एनआरएनएको विरासत
विदेशमा रहेर नेपाल चिनाउने मात्र नभई नेपालमा समेत योगदान पुर्याउनेको सूची सानो छैन ।

विदेशमा रहेर नेपाल चिनाउने मात्र नभई नेपालमा समेत योगदान पुर्याउनेको सूची सानो छैन । त्यसमा डा उपेन्द्र महतो अटाएका मात्रै छैनन्, अघिल्लो पंक्तिमै छन् । सन् १९६० मा सिराहामा जन्मिएका महतो अहिले नेपाली मूलका अर्बपतिमध्येमा पर्छन् । हाल रुस बस्दै आएका महतोलाई नै गैरआवासीय नेपालीलाई संगठित गर्ने श्रेय जान्छ । उनी संघको संस्थापक अध्यक्षसमेत हुन् ।
साधारण किसान परिवारमा जन्मेका महतोले नेपालमा पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियर पढे भने सुनसरी–मोरङ सिँचाइ आयोजनामा एक वर्ष कामसमेत गरे । उनले डक्टर अफ साइन्स गरेका छन् । नेपाली सम्राट व्यवसायी (मुगल) का रूपमा समेत सम्बोधन गरिने महतोको महतो ग्रुप अफ इन्डस्ट्रिजले करिब डेढ दशकदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । महतोको नेपालबाहेक युरोप, एसिया, उत्तर अमेरिका र अफ्रिकामा विभिन्न उद्योग, व्यवसाय सञ्चालनमा छन् ।
पूर्वाधार, अस्पताल, कलेज, रियलस्टेट, बैंकिङ, इन्स्योरेन्स, सञ्चारलगायतका विविध क्षेत्र गरी महतोको नेपालमा १५ भन्दा धेरै ठूला कम्पनीमा लगानी छ । महतोलाई सन् २०१० मा नेपाल सरकारले सुप्रबल जनसेवा सम्मान प्रदान गरेको थियो । त्यस्तै, उनले सन् २००७ मा रुसमा इन्टरनेसनल एकेडेमी अफ म्यानेजमेन्टको आयोजनामा भएको कार्यक्रममा वर्ष व्यवस्थापकको सम्मानसमेत पाएका थिए ।
पछिल्लो समय अर्बपति नेपाली मूलका शेष घले आफ्नै छाप छाड्न सफल भएका छन् । लमजुङमा जन्मिएका घले अहिले अस्ट्रेलियाका ८१ औँ धनीमा पर्छन् । उनी र उनकी श्रीमती जमुना गुरुङसँग हाल २६ अर्बभन्दा धेरै सम्पत्ति छ ।
नेपालमा इन्जिनियरको जागिर छाडेर अस्ट्रेलिया पुगेका घले पत्रिका बाँड्नेदेखि होटलका कामसमेत गर्दै अगाडि बढे । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेपछि कलेजमै काम थाले । २/३ वर्ष काम गरेपछि उनमा आफैँले कलेज खोल्ने सोच आयो । तर, आर्थिक मन्दीका कारण भएकै जागिर पनि गयो । सन् १९५५ मा आवासीय भिसा पाएसँगै आफ्नै सोचमा काम थाले ।
उनको मेलबर्नमा रहेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा ३ हजारभन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् । नेपालमा उनको ८ अर्बभन्दा बढी लगानीमा होटल शेराटन निर्माण भइरहेको छ । युरोपमा समेत केही हाइड्रोमा समेत लगानी गरेका घलेले सिन्डिकेट अन्त्य गर्न भूमिका खेलेको मयुर यातायातमा समेत लगानी गर्ने चर्चा छ । घले गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्षसमेत हुन् । घले नेपाल पुनर्निर्माण कोषका लागि गुडविल एम्बेसडरसमेत घोषणा भएका थिए ।
अहिले अर्बपतिकै सूचीमा रहेका जीवा लामिछानेको जीवनकथा पनि रोचक छ । इन्जिनियर विद्यार्थीका रूपमा रुस पुगेका उनले छुट्टीमा अन्य देश घुम्दा किनेका विशेषगरी विद्युतीय सामान बेचेरै पैसा बचत गर्न थाले । उनले अध्ययन सकिएपछि पनि विद्युतीय सामान बेच्ने काम गरे । लामिछानेले पनि नेपाल सरकारबाट प्रबल जनसेवाश्री सम्मान पाएका छन् । अन्य गैरआवासीय नेपालीको समेत लगानीमा सञ्चालनमा रहेको सानिमा बैंक, मेडिसिटी हस्पिटललगायतमा लामिछानेको लगानी छ । एनआरएनए निर्माणमा समेत योगदान दिएका लामिछाने दोहोरो नागरिकता दिलाउन पहल गर्नेमध्येका एक हुन् ।
हस्पिटालिटीको प्रतिविम्बका रूपमा चिनिने हालका अध्यक्ष तथा व्यवसायी भवन भट्ट छुटाउन नहुने अर्का एनआरएनए नेपाली हुन् । टीबीआई नेपाल समूहमार्फत उनले २६ भन्दा बढी कम्पनीमा लगानी गरेका छन् । जापानमा भाषा अध्ययन गर्ने विद्यार्थीका रूपमा प्रवेश गरेका भट्ट अहिले त्यहाँ ७८ वटा रेस्टुराँ सञ्चालन गर्छन् । हाल टीबीआई समूहको लगानी भारत, अमेरिका, बेल्जियम, अस्ट्रेलिया, हङकङ र जापानसम्म फैलिएको छ । नेपालमा हवाई, कलेज, उद्योग तथा रिसोर्टमा टीबीआईको लगानी छ । टीबीआई फुडले मात्रै ७८ वटा रेस्टुराँ सम्हालिरहेको छ ।
विदेशमा रहेर नेपालको साख फैलाउनेदेखि देशमा लगानी भित्र्याएर आर्थिक विकासमा टेवा पुर्याउने आप्रवासी नेपाली यति मात्र छैनन् । अमेरिकाको डेमोक्रेटिक नेसनल कन्भेन्सनमा पुग्ने पहिलो नेपालीको रेकर्ड बनाएका दर्शन रौनियारदेखि गैरआवासीय नेपाली संघकै पूर्वअध्यक्ष देवमान हिराचन यस्तै छुटाउन नहुने नाममा पर्छन् । हिराचनको लगानी रहेको ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेडले नेपालमा अग्र्यानिक कृषि उत्पादनमा काम गरिरहेको छ । कम्पनीले सन् २०१५ मा वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्डसमेत पाएको थियो ।