घुमिफिरी चीन
सुरुमा प्राविधिक सहायक इन्जिनियरका रूपमा प्रवेश गरेका उनी बजार प्रतिनिधि हुँदै बुल कम्पनीको चीन प्रतिनिधि कन्ट्री रिप्रेजेन्टेटिभ भए ।

अशोक पाण्डे, चीन
सांस्कृतिक क्रान्तिको पीडाबाट मुक्ति खोजिरहेको चीनमा ४१ वर्षअगाडि पढ्न आएका थिए, अशोक पाण्डे । त्यतिबेला चिनियाँलाई नेपाल भन्ने देश छ भन्ने पनि थाहा थिएन । खासमा उनी पुलचोक इन्जिनियरिङ इन्स्टिच्युटबाट ओभरसियर गरेर छात्रवृत्तिमा बेइजिङ आएका थिए । र, छिङह्वा विश्वविद्यालयबाट सन् १९८३ मा इन्जिनियरिङमा स्नातक गरेपछि फर्किएर कुलेखानी दोस्रो जलविद्युत् आयोजनामा काम थाले । तर, डेढ वर्षपछि थप अध्ययनका लागि चीन नै फर्किए ।
काठमाडौँको हुनेखाने परिवारका सदस्य त्यसमाथि छात्रवृत्तिमै छिङह्वा विश्वविद्यालयमै हाइड्रोलिक इन्जिनियरिङमा पोस्ट ग्य्राजुएट अध्ययनरत भएकाले जागिर खानुपर्ने आवश्यकता थिएन, अशोक पाण्डेलाई । तर, सबै कुरा आवश्यकताले मात्र सिर्जना नगर्ने रहेछ । पढ्दापढ्दै उनी फ्रान्सको बुल नामको कम्पनीमा जागिर खान थाले । सुरुमा प्राविधिक सहायक इन्जिनियरका रूपमा प्रवेश गरेका उनी बजार प्रतिनिधि हुँदै बुल कम्पनीको चीन प्रतिनिधि कन्ट्री रिप्रेजेन्टेटिभ भए ।
त्यो समय कम्प्युटर इन्जिनियरिङ भर्खरै सुरु भएको थियो । तसर्थ कम्प्युटरको क्षेत्रमा इलेक्ट्रिकल इन्जिनियरले नै काम गर्नुपर्ने थियो । सन् १९९४ मा बुललाई हनिवल्र्ड कम्पनीले किन्यो र बुल हनिवल्र्ड भयो । व्यवस्थापन समूह पनि परिवर्तन भएकाले पाण्डे पनि उक्त कम्पनी छोडेर दासो नामक अर्को फ्रान्सेली कम्पनीमा काम गर्न थाले । एटीएम, टेलिमेसिन लगायतका हार्डवेयर र सफ्टवेयरको काम गर्ने दासोमा एक वर्ष काम गरेपछि उनलाई व्यापार गर्ने झोक चल्यो र नेपाल फर्किएर चीन, नेपाल र भारतबीचमा व्यापार गर्न थाले । तर, त्यसमा एक वर्ष पनि टिक्न सकेनन् । उनले सोचे, ‘म व्यापारी बन्न सक्दिनँ । मेरो भविष्य चीनमै छ ।’
सन् १९९६ मा चीन फर्कनासाथ उनले अमेरिकी कम्पनी ट्यान्डममा काम गर्न थाले । ट्यान्डमले पनि कम्प्युटर सिस्टमको काम गथ्र्यो । विशेषगरी बैंकिङ, टेलिकम र स्टक एक्स्चेन्ज यसका मुख्य बजार थिए । दुई वर्षपछि ट्यान्डमलाई कम्प्याक्टले किन्यो ।
सन् २००० मा अमेरिकन कम्पनी टर्बोलिंकमा चीन तथा एसिया प्रशान्तको सेल्स एन्ड मार्केटिङ भाइसप्रेसिडेन्ट भए । त्यतिबेला डट कम बुमिङ भइरहेको थियो । डट कम माइक्रोसफ्ट कम्पनीको थियो र टर्बोलिंक त्यसको प्रतिस्पर्धी । पाण्डेले दक्षिण कोरियाको सामसुङ कम्पनी र चीनको नागरिक उड्डयन मन्त्रालयसँग टर्बोलिंक कम्पनीको ठूलो व्यावसायिक सम्झौता गराए । काम गर्दै जाँदा उनी उक्त कम्पनीको चीन तथा एसिया प्यासिफिक क्षेत्रको प्रेसिडेन्ट तथा महाप्रवन्धक नै भए । कम्पनीको मुख्यालय अमेरिकाको सिलिकन भ्यालीमा थियो ।
सन् २००३ मा टर्बोलिंक कम्पनीमा जापानी व्यवस्थापन समूह आएपछि सन् २००३ को सेप्टेम्बरमा उनले माइक्रोसफ्ट रोजे । संयोग कस्तो पर्यो भने माइक्रोसफ्ट कम्पनीको प्रतिस्पर्धी टर्बोलिंकलाई सफलताको शिखरमा पुर्याएर उनी माइक्रोसफ्टमा प्रवेश गरे माइक्रोसफ्टजस्तो विश्वकै ख्यातिप्राप्त कम्पनीका लागि चीनजस्तो मुलुकको प्रमुख भएर काम गर्नु जोकोहीका लागि चानचुने कुरा थिएन । नौ वर्ष माइक्रोसफ्टमा काम गरेर उनी अर्को अमेरिकन कम्पनी एनभिडियाको भाइस प्रेसिडेन्डमा जम्प गरे । एनभिडियाले सेमिकन्डक अर्थात् चिप्सहरू बनाउने काम गर्छ । अहिले उनी यो कम्पनीको चाइना तथा एसिया प्यासिफिक क्षेत्रको प्रमुख कार्यकारी अपरेटर तथा भाइस प्रेसिडेन्डको रूपमा कार्यरत छन् । उनको कार्यक्षेत्र चीनसँगै कोरिया, अस्ट्रेलिया, ताइवान, सिंगापुर लगायतका मुलुक छन् । उनको कमान्डमा २ हजारभन्दा बढी कर्मचारी छन् ।
एनभिडियाले विशेषगरी कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स एआईको क्षेत्रमा काम गर्छ । यसका उत्पादन सफ्टवेयर र हार्डवेयर दुवै क्षेत्रमा छन् । विश्वकै सबैभन्दा ठूलो कम्पनी एनभिडियाको चीन प्रमुख हुनु उनका लागि गौरव र चुनौती दुवैले भरिपूर्ण छ ।
उमेरले ६ दशक नाघिसकेका अशोक पाण्डेलाई अब कति समय चीनमा काम गर्छु भन्ने कुनै स्पष्ट कार्ययोजना छैन । पाण्डेले हजारौँ चिनियाँ र पश्चिमालाई आफ्नो अधीनमा राखेर काम गराएका छन् । तर, अहिलेसम्म नेपालीलाई आफ्नो अधीनमा राखेर काम लगाएका छैनन् ।