संविधानको सुर्केनो
एकातिर सत्ताको स्वाद, अर्कोतिर जनदबाबमा मधेसवादी दल
जनकपुर– मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ असोजमा संविधान दिवसको विरोध गर्न सर्कुलर गर्यो । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर रहेको सर्कुलर पार्टीले गोप्य भनेको छ । सत्तामा बस्ने र संविधानको विरोध पनि गर्ने राजपाको द्वैध चरित्रको मधेसमा चर्को आलोचना भइरहेको छ ।
२५–२६ भदौमा काठमाडौँमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ११ वटा निर्णय गर्यो । निर्णयको अन्तिम बुँदामा भनिएको छ, ‘असोज ३ मा मधेसीविरोधी संविधान जारी गरेकाले त्यो दिन विभिन्न विरोधका कार्यक्रम गरी विरोध दिवस मनाउनू ।’ मधेसको असन्तुष्टि र माग नसमेटिएको भन्दै राजपाले संविधानको पुर्नलेखनसम्मको माग गर्दै पछिल्लो दुई वर्ष असोज ३ लाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएको छ ।
यही संविधान टेकेर तीन तहको निर्वाचनमा सहभागी भएको राजपाले प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर गठबन्धन सरकार बनाएको छ भने संघीय सरकारलाई समर्थन गरेको छ । खासमा ‘कालो दिवस’ लाई ‘विरोध दिवस’ मा बदलेर राजपा धर्मसंकटबाट उम्किन खोजेको देखिन्छ ।
मधेस मामिलाका जानकार विजयप्रसाद मिश्र सत्तामा बस्ने र संविधानको विरोध पनि गर्नु नसुहाएको बताउँछन् । “यही संविधानमा टेकेरै सत्तामा पुगेको हो,” मिश्र भन्छन्, “पूरै संविधानको विरोध गर्नुभन्दा कुन–कुन बुँदामा चित्त बुझेको छैन, त्यो भन्नुपर्छ ।” उनले ०४७ मा जारी गरिएको संविधानको उदाहरण पनि दिए । त्यतिबेला पनि नेपाल सद्भावना पार्टीले संविधानको आलोचनात्मक समर्थन गरेको थियो । नेकपा एमालेले पनि पूर्ण समर्थन गरेको थिएन ।
राजपाले ३ असोजमा विरोध प्रदर्शन र विरोधसभा, त्यही दिन साँझ ७ देखि ७.१५ बजेसम्म ब्ल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार सबै जिल्ला कमिटीलाई दिएको छ । राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहका अनुसार संविधान दिवसका दिन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पर्सामा, राजेन्द्र महतो धनुषामा, राजकिशोर यादव सिरहामा र शरत्सिंह भण्डारी महोत्तरीमा रहनेछन् । ती जिल्लामा आयोजित विरोधसभामा राजपाका शीर्ष नेता सहभागी हुनेछन् ।
“३ असोज मधेसका लागि कालो दिन नै हो,” राजपाका प्रवक्ता सिंह भन्छन्, “संविधानप्रति असन्तुष्टि जनाउँदै सडकमै उत्रिएर विरोध गर्दा पनि हाम्रो माग सुनुवाइ भएन । मधेसीको टाउको र छातीमा गोली हान्दै संविधान जारी गरियो ।”
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत वर्ष ३ असोजमा मधेसमा कालो दिवस मनायो । संघीय समाजवादी फोरमका नेता/कार्यकर्ता कालो दिवसमा सहभागी मात्र भएनन्, चर्का भाषण नै गरे । ३ असोज नजिकिँदा पनि फोरमको मौनता अर्थपूर्ण छ ।
संविधान दिवसको दिन संघीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । हर्षोल्लास गरेर त्यो दिन मनाउन सरकारको उर्दी छ ।
प्रदेश २ मा सरकारको बागडोर सम्हालेको फोरमलाई ३ असोजको दिन कष्टपूर्ण बन्ने देखिन्छ । प्रदेशमा आफ्नै सरकार रहेकाले संविधानकै विरोधमा सडकमा उत्रिनु कि समर्थनमा हर्षोल्लास मनाउनु, यी दुवै मामिलाले फोरम तनावमा छ । सरकार बाहिर रहेका फोरमका नेताहरूले भने संविधान दिवसलाई कुनै न कुनै रूपमा विरोध गर्न पार्टीमा दबाब बढाएका छन् । फोरमका प्रदेश स्तरका एक नेता आफूहरूलाई संविधान दिवसको विरोध गर्न जनस्तरबाट दबाब बढेको बताउँछन् । “तर, पार्टी मौन छ, हामी दोधारमा छौँ,” ती नेता भन्छन् ।
संविधान संशोधनको मुद्दामा सत्ताको स्वाद र जनताको दबाब खेपिरहेका दुवै मधेसवादी दललाई संविधान दिवस कालो बादल मडारिएजस्तै संकट बनेर आइदिएको छ । जसलाई उनीहरू न पन्छ्याउन सक्छन्, न त अंगाल्न नै ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...