स्कुले हजुरआमाहरू
आर्थिक झमेलामा गृहिणीको पाठशाला
दाङ– बिहान ११ बज्न लाग्दा विद्यालय जाने हतारो हुन्छ, घोराही–१८ रझेनाकी भावना अधिकारी, ७३, लाई । कापी, किताब, झोला, टिफिनको तयारी गर्नैपर्यो । तर, यो तयारी नातिनातिनाका लागि होइन, आफ्नै लागि हो ।
१३ वर्षमै विवाह बन्धनमा बाँधिएकी अधिकारीको ५ छोराछोरीलाई हुर्काइ–पढाइसकेपछि बल्ल स्कुले पालो आएको छ । उनी अहिले ६ कक्षा पढ्छिन् । बिहानै उठेर चण्डी पाठ गर्छिन्, मोबाइल चलाउँछिन्, कविता लेख्छिन् ।
सानैदेखि उनलाई धार्मिक ग्रन्थका कथा सुन्न मन लाग्थ्यो । तर, पढ्न नसक्ने भएकाले रहर मारेरै बस्नुपरेको थियो । मनमनै कविता रचना गरेकी थिइन् । तर, लेख्न सकेकी थिइनन् । भन्छिन्, “लेख्न नसिकेको भए मेरा कविता यत्तिकै खेर जान्थे । अब पुस्तक नै बनाएर छाप्ने हो ।”
रझेनाकै बसुन्धरा गौतम, ६०, पनि वैशाखदेखि विद्यालय जान थालेकी छन् । “आजसम्म आफ्नो नाम लेख्न सकिएको थिएन । बल्ल आफैँ लेख्न पाइयो,” उनले भनिन्, “मोबाइल नम्बर हेर्न, फोन गर्न, रुपैयाँ चिन्न सजिलो भएको छ ।”
भावना र बसुन्धराजस्ता घोराहीका ७८ गृहिणी अहिले नियमित विद्यालय जान्छन् । बाल्यकालमा पढ्न नपाएका गृहिणीलाई दृष्टिगत गरी ०६६ मा स्थापना भएको चेतना अनौपचारिक प्रौढ विद्यालय उनीहरूको दिनभर सिक्ने थलो भएको छ । बिहान खाना पकाउने, लुगा धुने र बालबालिका विद्यालय पठाउने काम सकेर ११ बजे विद्यालय सुरु हुन्छ भने अपराह्न बालबालिका विद्यालयबाट फर्कने समय पारेर ३ बजे बन्द हुन्छ । यो अवधिमा विभिन्न उमेर समूहका आमा र हजुरआमाहरू अक्षर सिक्छन् ।
घोराही–१३ बडहराकी केशरा पोख्रेल, ५५, कक्षा ४ मा पढ्छिन् । पढाइले उनको जीवन धेरै सहज भएको छ । “बसमा यात्रा गर्दा गाडी नम्बर हेर्न सकिँदैनथ्यो । टिकट काट्दा पनि समस्या हुन्थ्यो,” उनी भन्छिन्, “अहिले गाउँघरमा समूहका बैठक बस्दा माइन्युट लेख्न सक्छु ।”
बुटवलकी चेतकुमारी कोइराला, ५७, लाई उपचारार्थ अस्पताल जाँदा साह्रै समस्या हुन्थ्यो । कर्मचारीले यति नम्बर कोठा जाऊ, फलानो डाक्टरलाई भेट, फलानो विभागमा जाऊ भन्थे । पढ्न नजान्ने मान्छेले कसरी भेटाउनु ? भन्छिन्, “पढ्ने कुरा जागिर खानलाई मात्रै रहेनछ । व्यक्तिगत जीवनमा पनि धेरै काम लाग्ने रहेछ ।” अहिले उनी २ कक्षा पढिरहेकी छन् ।
पाका महिलालाई पढाउँदा शिक्षिकाहरू पनि रमाइलो अनुभव गरिरहेका छन् । “बालबालिकालाई पढपढ भन्नुपर्छ । तर, यहाँ केही भन्नुपर्दैन,” प्रधानाध्यापक सुमित्रा सुवेदी भन्छिन्, “एकछिन कक्षामा जान ढिला भयो कि बोलाउन आइहाल्छन् । तर, उमेर धेरै भएकाले एउटै कुरा दोहोर्याएर सिकाइरहनुपर्छ ।”
विद्यालयमा सात शिक्षिकाले स्वयंसेवा गरिरहेका छन् । सरकारले दुई सहयोगीलाई खर्च बेहोरे पनि बाँकी विद्यालय आफैँले जुटाइरहेको छ । भाडा तिर्न कठिन भएपछि अहिले रझेना टोल विकास संस्थाको संरक्षणमा रहेको घोराही उपमहानगरपालिकाको ३ कट्ठा जग्गामा भोगाधिकार लिएर स्कुल सञ्चालन भइरहेको छ । विद्यार्थी र सहयोगी गुहारेर बल्ल भवन बनाए पनि फर्निचर, कम्पाउन्डलगायत अन्य संरचनामा ध्यान दिन नसकिएको सुवेदीको गुनासो छ ।
यही स्कुलमा पढेका सात जनाले एसईई उत्तीर्ण गरिसकेका छन् । यहाँ अहिले ६ कक्षासम्म मात्रै पढाइ हुन्छ । प्रधानाध्यापक सुवेदी भन्छिन्, “प्रौढ विद्यालय नै उपयुक्त हुने भएकाले कक्षा बढाउनुपर्यो भन्नुभएको छ । क्षमताले भ्याए बिस्तारै बढाउँदै जाने सोचमा छौँ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...