प्रधानमन्त्रीको स्वास्थ्यमा राजनीति
बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका यस्ता अनेकौँ अड्कलबाजी फेल खाएका छन् ।
तत्कालीन एमालेको नवौँ महाधिवेशनको पूर्वसन्ध्यामा नेता भीम रावलले २५ जेठ ०७१ सालमा नेपालगन्जमा आफ्नो गुटको भेलामा पार्टी अध्यक्षका प्रत्यासी केपी ओलीको स्वास्थ्यबारे बोलेका थिए, '१४ वर्ष जेल बसेका ओलीजीप्रति मेरो सम्मानै छ । तर अब उहाँ पहिलेजस्तो सक्रिय हुन सक्नुहुन्न । संक्रमणको जोखिमले स्प्रे गरेको मञ्चमा सीसाभित्रबाट बोल्नुपर्छ । कार्यकर्ताले हात मिलाउनसमेत पाउँदैनन् । हाम्रोजस्तो गतिशील पार्टी त्यस्तो अध्यक्षबाट चल्दैन ।"
बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका यस्ता अनेकौँ अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका ओली ०७४ सालका स्थानीय तह, संघ तथा प्रदेश निर्वाचन परिचालनको कमान्डर मात्र भएनन्, सम्भवतः सबैभन्दा धेरै खटिए । माओवादीसँग चुनावी गठबन्धन बनाए । अन्ततः उसैसँग पार्टी एकता गरेर झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका छन् ।
एमालेको नवौँ महाधिवेशनको सरगर्मी उत्कर्षमा पुग्दा अध्यक्षका मुख्य दाबेदार ओली भने मस्तिष्क ज्वरोले थलिएका थिए । एक महिना बैंककमा उपचार गराइरहँदा उनको स्वास्थ्यबारे दुई गुटले आ-आफ्नै ढंगले अड्कलबाजी गरे । त्यही क्रममा माधव नेपाल प्यानलबाट उपाध्यक्षका प्रत्यासी रावलको उक्त अभिव्यक्ति आएको थियो । त्यसको प्रतिवाद गर्दै ओली निकट महेश बस्नेतले जवाफ फर्काएका थिए, 'उहाँ निको हुनुहुन्छ । महाधिवेशनसम्म सञ्चो नभए स्ट्रेचरमै राखेर भए पनि अध्यक्ष बनाइन्छ ।'
काठमाडौँ र भारतका अस्पतालमा निको नभएपछि ओलीलाई एयर एम्बुलेन्सबाट बैंकक पुर्याइएको थियो । त्यहाँ उनले झन्डै एक महिना उपचार गराए । स्वदेश फर्किएपछि उनले भनेका थिए, "मलाई सरकार, पार्टी र शुभेच्छुकले धेरै ऋण लगाउनुभएको छ । राम्रो काम गरेर उहाँहरूको ऋण चुक्ता गर्नेछु ।" महाधिवेशनमा ओलीलाई झापा आन्दोलनकालीन नेताहरू मुकुन्द न्यौपाने, प्रदीप नेपाल, मोहनचन्द्र अधिकारीहरूले पनि सघाएका थिए । नेता नेपाल भन्छन्, "केपीको मनमा एक पटक पार्टी अध्यक्ष हुने ठूलो धोको थियो । त्यो पूरा गर्न सके उनको आयु लम्ब्याउन सकिएला भनेरै हामीले लबिइङ गरेका हौँ । भयो पनि त्यस्तै ।"
नवौँ महाधिवेशनबाट अध्यक्ष् चुनिएपछि १ साउन ०७१ सालमा पार्टी कार्यालय बल्खुमा ओलीले अर्को भावुक अभिव्यक्ति दिएका थिए, 'सम्भवतः कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔँला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति सजग छु ।' आफ्नो सम्पूर्ण सामथ्र्य, ऊर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित हुने उनले प्रतिबद्धता जनाएका थिए ।
नेता प्रदीप नेपाल महाधिवेशनमा आफूहरूले झलनाथ खनाल र माधव नेपाल पार्टी प्रमुख भइसकेकाले एकपल्ट ओलीलाई नेतृत्व छाड्न आग्रहसमेत गरिएको सम्भिmन्छन् । तर अर्को प्यानलले नमानेपछि प्रतिस्पर्धाबाटै ओलीलाई अध्यक्ष बनाउन सघाउनुपरेको उनी बताउँछन् । भन्छन्, "ओलीबाट पार्टी संगठनमा योभन्दा धेरै काम होला भन्ने त सोचिएकै होइन । राष्ट्रिय स्वाभिमानको रक्षा र संविधान कार्यान्वयनमा भने ऐतिहासिक काम भएका छन् ।"
यद्यपि ओलीले २१ माघ ०७० सालको पार्टी संसदीय दलको निर्वाचनबाट नेतृत्वमाथि हस्तक्षेप बढाउँदै ल्याएका थिए । त्यतिबेला उनी पार्टी अध्यक्ष झलनाथ खनाललाई २३ मतको अन्तरले हराउँदै १ सय ७३ सदस्यीय एमाले संसदीय दलका नेता निर्वाचित हुन पुगे । उनलाई नेता वामदेव गौतमको साथ थियो । त्यतिबेला ओलीले गौतमलाई आफू अध्यक्ष भएपछि संसदीय दल र प्रधानमन्त्री बनेपछि कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएका थिए ।
अध्यक्षका प्रत्यासी ओलीको बिग्रेको स्वास्थ्यस्थितिमा महाधिवेशन प्रतिनिधिलाई आश्वस्त पारेर चुनाव जित्नु उनको गुटका लागि ठूलो चुनौती थियो । मुख्य सहयोगी बनेका गौतमको विचार नेपाल समूहका नेता घनश्याम भूसालसँग मिल्थ्यो । तैपनि उनले ओलीलाई छाडेनन् । ओलीलाई भोट दिन आनाकानी गर्ने पूर्वमाले समूहका प्रतिनिधिलाई गौतमले भनेका थिए, "बरु मलाई भोट नदिए हुन्छ, ओलीलाई दिनू । ओलीले जित्नु मैले जितेसरह हो ।" त्यसो भन्नुको पछाडि ओली अध्यक्ष भएपछि आफूले कार्यवाहक अध्यक्ष पाउने गौतमको अपेक्षा थियो । ओलीको खस्किँदो स्वास्थ्य रिपोर्टसमेत देखाएर गौतमले निकटस्थलाई आश्वस्त पारेका थिए ।
एमालेको नवौँ महाधिवेशनदेखि नेकपासम्म आइपुग्दा राजनीतिक दाउपेच र रणनीति ओलीको स्वास्थ्यस्थितिबारे गरिएका अड्कलबाजी वरपरै घुमिरहेको छ । ५ भदौको सचिवालय बैठकमा ओली र वरिष्ठ नेता नेपालबीचको भनाभनको भित्री कारण पनि उनको स्वास्थ्यसम्बन्धी टीकाटिप्पणी नै थियो । नेपाल समूहभित्र उनको स्वास्थ्यबारे नवौँ महाधिवेशनदेखि नै नकारात्मक टीकाटिप्पणी हुँदै आएको ओली समूहको दाबी छ । ओलीको स्वास्थ्यलाई लिएर कांग्रेस सांसद गगन थापाबाट १८ भदौको प्रतिनिधिसभामा अभिव्यक्तिपछि सत्ता-प्रतिपक्ष सवालजवाफमै उत्रिए । थापाले भनेका थिए, 'प्रधानमन्त्री बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौँ ? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस् । हामी हाम्रो बालाई त्यसो भन्छौँ तर हाम्रा प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौँ ?' सत्तापक्षका सांसदले भने ओलीको स्वास्थ्यभित्र आफ्नो भविष्य नदेख्न चेतावनी दिँदै थापाको प्रतिवाद गरेका थिए ।
ओलीको स्वास्थ्यस्थिति आकलन गर्दै नेकपाभित्र उत्तराधिकारीसमेत खोजी हुन थालेको छ । पछिल्लो समय नेता गौतमलाई पार्टी उपाध्यक्ष र संगठन विभाग प्रमुख बनाउनु र कास्की-२ बाट उपनिर्वाचनको प्रस्ताव गरिनुलाई त्यसैको पूर्वभ्यासका रूपमा हेर्नेहरू पनि छन् । राजनीतिक लाभ र हानिलाई हेरेर नवौँ महाधिवेशन अघिदेखि तत्कालीन एमालेमा ओलीको स्वास्थ्यलाई राजनीतिसँग जोड्ने प्रवृत्ति देखिएको नेकपा नेता प्रकाश ज्वाला बताउँछन् । "यसबीचमा अध्यक्ष ओलीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी, अनुमान र अपेक्षा गरिए । त्यसैसँग राजनीतिक समीकरण र रणनीति बनाइए," उनी भन्छन्, "मान्छेको स्वास्थ्यको के अनुमान हुन्छ र ? आज ठीक छ, भोलि के हुन्छ । त्यसैले नेताको स्वास्थ्य र राजनीतिलाई जोड्नु बेठीक मात्र होइन, अमानवीय पनि हो ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...