आप्रवासी उपमेयर
अमेरिकाको मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडका उपमेयर हुन्, किरण सिटौला

किरण सिटौला ‘रन’, अमेरिका
अमेरिकाको मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडका उपमेयर हुन्, किरण सिटौला ‘रन’, ४७ । करिब चार हजार जनसंख्या भएको उक्त स्थानमा उपमेयरमा विजयी भई उनले कार्यभार सम्हालेको करिब तीन वर्ष भयो । नेपालबाहिर कुनै टाउनको उपप्रमुखजस्तो पदमा आसीन हुने उनी पहिलो नेपाली हुन् । यस टाउनको अर्को विशेषता २२ वर्षीय ब्रान्डन पाउलिन मेयर हुनु पनि हो । आप्रवासी उपप्रमुख र साना उमेरका प्रमुख भएका कारण यस टाउनको ख्याति सर्वत्र फैलिएको छ ।
बूढानीलकण्ठ स्कुलमा कक्षा चारदेखि ए–लेभलसम्मको अध्ययन गर्दा सिटौलाले समाजसेवाका विभिन्न पाटा सिके । अरूको सेवा गर्न भनेपछि पहिलेदेखि नै हुरुक्क हुने उनको यो बानी अमेरिका पुग्दासम्म यथावतै थियो । अनाथ र बृद्धबृद्धाका समस्या उनलाई आफ्नै जस्ता लाग्थे । भन्छन्, “नेपालमा सब पुगेको अवस्थामा त सेवा गर्थेँ नै, अमेरिका आएपछि आफ्नो संघर्षको समयमा समेत त्यस्ता मान्छेका आँसु पुछ्न छोडिनँ ।”
०५१ मा उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका गएका किरण सुरुमा आईओवा राज्य अनि ओहायो हुँदै उनी मेरिल्यान्ड पुगेका हुन् । लेखा प्रणालीमा स्नातक सकेर डाटाबेस म्यानेजमेन्ट प्रणालीमा स्नातकोत्तर गरेका सिटौलालाई यी विषयले अहिले उपमेयरको कार्यशैलीमा समेत सहयोग पुर्याउँदै आएका छन् । विद्यार्थी जीवनमा उनले धेरै संघर्ष गर्नुपर्यो । ४० घन्टा निरन्तर काम गर्दासमेत उनी विचलित हुँदैनथे । भन्छन्, “त्यो बेला आराम गर्ने सोचेको भए अहिले मैले सायद यो दिन देख्न पाउँदैनथेँ ।”
किरण र ब्रान्डनको नेतृत्वमा टाउन अफ इन्डियन हेडमा थुप्रै विकासका कार्य भए । खानेपानीको सहज वितरण, उचित ढल व्यवस्थापन, पक्की सडक निर्माण, सार्वजनिक बालसुलभ पार्क निर्माणजस्ता कार्य गरेकाले यी दुईको कार्यकाललाई सबैले रुचाएका छन् ।
जीर्ण अवस्थामा पुगिसकेका पुराना संरचना टाउन अफ इन्डियन हेडमा थुपै्र थिए । विभिन्न नयाँ भवन निर्माण भए । तर, पुरानै मौलिक शैलीमा । यस कार्य गरेबापत उनको गरिमा झन् चुलिएको छ । सुनाउँछन्, “सबैतिर फाईबर जडान गर्न निकै संघर्षको सामना गर्नुपर्यो । कति ठाउँ चहारेँ, यसबारे कति अध्ययन गरेँ । तर, ल्याएरै छाडेँ ।” उनकै पहलमा अबको केही समयमा इन्डियन हेडको आफ्नै सामुदायिक क्याम्पस पनि स्थापना हुन लागेको छ । कसैले आधारभूत आवश्यकताका लागि टाउनबाहिर चहार्न नपरोस् भन्ने उनको चाहना छ ।
विभिन्न मुलुकबाट शरणार्थीका रूपमा अमेरिका गएका मानिससमेत त्यहाँका सरकारी निकायमा कार्यरत छन् । भन्छन्, “सदुपयोग गर्न जान्नेका लागि अवसरै–अवसर छन् अमेरिकामा ।” उनी यी सब अनुभवको सदुपयोग अब नेपालका अल्पविकसित ग्रामीण भेगमा गर्न चाहन्छन् । भन्छन्, “अब छिट्टै नेपाल आएर पिछडिएका ठाउँका जनतालाई नेतृत्वदायी प्रशिक्षण दिनेछु ।”