राष्ट्रसंघमा पाइला
भियतनाम युद्धप्रतिको चासो र त्यसपछि युद्धविरामका लागि भएको पेरिस सम्झौताले संयुक्त राष्ट्रसंघप्रति आकर्षित उनी सन् १९७३ मा संयुक्त राष्ट्रसंघमा प्रवेश गरे ।

कुलचन्द्र गौतम
उच्च शिक्षाका लागि अमेरिका जान खोज्दा कुलचन्द्र गौतमको भिसा लागेन । उनी एक वर्ष काठमाडौँमै रोकिएर त्रिचन्द्र कलेज भर्ना भए । त्यसबेला उनी पढाइ खर्च जुटाउन अनुवादको काम गर्थे । उनै गौतम संयुक्त राष्ट्रसंघको उच्च तहसम्म पुग्ने पहिलो नेपाली बने । र, विश्वका १ सयभन्दा धेरै देश भ्रमण गरेर नेपाली परिचयलाई संसारभर फैलाए । ६ मंसिर, ००६ गुल्मीमा बुबा ओमप्रसाद र आमा हिमाका जेठा सन्तानका रूपमा जन्मिएका थिए, गौतम । उनी ७/८ कक्षा पढ्दा दुई अमेरिकी स्वयंसेवी केन मार्टिन र बिल क्लेटन गाउँमा आएका थिए । गाउँकै स्कुलमा पढाउने तिनै अमेरिकीको संगतबाट गौतमले अंग्रेजी लेख्न र पढ्न सिके । उनले काठमाडौँको जुद्धोदय पब्लिक हाइस्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।
सन् १९६८ सेप्टेम्बरमा अमेरिकाको न्यु ह्याम्सर राज्यको डार्मोथ कलेजमा भर्ना भएका थिए । त्यहाँ पुग्ने पनि उनी पहिलो नेपाली विद्यार्थी थिए । डार्मोथ कलेज र प्रिन्स्टन विश्वविद्यालयबाट उनले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक विकास र आधुनिकीकरण विषयमा उच्च शिक्षा हासिल गरेका छन् ।
भियतनाम युद्धप्रतिको चासो र त्यसपछि युद्धविरामका लागि भएको पेरिस सम्झौताले संयुक्त राष्ट्रसंघप्रति आकर्षित उनी सन् १९७३ मा संयुक्त राष्ट्रसंघमा प्रवेश गरे । उनलाई राष्ट्रसंघीय बालकोष (युनिसेफ) मा खटाइयो । उनले भियतनाम, कम्बोडिया, हैटी, ल्याटिन अमेरिका तथा क्यारिबियन देश लाओस र भारतमा पुगेर काम गरे । उनी सामाजिक र आर्थिक विकास, मानव अधिकार र बालकल्याण सम्बन्धी विशेषज्ञ मानिन्छन् । बालकोषका कार्यकारी निर्देशक र राष्ट्रसंघका सहायक महासचिव भएपछि उनी सन् २००७ डिसेम्बरमा सेवानिवृत्त भए ।
संयुक्त राष्ट्रसंघमा तीन दशकभन्दा लामो सेवा गरेका गौतमले राष्ट्रसंघका महासभा, सुरक्षा परिषद्, आर्थिक र सामाजिक परिषद्, युनिसेफको कार्यकारी बोर्डजस्ता सर्वोच्च निकायमा रहेर काम गरे । युनिसेफले सहयोग गर्ने १ सय ५० भन्दा बढी विकासोन्मुख देशका कार्यक्रमको रेखदेख, नीति निर्धारण, मूल्यांकन र निरीक्षणको भूमिकासमेत निर्वाह गरे । संयुक्त राष्ट्रसंघको तर्फबाट विभिन्न देशको स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरमा विकासको नीति निर्माण र कार्यान्वयनमा समेत उनी अनुभवी मानिन्छन् । यस क्रममा उनले सयभन्दा बढी देश भ्रमण गरेका छन् । र, ती देशका उच्च नेतृत्वसँग अन्तक्र्रिया गरेका छन् ।
युनिसेफमा रहँदा क्याम्बोडिया, इन्डोनेसिया, लाओस, हाइटी, भारत, थाइल्यान्डजस्ता देशमा अधिकृतदेखि कार्यालय प्रमुख, निर्देशक र संस्थाका देशव्यापी प्रतिनिधिको कार्यभार पनि दक्षताका साथ सम्हालेको अनुभव उनीसँग छ ।
अन्तर्राष्ट्रिय स्तरमा गौतम जापानस्थित बाल कल्याणका लागि विश्व अन्तरधार्मिक प्रार्थना र सेवा दिवसका अध्यक्ष, अमेरिकास्थित अड्रे हेपबर्न बाल प्रतिष्ठानका अध्यक्ष, रगमार्क–गुडवीभका सदस्य र विश्व बैंकद्वारा आयोजित दक्षिण एसियाली खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका सल्लाहकार भइसकेका छन् । उनी ल्याटिन अमेरिका तथा क्यरिबियन क्षेत्रका प्रमुख, एसिया र प्रशान्त क्षेत्रका निर्देशक तथा युनिसेफ मुख्यालयमा योजना, समन्वय र कार्यक्रम विभागका निर्देशकसमेत भए । गौतमले सन् २००२ मा संयुक्त राष्ट्रसंघ महासभाको बालबालिका सम्बन्धी उच्चस्तरीय सम्मेलनको नेतृत्व गरे । सम्मेलनमा ७० भन्दा बढी राष्ट्रप्रमुख, सयौँ बालअधिकार विशेषज्ञ, नागरिक समाजका नेता, विश्वप्रख्यात कलाकार र नोबेल पुरस्कार पाउने प्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो ।
सेवानिवृत्त भएपछि उनी नेपाल फर्किएर नेपालको शान्ति प्रक्रिया, लोकतन्त्रको सुदृढीकरण र आर्थिक–सामाजिक विकासका लागि सहयोगी भूमिका निर्वाह गरे । संयुक्त राष्ट्रसंघको सबभन्दा उच्च पदमा पुग्ने नेपालीको नाताले उनले द्वन्द्वकालमा नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न संयुक्त राष्ट्रसंघमा सहज पहुँच बनाएका थिए । सन् २०१०/११ मा उनी नेपाल सरकारका अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रिया सम्बन्धी विशेष सल्लाहकार बने । अनि, संयुक्त राष्ट्रसंघको महासभाका लागि नेपालका उम्मेदवारसमेत भए । गौतम ‘हिंसा अन्त्य अभियान’ का अगुवासमेत मानिन्छन् ।
अहिले पनि उनी विभिन्न सामाजिक संस्थामा संलग्न छन् । उनले स्थानीय स्तरमा गाउँ, जिल्ला र आफूले पढेका विद्यालयलाई सक्दो सहयोग पनि गर्दै आएका छन् । गौतमले विश्व चर्चित पुरस्कार पनि प्राप्त गरेका छन् । धर्मपत्नी विनता, छोरी ज्योत्स्ना कलाकार र छोरा विप्लव गौतम खेलकुद विशेषज्ञ छन् ।