ताली र गालीमा पृथ्वीनारायणको सम्झना
केही वर्षअघिसम्म नेपाल निर्माणका पहलकर्ता पृथ्वीनारायणप्रति गाली बर्साउनेमध्ये कोही मौन थिए । कोही त समर्थनमै ओर्लिसकेका थिए । ठीकै हो, इतिहास बदलिन्न, बदलिने त हाम्रा विचार हुन् ।

कसैले भनेको छ : इतिहास बदलिन्न । बदलिने त हामी हौँ ।
नभन्दै, यस्तै भयो २७ पुसको बिहान । अखबारका पानादेखि फेसबुक, ट्वीटरसमेत पृथ्वीनारायण शाहप्रति ताली र गालीले रंगिइसकेका थिए । रोचक के भने केही वर्षअघिसम्म नेपाल निर्माणका पहलकर्ता पृथ्वीनारायणप्रति गाली बर्साउनेमध्ये कोही मौन थिए । कोही त समर्थनमै ओर्लिसकेका थिए । ठीकै हो, इतिहास बदलिन्न, बदलिने त हाम्रा विचार हुन् ।
जनमानसमा पृथ्वीनारायणप्रति बदलिँदै गएको भाव बुझेर हुनुपर्छ, सरकारले पनि उनको मानसम्मानमा कुनै कसर बाँकी राख्न छाडेको छ । त्यसैले यो वर्षको पृथ्वी जयन्तीमा अलि भिन्नै किसिमका परिदृश्य देखिए ।
शुक्रबार २७ पुस बिहान नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा भेला भइसकेका थिए, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा । साथमा थिए, प्रज्ञा प्रतिष्ठान, ललिकला प्रज्ञा प्रतिष्ठान, नाट्यकला प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी । अलिक परतिर सैनिक टुकडी र झाँकी । प्रतिष्ठानको मूलढोकाअगाडि उभिएर जब रातो रिबन काटे, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले, सैनिक टुकडीसहितको झाँकी रामशाहपथतिर लाग्यो । त्यो झाँकीसहितको र्याली आइपुग्यो, सिंहदरबार पश्चिमतर्फको मूलढोका । त्यही रफ्तारमा आइन् राष्ट्रपति विद्यादेवी भण्डारी ।
मूलढोकाअगाडिको पृथ्वीनारायण शाहको सालिकसामु सडकमा रातो चकटी बिछ्याइयो । लगत्तै रातो चकटीमाथि उभिइन् राष्ट्रपति भण्डारी । अर्पण गरियो सलामी । राष्ट्रपति भण्डारीले माल्र्यापण गरिन् सालिकमा । त्यतिबेला राज्यका उच्चपदस्थको बाक्लो उपस्थिति थियो । सरकारी खर्चमा यसरी नै सम्झिइयो पृथ्वीनारायणको २९७ औँ जन्म ।
केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको समय ०७२ मै निर्णय भएको थियो, २७ पुसमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने । उक्त कार्यक्रम संयोजनको जिम्मा भने नेपाल प्रज्ञा प्रतिष्ठानलाई दिइयो । त्यतिबेलाको निर्णयअनुसार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको संयोजन गर्ने प्रज्ञाको निम्तामा उच्चपदस्थ भेला हुन्छन्, सिंहदरबारअगाडि पृथ्वीनारायणको सालिक छेउ । प्रतिष्ठानको संयोजनमा २७ पुसलाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन थालेको तीन वर्ष भयो । यो वर्ष पनि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री, मन्त्री, कर्मचारी, पूर्वपदाधिकारी सबै निम्तालु थिए ।
२९७ औँ पृथ्वी जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रम | तस्बिरहरु : भास्वर ओझा
राष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा प्रमुख प्रतिपक्षी कांग्रेसको उपस्थिति थिएन । अनि, उपप्रधानमन्त्री पोखरेल र सञ्चारमन्त्री बाँस्कोटा मात्रै सहभागी भए मन्त्रीहरूका तर्फबाट । “हामीले सबैलाई बोलाएको हो, खोइ किन आउनुभएन, उहाँहरूले जान्ने कुरा भयो,” प्रतिष्ठानका प्राज्ञ सदस्य हेमनाथ पौडेल भन्छन् । ०६३ मा कटौती भएपछि सरकारले घुमाउरो पाराले पृथ्वी जयन्ती मनाइरहे पनि सार्वजनिक बिदा भने दिन सकेको छैन । सञ्चारमन्त्री बाँस्कोटा सरकारले सार्वजनिक बिदा नदिए पनि जनस्तरबाट निरन्तर मनाइने बताउँछन् ।
संघीय सरकारले २७ पुसमा सार्वजनिक बिदा दिएन । तर राप्रपाले जितेका ३ वटा स्थानीय तहले बिदा घोषणा गरे । अनि, काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो २ बजे रापप्राले चियापान कार्यक्रम राख्यो । त्यहाँ पनि पुगे, सरकारी उच्चपदस्थ र कूटनीतिक नियोगका प्रतिनिधि ।
यी दुई दृश्यसँगै देखिएको फरक भने नेकपाको एउटा पक्ष अनि राप्रपाले पृथ्वीनारायणलाई राजीतिक एजेन्डा बनाउन थाले । २७ पुसमा पूर्वमाओवादी नेता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको खास रुचि देखिएन, भलै कांग्रेस २७ पुसमा सार्वजनिक बिदा दिनुपर्ने पक्षमा होस् । संयोग कस्तो पर्यो भने, सरकारको कार्यक्रममा पूर्वमाओवादीका मन्त्रीहरू सहभागी थिएनन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश र २६ पुसमा प्रवचन कार्यक्रमको सहभागिता । तत्कालीन एमाले नेता ओलीसहितको एउटा पंक्तिले भने पृथ्वीनारायणको पक्षमा खुलेर प्रशंसा मात्र गरेन, त्यही प्रशंसाले ओलीलाई ‘राष्ट्रवादी नेता’ अथ्र्याउन पाइरहेका छन् । त्यही छवि निर्माण गर्न ०७३ मा एमालेले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई २७ पुसलाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा दिन दबाब दिएको थियो । ओलीले आफूलाई पृथ्वीनारायणको प्रशंसक भन्ने गरे पनि पछिल्ला शाह राजा र तिनका परिवारका सदस्यले गरेका विवादास्पद क्रियाकलापको भने मान्यता नदिने तर्क गर्छन् । उनले पटक–पटक भनेका पनि छन्, पृथ्वीनारायणको सम्मान गर्नु राजसंस्थाको सम्मान होइन । २६ पुस साँझ शुभकामना सन्देशमा ओलीले भौगोलिक एकतासँगै सांस्कृतिक एकतालाई स्मरण गरेका छन् ।
अर्का अध्यक्ष दाहालले खुलेर प्रशंसा गरेका त छैनन् तर आलोचना पनि कम गर्छन् । अनि, ओलीले जस्तो २७ पुस अवसरमा शुभकामना सन्देश दिँदैनन् । ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ पुसमा शुभकामना सन्देश दिए । ०७२ मा संविधान जारी हुनुभन्दा पहिले तिनै गुरुङ पृथ्वीनारायणका चर्का आलोचक थिए । पहिलो संविधानसभा सदस्य हुँदाताका गुरुङले एकल जातीय पहिचानको मुद्दा बोकेका थिए । त्यसबेला उनको विचारमा पृथ्वीनारायण शाहले एकल जाति र भाषा लादेका थिए । यी परिघटनाले देखाउँछन्– नेकपाभित्र दुई धार छ, पृथ्वीनारायणलाई हेर्ने दृष्टिकोणमा । अर्कोतर्फ राप्रपाले पनि आफ्नो राजनीतिको आडभरोसा पृथ्वीनारायणको नेपाल निर्माणमा खोजेको छ । त्यसैले पार्टीले संस्थागत चियापान आयोजना गर्छ, हरेक वर्ष २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका नाममा । अर्थात्, पृथ्वीनारायण राजनीतीकरण भइरहेका छन् ।
आलोचना र आराधनाको दोसाँधमा उभिएका छन्, पृथ्वीनारायण । पूर्वको लिम्बूसहित जनजाति समुदायका कतिपय व्यक्ति अहिले पनि पृथ्वीनारायणमाथि आलोचनाको कोणबाट टिप्पणी गरिरहेका छन् । राज्य विस्तारका क्रममा उनीहरूले पाएको यातना स्मरण गरिरहन्छन्, त्यसैले कीर्तिपुरस्थित एक ढुंगामा थुकेर त्यतिबेलाको यातना बिर्सन चाहन्छन् । ०६३ पछि शाहलाई विस्तारवादी र साम्राज्यवादी कित्तामा राखेर चर्को आलोचना गर्ने माओवादी नेताहरू मौनतातिर झरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वीनारायणको योगदान स्मरण गर्न थालेका छन्, आलेख र ट्वीटमार्फत । गोरखाको पृथ्वीनारायण नगरपालिकाको नाम परिवर्तन गराई गोरखा नगरपालिका नामकरण गर्ने पूर्वप्रधानमन्त्री भट्टराई स्वयं अहिले पृथ्वीनारायणलाई शुभकामना सन्देश प्रवाहित गरिरहेका छन् । ‘नेपालको भौगोलिक एकीकरणका अग्रणी व्यक्तित्व पृथ्वीनारायण शाहको २९७ औँ जयन्तीको सन्दर्भमा सबैमा हार्दिक शुभकामना । नेपालका विभिन्न जाति, भाषा र संस्कृतिको समान पहिचान र अधिकारसहितको इन्द्रेणी राष्ट्रियता र संघीयताको प्रवद्र्धन गरेर भौगोलिक एकीकरणलाई भावनात्मक एकीकरणमा रूपान्तरण गरौँ,’ भट्टराई ट्वीटरमा लेख्छन् ।
भट्टराईको यही ट्वीटसँग मेल खान्छ, राप्रपा अध्यक्ष कमल थापाको ट्वीट पनि । ‘राष्ट्र निर्माताको योगदानलाई राजनीतिक व्यवस्था र संस्थासँग जोडेर हेर्नु हुँदैन । एकता दिवस मनाउँदा राजसंस्थालाई ‘सपोर्ट’ हुन्छ वा गणतन्त्र कमजोर हुन्छ भन्ने हीन मानसिकताबाट सबै मुक्त हुनुपर्छ । एकता दिवस नेपाली हुनुको गौरवको अभिव्यक्ति हो,’ थापाले लेखेका छन् । कांग्रेसले औपचारिक कार्यक्रम त गरेन, तर सभापति शेरबहादुर देउवाले ट्वीट गरेर सम्झिए पृथ्वीनारायणलाई । उनको ट्वीटमा भनिएको छ, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन तथा राष्ट्रिय एकता दिवसको सबैमा शुभकामना ।’
पृथ्वीनारायण नेपाल एकीकरणका एक्लो नायकत्वभन्दा पनि गोरखा राज्यका विस्तारक हुन् । यही स्वीकारोक्तिले हुनुपर्छ, पछिल्लो एक दशकको पानीढलोमा शाहका चर्का आलोचकको पारो ओर्लिंदै छ । आराधनामा लाग्नेहरू पनि समालोचनात्मक रूपमा व्याख्या गर्नुपर्ने तहमा उक्लेका छन् । उनको विस्तारको योजनाबाटै संयोगले वर्तमान नेपाल निर्माण भएको हो । पृथ्वीनारायणलाई अतिवादी कोणमा आलोचना गर्ने डिग्री कम भएको स्वीकार्छन्, नेकपा नेता नारायणकाजी श्रेष्ठ । नेपालको भौगोलिक पुन: एकीकरणको वास्तविकतालाई स्वीकार्नुपर्ने श्रेष्ठको तर्क छ । “भौगोलिक पुन: एकीकरणको ऐतिहासिक कदमलाई स्वीकारेर वास्तविक राष्ट्र निर्माणमा एकता गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था छ,” श्रेष्ठ थप्छन्, “त्यही आधारमा स्मरण गर्नु सकारात्मक र स्वाभाविक हुन्छ ।”
कांग्रेस नेता विश्वप्रकाश शर्माको भनाइमा, २७ पुसलाई दलीय र राजनीतिक आवरणमा भन्दा पनि नेपालीको उत्सवका रूपमा मनाउनुपर्छ । “पृथ्वीनारायणको नायकत्वमा भएको नेपाल एकीकरणलाई साम्राज्य विस्तारका रूपमा व्याख्या गरेर नकारात्मक धारणा राखियो,” शर्मा भन्छन्, “अहिले बिस्तारै उनीहरूमा बदलाव आएको छ, जुन सकारात्मक छ । यस दिनलाई नेपालीको उत्सवका रूपमा मनाउनुपर्छ ।”
हेर्नुहोस् तस्बिरहरु :
२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित राप्रपाको चियापान | सबै तस्बिरहरु : भास्वर ओझा