असफलतालाई गुरु थापेर
प्लस टु सकेर इन्जिनियरिङ पढ्न भारतको पश्चिम बंगालको एनआईटी दुर्गापुर पुगेका उर्लाबारी, मोरङका भूपेन्द्र खनालले कहिल्यै सोचेका थिएनन्, देशबाहिर बसी अन्तर्राष्ट्रिय स्तरको व्यवसाय गर्छु भनेर ।

भूपेन्द्र खनाल, भारत
प्लस टु सकेर इन्जिनियरिङ पढ्न भारतको पश्चिम बंगालको एनआईटी दुर्गापुर पुगेका उर्लाबारी, मोरङका भूपेन्द्र खनाल, ३७, ले कहिल्यै सोचेका थिएनन्, देशबाहिर बसी अन्तर्राष्ट्रिय स्तरको व्यवसाय गर्छु भनेर । इन्जिनियरिङ सकेको १२ वर्षपछि उनको नामअगाडि एउटा ट्याग जोडिएर आउने गर्छ– डग्सी च्यु कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत । घरपालुवा कुकुरका मनपर्ने खानेकुरामा डग च्यु पर्छ । यस्ता डग च्यु विशेषतस् हड्डीबाट बन्छन् । भन्छन्, 'त्यस्ता डग च्यु स्वस्थकर हुँदैनन् । त्यसैको विकल्पका रूपमा छुर्पीले बनेका डग च्युलाई विश्वबजारमा ल्याउने जमर्को गरेको हुँ ।”
करिब तीन वर्षअघि श्रीमतीसँग दार्जिलिङ घुम्न जाँदा फुरेको यो उपाय अहिले विश्वव्यापी बनिसकेको छ । विभिन्न देशमा यस उत्पादनको चर्को माग छ । १९ जनाले उक्त कम्पनीमा रोजगारी पनि पाएका छन् । 'डग्सी च्युको यात्रा निकै सुखदायी रहेको छ मेरा लागि । कुकुर पाल्नेको संख्या बढिरहेको हुँदा डग्सी च्युको बजार पनि बढिरहेको छ,” उनले सुनाए । अमेरिकामा हिमालयन डग च्युजले अपार सफलता हासिल गरेको देखेर आफ्नो कम्पनीको भविष्य पनि सुखद रहेको उनलाई लाग्छ । हिमालयन डग च्युजस्तो कडा प्रतिद्वन्द्वी पहिलेदेखि नै थियो । तर, उनले त्यसको पर्वाह भने गरेनन् । भन्छन्, 'प्रतिस्पर्धाको पर्वाह गरेको भए आज मैले सफलताको स्वाद चाख्न पाउँदैनथेँ सायद ।”
यसपछि उनको योजनामा नेपालमा पाइने अदुवा लगायत अन्य खाद्यबालीको अन्तर्राष्ट्रियकरण गर्नु रहेको छ । त्यसबाहेक बैंगलोरमा ठूलो नेपाली रेस्टुराँ खोल्ने, हल्दिरामजस्तै खाद्यव्यवसाय सञ्चालन गर्नेजस्ता केही महत्त्वाकांक्षी परियोजना पनि उनीसँग छ । यसका लागि उनका तर्फबाट आवश्यक अनुसन्धान पनि भइरहेको छ ।
डग्सी च्यु खनालको पहिलो कम्पनी भने होइन, दुई डिजिटल व्यवसायपछिको नौलो प्रयोग हो । यसअघि उनका मार्केटेलिजेन्ट र सिम्प्लीफाई ३६० नाम गरेका दुई कम्पनी थिए । एनालिटिक्स् र डिजिटल सेवाप्रदायक यी दुवै कम्पनीमा खनाल अहिले प्रत्यक्ष रूपमा संलग्न छैनन् । डग्सी च्यु सञ्चालन गरेपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । विभिन्न कार्यक्रममा उनलाई प्रेरणादायी वक्ताका रूपमा बोलाइन्छ ।
उचित बजार नपाएका स्रोतसाधन नेपालमा थुप्रै छन् । यिनलाई भूपेन्द्रले अवसरका रूपमा हेरेका छन् । उनी चाहन्छन्, विदेसिएका युवाले पनि यिनको प्रवद्र्धनमा योगदान पुर्याउँछन् । उनको अनुभव बोल्छ, 'अहिलेका युवामा धैर्य छैन । व्यापार सुरु गर्दै सफल भइहालिन्छ भन्ने सोच धेरैमा छ ।”