विज्ञान यात्रा
अमेरिकामा मुख्यालय रहेको कारगिल फुड इन्ग्रिडिएन्ट एन्ड बायो इन्डस्ट्रीलाई विश्वकै सबैभन्दा ठूलो एग्रो उत्पादन कम्पनी मानिन्छ । कारगिलको चीनभरिमा अधिकारी नै सबैभन्दा वरिष्ठ वैज्ञानिक हुन् ।

प्रकाश अधिकारी, चीन
कोरियामा नेपालीले मनग्गे पैसा कमाउँछन् भन्ने सोचेर एक वर्षका लागि कोरियन भाषा पढ्न गए, दाङका प्रकाश अधिकारी । सन् २००४ मा कोरियामा भाषा पढ्न जाँदा मासिक २ सय ५० अमेरिकी डलर छात्रवृत्ति पाउँथे । खर्च कटाएर बचेको पैसा उनले नेपालमा पाउने तलबभन्दा बढी नै हुन्थ्यो ।
कोरियामा भाषा पढ्दा–पढ्दै उनलाई त्यहीँ मास्टर्स डिग्री गर्न मन लाग्यो । त्यसका लागि उनले तारतम्य बुझे । कोरियामा विज्ञान पढ्ने विदेशी विद्यार्थीले मात्र छात्रवृत्ति पाउने थाहा पाए । रसायनशास्त्रका एक प्रोफेसरसँग आफूले क्याम्पसमा विज्ञान विषय नपढेको तर विज्ञानमा स्नातकोत्तर गर्ने आँट रहेको बताएपछि स्नातकोत्तर तहमा रसायनशास्त्रमा भर्ना पाए । दाङमा कक्षा १० पछि कहिल्यै पुस्तक नपल्टाएका उनी १२ वर्षपछि कोरियाको छन्जुमा रहेको छन्बुक राष्ट्रिय विश्वविद्यालयका विद्यार्थी भए । र, स्नातक तहको भन्दा ६ महिना पहिल्यै रसायनशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।
अब उनलाई पीएचडी गर्ने हुटहुटी चल्यो । लगत्तै कोरियाकै छुङनाम विश्वविद्यालयबाट रसायनशास्त्रको खाद्य विज्ञान अन्तर्गत ‘लिपिड साइन्स’ मा अवसर पाए । उनले खाद्य तेललाई तरलबाट ठोस बनाउने विषयमा गहन अध्ययन गरे । त्यसभन्दा अगाडि खाद्य तेललाई रसायन हालेर मात्र ठोस बनाइन्थ्यो । उनले इन्जाइमेटिक मोडिफिकेसन गरेर खाद्य तेललाई ठोसमा परिणत गर्न सकिने प्रविधि पत्ता लगाए । त्यही विषयमा उनले अन्तर्राष्ट्रिय जर्नलमा लेख पनि प्रकाशित गरे ।
कोरियाबाट पीएचडी गर्नासाथ उनले सन् २०१० मा चीनको साङहाईमा सिंगापुरको विलमार अन्तर्राष्ट्रिय कम्पनीमा वैज्ञानिकका रूपमा अवसर पाए । सन् २०१२ को डिसेम्बरदेखि अमेरिकी कम्पनी कारगिलको बेइजिङ कार्यालयले उनलाई वरिष्ठ वैज्ञानिकमा आबद्ध गरायो ।
अमेरिकामा मुख्यालय रहेको कारगिल फुड इन्ग्रिडिएन्ट एन्ड बायो इन्डस्ट्रीका शाखा ७० देशमा सञ्चालित छन् । सन् २०१७ मा यो कम्पनीले ३ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ । कम्पनीमा एक लाख ५५ हजारभन्दा बढीले काम गर्छन् । चीन शाखाको मुख्यालय साङहाईमा रहेको छ । चीनका विभिन्न ५२ स्थानमा रहेका यसका शाखा कार्यालयमा मात्र ७ हजार कर्मचारी कार्यरत छन् । यसलाई विश्वकै सबैभन्दा ठूलो एग्रो उत्पादन कम्पनी मानिन्छ । कारगिलको चीनभरिमा अधिकारी नै सबैभन्दा वरिष्ठ वैज्ञानिक हुन् ।
कारगिल कम्पनीमा उनको मुख्य काम खोज र अनुसन्धान गर्नु हो । चाउचाउ फ्राइ गर्दा कसरी तेल कम शोषण हुन्छ भन्ने पत्ता लगाएर त्यसको प्याटनसहित उनको अनुसन्धानात्मक लेख सन् २०१८ को जनवरीमा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । उनले पत्ता लगाएको विधिमा स्याउको जुसलाई प्रोसेसिङबाट पाउडर बनाएर चाउचाउ फ्राई गर्दा केही मात्रा मिसाउने हो भने चाउचाउले तेल कम शोषण गर्छ । चाउचाउले तेल कम शोषण गर्नु भनेको मानव स्वास्थ्यमा कम हानि पुर्याउनु हो । उनले अमेरिका, मलेसिया, बेल्जियम, अस्ट्रेलियालगायतका मुलुकमा गएर आफ्नो विषय–विशेषज्ञता प्रस्तुत गरिसकेका छन् ।
विदेशमा जतिसुकै ठूलो सुविधा र मान पाए पनि डा अधिकारी नेपालमै काम गर्ने अवसरको खोजीमा छन् । उनी आफ्नो विषय–विशेषज्ञतासँग सम्बन्धित नेपालमा सम्भाव्यता अध्ययन गरिरहेका छन् । नेपालमा चिउरीको औद्योगिक उत्पादनमा राम्रो सम्भावना देखेका छन् उनले । नेपालमा अहिले वार्षिक ४० हजार मेट्रिक टनजति चिउरी उत्पादन हुने अनुमान भए पनि रिफाइन प्रोसेसिङ छैन । यसको बेसलाइन डाटा भएमा ठूला अन्तर्राष्ट्रिय कम्पनीले लगानी गर्ने र नेपालको कृषि क्षेत्रले ठूलो लाभ प्राप्त गर्ने उनको धारणा छ ।
माध्यमिक तहमा उनका लागि सबैभन्दा अप्ठेरो विषय नै विज्ञान थियो । त्यसमा पनि कक्षा ९ र १० रसायनशास्त्र केही पनि बुझ्दैन थिए । आज आएर त्यही रसायनशास्त्रको वैज्ञानिक छन्, अधिकारी । अनि, उनको मातहतमा थुप्रै चिनियाँ तथा विदेशी वैज्ञानिक कार्यरत छन् ।