रुबीको चमक
राजधानी यांगुनमा घरसमेत बनाइसकेका अधिकारीको रुबीबाहेकका अन्य व्यवसाय साझेदारीमा चलेका छन् । प्रत्येक वर्ष हङकङमा लाग्ने रुबीको व्यापार मेला छुटाउँदैनन् ।

दीपक अधिकारी, म्यानमार
नेपाली मूलका धेरै बर्मेलीको थातथलो हो, म्यानमार । यही म्यानमारमा रुबीको व्यापारमा जमेका छन्, दीपक अधिकारी, ५२ । नेपालबाट आएका उनका बाजे ठूला खानीमा श्रमिक थिए । बुबाले मख्खन कारोबार थाले । दाइले मख्खन कारोबारलाई निरन्तरता दिए । तर, उनी भने मख्खनमै मख्ख परेनन् । बहुमूल्य पत्थर रुबीदेखि होटल व्यवसाय रोजे । नचिताएको सफलता पाए । अर्थात्, बाजे पुस्ता मजदुर थिए भने नाति पुस्ता व्यापारी बनेर निस्किए ।
म्यानमारमा झन्डै दुई दर्जनभन्दा बढी अर्बपति नेपाली छन् । र, करोडपतिको संख्या सयभन्दा बढी छ । त्यसमध्येका एक उदाहरण हुन्, दीपक । दीपक नेपाली गोर्खा विश्व विद्यालय सहयोग मण्डलीका अध्यक्षसमेत हुन् । उनको परिचय यत्तिमै सीमित छैन । उनी म्यानमारमा नेपालीको सहयोगका लागि सबैभन्दा बढी सहयोग गर्ने मनकारीमध्येमा पर्छन् ।
उनले पछिल्लो समय अंग्रेजकालीन हिल स्टेसन कलाउ र इन्ले लेकमा दुइटा होटल सञ्चालन गरिरहेका छन् । दुवै होटलमा झन्डै ६० करोड रुपियाँबराबरको लगानी रहेको अधिकारी बताउँछन् । दीपकका बाजे नेपालबाट बर्मा गएका हुन् । उनका बुबा यतै जन्मे, उनीचाहिँ म्यानमारको प्यींउल्विनमा जन्मिए । बाजे र बुबा खेतीपाती गर्थे । दाइ धनेश्वर मख्खनको कारोबार गर्न ५० वर्षअघि प्यींउल्विनबाट राजधानी यांगुन छिरे । त्यतिबेला मख्खनको व्यापारमा नेपाली अग्रणी थिए । सन् १९७८ मा म्यानमार आएका दीपकले रंगुन विश्वविद्यालयबाट केमिस्ट्रीमा बिएससी गरेपछि दाइ धनेश्वरकै बाटो पछ्याए ।
उनले कफी र चियाको व्यापारमा समेत हात हालेका छन् । तीन वर्षदेखि मोगोकमा कफी र चिया खेती सुरु गरेका उनले उत्पादन अमेरिकी बजारमा बेचिरहेका छन् । भन्छन्, “अमेरिकी बजारमा म्यानमारको कफी र चिया निकै रुचाइएको छ ।”
मोगोकका नेपाली यांगुनमा आउजाउ गरिरहन्थे । तीमध्ये अधिकांशले रुबीको व्यापार गर्थे । व्यापारकै सोचका कारण उनलाई सन् १९८८ मा मोगोक पुर्यायो । सुरुवाती दिनमा कोठा भाडा तिर्न पैसा थिएन । मिहिनेत र संघर्षले उनी म्यानमारका नेपाली मूलका व्यापारीमाझ अग्रणी छन् । भन्छन्, “संघर्षका सुरुआती दिन कष्टकर भए पनि त्यही संघर्षले मलाई सफलता प्राप्तिमा सघाएको हो ।”
राजधानी यांगुनमा घरसमेत बनाइसकेका अधिकारीको रुबीबाहेकका अन्य व्यवसाय साझेदारीमा चलेका छन् । प्रत्येक वर्ष हङकङमा लाग्ने रुबीको व्यापार मेला छुटाउँदैनन् । रुबी खरिदका लागि भारत, थाइल्यान्ड, चीन, अमेरिका, युरोप र सिंगापुरका व्यापारी उनको घरमै पुग्छन् । म्यानमारमा नेपालीका करिब ३ सयजति बस्ती र तीन लाख जतिको संख्यामा नेपाली छन् ।