त्यहाँको अब्बल र अगुवा बनिसक्यो । श्रम, पसिनाले आफ्नो भाग्य अजमाउन गएका गुमनाम नेपालीप्रति हाम्रो हृदयमा त्यत्तिकै न्यानो छ ।
यीमध्ये कतिपय प्रवासी नेपालीहरूको समुदाय या संस्थासँग जोडिएका छन्, कतिपय आफ्नै कर्मको संसारमा । यस्ता अरू थुप्रै नाम हुन सक्छन् । तिनीहरूलाई खोज्ने, भेट्ने नेपालको यो सानो प्रयास मात्रै हो । यो खोजी आगामी दिनमा अझै जारी रहनेछ ।
उत्रो अपेक्षा केही छैन । प्रवासी नेपालीले सकेछन् भने मातृभूमिको उन्नतिमा यथासक्दो इँटा थपिरहून् । नसके पनि त्यतैबाट नेपाली जातिको सुवास फैलाइरहून् । आखिर तनलाई जतासुकै लगे पनि मनभित्रको मूलदेशलाई आफूबाट बाहिर लैजान कहाँ सकिन्छ र ! १९७४ एडीको गीतै छ नि, ‘जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।’