अल्पमतमा ओली
दुई तिहाइ बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा
दुई तिहाइ बहुमतसहितका प्रधानमन्त्री, देशका दुई ठूला वाम दलको एकतापछि बनेका नेकपाका शक्तिशाली अध्यक्ष अनि संसदीय दलका नेता । यी पदीय हैसियतले ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री मानिएको छ । हुन पनि, ओलीकै नेतृत्वमा तत्कालीन एमाले र माओवादी संयुक्त चुनावी गठबन्धनमा सरिक भए, चुनाव जिते र पार्टी एकतासमेत गरे । यसमा ओली नै हावी भए ।
प्रधानमन्त्री ओली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक समीकरणमा भने अल्पमतमा परेका छन् । ओली अल्पमतमै परेका कारण स्थायी र केन्द्रीय समिति बैठक विधानअनुसार त बसेन नै, स्थायी समिति र केन्द्रीय समिति सदस्यहरूले माग गर्दासमेत बसेको छैन ।
सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी भएका ओली पार्टीमा भने अल्पमतमा मात्र परेका छैनन्, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहभन्दा पनि कमजोर छन् । ४५ सदस्यीय स्थायी समितिमा प्रचण्डको पक्षमा २१ सदस्य, नेपालको पक्षमा १२ र ओली समूहमा जम्मा ११ सदस्य मात्र छन् । वरिष्ठ नेता झलनाथ खनाल एक्लै छन् । नेकपाभित्र दाहाल र नेपाल समूह एकजुट भए पार्टी नेतृत्वबाट ओली पन्छाइन पनि सक्छन् । (हेर्नुस्, इन्फोग्राफिक्स)
तीन शक्तिशाली पद लिएका ओलीले पार्टीभित्रको यही समीकरण बुझेर स्थायी समिति र केन्द्रीय समिति छल्दै आएको अरू नेताहरूको आकलन छ । ओलीविरुद्ध खुलेआम रूपमा नेपाल समूह उत्रेको छ भने प्रचण्ड समूहको असन्तुष्टि पनि बेलाबेला प्रकट हुँदै आएको छ ।
स्थायी समिति र केन्द्रीय कमिटीलाई निकम्मा बनाएर नेकपाको ९ सदस्यीय सचिवालयलाई सर्वेसर्वा बनाउन खोजिए पनि ओलीको बहुमत छैन । स्थायी समितिमा मात्र होइन, प्रधानमन्त्री ओली नेकपाको सचिवालयमा समेत अल्पमतमा परेका छन् । उनको पक्षमा अहिले रक्षामन्त्री ईश्वर पोखरेल मात्र छन् ।
९ सदस्यीय सचिवालयमा प्रचण्डको पक्षमा गृहमन्त्री रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेल छन् भने नेपाल र खनाल एक्लाएक्लै । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल पार्टी एकतापछि नेपालभन्दा तल्लो वरीयतामा राखिएको अनि राष्ट्रपति हुनबाट वञ्चित गरिएका कारण ओलीप्रति रुष्ट छन् ।
३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको हो, नेकपा । यस अवधिमा नेकपाको स्थायी समिति बैठक १ असार ०७५ मा एक पटक मात्र बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्यो बैठक पनि ओली र दाहालको मन्तव्यमै सीमित भयो । त्यसयताका सबै निर्णय ओलीले नै गर्दै आएका छन् ।
पार्टी विधानअनुसार तीन महिनाभित्र स्थायी समिति बसिसक्नुपर्छ । तर मौखिक र लिखित रूपमा पटक–पटक बोलाएर पनि ओलीकै निर्देशनमा बैठक स्थगित हुँदै आएको छ । स्थायी समिति सदस्य गणेश साह भन्छन्, “सत्ताको नशा लागेर प्रमुख नेतृत्व रुमल्लिएको छ । सरकारको कामप्रति आम असन्तुष्टि छ । तर स्थायी समितिमा समीक्षा गर्नसमेत पाइएको छैन । यसबाट पार्टी असफल बन्ने जोखिम बढेको छ ।”
स्थायी समिति सदस्यहरूले धेरै पटक बोलाउन माग गरे पनि त्यस्तो बैठक बोलाउने टुंगोमा ओली अझै पुगेका छैनन् । किनभने, स्थायी समिति बैठक सामना गर्न ओलीसँग बहुमत छैन । त्यसैले ओली अहिले बैठक माग गर्नेहरूलाई थकाउने अनि तत्काल नबोलाउने पक्षमा रहेको स्रोतको दाबी छ । ओली निकट स्थायी समिति सदस्य सत्यनारायण मण्डल भन्छन्, “बैठक मात्र गरेर हुन्छ ? काम भइरहेकै छ । सरकारलाई काम गर्न नदिने र असफल पार्न खोज्नेहरूले बैठक–बैठक भनिरहेका छन् ।”
नेकपाको संस्थागत अस्तित्व ओलीको लोकप्रियताको छायामा परेको छ । त्यसैले स्वत: हुनुपर्ने पार्टी कमिटीका बैठक र एकता प्रक्रिया अल्झिएको हो । स्थायी समिति बैठकसमेत नबसेको अनि पार्टी नै अस्तव्यस्त भएको ठहर गर्दै ५ मंसिर ०७५ मा नेकपाका २२ केन्द्रीय सदस्यहरूले ओली भेट्ने समय मागेका थिए । तर उनले समय नदिएका कारण महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाए ।
त्यो समूहले नेकपाका अर्का अध्यक्ष ‘प्रचण्ड’ र सचिवालय सदस्य गौतमसमेतलाई भेटेर आफ्ना मागबारे ध्यानाकर्षण गरायो । तथापि, तिनका मागको अझै सम्बोधन भएको छैन । प्रधानमन्त्री ओली र उनी निकट केही नेताले बैठक माग गर्ने केन्द्रीय सदस्यलाई नै कारबाहीको चेतावनी दिएका थिए ।
९ मंसिरको नेकपा केन्द्रीय सचिवालय बैठकमा वामदेव, वरिष्ठ नेता नेपाल र खनालसमेत ज्ञापनपत्रको पक्षमा उभिएपछि ओली पछि हटेका थिए । ज्ञापनपत्रमा पोलिटब्युरो गठनपछि मात्र केन्द्रीय सदस्यको कार्य विभाजन गरिनुपर्ने माग थियो । ओलीले भने पोलिटब्युरो गठनलाई सचिवालयको एजेन्डा बन्न दिएका छैनन् ।
ओलीलाई विगतमा साथ दिएका निकट नेताहरू पनि अहिले टाढा भएका छन् । प्रतिनिधिसभा काठमाडौँ ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवलाई त्यहाँबाट चुनावमा उठाउने योजनामा महासचिव पौडेल, सचिवालय सदस्य गौतम र अध्यक्ष प्रचण्डको संलग्नता थियो । तर ओलीले रक्षामन्त्री ईश्वर पोखरेलको सहयोगमा त्यो प्रस्ताव तुहाएका थिए ।
महासचिव पौडेल पछिल्लो समय प्रचण्डको समूहमा सक्रिय छन् । दोस्रो पटक अर्थमन्त्री बन्ने चाहना राखेका उनी त्यसबाट वञ्चित हुनु र नेकपा एकीकरण हुनुको संयोग एउटै पर्यो । पार्टी एकतासँगै उनलाई महासचिव बनाउन प्रचण्डले भूमिका खेले । तिनै प्रचण्डले अचेल पौडेल र आफ्नो भाषा मिल्न थालेको बताउने गरेका छन् । २९ कात्तिक ०७५ मा विराटनगरमा आयोजित नेकपाको तिहार तथा छठ शुभकामना कार्यक्रममा उनले भनेका थिए, “धेरै समय सँगै हिँडेर होला, हिजोआज मेरो र महासचिवको भाषा पनि एउटै हुन थालेको छ ।” प्रचण्डको सकारभाव सुनेका पौडेल मञ्चमै प्रफुल्लित भए ।
याद रहोस्, ३ जेठ ०७५ मा पार्टी एकताअघि बसेको बैठकमा तत्कालीन एमाले र माओवादीको ५ सय ५० सदस्यीय केन्द्रीय समितिमा दुई अध्यक्ष मात्र राख्ने निर्णय भएको थियो । त्यसमा महासचिव, वरिष्ठ नेता र सचिवालय आदिबारे कुनै निर्णय भएको थिएन । तर एकता घोषणा गर्दा ९ सदस्यीय सचिवालयसहित महासचिव, वरिष्ठ नेता आदिको समेत घोषणा गरियो । त्यसलाई नेकपाभित्र धेरैले रुचाएका छैनन् ।
ओलीको दाउ
पार्टीको केन्द्रीय र स्थायी समिति बैठक नडाक्ने, अधिकांश निर्णय सचिवालय बैठकबाट गर्ने ओली रणनीति छ । उनी फेरि सरकारका कमीकमजोरी छोप्ने गरी आक्रामक कार्यक्रम घोषणा गरेर आफ्नो लोकप्रियता फर्काउने र पार्टीभित्रको समीकरण बदल्ने गृहकार्यमा लागेका छन् । सामाजिक सुरक्षा कार्यक्रम घोषणा त्यसैको एउटा दृष्टान्त हो । अब कलंकी–नागढुंगा सडक, काठमाडौँ सफाइ, मेलम्ची आयोजना र जलमार्ग निर्माण आदिलाई तीव्रता दिएर सरकारको लोकप्रियता र पार्टीमा दबाब बढाउने ओलीको रणनीति छ ।
तत्कालीन एमालेको वैचारिक राजनीति र संगठनमा ओली सधैँ अल्पमतमा थिए । तर राष्ट्रिय महत्त्वका मुद्दामा कडा अडानका कारण सार्वजनिक लोकप्रियता बढाएर उनले एमालेको नेतृत्व हत्याएका हुन् । अब पनि सोही तुरुप प्रयोग गरेर अल्पमतलाई बहुमतमा बदल्ने उनको आकांक्षा छ । ओलीबाहेकको समूह अब सरकार र उनको एकाधिकारमाथि हस्तक्षेप बढाउने तयारीमा जुटेको छ ।
बैठक टरेको टर्यै
१२ मंसिर ०७५ बिहानै १० मिनेटको फरकमा नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेल प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरे । प्रधानमन्त्री ओली, ‘प्रचण्ड’ र पौडेलबीचको छलफलकै परिणाम हो, गृहकार्य नपुगेर अघिल्लो दिन स्थगित केन्द्रीय सचिवालय बैठक त्यही दिन साँझ बालुवाटारमा बस्यो । त्यो बैठकले नेकपाका ७ प्रदेश कमिटीका सदस्यको नाम टुंगो त लगायो । तर पार्टीभित्रको विवाद र अन्तरविरोधको किनारा लगाउन भने सकेन ।
अचम्म के भने, नेकपा स्थायी समिति र केन्द्रीय कमिटी सदस्यहरूले माग गरेको स्थायी समिति र केन्द्रीय समिति बैठकसमेत कहिले गर्ने भन्ने टुंगोमा पार्टी ‘हाइ कमान्ड’ अझै पुग्न सकेको छैन । केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पोलिटब्युरो र केन्द्रीय विभाग गठन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला संगठनका प्रमुख पदाधिकारीको चयनजस्ता आन्तरिक मुद्दामा नेकपा प्रवेश गरेकै छैन । सरकारको समीक्षा त टाढाको विषय भयो । यी काम गर्न नसक्नुको मुख्य कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नै बनेका छन् । स्थायी समिति सदस्य अग्नि सापकोटा भन्छन्, “पार्टीमा केन्द्रीयता हावी भयो, जनवाद कमजोर भयो । पार्टी र सरकारको कामको समीक्षा गर्न स्थायी समिति बस्नैपर्छ ।”
अस्तव्यस्त पार्टी र सरकारमा ओलीलाई दोषी देख्ने नेता/कार्यकर्ताको संख्या नेकपाभित्र बढ्दै गएको छ । सरकार गठनकै बेला ‘जस–अपजसको भागीदार आफैँ हुने उद्घोष गरेकाले पनि प्रधानमन्त्री ओलीतिरै निशाना सोझिएको हो । पार्टीभित्र आफू विरोधी समूह शक्तिशाली भएको ओलीलाई पनि परेको छ । स्थायी समिति सदस्य साह भन्छन्, “यो सरकार सुन्निएको मान्छेजस्तो भएको छ । बाहिरी दृश्यमा शक्तिशाली अनि आन्तरिक रूपमा खोक्रो र कमजोर ।”
प्रधानमन्त्री ओलीकै कारण पार्टी निष्क्रिय भएको र भूमिकाहीन बनेको नेकपाका कतिपय नेताको बुझाइ छ । केन्द्रीय र स्थायी समिति भूमिकाहीन हुनुमा ओली नै कारण हुन् । विधानत: संगठनात्मक, राजनीतिक र निर्देशनात्मक कामको जिम्मेवारी पाएको स्थायी समिति सरकार र नेकपाका त्रुटि–कमजोरीको निरीह साक्षी बन्न पुगेको छ । स्थायी समिति सदस्य घनश्याम भुसाल सचिवालयले पार्टी हाँक्न नसकेकाले बैठक नबोलाए सदस्यहरू जुटेर आगामी रणनीति तय गर्ने बताउँछन् ।
३ फागुन ०७४ मा प्रधानमन्त्री नियुक्त भएपछि मन्त्री चयनमा तत्कालीन एमालेभित्र ओलीको एकाधिकार कायम भयो भने प्रादेशिक सरकार गठन र मुख्यमन्त्रीको छनोट, राष्ट्रपतिमा विद्या भण्डारीको पुन: निर्वाचन, सरकारको नीति तथा कार्यक्रम र बजेट आदि/इत्यादि सबैमा उनै हावी भए । राजकीय र पार्टी एकताको काममा नेकपाको संस्थागत संलग्नता खासै रहेन नै, दलको शीर्ष नेतृत्वको समेत भूमिका निम्छरो भयो । अर्का अध्यक्ष ‘प्रचण्ड’ ले ओलीको एकाधिकार र वर्चस्वमा बाधा पुग्ने गरी अहिलेसम्म सार्वजनिक चुनौती दिएका छैनन्, बरु उनलाई सहयोग पुग्ने भूमिका खेलेका छन् । वरिष्ठ नेता नेपालले सरकारको निकम्मापन र पार्टीको प्रदेश संयोजक चयनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिए पनि त्यसलाई एजेन्डाकै रूपमा अगाडि बढाएनन् । स्थायी समिति सदस्य अग्नि सापकोटा भन्छन्, “पार्टी एकता नै अवरुद्ध गरिएकाले धेरै क्षति भइसकेको छ । संगठनात्मक र जन परिचालन नभएकाले समस्या देखापरे । अब पार्टी सक्रिय भएपछि यो विडम्बना अन्त्य होला ।”
यो पनि पढ्नुहोस् : एकता प्रक्रियामा भद्रगोल
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...