रूप थरीथरीका
उनलाई देखेर धेरै झुक्किन्छन्, वास्तविक सेलिब्रिटी र उनीबीच भिन्नता नै पाउँदैनन् । अनि, संसारभरबाट तारिफको वर्षा हुन्छ, “वाह ! यस्तो पो कला !” कतिले त उनको नयाँ–नयाँ रूप देखेर ‘मानव छेपारो’ को ट्यागसमेत भिराइदिएका छन् ।

प्रतिज्ञा तामाङ (प्रमिस), अमेरिका
आठ वर्षअघि मेकअप प्रयोग गरी अंग्रेजी चलचित्र अवतारकी प्रमुख पात्र नेतिरीजस्तो कसरी देखिने भनी सिकाउन एक प्रशिक्षण भिडियो बनाएर युट्युबमा अपलोड गरिन्, प्रतिज्ञा तामाङ (प्रमिस), २९, ले । त्यतिबेला उनलाई न राम्रोसँग भिडियो खिच्न आउँथ्यो, न त सम्पादन गर्न नै । तर, हचुवाका भरमा उनले बनाएको त्यो भिडियो यति चर्चित भयो, अरू पनि भिडियो बनाउँदै जान हजारौँको संख्यामा अनुरोध आउन थाले । “दर्शकको अनुरोध नस्वीकारेको भए आज म यहाँसम्म आइपुग्नै सक्दैनथेँ,” प्रमिसले विगत सम्झँदै भनिन् ।
अहिले मेकअप र युट्युब प्रमिसका रोजीरोटी कमाउने माध्यम बनेका छन् । अनेक प्रकारका मेकअपका सामान प्रयोग गरी उनी कहिले ब्रुनो मार्स बन्छिन् त कहिले ऐश्वर्य राय, कहिले निक्की मिनाज त कहिले डिज्नीकी राजकुमारी । उनलाई देखेर धेरै झुक्किन्छन्, वास्तविक सेलिब्रिटी र उनीबीच भिन्नता नै पाउँदैनन् । अनि, संसारभरबाट तारिफको वर्षा हुन्छ, “वाह ! यस्तो पो कला !” कतिले त उनको नयाँ–नयाँ रूप देखेर ‘मानव छेपारो’ को ट्यागसमेत भिराइदिएका छन् ।
प्रमिसको मेकअप च्यानल डोप–२१११ का करिब ५२ लाख सब्स्क्राइबर छन् भने उनको भ्लगको च्यानल प्रमिस फनका करिब १२ लाख । लाखौँ डलरको आम्दानी त छँदै छ, उनको ख्याति पनि दिनप्रतिदिन चुलिँदै गइरहेको छ । यसको सबै श्रेय उनी आफ्ना दर्शकलाई नै दिन्छिन् ।
गोरखामा जन्मिएकी प्रमिसका बाआमा मिसनरीमा कार्यरत थिए । त्यसैले सानै उमेरमा उनलाई सपरिवार अमेरिका जाने अवसर जुट्यो । “एसियन अनुहार, त्यसमाथि अंग्रजी बोल्न नजान्ने । सबैले हेप्थे मात्रै,” उनले अमेरिका गएपछिका सुरुआती दिनका अनुभव सुनाइन् । तर, बिस्तारै त्यहाँको वातावरणसँग परिचित हुँदै गइन् र सबैकी प्रिय पनि ।
अमेरिकाको बसाइ सजिलो थिएन । तीन छोरी हुर्काउन उनका अभिभावकलाई हम्मेहम्मे पर्न थाल्यो । भन्छिन्, “बल्लबल्ल अमेरिकन फिल आउन थालेको थियो, नेपाल फर्किइहाल्नुपर्यो ।” नेपालमा उनका अनुभव राम्रा रहेनन् । अमेरिकाका विद्यालयमा भोगेको स्वतन्त्रता यहाँ भोग्नु त परै जाओस्, केही काम नगर्दा वा बिगार्दा पाउने सजायले समेत उनलाई सताउन थाल्यो । नेपालका विद्यालयमा उनले यति कुटाइ खाइन्, सम्झन पनि चाहँदिनन् । उनको दयनीय अवस्था देखेर अभिभावकले अमेरिका फर्काइदिए । अनि, बल्ल जीवन उनले सोचेजस्तो हुन थाल्यो ।
मेकअप क्षेत्रमा उनले अनुसरण गर्ने एक कलाकार थिइन्, मिसेल फन । मिसेलका मेकअप भिडियोले उनलाई मोहित पार्दै गए । संयोगवश मिसेलका भाइ स्टिभ फनसँग प्रमिसको विवाह भयो । मिसेलका युट्युब भिडियो आजकल कम आउँछन् । तर, उनको बिँडो थामेकी प्रमिस भने हप्तैजसो नयाँ प्रशिक्षण भिडियो अपलोड गरिरहन्छिन् ।
प्रमिस वान डिरेक्सन ब्यान्डका ह्यारी स्टाइल्समा रुपान्तरण भएको भिडियोको प्रशंसा स्वयं ह्यारीले पनि गरेका छन् । अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले मुक्तकण्ठले प्रमिसको कलाको प्रशंसा गरेकी छन् । आम मानिस मात्र नभएर थुप्रै सेलिब्रिटीसमेत उनका फ्यान छन् । बहुराष्ट्रिय मेकअप ब्रान्डले उनीसँग सहकार्य गर्न तँछाडमछाड गर्दै आएका छन् । प्रमिस सधैँ आफू ठूलो मान्छे भएको सपना देख्ने गर्थिन् । अहिले ती सब सपना वास्तविक भएका छन् । त्यसैले उनी भन्छिन्, “सपना देख्नचाहिँ छाड्नुहुन्न है ।”