जहाँतहीँ दुर्व्यवहार
स्कुल–कलेज, अस्पताल, हवाईजहाज आदि सबैतिर यौन हिंसाका दृष्टान्त
‘केटाहरू हुन्, अलिअलि रमाइलो त गरिहाल्छन् नि । तिमीहरू मतलबै नगरिदेऊ न,’ एक सहपाठीले दुव्र्यवहार गरेपछि कलेज प्रशासनमा उजुरी गर्दा यस्तो प्रतिक्रिया पाइन्, प्रतीज्ञा जोशी, २०, ले । कलेज प्रशासनको यस्तै असहयोगी रबैयाका कारण जोशीका कति साथी कलेज आउन डराउँछन् भने कतिलाई परिस्थितिले बलियो बनाउँदै लगेको छ । त्यसैले उनीलगायतका केही साथी अचेल सहँदैनन्, उल्टै धावा बोल्छन् । हात हालाहालको अवस्थामा समेत पुगेका छन् ।
नेपालका सबैजसो इन्जिनियरिङ कलेजमा पुरुषभन्दा महिला विद्यार्थीको संख्या निकै कम छ । दुव्र्यवहारका घटना आइहाले लोकलाजका लागि भए पनि कलेजले त्यस्ता घटना सकेसम्म दबाउने गरेको उनको अनुभव छ । “दुव्र्यवहार गर्नेलाई थर्काए कलेज प्रशासन उल्टै हामीलाई गाली गर्छ, उनीहरूलाई केही भन्दैन,” उनी आक्रोश पोख्छिन् ।
प्रतीज्ञा बास्केटबल खेल्न रुचाउँछिन् । कलेजमा थोरै मात्र महिला विद्यार्थी भएकाले उनलाई सुरुमा टोली पुर्याउनै हम्मेहम्मे भयो । तर, त्यसले उनलाई बास्केटबल खेल्नबाट रोकेन । उनी केटाहरूसँग खेल्न थालिन् । खेल्ने क्रममा अनावश्यक हिसाबले छुने हुन्थे । हातमा अलिकति छोइए उनी प्रतिक्रिया व्यक्त गर्दैनथिन् । तर, हात अस्वाभाविक रूपमा अन्यत्र लैजान थाले उनलाई असह्य हुन्थ्यो । धकेलेर लडाइदिन्थिन् । यति हुँदासमेत त्यस्ता विद्यार्थीमाथि कारबाही गर्नुको सट्टा कलेज प्रशासन टुलुटुलु हेरेर बसेको गुनासो उनको छ । यस्ता सबै घटना आँखाअगाडि दबाइन्छन् र पीडकलाई थप हौसला मिल्दै जान्छ ।
जोशी अध्ययनरत सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजका प्रधानाध्यापक यी सम्पूर्ण कुरा बेतुक भएको बताउँछन् । “अहिलेसम्म एउटा पनि त्यस्तो उजुरी आएको छैन । नभए कारबाही गर्न हामी किन पछि पथ्र्यौं ?” कलेजमा सौहार्दपूर्ण वातावरण कायम राख्न प्रशासनले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । यसमा सही थाप्न भने कोही पनि छात्रा तयार छैनन् । जोशी प्रश्न गर्छिन्, “आखिर यस्तो लाचारी कहिलेसम्म ?” अधिकांश अभिभावकसमेत यस्ता घटनालाई ‘झिनामसिना’ ठान्छन् ।
काठमाडौँको एक विद्यालयमा केही वर्षअघि पढाउने सुनिता विश्वास, २७, को जागिर अनौठो ढंगले खोसियो । “निम्नमाध्यमिक तहमा पढाउँथेँ, विद्यार्थी साह्रै उदण्ड,” उनले विगत सम्झिइन् । केटीहरूले थाहा नपाउने गरी उनीहरूको स्कर्टमा पछाडिपट्टि रातो रङ लगाइदिन्थे । केटीहरू आत्तिन्थे । महिनावारीलाई यस्तो हल्काफुल्का रूपमा लिएको विश्वासलाई चित्त बुझ्दैनथ्यो । त्यस्ता विद्यार्थीलाई यस विषयमा सचेत बनाउन उनी कहिलेकाहीँ सिंगो घन्टी खर्चिन्थिन् । तर, विद्यालय प्रशासनलाई त्यो स्वीकार्य थिएन । ‘गणित पढाउने शिक्षकले जनसंख्या पढाउने शिक्षकको काम गर्न नपाइने’ भन्दै विद्यालयले धेरै पटक उनलाई रोक्यो । त्यसैले यस्ता घटना पछिसम्म पनि आइरहे ।
एक विद्यार्थीले गरेको ननिको कार्यको सम्झनाले उनलाई अहिले पनि बेलाबेला सताउँछ । तिनले जुत्तामा ऐना टाँसेर ल्याएका थिए । बिहानीसभामा आफूभन्दा अगाडि उभिएकी साथी नजिकै जुत्ता पुर्याई ऐनाबाट स्कर्टभित्र नियाल्थे । कक्षा जाने बाटोमा फलामे भर्याङ थियो । त्यहाँ उभिएर माथि गइरहेका केटी साथीहरूको स्कर्टभित्र समेत हेर्थे । केटीहरूलाई यसबारे थाहा थियो । तर, उजुरी गरे उल्टै आफ्नो बेइज्जत हुने डर । एक दिन एक छात्रा प्यान्ट लगाएर आइन्, विद्यालयको नियम मिचेको भन्दै प्रिन्सिपलले उनलाई अर्को दिनदेखि स्कर्टमै आउन भने । “एक छात्रले अति गरेपछि चड्काइदिएँ । अभिभावक आएर उजुरी गरे । प्रिन्सिपलले उल्टै मलाई माफी माग्न लगाए,” विगत सम्झिँदै उनले भनिन् । उनले माफी मागिनन्, राजीनामा दिइन् । अहिले पनि त्यो समयको सम्झनाले उनलाई बेलाबेला झस्काउँछ । भन्छिन्, “हाम्रो लालनपालनको तरिका नै गलत भयो । महिला मान्छे होइन, वस्तु हो भन्ने मान्यता सिकाइयो ।”
अञ्जली अमात्य, ३०, ले विमान परिचारिकाका रूपमा काम गर्न थालेको एक दशक भयो । राम्रा/नराम्रा दुवै खाले यात्रु आउँछन् । ‘यात्रु भगवान् हुन्’ भनी उनीहरूलाई प्रशिक्षणको समयदेखि नै सिकाइन्छ । तर, कतिपय खराब नियतका यात्रुलाई झेल्नुपर्दा भने उनी दिक्क हुन्छिन् ।
काठमाडौँदेखि पोखरा गइरहने एक यात्रुलाई अञ्जली कहिल्यै बिर्सिन्नन् । आइरहन्थे, देखभेट भइरहन्थ्यो । सबै विमान परिचारिकाले हाँसेरै कुरा गर्नुपर्ने हुन्छ । त्यसैले ती व्यक्तिले अञ्जली आफूतर्फ आकर्षित भएको भ्रम पाल्न थालेछन् । एक उडानमा ती यात्रुले अमात्यबारे जान्न चाहे । विमान परिचारिका नियमावलीले यात्रुसँग व्यक्तिगत रूपमा निकट नहुन भन्छ । उनले आफ्नो नामबाहेक केही भनिनन् । पोखरा एयरपोर्टमा पुगेर कसोकसो उनले अमात्यको फोन नम्बर पनि पत्ता लगाए । बारम्बार फोन गरेर दु:ख दिने क्रम जारी रह्यो ।
त्यसपछिको उडानका क्रममा ती यात्रुले अञ्जलीका लागि नोट छाडे । नोटमा डिनर डेटका लागि प्रस्ताव गरिएको थियो । आफू बसेको होटलको ठेगाना पनि उनले त्यसमा लेखेका रहेछन् । अति भएर अञ्जलीले उजुरी गरिन् । प्रशासनले आफ्नै पक्षमा निर्णय लिएकाले अहिले पनि उनलाई त्यस्ता बेथितिविरुद्ध आवाज उठाउने हिम्मत आउँछ । हिजोआज प्रशासनसम्म कुरा पुर्याउनुअघि उनी आफैँ त्यस्ता यात्रुसँग भिड्छिन् ।
दुव्र्यवहार गर्ने ती एक मात्र यात्रु होइनन् । रातीका उडानमा त्यस्ता यात्रु बढी हुन्छन् । कोही त रक्सी खाएर आउँछन् । सहयोग चाहिएको निहुँमा बोलाउँछन् र जानीजानी हात समात्न खोज्छन् । विमान परिचारिकाको औपचारिक पहिरन स्कर्ट हो । पहिले खुला गला भएको सर्ट हुन्थ्यो, अहिले भने त्यो हटेको छ । पहिले छातीमा आँखा गाडेर कुरा गर्ने धेरै हुन्थे । हिजोआज घुँडा हेरेर टोलाइरहने धेरै हुन्छन् । भन्छिन्, “हिजोआज त्यस्ता यात्रुलाई सुरुमा सम्झाउने र त्यति गर्दा पनि नमाने कारबाही गर्ने गरेका छौँ ।”
बिरामीदेखि डाक्टरसम्मले आफूलाई दुव्र्यवहार गरेको अनुभव साट्छिन्, नर्स सुप्रिया शिवाकोटी, २९ । ‘दुव्र्यवहार’ शब्द सुन्नेबित्तिकै उनले सम्झिने एक डाक्टर छन् । उनले अस्पतालमा जागिर खान थालेको केही दिन मात्र भएको थियो । ती डाक्टरले केही कुरा सिकाउनु छ भनी आफ्नो क्याबिनमा बोलाए । ‘बिरामीलाई कहिलेकाहीँ खाना खुवाइदिनुपर्छ । ल, मलाई खुवाउँदै अभ्यास गर त,’ उनले शिवाकोटीलाई अह्राए । उनीसँग अन्य विकल्प थिएन । मिलेन भन्दै डाक्टरले आफैँ हात समातेर खुवाउन सिकाउन थाले । शिवाकोटीले डाक्टरको मनसाय बुझिसकेकी थिइन् । प्रतिकार गर्ने हिम्मत आएन, बल्लबल्ल पाएको जागिर थियो । उनले आफूलाई निरीह महसुस गरिन् । हरेक ड्युटीमा ती डाक्टर उनलाई नै सहायकका रूपमा बोलाउन थाले । दुव्र्यवहारको क्रम रोकिएन ।
एकपटक राती ड्युटी परेका बेला ती डाक्टरले उनलाई फेरि खुवाउन सिकाउन बोलाए । उनी गइन् । डाक्टरले काखमा बसेर खुवाऊ भने । उनले मानिन् । डाक्टरका हात उनको शरीरमा सल्बलाउन थालिसकेका थिए । खाइसकेपछि डाक्टरले भने, ‘अर्को साता नगरकोट बस्ने गरी जाऔँ । म तिम्रो प्रमोसन गरिदिन्छु ।’ भोलिपल्ट उनले हिम्मत गरेर प्रशासनमा उजुरी गरिन् । “अस्पतालले उल्टै मलाई जागिरबाट निकालिदियो,” विगतको नमीठो अनुभूतिले उनलाई अझै दु:खी बनाउँछ । घरमा वास्तविकता भन्न डर लाग्यो । त्यसैले परिवारले पछिसम्म उनलाई राम्ररी काम नगरेको दोष लगाइरह्यो । “अहिले ती डाक्टर एक शिक्षण अस्पतालको प्रमुख भएका छन्,” उनी सुनाउँछिन् ।
बह पोख्न बोजुबज्यै
भृकुटी राई र ईतिशा गिरी
तीन वर्षअघि योनिका कथा (भजाइना मोनोलग्स) नाटक हेर्न जाँदा हाम्रो भेट भयो । थुप्रै विषयमा दुवै जनाको दृष्टिकोण उस्तै पायौँ । त्यसताका महिला सेलिब्रिटीका फेसबुक तथा इन्स्टाग्राम पोस्टमा अहिलेभन्दा बढी नकारात्मक टिप्पणी आउँथे । हामीलाई असह्य हुन्थ्यो । महिलामाथि हुने हिंसाका कथाहरू सबैलाई सुनाउने उद्देश्यले ‘बोजुबज्यै’ सुरु गरेका हौँ । पहिले रमाइलोका लागि कहिलेकाहीँ पोडकास्ट गथ्र्यौं, श्रोता सीमित थिए । बोजुबज्यैमार्फत समाजका यथार्थ बोकेका पोडकास्ट सुनाउन थाल्यौँ, श्रोता बढ्दै गए । थप जिम्मेवार भएको महसुस गर्दै गयौँ । पहिले हामीलाई साउन्ड क्लाउडमा मात्र सुन्न सकिन्थ्यो । अहिले पकेटकास्ट, नेपाली पोडकास्टजस्ता अन्य प्लेटफर्ममा पनि सुन्न सकिन्छ ।
कोही केटी मन नपर्दा केटाहरूले यत्तिकै प्रयोग गर्ने ‘भालु’ शब्दमाथि केन्द्रित रही हामीले तयार पारेको पोडकास्ट ‘बियर्स एन्ड होर्स’ ले निकै चर्चा कमायो । महिलालाई अनावश्यक प्रश्न सोधी दिक्क बनाउने पत्रकारबारे बनाएको पोडकास्ट पनि धेरैले रुचाए । हामी पूरै गम्भीर प्रस्तुति दिँदैनौँ । बेथितिबारे बोल्दा हास्य संवादमार्फत प्रहार गर्छौं । ट्वीटरका केही गालीगलौजबाहेक हाम्रो प्रस्तुतिमाथि सकारात्मक टिप्पणी आउँछन् । नराम्रा प्रतिक्रियाले हामीलाई छुँदैनन् । हामीले जे देखे–भोगेका छौँ, त्यसबारे बोल्दा डराउनुपर्छ जस्तो लाग्दैन ।
यो पोडकास्ट सञ्चालन गर्न कसैले प्रायोजन गरेको छैन । धेरैलाई त्यो भ्रम रहेछ । सबै आफ्नै खर्चबाट गरेका हौँ । आर्थिक रूपमा हामीलाई एक पैसा पनि फाइदा छैन । कहिलेकाहीँ अरूका कथा सुन्दा नरमाइलो लाग्छ । तर, हामीले उनीहरूका आवाज अगाडि ल्याउने काम गरिरहेका छौँ ।
दिनहुँ भोग्ने कथा
उरुषा पौडेल | विद्यार्थी, ललितपुर
बाटोमा जिस्क्याइने अनुभव कसले नगरेको होला र ! केही वर्षअघि केही उच्छृंखल केटाहरू जिस्क्याउँदा–जिस्क्याउँदै पछि लागेर घरसम्मै आउँथे । कतिले त नजिक आएर छुनसमेत खोज्थे । परिवारसँग हिँड्दा पनि त्यस्तै गर्देलान् कि भन्ने डर हुन्थ्यो । सास फुकीफुकी हिँड्नुपर्ने । सम्भावित दुव्र्यवहारको डर मनबाट कहिल्यै हटेन । केही केटाहरूको त मेरै नाममा झगडा परेको पनि थाहा छ । बाटोमा हिँड्दा सधैँ आफूलाई कमजोर महसुस गर्थें ।
सामाजिक सञ्जाल पनि मलगायत कतिका लागि सुरक्षित छैनन् । इनबक्समा नग्न फोटो आइरहेका हुन्छन् । अश्लील कुरा गर्न खोज्ने पनि थुप्रै छन् । त्यसैले होला, मेरो ब्लक लिस्ट पनि लामै छ । सार्वजनिक यातायातमा सहचालकले सधैँ गुन्द्रुक खाँदेजस्तो यात्रु कोच्छ । केहीले त्यसैको ‘फाइदा’ उठाउँछन् । गाडी यताउता हल्लिँदा ठोकिएजस्तो गर्ने, संवेदनशील अंगमा छुन खोज्ने, प्रतिकार गर्न खोजे उल्टै कराउने त दिनहुँको कथा हो ।
लिफ्टमै दुव्र्यवहार
उस्मा रिबेल | अध्यापक, अस्ट्रेलिया
म अस्ट्रेलियाको एक अस्पतालमा नर्सिङ पढाउँछु । कसैले केही नराम्रो गर्न खोज्यो कि आवाज उठाइहाल्ने बानी छ । पहिलेदेखि नै कडा स्वभावकी भएकाले होला, मसँग अपाच्य पाराले बोल्ने हिम्मत कसैले गर्दैनथे । तर, केही साताअघि अस्पतालमा मैले यौन हिंसा भोग्नुपर्यो ।
म कक्षा लिइसकेर अर्को तल्लामा जानुपर्ने काम आयो । लिफ्ट चढेँ । मोबाइल चलाइरहेकी थिएँ । पूरा ध्यान मोबाइलमै केन्द्रित थियो । त्यसैबेला पछाडिबाट भीमकाय शरीर भएका तीन जना आएर मलाई घेरे । म आत्तिएँ । कराएँ । त्यही भएकी एक वृद्धा पनि मसँगै चिच्याउन थालिन् । इमर्जेन्सी बटन थिचेर लिफ्ट रोकिन् । हामी दुवै उत्रियौँ । ती तीन व्यक्ति त्यसपछि कता लागे, थाहा छैन ।
मेरो पहिरन, तिनको चयन ?
समृद्धि राई | सञ्चारकर्मी
एक दिन सिंहदरबार बग्गीखानामा लेन अनुशासनको कक्षा लिन गएकी थिएँ । घुँडासम्म पुग्ने ड्रेस लगाएकी थिएँ । मलाई त्यहाँ कार्यरत महिला पुलिसले नै भित्र जान दिइनन् । कुर्ता–सुरुवाल लगाएर जानुपथ्र्यो रे । उनका लागि मेरो पहिरन असभ्य भइदियो । म एक वयस्क महिला हुँ र कुन ठाउँमा कस्तो पहिरन लगाउने भन्ने निक्र्योल गर्न सक्छु । सभ्य र असभ्य पहिरन छुट्याउन सक्छु । त्यसको अर्को दिन नै उपत्यकाबाहिर जानुपर्ने थियो । त्यसैले, बाझ्नुको साटो ड्रेसबाहिर रेनकोटको सुरुवाल लगाएर गएँ ।
त्यहाँका ट्राफिक पुलिससँग एकछिन भनाभन परिसकेपछि मलाई कक्षामा पठाइयो । कति पुरुष मेरो ड्रेसभन्दा छोटो हाफप्यान्टमा आएका रहेछन् । उनीहरूलाई कसैले किन रोकेन ? किन यस्ता मनगढन्ते नियम महिलाका लागि मात्रै ? नियम पनि भन्नु मात्रै, लिखितमा कतै थिएन ।
सबैको ध्यान यसतर्फ पनि जाओस् भन्ने हिसाबले भिडियो बनाएँ । त्यसपछि बल्ल त्यहाँका ट्राफिक अधिकृतले गल्ती स्वीकारे । पछि भिडियो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेँ । मेरो समर्थनमा हजारौँ प्रतिक्रिया आए । लोकप्रियताका लागि यस्तो गरेको भन्नेजस्ता प्रतिक्रिया थुप्रै पाएँ । नेपाली सभ्यतामाथि आँच आउने काम गरिस् भन्ने पनि नभएका होइनन् । पछि प्रतिक्रिया हेर्दा याद गरेँ, मेरो विरोधमा बोल्नेजति सबै पुरुष मात्र रहेछन् ।
प्रतिकार गरिहाल्छु
एनी पाखरीन् | परामर्शदाता, हङकङ
मैले ११ वर्षजति हुँदा पहिलो यौन हिंसा देखेँ । बोल्न नसक्ने एक दिदी मेरो घरनजिकै मन्दिरमा माग्न बस्थिन् । मलाई उनीसँग कुरा गर्न मन लाग्ने हुँदा हातको इसाराले केही न केही संवाद गरिरहेकै हुन्थेँ । एक दिन स्कुलबाट फर्किंदा ती दिदीलाई झोक्राएर बसेकी देखेँ । छेउमा सेतो पानीजस्तो केही थियो, वरपर झिँगा भन्किरहेका थिए । मैले के भयो भनी सोध्दा हातले जोगी बस्ने ठाउँ र आफ्नो यौनांगतर्फ इसारा गरिन् । अहिलेसम्म त्यो घटनाले मेरो दिमागमा जरो गाडेको छ । तर, त्यही घटनाले मलाई केही पर्दा बोल्न सक्ने पनि बनायो ।
म डिल्लीबजार क्याम्पसमा पढ्दा बिहान ५ बजेतिरै हिँड्नुपथ्र्यो । बाटोमा सुनसान गल्ली पथ्र्यो । दिनहुँजसो बाटोमा हेरेर बस्ने एक केटाले एक दिन मलाई हेर्दै हस्तमैथुन गर्न थाल्यो । मैले ढुंगा टिपेर हानेँ, ऊ टाप कस्यो । मैले परसम्म लखेटेँ । अहिले पनि बाटोमा कसैले जिस्क्याउन खोजे कुटिहाल्छु ।
छाती चौडा पारेर हिँड्न सकिनँ
इन्दिरा जोशी | गायिका
मेरो संघर्षका दिनमा आफ्नै गाडी थिएन । सार्वजनिक यातायातमा यात्रा गर्थें । बसमा उभिँदा माथिको डन्डी समाइन्थ्यो, कतिले त्यही बहानामा हात समात्थे । कुमतिर हात लान्थे । म कराउन डराउँथेँ । त्यसले पनि तिनीहरूलाई थप आँट मिल्थ्यो । कसैले छोइदेलान् कि भनी सधैँ सजग भएरै जीवनको एउटा ठूलो कालखण्ड पार गरेकी छु ।
बिस्तारै तर्कीतर्की हिँड्ने बानी बस्दै गयो । पाइलैपिच्छे डराउँथेँ । कसैले नराम्रो दृष्टिले हेर्यो कि डरले शरीर खुम्च्याउँथेँ । त्यसैले मेरो शरीर खुम्चिँदै गयो । अहिले टिभीमा हेर्दा आफैँलाई ननिको लाग्छ । टिभी सोमा कति पटक त मलाई रिटेक नै गराइएको छ । ‘पब्लिक फिगर’ भई नसक्दा डरैडरमा बिताएका दिनको असर मैले आजसम्म भोगिरहनु परेको छ । छाती चौडा पारेर आजसम्म हिँड्न सकेकी छैन ।
यो पनि पढ्नुहोस् :
→ मौनता तोड्ने हिम्मत
→ ‘मीटू’ले तोडेको मौनता
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...