सरकार चलाउने कि कारखाना ?
जनकपुर चुरोट कारखानामा उद्योग मन्त्रालय र प्रदेश सरकारको हानथाप
जनकपुर– १३ माघमा सरासर जनकपुर चुरोट कारखाना पुगे, उद्योगमन्त्री मातृका यादव । कारखाना परिसरमै कार्यालय रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर कारखाना क्षेत्रमा मन्त्रालय विस्तार नगर्न सचेत गराए । राउतले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) फेरि सञ्चालनमा ल्याउने प्रदेश सरकारकै निर्णय रहेकाले नहतारिन यादवलाई सुझाए । र, चुनौती दिए, “पहिला अन्य बन्द उद्योग सञ्चालनमा ल्याउनुस् अनि हेरौँला ।”
तत्कालीन सोभियत संघ सरकारले २९ पुस ०२१ मा जनकपुरमा चुरोट कारखाना निर्माण गरेको थियो । ०७० देखि बन्द जचुकालि परिसरमा प्रदेश २ सरकारको मन्त्रालय, आवास र सचिवालय छ । उद्योग मन्त्रालय त्यहाँ फेरि चुरोट कारखाना चलाउने तयारीमा छ । तर प्रदेश सरकार त्यही परिसरबाट मन्त्रालय हाँक्ने अडानमा छ । उद्योग मन्त्रालय र प्रदेश सरकारको खिचातानीमा फसेको जचुकालि परिसर यही निहुँमा राजनीतिमा तानिएको छ ।
उद्योगमन्त्री यादवको जोडबल भने जचुकालि फेरि सञ्चालन गर्नुमा छ । “म काठमाडौँबाट फ्याक्ट्री हेर्न लगानीकर्तालाई पठाउँछु । यहाँ सबै ठाउँमा प्रदेश सरकारको बोर्ड मात्र झुन्डिएको हेर्छन्,” यादव भन्छन्, “कारखानाको बोर्ड फ्याँकेर प्रदेश सरकारको बोर्ड झुन्ड्याइएको छ । सल्लाहै नगरी सचिवालय थपेको थप्यै छ ।”
उद्योग मन्त्रालयका अनुसार प्रदेश २ को सरकारलाई जचुकालिको आवासीय क्षेत्र मात्र प्रयोग गर्न अनुमति दिइएको छ । तर कारखाना क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राखिएको छ । जचुकालिका डेपुटी महाप्रबन्धक बस्ने कार्यालयलाई मर्मतसम्भार र रंगरोगन गरेर मुख्यमन्त्रीको कार्यालय सारिएको छ । त्यससँगै रहेको क्यान्टिनमा मुख्यमन्त्रीको महत्त्वाकांक्षी योजना ‘बेटी बढाऊ, बेटी बचाऊ’ को कार्यालय सार्ने तयारी भइरहेको छ ।
मन्त्री भर्सेस मुख्यमन्त्री
धनुषा गृहजिल्ला रहेका उद्योगमन्त्री यादव भने जचुकालि सञ्चालन गरेरै छाड्ने अडानमा छन् । उनी तीन चिनियाँ र दुई भारतीय निजी कम्पनीसँग कारखाना सञ्चालनबारे छलफलमा छन् । जचुकालि फेरि सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा मधेसवादी दलका उपल्ला नेता पनि सहमत रहेको दाबी गर्दै मन्त्री यादवले प्रदेश सरकार सञ्चालनमा बाधक बनेको आरोपसमेत लगाएका छन् । “प्रदेश सरकारलाई जचुकालिबाट मन्त्रालय हटाऊ भनेर मलाई मधेसीविरोधी कहलिनु छैन,” उनी भन्छन्, “मुख्यमन्त्री र मन्त्रीहरू पढेलेखेका बुझ्ने मान्छे हुन् । आफैँ विचार गर्लान् ।”
४ जेठ ०७४ मा मन्त्रिपरिषद्ले जचुकालिको नाममा रहेको ३३ बिघा ३ कट्ठा १२ धुर जग्गा, भवन, भौतिक संरचना, उपकरण तथा अन्य सम्पूर्ण भौतिक सामग्री संरक्षण र सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश २ को उपयोग, प्रयोजनका लागि पछि सम्बद्ध निकायबाट निर्णयबमोजिम हुने गरी हाललाई जिल्ला प्रशासन कार्यालय धनुषालाई प्रदान गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले मन्त्रिपरिषद्को यही निर्णयलाई टेकेर जचुकालिको परिसर आफ्नो अधीनमा रहेको दाबी गरिरहेको छ । उद्योग मन्त्रालय र प्रदेश सरकार दुवैले जचुकालि आफ्नो कार्यक्षेत्रमा पर्ने दाबी गर्दा किचलो बढेको छ ।
प्रदेश २ को सरकारको भूमि व्यवस्थापन, कृषि र सहकारी मन्त्रालयबाहेक सबै ५ वटा मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रमुख न्यायाधिवक्ताको कार्यालय, नीति आयोगको कार्यालय र निवास जचुकालिकै परिसरमा छ । जचुकालिको कारखाना क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ । मुख्यमन्त्रीको कार्यालय साँघुरो भएपछि कारखानाको क्यान्टिनलाई मर्मतसम्भार गरेर फराकिलो बनाउन लागिएको छ ।
प्रदेश २ का मुख्यमन्त्री राउत भने उद्योगमन्त्री यादव मुनाफाखोरी मनसायले जचुकालि खाली गराउने सोचमा रहेको आरोप लगाउँछन् । प्रदेश २ को सरकारले कात्तिकमा जचुकालि परिसरको नाम मधेस भवन राखेपछि उद्योग मन्त्रालयले आपत्ति जनाइसकेको छ ।
चल्छ त जचुकालि !
जनकपुर चुरोट कारखाना | तस्बिर : अजित तिवारी
लामो समयदेखि बन्द जनकपुर चुरोट कारखाना सञ्चालनका लागि ५ विदेशी कम्पनीले इच्छा देखाएको उद्योग मन्त्रालयको दाबी छ । तीन चिनियाँ र दुई भारतीय निजी कम्पनी जचुकालि सञ्चालनका लागि इच्छुक रहेको उद्योगमन्त्री यादवको भनाइ छ ।
सरकारले जचुकालिलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा ल्याउन तयारी थालेको हो । जचुकालि सञ्चालन गर्न इच्छा देखाएका चिनियाँ र भारतीय कम्पनीको नाम नखोले पनि ती तिनीहरू जनकपुर आएरै तीन पटक कारखाना हेरेर फर्किएको उद्योगमन्त्रीको दाबी छ । “चिनियाँ र भारतीय कम्पनी जचुकालि सञ्चालन गर्न सकारात्मक छन्,” मन्त्री यादव भन्छन्, “चिनिया कम्पनीको प्राविधिक टोली फेरि आउँदैछ । त्यसपछि जचुकालि सञ्चालनको टुंगो लाग्नेछ ।”
उद्योगमन्त्रीका अनुसार जचुकालि फेरि सञ्चालनमा ल्याउन सरकारले दुइटा मोडलमा गृहकार्य गरिरहेको छ । पहिलो, निजी कम्पनीलाई सञ्चालन जिम्मा दिने । दोस्रो, लिजमा सञ्चालन गर्ने । “जचुकालिको पँुजी सेयरमा बदलेर पनि कारखाना सञ्चालनमा ल्याउन सकिन्छ,” उनी भन्छन्, “अर्कोचाहिँ कारखानाको सम्पत्ति भाडामा दिएर पनि सञ्चालनमा ल्याउन सकिन्छ ।”
यादव मन्त्री भएपछि कारखाना सञ्चालनमा ल्याउनकै लागि जचुकालिको ५ करोड रुपैयाँ बक्यौता मन्त्रालयले भुक्तानी गरिसकेको छ । “जचुकालि सञ्चालन गर्न थुप्रै विदेशी कम्पनी आएका छन्,” उनी भन्छन्, “यहाँ उत्पादन भएको चुरोट विदेशमा बिक्री हुनेछ । सरकारले चुरोट कारखाना नचलाउने निर्णय नगरेकाले फेरि चलाउँदा विरोध गर्नुको तुक छैन ।”
त्यसो त, मन्त्री यादव जचुकालि चलाउन कम्मर कसेर लागे पनि त्यहाँ रहेका मेसिन र उपकरण कामै नलाग्ने अवस्थामा छन् । निर्माता कम्पनी रुसले जचुकालिको ९० प्रतिशत मेसिन र उपकरण काम नलाग्ने भएको दाबी गरेको छ । तर मन्त्री यादव नयाँ मेसिन थपेर भए पनि कारखाना चलाएरै देखाउने दाबी गर्न छाड्दैनन् ।
‘प्रधानमन्त्रीलाई रिपोर्ट गर्छु’
–मातृका यादव | उद्योगमन्त्री
उद्योगमन्त्रीमा नियुक्त भएलगत्तै प्रदेश २ का मुख्यमन्त्रीसित जचुकालि सञ्चालनबारे कुराकानी गरेँ । उनले आफ्नो सरकारले पनि जचुकालि सञ्चालन गर्ने निर्णय गरेको सुनाए । खुसी लाग्यो । प्रदेश सरकारको सचिवालयका लागि विकल्प नभएसम्म जचुकालिको आवासीय क्षेत्र प्रयोग गर्न भनेँ । पछि आउँदा त कारखानाको बोर्ड फ्याँकेर मुख्यमन्त्री कार्यालय लेखिएको बोर्ड राखिएको हेर्दा अचम्म लाग्यो । अहिले क्यान्टिन पनि प्रयोग गर्न थालिएछ ।
सल्लाहै नगरी सरकारले जचुकालि परिसरमा आफ्नो कार्यालय फैलाउन थालेको छ । फेरि मुख्यमन्त्रीसँग कुरा गरेँ । उनले पहिलो वीरगन्जको चिनी मिल सञ्चालन गर्न भने । प्रदेश सरकारको बोर्ड हटाउँदा मातृका संघीयता र मधेसीविरोधी भने सन्देश जान्छ । म आफैँ केही नबोले पनि जचुकालिको सन्दर्भमा प्रधानमन्त्रीलाई रिपोर्ट बुझाउँछु ।
प्रदेश सरकारले जचुकालि परिसर जबर्जस्ती कब्जा गरेको छ । उद्योगमा प्रदेश २ पछाडि छ । त्यसैले जचुकालि चलाउन खोजेका हौँ । यसले रोजगार बढ्छ । प्रदेश सरकारले जचुकालि परिसरको नाम सल्लाहै नगरी मधेस भवन राखेको हो ।
‘मन्त्रिपरिषद्को निर्णय हेरे हुन्छ’
–लालबाबु राउत | मुख्यमन्त्री, प्रदेश २
शेरबहादुर देउवा सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयबाट जचुकालिलाई प्रदेश २ मातहत ल्याइएको हो । सरकारले जचुकालिको चल–अचल दुवै सम्पत्ति प्रदेश मातहत सारेको छ । मातृका यादवजीमा ज्ञानको कमी छ । उनलाई क्याबिनेटले गरेको निर्णयको जानकारी नहोला । त्यसैले मेरो आग्रह छ, एक पटक क्याबिनेटको निर्णय हेर्नुस् । प्रदेश सरकारको सबै मन्त्रालय, कार्यालय, आवास र सचिवालय जचुकालिमै छन् । ती कहाँ राख्ने ? अस्थायी राजधानी भए पनि प्रदेश सरकारको सचिवालय त चाहियो नि । मातृकाजीले जचुकालि पीपीपी मोडलमा चलाउन खोजेका छन् । अहिलेसम्म नेपालमा पीपीपी मोडल भनेको पब्लिक/प्राइभेट पार्टनरसिप नभएर पब्लिक/प्राइभेट पचाऊजस्तो बनेको छ । प्रदेश सरकारलाई यो स्वीकार्य हुँदैन ।
कारखाना लिजमा दिएर हिनामिना गर्न दिने पक्षमा प्रदेश सरकार छैन । साँच्चै कारखाना चलाउने हो भने चलाऊ । त्यो स्वागतयोग्य हुनेछ । तर जचुकालि फेरि चलाउने मातृकाजीको वहाना मात्रै हो । उनी सार्वजनिक सम्पत्ति लिजमा लिएर फाइदा उठाउने मनसायमा छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...