जनतामाथि चलाइएको विकासको डोजर
मेयर थापा मान्छेमाथि डोजर चलाएर विकास नहुने टिप्पणी गर्छन् । भन्छन्, “हामीले त जथाभावी गर्ने निर्माण समिति नै बन्द गर्न भनेका थियौँ ।
काठमाडौँ– बाटो खन्दै गरेको डोजर (एक्साभेटर) ले एक महिलालाई आक्रमण गर्छ । ती महिलालाई माटो सोहोरेझैँ बकेटले सोहोर्छ, कान्ला मुनी फ्याँक्छ । सिनेमाको दृष्यझैँ लाग्ने यो घटना बैतडी जिल्ला, दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकको हो ।
ग्वाल्लेककी गौरा जोशी ४ कात्तिकमा घाँस काट्न जाने तयारीमा थिइन् । घर नजिकै आफूहरूको जग्गासमेत पर्ने क्षेत्रमा अचानक डोजरले खन्न थाल्यो । उनीसहितका स्थानीय हतारिँदै त्यसतर्फ लागे, सडक खनिरहेको डोजरलाई रोक्न । तर गौरा उल्टै अचेत हुने गरी डोजरको आक्रमणमा परिन् । भाउजुलाई डोजरले हुत्याएर घाइते बनाएपछि तल कुद्छन् सुरेन्द्रप्रसाद जोशी । उनीमाथि ढुंगा प्रहार हुन्छ । यसरी डोजरले मान्छे आक्रमण गर्ने चालक हुन् देहीमाडौँका किशोर बोहरा । उनी प्रहरी नियन्त्रणमा छन् ।
दशरथचन्द नगरपालिकाको ग्वाल्लेकको सुण्नाखानदेखि पार्ससम्म सडक बनाउने काम भइरहेकोमा ग्वाल्लेकको करिब ५ सय मिटर क्षेत्रमा लामो समयदेखि विवाद थियो । सडक बनाउने भनिएको क्षेत्रमा पर्ने १५/१६ घरपरिवारको जग्गाको अंशवण्डा बाँकी रहेको र केही गुठीको जमिन समेत रहेकाले स्थानीयले समय दिन माग गरेका थिए ।
दशरथचन्द नगरपालिकाका मेयर नरेद्रसिंह थापाको भनाइमा स्थानीयको मागअनुसार तिहार पश्चातमात्र सडक विस्तारको काम थाल्ने सहमति भएको थियो । यसअघि २२ असोजमा सडक खन्न आएको डोजर पनि स्थानीयको आग्रहअनुरुप नै फिर्ता भएको थियो । सडक विस्तारका लागि वडा कार्यालयले ४ लाख बजेट छुट्याएको छ ।
तर सहमतिविपरीत निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीको निर्देशनमा सडक खन्न डोजर आइपुग्यो । ग्वाल्लेककी गोमती जोशीको भनाइमा सुरुमा स्थानीयले ‘केही समय दिनुस्, अहिले सडक नखन्नुस्’ भनेर हात जोडे पनि निर्माण समिति मान्न तयार भएन । स्थानीयको अवरोधका बाबजुद डोजर चलेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भयो । “अवरोध हुन्छ भनेर थाहा भएर नै होला, डोजरसहित २५/३० जना आएका थिए,” गोमती भन्छिन्, “यहाँका ४/५ जनामात्र थियौँ, हामीमाथि आक्रमण गरे । तर अस्पताल गएर पट्टी गराउँदै उल्टै हामीमाथि दोष थुपारेका छन् ।”
गौरालाई डोजरले आक्रमण गरेपछि स्थानीयबासी थपिए र अर्काे समूहसँग ढुंगा हानाहान भयो । भाउजुलाई बचाउन गएका सुरेन्द्रको दाहिने कान क्षेत्रमा चोट लागेको छ । गौरा अचेत भइन् । डडेल्धुरामा रहेका उनका पति जगदीश जोशी घटना भएको थाहा पाउने बित्तिकै बैतडी पुगे । जिल्ला अस्पताल बैतडीमा उपचार गरी उनलाई थप उपचारका लागि धनगढी पुर्याइयो । पत्नी गौराको धनगढीको माया मेट्रो अस्पतालबाट पनि रिफर भएर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर गइरहेका जगदीशले नेपालसँग भने, “बाहिर त ठूलो चोटपटक देखिँदैन, डोजरले नै तानेर पछारेकाले भित्री शरीरमा चोट लागेको अनुमान छ, अब कोहलपुरमा थाहा हुन्छ ।” उनी ५ असोज बिहानमात्र धनगढीमा रहेको माया मेट्रो पुगेका थिए ।
बैतडीको दशरथ चन्दमा सडक खन्नेक्रममा मुअम्बाको विवादहुँदा स्थानीयलाइ यसरी पेलियछ । मानवीयता सकिएको हो ? pic.twitter.com/PDBMKUn7A3
— Bhuwan Thapa (@nepalibabuu) October 21, 2019
सोही घटनामा घाइते भइ गौरासँगै उपचारका लागि कोहलपुर गइरहेका सुरेन्द्र आफूमाथि ढुंगाप्रहार भएको बताउँछन् । घटनामा सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका पनि घाइते भएका छन् । ६ जना जिल्ला अस्पताल बैतडीमा उपचार पश्चात फर्किसकेका छन् ।
मेयर थापा मान्छेमाथि डोजर चलाएर विकास नहुने टिप्पणी गर्छन् । भन्छन्, “हामीले त जथाभावी गर्ने निर्माण समिति नै बन्द गर्न भनेका थियौँ । मनोमानी ढंगबाट डोजर चल्यो।”
बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डे पीडितपक्षबाट जाहेरी नआए पनि चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको बताउँछन् । डोजर चालक बोहराले ‘डोजर सञ्चालक भानदेव जाेशीले बाटो खन्न भनेपछि आफू गएको’ बयान दिएका छन् । ढुंगा प्रहार भएपछि आफूले केही नदेखेको र आक्रमणमा महिला परेपनि नियतबस नगरेको’ प्रहरीलाई बयान दिएका छन् । घटनाबारे निर्माण समितिका अध्यक्ष जोशीको मोबाइलमा सम्पर्क गर्न खोज्दा ‘स्वीच अफ’ थियो।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...