विशेष : मोटोपनको महामारी
मोटोपनले निम्त्याउने मधुमेह, मुटु रोग र क्यान्सरजस्ता नसर्ने रोगबाट मर्नेको संख्या बढ्दो

मोटाउनुलाई कुनै बेला नेपाली समाजमा सुख पाएको संकेत मान्ने गरिन्थ्यो । कुनै जमघट होस् या भोज, पुट्ट भुँडी लागेकाहरूको रवाफै बेग्लै । तर, अब मोटोपन असामयिक मृत्युको मुख्य कारण बन्न थालेको छ । नसर्ने रोगहरू विश्वको प्रमुख स्वास्थ्य चुनौती बन्न थालेका छन् । अधिकांश नसर्ने रोगको प्रमुख कारणचाहिँ मोटोपन बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले अघिल्लो वर्ष गरेको नसर्ने रोगहरूको प्रोग्रेस मोनिटर प्रतिवेदनमा, नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर ६५ प्रतिशत देखाएको छ, जुन भयावह हो । सन् ०१६ को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा १ लाख २१ मानिस नसर्ने रोगबाट प्रतिवर्ष मर्ने गरेका छन् ।
नसर्ने रोगमध्येमा पनि भयावह बन्दै गएको छ, मधुमेह । संसारमै सबैभन्दा बढी मधुमेह रोगी नेपालका दुई छिमेकी भारत र चीनमा छन् । नेपालमा पनि बर्सेनि मधुमेह रोगी बढ्दैछन् । चितवनमा मात्र २९ प्रतिशत जनसंख्या मधुमेहको सिकार रहेको तथ्यांक सार्वजनिक भएको छ । देशभरचाहिँ १० दशमलव ५ पुरुष र ७ दशमलव ९ प्रतिशत महिलामा मधुमेह छ । सहरी क्षेत्रमा यसको प्रकोप झनै भयावह छ । सहरका प्रत्येक पाँच घरमध्ये एउटामा मधुमेह रोगी छन् । त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई नयाँ महामारी मानेको छ ।
२८ कात्तिक अर्थात् १४ नोभेम्बर विश्व मधुमेह दिवस । एकाबिहानै काठमाडौँको महाराजगन्ज चोकमा रहेको मेट्रो अस्पतालमा करिब तीन सयजति सहरबासी एकत्रित थिए । त्यसमा सर्वसाधारण, मधुमेह रोगी, स्वास्थ्य स्वयंसेवक, चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए । मोटोघाटो ज्यान र खाइलाग्दा देखिने केही मानिस भेला हुनुको कारण थियो– दौडिएर विश्व मधुमेह दिवस मनाउने ।
वाकाथन नाम दिइएको दौड महाराजगन्जबाट सहिद गंगालाल अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगन्ज फर्कियो । सहरबजार जताततै शारीरिक गतिविधि कम भएको छ । अनियमित खानपान, व्यायाम शून्यप्राय: । अनेक कारणले मोटोपन बढ्ने अनि त्यसले मधुमेहलगायतका नसर्ने रोगको प्रकोप बढ्दै गएपछि मेट्रो अस्पतालले कार्यक्रम आयोजना गरेको थियो । मोटोपन र आम नागरिकमा त्यसले निम्त्याउने स्वास्थ्य संकटबारे चेतना जगाउने गतिविधि हुन थालेका छन् ।
अर्को रोचक कार्यक्रम त त्रिवि शिक्षण अस्पताल महाराजगन्जका स्वास्थ्यकर्मीले आयोजना गरे । त्यसमा मोटोपन कसरी घटाउनेदेखि मोटोपनका कारण लाग्ने रोग र निदानबारे विभिन्न किसिमका जानकारी दिइयो । शरीरको तौल घटाउन दिउँसै स्वास्थ्यकर्मी नाचिरहेका थिए । कतिले खानेकुरा र व्यायामबारे जानकारी लिए भने कतिले नि:शुल्क मधुमेह परीक्षण गरे । त्यसमा सहभागी वरिष्ठ मधुमेह विशेषज्ञ डा ज्योति भट्टराईले नेपालसँग भनिन्, “सहरी जनसंख्यामा मोटोपन घातक बन्दै गएको छ । त्यसैले मोटोपन घटाउने र स्वस्थ बन्न समाजलाई जगाउनैपर्ने भएको छ । नत्र मोटोपन देशको मुख्य स्वास्थ्य चुनौती बन्ने पक्का छ ।”
मोटोपनका कारण बोझयुक्त जीवन बाँच्नेहरूको संख्या बढ्दै गएको छ । विभिन्न कारणले अस्पताल धाउनेमध्ये करिब ४० प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मोटोपनको सिकार बनेको अनुमान छ । शरीरमा चाहिनेभन्दा बढी बोसो वा मासु जमेर तौल बढ्नुलाई मोटोपन मान्ने गरिएको छ ।
बदलिएको मापक
अमेरिकालगायत पश्चिमी समाजमा महिला र पुरुषको शरीरको उचाइअनुसारको तौल (बडी मास इन्डेक्स) का आधारमा मोटोपन मापन गरिन्थ्यो । तर, अब मोटोपनको मापक नै बदलिएको छ । कुनै मानिसको उचाइअनुसार तौल सन्तुलित भए पनि भुँडीचाहिँ ठूलो छ भने ऊ नसर्ने रोगको जोखिममा रहन्छ । अहिले एसियाली देशमा महिलाको भुँडीको गोलाइ ८० सेमिभन्दा बढी र पुरुषको ९० सेमिभन्दा बढी हुनुलाई मोटो मानिएको छ । मोटोपनबाट मुक्त हुन चाहने महिलाले आफ्नो भुँडीको गोलाइ माथि तोकिएभन्दा कम राख्नैपर्ने नयाँ मापदण्ड तय भएको छ । भट्टराई भन्छिन्, “अब उचाइअनुसारको तौलका आधारमा होइन, भुँडीको गोलाइका आधारमा मोटोपन परीक्षण गर्न थालिएको छ । त्यो भरपर्दो पनि मानिएको छ ।”
मधुमेहपछि मोटोपनबाट मुटु रोग, क्यान्सर, क्रोनिक स्वासप्रश्वास, तनाव तथा डिप्रेसनलगायतका नसर्ने रोग निम्तिन्छन् । जनस्वास्थ्य विशेषज्ञ डा खेमबहादुर कार्की भन्छन्, “मोटोपनले मधुमेह, मुटु र क्यान्सर रोगको जोखिम बढाउने हो । नेपालमा यी तीनै वटै रोगको महामारी बढ्दो छ ।” क्यान्सरमा पनि ब्रेस्ट, पाठेघर र भुँडीको क्यान्सरमा मोटोपन नै कारण रहने गरेको चिकित्सकको ठहर छ । मृगौला रोगमा समेत मोटोपन कारक बन्दै गएको छ । घुर्ने, उच्च रक्तचाप, कोलेस्टोल, पत्थरीको रोग, महिनावारी गडबढ, बच्चा पाउन कठिन आदि रोग लाग्ने गरेको छ । अर्थात्, मोटोपन रोगको स्रोत मात्र होइन, आफैँ रोग पनि हो ।
शिक्षण अस्पतालमा दैनिक खानेकुराको मात्राको जानकारी लिँदै एक सर्वसाधारण | तस्बिर : भास्वर ओझा
कारण अनेक
मोटाउनुमा कुनै एउटा कारण मात्र जिम्मेवार छैन । धेरै कारणले व्यक्तिको शरीरमा बोसो बढ्छ र रोगले घर गर्छ । विगतमा खाना अपुग हुने भएका कारण मानिस पाएका बेला टन्न खाने र नपाउँदा लामो समय पनि भोकभोकै रहेर काममा खटिने गर्थे । टन्न खाने र काम गर्ने बानीले मोटोपनको सिकार बन्न दिँदैनथ्यो । तर, अहिले टन्न खाने तर शारीरिक काम नगर्ने प्रवृत्ति बढ्दो छ । मोटोपनको सिकार हुने मुख्य कारण नै जथाभावी खाने तर व्यायाम वा शारीरिक श्रम नगर्ने रहेको छ । ठिक्क खाने र भुँडीमा बोसो लाग्न नदिने हो भने नसर्ने रोगबाट मानिस टाढै रहन्छन् । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई स्वयंले आफ्नो भुँडीको गोलाइ ८० सेमिमै सीमित राखेकी छन् । त्यसका लागि उनले सक्रिय शारीरिक जीवन अपनाएकी त छन् नै, खानपान पनि सन्तुलित छ ।
भट्टराई ब्रेकफास्टमा एउटा रोटी र एक कचौरा दाल अथवा तरकारी वा दही खान्छिन् भने बिहान–बेलुकाको मुख्य खानाको आधा हिस्सा सागसब्जी र तरकारीले लिएको हुन्छ । बाँकी आधा हिस्सामध्ये एक चौथाइ अन्न र एक चौथाइ गेडागुडी वा दूधदहीले लिएको हुन्छ । यिनै कारणले उनले ३–४ महिनामा ६ किलो तौल घटाएकी छन् । उनको तौल आदर्श स्थितिमा छ । भन्छिन्, “अन्न कम खाने, सागसब्जी र तरकारी, पानी दाल आदि बढी खाने गरेकी छु ।”
विगतमा उनी आफैँ पनि मोटोपनको सिकार भइन् । सन्तुलित खाना, दैनिक जिमखानाको कसरत अनि सक्रिय जीवनले उनी अहिले मोटोपनबाट मुक्त छिन् । कतिसम्म भने भोक लागे पनि उनी जथाभावी केही खान्नन्, भोक मार्न करिब ४–५ वटा काजु वा बदाम र पानी खान्छिन् । खानपानको अनुशासनले उनलाई नसर्ने रोगको जोखिमबाट पनि मुक्त राखेको छ । “डाक्टर नै मोटोपनको सिकार भएपछि बिरामीलाई तौल घटाऊ कसरी भन्ने ? त्यसैले धेरै मिहिनेत गरेर तौल सन्तुलित बनाएकी छु,” उनले भनिन् ।
मोटोपन बढाउने घातक तत्त्व हुन्, अत्यधिक चिनी र नुन प्रयोग । नुन धेरै खानुहुँदैन भन्ने सन्देश पहिलादेखि फैलिए पनि अत्यधिक गुलियो मानव स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश अझै पनि तल्लो तहसम्म फैलिई सकेको छैन । कोकाकोला, पेप्सी, फ्यान्टा, जुसलगायतका पेयको वर्चस्वले दूध, दही महीजस्ता खानेकुरा न्यून प्राथमिकतामा पर्न थालेका छन् । उपभोग गर्ने क्षमतामा वृद्धिसँगै नेपाली समाज अर्गानिक खानेकुराको साटो बनिबनाउ खानामा लिप्त हुन थालेको छ । त्यसैले वयस्कको अनुपातमा मोटोपनको सिकार बन्नेमा बालबालिका अझ बढी छन् । जंकफुड, अत्यधिक गुलियो र नुनिलो खाद्यपदार्थमा रोक तथा नियन्त्रणले पनि मोटोपनको जोखिम घटाउन सहयोग गर्छ । त्यसैले बालबालिकालाई चकलेट, चाउचाउ र कार्बनयुक्त पेयबाट जोगाउनु उत्तिकै जरुरी छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई छाड्ने हो भने कति नेपाली मोटोपनका सिकार छन् भन्नेमा ताजा तथ्यांकको अभाव छ । त्यो अभाव पूर्ति गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले सर्वेक्षण गरिरहेको संस्थाका अध्यक्ष डा अन्जनीकुमार झा बताउँछन् । “पछिल्लो तथ्यांक नभएकै कारण अहिले हामी मोटोपनको सर्वेक्षणमा छौँ । तीन–चार महिनापछि ताजा नतिजा आउँछ । तर, यो देशको मुख्य स्वास्थ्य चुनौती हो भन्ने स्वीकार्नुपर्छ,” उनी भन्छन् ।
परिषद्ले यसअघि सन् ०१३ मा मोटोपनसम्बन्धी विस्तृत सर्वेक्षण गरेको थियो । त्यसको निचोडमै उल्लेख छ– ‘नेपालीमा नसर्ने रोगहरूको उच्च जोखिम छ । त्यो जोखिम कम गर्न तत्कालै रोकथाम, उपचार र नियन्त्रणमा आवश्यक पहल जरुरी छ ।” स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको परिषद्को यस्तो निचोड सार्वजनिक भएको आधा दशक बिते पनि नेपालमा मोटोपन घट्नुको साटो बढ्दै गएको छ । विश्वमा सन् १९७५ यता मोटोपनको सिकार हुनेको संख्या तीन गुणा बढेको अनुमान छ । यो नसर्ने रोगको महामारीबाट नेपाल अछूतो हुने कुरै भएन ।
१७ प्रतिशत मोटा
परिषद् सर्वेक्षणले समेत १७ दशमलव ७ प्रतिशत नेपाली मोटोपनको सिकार भएको तथ्य उजागर गरेको थियो, सन् ०१३ मा । रोचक के छ भने त्यसमा १० दशमलव ४ प्रतिशत नेपाली दुब्लोपनको समेत सिकार भएको देखियो । साधारण तौलवाला नेपालीको संख्या त्यतिबेला ६९ दशमलव ९ प्रतिशत पाइएको थियो । अनि, अस्वाभाविक रूपमा मोटाएकाको संख्या ४ प्रतिशत । त्यो सर्वेक्षणमा संलग्न तत्कालीन परिषद् सदस्यसचिव डा खेमबहादुर कार्की भन्छन्, “धेरै नेपालीलाई त मोटाउनु भनेको रोग लाग्ने संकेत हो भन्नेसमेत ज्ञान छैन । मोटाउनु नै राम्रो ठानेर बस्ने अनि अरू रोग थपिएर अस्पताल जानेहरू बढी छन् ।”
मोटोपन बढाउने अर्को प्रमुख कारण मानिएको छ, तनाव । तनाव लिने मानिसमा मोटोपन बढ्छ । पछिल्लो समय नेपाली समाजमा विभिन्न कारणले तनाव बढ्दो छ । नकारात्मक सोचाइ, चिन्ता आदिले महिला र पुरुष दुवैमा मोटोपन बढ्दै गएको छ । पुरुषभन्दा महिलामा चिन्ता, तनाव र नकारात्मक सोचाइ बढी देखिएकाले उनीहरू मोटोपनको बढ्ता सिकार भएको बताउँछिन्, डा ज्योति भट्टराई । पैसा कमाउने वा सञ्चय गरेको पैसामा खर्चेर खाने बानीले पनि मोटोपन बढाएको छ । कतिपयमा भने वंशानुगत कारणले पनि मोटोपन बढ्दै जाने गरेको छ । केही महिला महिनावारी बन्द भएपछि पनि मोटाउने गरेका छन् । हर्मोनका कारण मानिस मोटोपनको सिकार हुन्छन् । विवाहपछि प्राय: महिलाको तौल १० किलोसम्म बढ्ने गरेको एउटा अध्ययनले देखाएको छ ।
नेपालमा सुत्केरी अवस्थामा हुने खानपानका कारण पनि धेरै महिला मोटोपनको सिकार हुन्छन् । अत्यधिक चिल्लो, माछामासु अनि कार्बोहाइड्रेटले महिलाको शरीरमा सुत्केरीपछि अत्यधिक बोसो थपिने गरेको छ ।
जोगिने कसरी
मोटोपन गम्भीर स्वास्थ्य समस्या भए पनि यसबाट जोगिने वा मुक्त हुन भने सकिन्छ । स्वस्थकर र सन्तुलित खानपान, रोकथामका उपाय अवलम्बन अनि सक्रिय जीवन, व्यायाम र जनचेतनाका माध्यमबाट यो समस्याबाट व्यक्ति, परिवार, समाज र देशले नै मुक्ति पाउन सक्छ । डा झा भन्छन्, “राज्यले मोटोपन र नसर्ने रोगलाई नियन्त्रण गर्न नीतिगत बाटो लिएको छ । अब व्यक्ति र समाज नै जागृत हुने बेला भएको छ । नत्र यसले व्यक्तिको स्वास्थ्यको मात्र होइन, देशकै स्वास्थ्यमा गम्भीर क्षति पुर्याउनेछ ।”
विज्ञहरूले मोटोपनबारे विद्यालय तहकै पाठ्यक्रम/पाठ्यपुस्तकमार्फत जागरण पैदा गर्न थाल्नुपर्ने राय व्यक्त गरेका छन् । सक्रिय शारीरिक जीवन मोटोपनबाट जोगिने भरपर्दो उपाय हो । विश्व स्वास्थ्य संगठनले बालबालिकालाई कम्तीमा दैनिक एक घन्टा शारीरिक गतिविधि/व्यायाम गर्न र अरूले कम्तीमा दैनिक ३० मिनेट यस्तो गर्न सुझाएको छ । यसो गर्ने हो भने मोटोपनले गाँज्न सक्दैन ।