मिसन मधेस
ओलीको बोलीले बिच्किएको मधेस फकाउन प्रदेशसभामा रणनीतिक सम्बोधन
जनकपुर–मधेस आफूसँग रुष्ट रहेको भेउ प्रधानमन्त्री केपी ओलीले नपाउने कुरै भएन । त्यसैले २ भदौको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मधेससँग टुटेको सम्बन्ध गाँस्न पूरापूर प्रयास गरे । १ घन्टा ३८ मिनेटको त्यो मन्तव्य सुन्दा लाग्थ्यो, उनी एक–एक शब्द सोचीसम्झी बोलिरहेका छन् । ओलीले भने, ‘त्यसैले दुइटा चुनाव हुँदा पनि मधेस आइनँ । बलजफ्ती आउन मिल्थ्यो । तर, पर्खिनु नै राम्रो ठानेँ ।’
२८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न जनकपुर आएका बेला पनि प्रधानमन्त्री ओलीले कुर्ता, सुरुवाल र गम्छा लगाएर मधेसको मन जित्न खोजेका थिए । पार्टी एकीकरणपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जनकपुर उत्रिएका ओलीले मधेसको मुद्दामा सम्भवत: पहिलो पटक खुलेर बोले । “५० वर्ष राजनीति गरेको मान्छे हुँ, लहैलहै वा बहकाउमा म कुनै कुरा गर्दिनँ,” ओलीले आफ्ना बोलीले क्रुद्ध बनेका मधेसी समुदालाई फकाउन खोजे, “संविधान संशोधन हुन्न, हेरफेर हुन्न भनेर यति धेरै उमेरसम्म राजनीति गरेको मान्छेले कसरी भन्छ ?”
मधेसवादी दलका दुई ठूला मुद्दा संविधान संशोधन र नागरिकताबारे ओली यतिविघ्न खुलेर बोल्नुका पछाडि जसरी भए पनि मधेसको मन जित्नु नै रहेको विश्लेषक विजय मिश्रको टिप्पणी छ । “ओलीले जुन बोलीले मधेसलाई चिढ्याएका थिए, त्यही मुखले फकाउने कोसिस गरे,” मिश्र भन्छन्, “जहाँ उनको प्रवेशमै रोक लगाइएको थियो, त्यहीँ पुगेर मधेसको असन्तुष्टि चिर्ने प्रयास गरे ।”
प्रधानमन्त्री ओलीको प्रदेशसभा सम्बोधनलाई लिएर प्रदेश २ मा सत्ता साझेदार राजपाभित्र असन्तुष्टि चुलिएको थियो । प्रदेश सरकारमा मन्त्री बनेका राजपा नेता ओली सम्बोधनको पक्षमा भए पनि धेरैजसो सांसद विपक्षमा उभिए । राजपा प्रदेश सांसद उपेन्द्र महतोले फेसबुकमा खुल्लापत्र नै लेखेर ओलीको विरोध गर्ने चेतावनी दिए ।
जनकपुर उड्नुअगाडि नै ओलीले महतोको खुल्लापत्र पढिसकेका थिए । सभामुख सरोजकुमार यादवको कार्यकक्षमा ओलीले महतोसित तीन पटक वार्ता गरे । महतोलाई फकाउनैका लागि ओलीले आफ्नो सम्बोधनको समय १ घन्टा ढिलो गरेका थिए । तर, उनी फकिएनन् । सभामुख यादवले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्ने समय दिँदा राजपाका तीन सांसद असहमति राख्दै बाहिरिए ।
“संविधान र कानुन हेरफेर, परिमार्जन र संशोधन गर्नुपरे गर्छौं,” प्रधानमन्त्री ओलीले भने, “हामीले संविधान बनाएका हौँ, कुनै धर्मशास्त्र होइन, जो हेरफेरै हुन्न सक्दैन ।”
नागरिकताको मुद्दामा तराई–मधेस अलि भावुक रहेको ओलीको बुझाइ छ । “टर्चको ब्याट्री सकिएपछि फेरिन्छ, संविधान पनि आवश्यकता अनुसार फेरिँदै जाने हो”, प्रधानमन्त्री ओलीले संविधान संशोधनै हुन्न भनेर आफूविरुद्ध फिजाइएको आरोपको पनि खण्डन गरे ।
कागजमा लेखिएको बुँदागत टिपोट हेर्दै सम्बोधन गरेका प्रधानमन्त्री ओलीले आफूसँग मधेस रुष्ट रहेको प्रसंग पनि झिके । तत्कालीन एमालेले आयोजना गरेको मेची–काली यात्राका क्रममा सप्तरीको मलेठमा भएको घटना आफूलाई मधेससँग अलग्याउने तत्त्वले गर्न लगाएको संकेत गरे । “मधेससँग आफ्ना केही कुरा राखेर राजमार्ग पुगिसकेपछि गोली काण्ड रचियो,” उनले भने, “कसले र किन गोली चलायो ? त्यो गोलीकाण्डको रचना कसले गर्यो ?” प्रधानमन्त्री ओलीले मधेसमा अन्य जिल्लामा पनि स्थिति बिगार्नेहरू सक्रिय भएपछि त्यतिबेला मेची–काली यात्रा रोकेको दाबीसमेत गरे । तर, राष्ट्रिय मानव अधिकार आयोगले भने ओली सम्बोधन चल्दाचल्दै मलेठमा गोली चलेको प्रतिवेदन यसअगाडि नै दिइसकेको छ ।
ओलीले आफूसित विरोध जनाइरहेको प्रदेश २ मै आफ्नो कार्यकालमा सबैभन्दा बढी विकास हुने दाबी गरे । “मसँग जम्मा १० वटा ६ महिना छन्, जसमा एउटा ६ महिना बित्यो,” प्रधानमन्त्री ओलीले भने, “बाँकी ९ वटा ६ महिनामा प्रदेश २ मा सबैभन्दा बढी विकास र परिवर्तनको काम गर्नेछु ।”
मधेसवादी दलको दोस्रो एजेन्डा नागरिकता समस्या पनि प्रधानमन्त्री ओलीले सम्बोधनमा छुटाएनन् । उनले हरेक नागरिक नेपाली रहेको र सबैलाई नागरिकताको प्रमाणपत्र पाउने अधिकार रहेको बताए । सरकारले संसद्मा प्रस्ताव दर्ता गराइसकेकाले भदौभित्रै नागरिकताको समस्या हल हुने उनले आश्वासन दिए । पत्रकार चन्द्रकिशोर प्रदेशसभामा ओलीले नेकपा हितको रणनीतिलाई पुट दिने गरी सम्बोधन गरेको विश्लेषण गर्छन् । भन्छन्, “अर्को चुनावलाई लक्षित गर्दै ओलीले मधेसमा आफ्नो दलको अवस्था सुधार्न हरसम्भव प्रयास गरेकै हुन् ।”
फागुन ०७३ यता ओली भित्री मधेस छिर्न सकेका थिएनन् । त्यसैले मोदीको स्वागतार्थ जनकपुर आउँदा पनि जानकी मन्दिरमा रामायण सर्किटको उद्घाटन गरेर सीधै काठमाडौँ फर्किएका थिए । मधेस आन्दोलनकै क्रममा १४ असोज ०७२ मा हुलाकी राजमार्गभरि बाँधिएको मानवसाङ्लोलाई ओलीले ‘माखेसाङ्लो’ भनी कटाक्ष गरे । आन्दोलनकै दौरान रंगेली र मलेठमा एमालेले कार्यक्रम गर्दा ८ जनाको ज्यान गएको थियो । त्यसपछि एमाले र खासगरी ओलीसित मधेस झन् बिच्कियो ।
मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट आन्दोलनकारी मारिँदा ‘बोटबाट २–३ वटा आँप झर्दैमा केही हुन्न’ भन्ने ओलीको भनाइले मधेसको आगोमा घिउ थप्ने काम गर्यो । “मधेसमा चकलेट बाँडेझैँ नागरिकता बाँडिएको छ”, उनको यो भनाइपछि प्रदर्शनकारी थप कठोर बने ।
विश्लेषक मिश्रका अनुसार ओलीको बोलीले बिच्किएको मधेसलाई प्रदेशसभाको सम्बोधनले थुमथुम्याउन खोजेको छ । “नेताको स्वभाव नै हुन्छ, जनताले के चाहन्छ, त्यही बोल्ने,” मिश्र भन्छन्, “भाषण मीठो गरे पनि आन्दोलनबाट दबाब नपरेसम्म माग पूरा गरिहाल्ने नेताको बानी हुन्न । ओलीजीले पनि मीठो भाषण मात्र गर्नुभएको हो ।”
पार्टी एकीकरणपछि नेकपा प्रदेश २ मा सबैभन्दा ठूलो दल बन्न पुगेको छ । प्रदेशसभामा एमालेले २१ र माओवादीले ११ सिट जितेका थिए । दुवै पार्टी एक भएपछि प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । यो प्रदेशमा संघीय फोरमको २९ र राजपाका २५ सिटसहितको गठबन्धन सरकार छ । स्थानीय तहको चुनावमा पनि प्रदेश २ का १ सय ३६ तहमध्ये एमालेले १८ र माओवादीले २१ सिट जितेका थिए । अब त्यो संख्या ३९ वटा पुगेको छ । प्रधानमन्त्री ओलीले ‘आफ्नो ९ वटा ६ महिनामा बढी विकास मधेसमै गर्ने’ अभिव्यक्तिलाई विश्लेषक चन्द्रकिशोर मधेसमा अर्को चुनावको तयारी नेकपाले अहिलेदेखि नै थालेको बताउँछन् । “ओली प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदमा आसीन छन् । उनले प्रदेशसभाको बैठकलाई पार्टी हित हुने रणनीति अनुसार पनि सम्बोधन गरेका हुन्”, चन्द्रकिशोरको विश्लेषण छ ।
अर्को चुनावमा मधेसमा बहुमत सिट जित्न नेकपाले ‘समृद्धिका लागि बहस’ भन्दै जनकपुर र रौतहटमा असारयता दुई बृहत् कार्यक्रम सकेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसमा ‘समृद्धि बहस’ को बागडोर सम्हालेका छन् । नेकपाले मधेसमा दलितलाई केन्द्रित गरेर छुट्टै कार्यक्रम थालेको छ । भाषा समस्यामा पनि नेकपाले प्रदेश २ मा बहस चर्काउन खोजेको छ । “मधेसमा अर्को चुनावलाई लक्ष्य गरेर नेकपाले अभियान थालेको छ”, विश्लेषक मिश्र भन्छन्, “मधेसी जनतालाई रिझाउन नेकपाले आफ्नो शक्ति यतै खर्चिने देखिन्छ ।”
तेस्रो मधेस आन्दोलनमा चर्को आवाज उठाएका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष हिरा साह र जनकपुरको राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरलाई भदौ पहिलो साता नेकपाले भित्र्याएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो समय मैथिली र भोजपुरी भाषामा पनि ट्वीट गर्न थालेका छन् ।
प्रदेशसभाको सम्बोधनपछि ओली पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई लिएर धनुषाको बरमझिया पुगे । रामवृक्ष यादवको स्मृतिसभामा दुवै अध्यक्षले मधेसको समृद्धिका लागि सरकार सहयोगी रहेको घोषणा गरे । कुरैकुरामा ओली सरकारका मन्त्री रघुवीर महासेठले फुत्काइहाले, “सरकारले मधेसमा विकासको लहर ल्याउनेछ । र, अर्को चुनावमा यो प्रदेशमा पनि नेकपाले सरकार बनाउनेछ ।”
मधेसलाई विकासले फकाउने
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...