फेसनका टाकुरा
ठूलठूला सेलिब्रिटीहरूले रुचाएका संसारकै उत्कृष्ट फेसन डिजाइनरमा पर्छन्, प्रबल गुरुङ। उनका पहिरन रुचाउनेमा हलिउड र बलिउडका मोडल तथा कलाकार मात्र नभएर पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामा पनि पर्छिन् ।

प्रबल गुरुङ, अमेरिका
ठूलठूला सेलिब्रिटीहरूले रुचाएका संसारकै उत्कृष्ट फेसन डिजाइनरमा पर्छन्, प्रबल गुरुङ, ३९। सिंगापुरमा जन्मिएर काठमाडौँमा हुर्किएका प्रबलले डिजाइन गरेका लुगा फेसन सोहरूमा उत्कृष्टमा दरिन्छन् अनि लाखौँमा बिक्री हुन्छन् । उनको ब्रान्डको खुलेरै ‘इन्डोर्स’ गर्नेको कमी छैन । उनका पहिरन रुचाउनेमा हलिउड र बलिउडका मोडल तथा कलाकार मात्र नभएर पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामा पनि पर्छिन् ।
प्रबलको फेसन डिजाइनिङ करिअर भारतको नयाँ दिल्लीबाट सुरु भयो । त्यहाँ सिकेका कला विश्वसामु चिनाउन अमेरिकाको न्युयोर्क सहर गए । फेसन डिजाइनिङका अन्तर्राष्ट्रिय ट्रेन्ड सिक्नका लागि त्यहीँको पार्सन्स कलेजमा भर्ना भए र दुई वर्ष प्रसिद्ध फेसन डिजाइनर सिन्थ्या राउलीको डिजाइन टिममा रही काम गरे । आफ्नै ब्रान्ड सुरु गर्नुअघि उनले पाँच वर्ष बिल ब्लासमा डिजाइन निर्देशकका रूपमा पनि काम गरे ।
सन् २०१२ मा सिंगो संसारको आँखा बेलायतकी युवराज्ञी केट मिडल्टनमा पर्यो । कारण, उनले लगाएको पहिरन, जसलाई डिजाइन गरेका थिए प्रबलले । त्यस डिजाइनको अनुकरण गर्दै अन्य थुप्रै पहिरन बजारमा आए । अहिले पनि युवराज्ञीका उत्कृष्ट पहिरनको प्रसंग उठ्दा उक्त डिजाइन अग्रपंक्तिमै आउँछ । अन्य सेलिब्रिटीका पनि प्रबल नै प्रिय हुन् । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनलाई ‘डार्लिङ अफ रेड कार्पेट’ को उपनाम दिएका छन् ।
विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई आफ्ना डिजाइन पहिराइसकेका प्रबल भने नेपाली लोकल डिजाइनका प्रशंसक हुन् । भन्छन्, “नेपालबाट अमेरिका फर्कँदा सधैँ सुटकेसभरि टोपी, सल र अन्य कपडा लिएर आउँछु ।” ठमेलमा कपडाका रंगीचंगी बजारले उनलाई मोहित तुल्याउँछन् । असनटोलसँग उनको छुट्टै लगाव छ । पाटन र भक्तपुरका लोकल डिजाइनजति राम्रा उनलाई केही लाग्दैनन् ।
आफ्नो स्टारडमको सदुपयोग उचित ठाउँमा प्रयोग गर्ने थोरै सेलिब्रिटीमा प्रबल पर्छन् । उनले पहिलेदेखि नै समलिंगी हकअधिकारका पक्षमा आवाज उठाउँदै आएका छन् । भन्छन्, “पुरुष, महिला वा अन्य लैंगिक पहिचानकै भए पनि माया त माया हो ।” महिला हिंसाका विरुद्ध पनि उनी पहिलेदेखि नै जनचेतना जगाउँदै आएका छन् । उनकै शब्दमा भन्नु पर्दा उनी कट्टर फेमिनिस्ट हुन् ।
शिक्षा तथा अन्य आधारभूत आवश्यकताबाट वञ्चित नेपालका ग्रामीण भागका बालबालिकालाई उचित शिक्षा प्रदान गर्ने उद्देश्यले प्रबलले सञ्चालन गरेको शिक्षा फाउन्डेसनले सयौँ बालबालिकाका शैक्षिक, सामाजिक तथा मनोवैज्ञानिक उत्थानमा काम गर्न थालेको वर्षौँ भइसक्यो । माइती नेपालले उनलाई आफ्नो सद्भावना दूत घोषणा गरेको छ । ०७२ सालको महाभूकम्पमा क्षतविक्षत संरचना पुन:उभ्याउन उनले करिब १० लाख अमेरिकी डलर संकलन गरिसकेका छन् ।
एको डोमानी फेसन पुरस्कार, सीएफडीए स्वाराब्स्की सम्मान, ड्रइङ सेन्टर रचनात्मक पुरस्कारजस्ता थुप्रै सम्मान तथा पुरस्कारद्वारा उनी विभूषित गुरुङले हरेक वर्ष समयानुकूल डिजाइन ल्याइरहेका हुन्छन् । संसारभरका पहिरनसँग उनी परिचित छन् । अहिले उनको वेबसाइटबाट २ सय ७५ अमेरिकी डलरदेखि ५५ सय अमेरिकी डलरसम्मका पहिरन उपलब्ध छन् । अन्तर्राष्ट्रिय बजारमा यी पहिरनको माग व्यापक छ ।