सम्बोधन 'तिमी' लाई...
अहिले पनि मिडियाले परिस्थिति हेरेर आदरार्थी शब्द प्रयोग गर्ने गरेका छन्। फरक–फरक मिडियामा मात्र होइन, एउटै मिडियामा पनि सम्बोधनमा एकरूपता छैन ।
अहिले नेपाली समाज र सामाजिक सन्जाल हेर्यौँज भने सभ्यताका पर्खाल भ्वाङभुङ भत्काइएको छ । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ र अर्काको एउटा ‘यू’ भन्ने शब्द लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्छ । ‘पैसावाला, डलरवाला, युरोवालाहरू ‘यू’ ले काम चलाउँछन्, किन काम नचल्ने ? सभ्यता त त्यो रहेछ’ भन्ने भ्रम परेको छ । सानालाई तिमी र ठूलालाई तपाईं भन्ने स्वाभाविकै हो । भाषा, समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, मर्यादा हुन्छ । तर हामी त्यो बिर्सन खोज्दैछौँ । - प्रधानमन्त्री केपी ओली, २८ असोज मंगलबार (नेपाल प्रज्ञाप्रतिष्ठान)
प्रधानमन्त्री केपी ओलीलाई मिडियाले कसैलाई ‘उनी’ भनेको फिटिक्कै मन परेको छैन । ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन’, प्रधानमन्त्रीले यसो भनेको पहिलोपल्ट होइन ।
‘नेपालीमा तपाईं भन्ने चलन हुन्छ ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी, हजुरआमालाई तिमी ! यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन,’ चार महिनाअघि पनि उनले भनेका थिए ।
गत ३ असारमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध गरी बोल्न नदिएपछि सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सञ्चारमाध्यमले प्रयोग गर्ने भाषाबारेयस्तो टिप्पणी गरेका थिए । त्यतिबेला उनको भनाइ थियो, ‘हाम्रो समाज त एउटा शिष्ट, सभ्य, मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो ।’
टेलिभिजनबारे यति बोलेर ओलीले समग्र मिडियालाई प्रहार गरे । ‘हाम्रो सञ्चार माध्यमले भाषा संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ हउ ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी, हजुरआमालाई तिमी ! यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन ।’
पछिल्लोपल्ट २८ असोजमा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ मा पनि प्रधानमन्त्रीको चिन्ता मिडियाले भाषा बिगारे भन्नेमा मात्र सीमित थिएन, सामाजिक सन्जालले सभ्यताका पर्खालहरू नराम्ररी भत्काए भन्ने उनको दाबी थियो । मिडियाले सबैलाई ‘तिमी’ भनेर भाषा बिगारे भन्ने उनको चिन्ता त छँदैछ । पश्चिमा (प्रधानमन्त्रीकै भाषामा डलरवाला, युरोवाला) हरूको अभ्यासलाई नै नेपालमा सभ्यता ठानिएको दोस्रोपल्ट प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सुनाएका थिए ।
‘तपाईं...तिमी...’
पाँच महिने अन्तरमा प्रधानमन्त्रीले दोस्रोपल्ट यसो किन भने ? जवाफ खोज्नुभन्दा पहिला उनको भनाइलाई ‘रिफ्रेज’ गर्नुपर्नेहुन्छ । समाचारमा कसैलाई सीधा ‘तिमी’ भनिँदैन । बरु अप्रत्यक्ष रूपमा उद्धृत गर्दा ‘उनी’ भनिन्छ ।
नेपाली बृहत् शब्दकोषमा ‘उनी’ लाई ‘मध्यम आदरार्थी शब्द’ र ‘तिमी’ लाई ‘तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द’ भनी अर्थ्याइएको छ ।
नेपाली मिडियाले कहिलेदेखि समाचारमा कसैलाई उद्धृत गर्दा ‘उनी’ लेख्न थाले त ?अधिकांश मिडियाले ०६२/६३ को जनआन्दोलनपछि अप्रत्यक्ष रूपमा उद्धृत गर्दा आदरार्थी शब्द हटाउन थालेको देखिन्छ । तर त्यसअघि पनि यो चलन छँदै थिएन भन्ने होइन ।
साउथ एसिया फ्याक्ट चेकको अध्ययनअनुसार ०५६ सालअघिदेखि नै पत्रपत्रिकामा ‘उनी’ सम्बोधन प्रयोग भइरहेको थियो । हिमाल खबरपत्रिकाले१६ चैत ०५८ देखि राजनीतिज्ञहरूलाई ‘उनी’ भन्न थालेको थियो ।
०६२/६३ को आन्दोलनपछि ‘आदरार्थीको विभेद हटाउन’ समाचारमा सबैलाई एउटै सम्बोधन गर्न थालेको कान्तिपुर दैनिकमा दुईपटक प्रधानसम्पादक रहेका नारायण वाग्ले सम्झन्छन् । कान्तिपुरले 'उहाँ' छोडेर 'उनी' लेख्न थाल्दा वाग्ले यसका प्रधानसम्पादक थिए । “लोकतन्त्र भनेको न्याय र समानता हो भने किन मान्छेलाई फरक–फरक सम्बोधन गर्ने भनेर सुरु भएको हो,” वाग्ले भन्छन् ।
बीबीसी नेपालीले पनि यही समयताका अप्रत्यक्ष सम्बोधनका क्रममा ‘उहाँ’ भन्न छाडिसकेको थियो । लामो समय बीबीसी नेपालीमा प्रमुख रहेर हाल साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र ‘राजा, राष्ट्रपति, प्रमदेखि सामान्य नागरिकसम्म सबैलाई प्रत्यक्ष संवादमा ‘तपाईं’ र अप्रत्यक्ष उल्लेख गर्नुपर्दा ‘उनी’ प्रयोग गर्ने निर्णय गरेको सम्झन्छन् । “पत्रकारिताको दृष्टिकोणबाट त्यो उपयुक्त हो भन्ने हामीलाई लागेको हो,” मिश्र भन्छन् । ‘प्रधानमन्त्रीले बोल्नै नमिल्ने कुरा बोलेको’ भन्दै उनले प्रतिटिप्पणी गर्न रुचि देखाएनन् ।
अहिले पनि मिडियाले परिस्थिति हेरेर आदरार्थी शब्द प्रयोग गर्ने गरेका छन् । फरक–फरक मिडियामा मात्र होइन, एउटै मिडियामा पनि सम्बोधनमा एकरूपता छैन ।
ओली आपत्तिको अर्थ
पत्रकारिताका प्राध्यापक पी खरेल प्रधानमन्त्रीको आशय सही रहे पनि भन्ने ठाउँसही नभएको बताउँछन् । उनी प्रधानमन्त्रीलाई चित्त नबुझेको कुरा लिएर प्रेस काउन्सिल जान सुझाउँछन् । “(ओलीले) आफूलाई परेपछि चित्त दुखाउनुभएको हो । १३ वर्ष भइसक्यो, सञ्चारमाध्यमले तिमी भनेको । हामीलाई त बानी परिसक्यो,” खरेल भन्छन्, “तर उहाँ यो कुरा लिएर प्रेस काउन्सिल जानुपर्यो । उहाँ आफैँले नियुक्त गरेका प्रेस काउन्सिलका पदाधिकारीले सम्पादन गर्ने अखबारमा के लेखिन्छ पनि हेर्नुपर्यो ।”सबैलाई समान भनिएको समयमा ‘हजुर, तपाईं’ खोज्नु पुरातनवादी हुने उनको तर्क छ ।
समान हिसाबले सम्बोधन गरेको कतिपयलाई कहिल्यै मन नपरेको अनुभव सुनाउँछन्, हाल बाह्रखरी अनलाइनका कार्यकारी सम्पादक रहेका गोविन्द अधिकारी । ‘सबैलाई तिमी लेख्न थालेको समान सम्मानका लागि हो । आफूलाई ‘मोर इक्वेल’ ठान्नेहरूको चित्त उतिबेला पनि बुझेको थिएन’, ट्वीटरमा उनको टिप्पणी छ ।
पत्रकार ध्रुवहरि अधिकारीको बुझाइमा मिडियाले सबैलाई समानार्थी सम्बोधन गरेजस्तो देखिए पनि यो व्यावहारिक छैन । “तपाईं एकछिनअघि भन्नुहुन्छ– यस विषयमा तपाईंको धारणा के हो ? र, ऊसँगको कुरा सकिएपछि पाठकलाई भन्नुहुन्छ– उनी फलाना हुन्,” बीबीसी, रोयटर्ससहित अन्तर्राष्ट्रिय समाचार संस्थामा पत्रकारिताको अनुभव सँगालेका अधिकारी भन्छन्, “एकछिनअघि तपाईं र एकछिनपछि तिमी त झन् ढोङ भयो ।” हरेक भाषाको विशिष्ट पहिचान र मर्यादासूचक शब्द तथा शैली हुने तर्क गर्दै अधिकारी सजिलोका नाममा अरू भाषाको हुबहु नक्कललाई स्वाभाविक मान्न नसकिने बताउँछन् ।
प्रधानमन्त्री पटक–पटक किन मिडियाको भाषामा टिप्पणी गर्छन् ? वाग्लेको बुझाइमा प्रधानमन्त्री ओली आफ्नो सीमाभन्दा माथि गएर बोल्न रमाइलो मान्छन् । “संसद्मा दुई तिहाइ छ, मुलुकभरको माहोल ओलीकै पक्षमा छ । उनको आलोचना गर्ने पनि त्यो कि मिडिया हो कि विद्वत्वर्ग हो । तिनलाई त्रासमा राख्नुपर्छ भन्ने मनोविज्ञान ओलीको देखिन्छ,” उनी भन्छन् ।
समानता र न्यायका पक्षधरलाई गुनासो नहुनुपर्ने भन्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकाल प्रधानमन्त्रीको गुनासोप्रति व्यंग्य गर्छन् । ‘पत्रकारिताको भाषाले राजादेखि रंकसम्मलाई समान दर्जामा राख्छ । समानता र न्यायका पक्षधरलाई यसमा गुनासो नहुनुपर्ने हो,’ उनले ट्वीटरमा लेखेका छन् ।
वाम विश्लेषक नरेन्द्रजंग पिटरको बुझाइमा ओलीको अपेक्षा शासकहरू लोकतान्त्रिक हुन नसक्नुको परिणाम हो । “राजनीतिक रूपमा त सामन्तवाद अन्त्य भयो तर स्वभाव भने सामन्ती संस्कृतिबाट मुक्त हुन सकेन,” पिटर भन्छन्, “शासकहरूको आचार, विचार र आचरण सामन्त भएपछि भाषा पनि अभिजातवर्गीय अपेक्षा गर्नु स्वाभाविक हो ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...