जो बलिउडमा उदाए
सप्तरीको भारदहबाट काठमाडौँ हुँदै मुम्बई पुगेका उदीतनारायण झा बलिउडका चर्चित गायकमध्येमा पर्छन् ।

उदीतनारायण झा, भारत
सप्तरीको भारदहबाट काठमाडौँ हुँदै मुम्बई पुगेका उदीतनारायण झा बलिउडका चर्चित गायकमध्येमा पर्छन् । उनले झन्डै तीन दशक हिन्दी फिल्मका हिट गीत गाए । २ सय ६० हिन्दीसहित नेपाली, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलायालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाका सयौँ चलचित्रमा पाश्र्वगायन गरे । ३० भाषामा १५ हजारभन्दा धेरै गीत रेकर्ड गराएका उदीतलाई नेपाल र भारत सरकारले उच्च सम्मान प्रदान गरिसकेका छन् ।
१ डिसेम्बर १९५५ मा बुबा किसन र आमा भुवनेश्वरीबाट जन्मिएका उनले राजविराजको पीबी हाईस्कुलमा प्राथमिक शिक्षा हासिल गरेका हुन् । एसएलसीपछि उनी राजधानी काठमाडौँ आए र रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि नेपाली र मैथिली गीत रेकर्ड गराउन थाले । उनले चलचित्र सिन्दूरबाट पाश्र्वगायन आरम्भ गरेयता कहिल्यै पछाडि फर्किनुपरेको छैन । नेपाली चलचित्रमा उदीत गायक मात्र हैनन्, निर्माता र अभिनेतासमेत हुन् ।
नेपालमा स्थापित भइसकेका उदीत सन् १९७८ तिर संगीतको थप अध्ययनका लागि भारतको मुम्बई पुगे । झन्डै तीन वर्षपछि उन्नीस–बीसबाट हिन्दी फिल्मको पाश्र्वगायन थालेका उनले प्रारम्भमा संघर्ष गर्नुपरे पनि केही वर्षमै लोकप्रिय भए । ‘बडे दिलवाला’, ‘तन–बदन’ बाट उकालो लागेको उनको संगीत यात्रा कहिल्यै ओरालो लाग्नुपरेन । सुपरहिट फिल्म ‘कयामत से कयामत तक’ ले उनलाई लोकप्रियताको शिखरमा चढायो । त्यसको एउटा गीत ‘पापा कहते है, बडा नाम करेगा...’ सुपरहिट भयो । सोही गीतका लागि उनले सर्वश्रेष्ठ पाश्र्वगायन फिल्ममेकर अवार्डसमेत प्राप्त गरे ।
संगीत क्षेत्रका प्रशंसकहरू उदीतको स्वरलाई जादूमयी मान्थे । त्यसैले छिमेकबाट मुम्बई नगरी पुगेका उनले छोटो समयमै चर्चित संगीतकार एआर रहमान, आरडी बर्मन, जगदीश सिंह र विशाल भारद्वाजको साथ पाए । तिनका संगीतमा गाइएका अधिकांश गीत हिट भएपछि उदीत सधैँ चर्चामा रहे । त्यसले उनलाई थप सफलताको शिखरमा पुर्याइदियो । खासगरी, ‘दिलवाले दुल्हनिया ले जायंगे’, ‘राजा हिन्दूस्तानी’, ‘हम दिल दे चुके सनम’, ‘लगान’ फिल्म हिट हुँदा भारतीय गीत–संगीत क्षेत्रमा उदीतको उचाइ निकै अग्लो भइसकेको थियो ।
उदीतले नेपाली र भारतीयको माया पाए । हिन्दी र नेपाली गीतका श्रोताले मन पराए । त्यसैले दुवै देशका प्रतिष्ठित पुरस्कार पाउन कुनै अवरोध भएन । उदीतले सन् २००१ मा नेपालको प्रबल गोर्खा दक्षिणबाहु प्राप्त गरे भने सन् २००९ मा भारतको उच्च सम्मान पद्मश्री पुरस्कार प्राप्त गरे । उनका दुई पत्नी रञ्जना र दीपा छन् । रन्जना सप्तरीमै बस्छिन् भने उनी दीपा र छोरा आदित्यनारायणसँग मुम्बईमा बस्छन् । आदित्यनारायण पनि गीतसंगीतकै क्षेत्रमा छन् । भन्छन्, “अब म छोरा आदित्यको करिअर उँचो भएको हेर्न चाहन्छु ।”