संशोधनको च्याँखे
सत्तासीन भएर पनि संविधानको विरोध गर्ने मधेस केन्द्रित दलहरुको दोहोरो चरित्र
जनकपुर– संविधान दिवसको विरोध गर्ने कि समर्थन ? मधेसवादी दल संघीय समाजवादी फोरममा दुई धार देखिएपछि १ असोजमा पार्टीले विज्ञप्ति नै निकाल्नुपर्यो । ‘संविधान संशोधनबाट कमी–कमजोरी सच्याइने र सरकार संविधान संशोधन गर्न सहमत भएकाले कालो दिवस मनाउने र त्यसमा सहभागी हुने कुनै निर्णय नभएको’ भन्दै फोरमका उप–महासचिव प्रकाश अधिकारीले विज्ञप्ति नै निकाले ।
फोरमको प्रदेश २ की इन्चार्ज रेणु यादवले संविधान दिवसलाई कालो दिन भनेर मनाउने अर्को विज्ञप्ति निकालेपछि त्यसलाई थामथुम पार्न पार्टी अध्यक्ष एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव आफैँ मधेस झर्नुपर्यो । विराटनगर विमानस्थलमा यादवलाई सञ्चारकर्मीले पहिलो प्रश्न पनि यही तेर्साए, “संविधान दिवस मनाउने कि विरोध गर्ने ?”
यादवले स्पष्टीकरण दिने प्रयास गरे, “संविधान निर्माणको समयमा गुनासा र फरक मत यथावतै रहे पनि अब संवैधानिक प्रक्रियाबाट समाधान हुनेछ । संविधान दिवसमा विरोध गर्दैनौँ ।” यादवलाई प्रेससँग बोलेर मात्र पुगेन, सप्तरी पुगेर रेणु यादवकै उपस्थितिमा ‘फोरमले न संविधान दिवस मनाउँछ, न त विरोध गर्छ’ भन्नुपर्यो ।
प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ असोजलाई विरोध दिवस मनाउने निर्णय गरेपछि फोरमलाई दबाब परेको थियो । तर, सत्तामा पनि रहने र संविधानको विरोध पनि गर्ने दोधारे चरित्रबाट बच्न फोरमले संविधान दिवसमा तटस्थ रहने रणनीति तय गर्यो । संघीय (केन्द्रीय) सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार हाँकिरहेको राजपाले भने प्रदेशका मन्त्री र शीर्ष नेतालाई मधेसमै खटायो, संविधानको विरोध गर्न ।
मधेसको असन्तुष्टि र माग नसमेटिएको भन्दै राजपाले संविधानको पुनर्लेखनसम्मको माग गर्दै पछिल्लो दुई वर्ष ३ असोजलाई ‘कालो दिवस’ कै रूपमा मनायो । सत्तामा रहेकाले कालो दिवसलाई विरोध दिवसको आकार दियो । अहिलेको संविधानलाई टेकेर तीन तहको निर्वाचनमा सहभागी राजपालाई पनि संविधानको विरोध गर्नु फलामको चिउराजस्तै बनेको छ ।
मधेस मामिलाका जानकार विजयप्रसाद मिश्र सत्तामा पनि बस्ने र संविधानको पनि विरोध गर्न नसुहाउने बताउँछन् । भन्छन्, “राजपा संविधानमा टेकेरै सत्तामा पुगेको हो,” मिश्र थप्छन्, “पूरै संविधानको विरोध गर्नुभन्दा कुन–कुन बुँदामा चित्त बुझेको छैन, त्यो भन्नुपर्छ ।” उनले ०४७ मा जारी गरिएको संविधानको उदाहरण पनि दिए । त्यतिबेला पनि नेपाल सद्भावना पार्टीले संविधानको आलोचनात्मक समर्थन गरेको थियो । नेकपा एमालेले पनि पूर्ण समर्थ गरेको थिएन । मिश्र भन्छन्, “संविधान आफैँमा परिवर्तनशील हुन्छ । कालो दिवस मनाउनुभन्दा यो–यो धारामा संशोधन गर्नुपर्छ भनेर अडान राख्नुपर्छ ।”
राजपाले ३ असोजमा विरोध प्रदर्शन र विरोधसभा, त्यही साँझ ब्ल्याकआउट र विरोधका अन्य कार्यक्रम गर्यो । राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंह भन्छन्, “३ असोज मधेसका लागि कालो दिन नै हो । संविधानप्रति असन्तुष्टि जनाउँदै सडकमै उत्रिएर विरोध गर्दा पनि हाम्रो सुनुवाइ भएन । मधेसीको टाउको र छातीमा गोली हान्दै संविधान जारी गरियो । त्यसैले त्यो दिन हाम्रो लागि कालो दिन नै हो ।”
असहमतिको स्वर
१८ जेठमा संविधान संशोधनसँग सम्बन्धित बुँदामा हस्ताक्षर गर्दै फोरम संघीय सरकारका साझेदार बन्यो । मुख्य एजेन्डा संविधान संशोधनको प्रक्रिया लम्बिँदा मधेसमा असन्तुष्टि र आक्रोश दुवै छ । संशोधनका लागि दुई तिहाइ पुगोस् भनेर दुवै मधेसवादी दल फोरम र राजपा केन्द्रीय सरकारलाई समर्थन गरेको दाबी गर्छन् । तर, मधेसमा संविधान संशोधनको मुद्दालाई अलगाववादी सीके राउतले पनि मलजल गरिरहेका छन् ।
विश्लेषक मिश्रले भनेझैँ संविधानमा कुन–कुन बुँदामा असहमति छ ? राजपाका प्रवक्ता सिंहले प्रस्ट्याए । पहिलो, नागरिकता समस्यामा संविधान प्रस्ट बोलेको छैन । दोस्रो, प्रदेशको सीमांकन चित्तबुझ्दो छैन । तेस्रो, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिएन । चौथो, देशको हरेक अंगमा समानुपातिक–समावेशी प्रतिनिधित्व अझै भएन । पाँचौँ, नेपाली सेनामा मधेसीको समूहगत प्रवेश छैन । राजपा प्रवक्ता सिंह यही कारण संविधानलाई मधेसले नस्वीकारेको दाबी गर्छन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउनुलाई मधेसमा ठूलो मुद्दा बनाइएको छ । २ भदौमा प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिकताको विषयमा मधेस अलि बढी सेन्टिमेन्टल’ बनेको बताउँदै हरेक नेपाली नागरिकले नागरिकता पाउने बताएका थिए । संविधानलाई धर्मशास्त्र नबनाइएको भन्दै संशोधनका लागि तयार रहेको उनको भनाइ थियो । संघीय सरकारले नागरिकताको जटिलताको गाँठो फुकाइसकेको छ । यद्यपि, मधेसमा असन्तुष्टि कायमै छ ।
मधेसको असन्तुष्टि मधेसकै प्रदेशसभामा आएर थामथुम पार्ने प्रयास गरेका थिए, प्रधानमन्त्री ओलीले । मधेससँग मिलेर आफू विकासपथमा अगाडि बढ्न तयार रहेको संकेत पनि गरेका थिए । मधेसको राजनीतिक मुद्दाभन्दा विकासलाई प्राथमिकतामा राखेका ओलीले मधेसी फकाउन विकास निर्माणमै जोड दिए । ०७२ मा संविधान जारी गर्ने बेलामा आन्दोलन चलिरहेका बेला ओलीलाई मधेस प्रवेशमै रोक लगाएका फोरम र राजपाको प्रदेश सरकारले नै उनलाई आमन्त्रित गरेको थियो ।
एजेन्डाविहीन राजनीति
२८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरिएको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपालको संविधान विभेदकारी रहेको बताउँदा राजनीतिक वृत्तमा तरंग छायो । विदेशी राष्ट्रप्रमुखअगाडि घरको समस्या राखेको भन्दै मुख्यमन्त्री राउतको आलोचना पनि भयो ।
हिन्दी भाषामा लिखित भाषण पढेका मुख्यमन्त्री राउतले संविधान संशोधनप्रति सरकार अझै गम्भीर नरहेको र मधेसको समस्या नसुल्झिएको सन्देश भारतका प्रधानमन्त्री मोदीको कानसम्म पुर्याउन खोजे । संविधान जारी हुने बेलामा भारतको नाकाबन्दीसम्मको सहयोग पाएका मधेसवादी दल मोदीको सीधै जनकपुर भ्रमणले आफ्नो मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने दाउमा थिए । तर, मोदीले आफ्नो मन्तव्यमा राजनीतिलाई घुसाएनन् ।
बरु त्यसको २० दिनपछि १८ जेठमा मुख्यमन्त्री राउतकै दल फोरम संघीय सरकारको अंग बन्यो । पार्टी अध्यक्ष उपेन्द्र यादव उप–प्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बने । सरकारमा सहभागी हुने सर्त उही राखियो, संविधान संशोधन ।
मधेसवादी दलसँग संविधान संशोधन बाहेकका राजनीतिक एजेन्डा छैनन् । यही एजेन्डामा उनीहरू आफ्नो सत्ता र मतदाता दुवैतिर नजर लगाएका छन् । प्रदेश २ मा आफ्नै सरकार रहे पनि मधेसवादी नेताहरूले हरेकजसो भाषणमा विभेद कायमै रहेको बताउँछन् । ०६४ को अन्त्यतिर सुरु भएको मधेस आन्दोलनले राजनीतिक उपलब्धि दिए पनि मधेसको विकास सूचकांक कर्णालीभन्दा पछाडि छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...