महरामाथिको अभियोग पत्र कति बलियो ?
सीसीटीभी फुटेज, चस्माको सिसा र फ्रेम, पीडितको घाउचोट, प्रहरीलाई १०० मा गरेको फोन, मोबाइल म्यासेज प्रमाण

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भयो, १४ कात्तिकमा । भोलिपल्ट जिल्ला अदालतका १ नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा अदालतका कर्मचारीले बयान लिए ।
महरा देशको पाँचौँ महत्त्वपूर्ण पदमा आसीन थिए । उनले दुव्र्यवहार नभएको दाबीसहित १४ असोजमा पदबाट राजीनामा दिए पनि हाइप्रोफाइल केस अघि बढेको हो ।
१२ असोजमा संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयासको जाहेरीपछि १९ असोजमा सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको थियो । ८ कात्तिकमा महरामाथि करणी उद्योगमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस भएको थियो । त्यसको ८ दिनपछि मात्र प्रहरी प्रतिवेदनमाथि गहन अध्ययनपछि सरकारी वकिल कार्यालयले बलात्कार प्रयास (जबर्जस्ती करणीको उद्योग) को आरोपमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । १५ कात्तिकमा बयान मात्र भएकाले १७ कात्तिकमा थुनछेक बहस हुनेछ ।
सरकारी वकिलले अभियोग पत्र कत्तिको बलियो बनाएका छन् त ? ३६ पृष्ठ विस्तृत अभियोग पत्रमा किटानी जाहेरी दिने 'नयाँ बानेश्वर २६' (सरकारी वकिलको कार्यालयले दिएको कोड नाम) महराले मुखमा बारम्बार प्रहार गरेको बताएकी छन् । 'मैले पछाडिबाट प्यान्ट समातेँ र प्रहरीलाई बोलाउने धम्की दिएँ । त्यसपछि उनी भान्साको ढोका हुँदै त्यहीँबाट भागे । त्यतिबेला उनले रक्सी सेवन गरेका थिए,' ती कर्मचारीले अंग्रेजीमा जाहेरी दिएको कार्यालयले जनाएको छ ।
सोही जाहेरीलाई आधार मान्दै प्रतिवादी पीडितको कोठामा गएको र पीडितलाई जबर्जस्ती करणीको प्रयास गरेको प्रमाण महानगरीय प्रहरी परिसरले मानेको छ । साथै, सीसीटीभी फुटेज, महरा पीडितको घरमा जाँदाको समय र वारदातपछि निक्लेको समय अध्ययन गरेर त्यसलाई प्रमाणको रूपमा हेरेको छ ।
महराले राती ८ बजेर ४० मिनेट जाँदा बलात्कार प्रयास गरेको प्रहरीको १०० नम्बरमा फोनमार्फत जानकारी दिएकोलाई पनि प्रमाणको रूपमा हेरेको छ । घटनास्थलमा प्रतिवादीले प्रयोग गरेको चस्माको सिसा र डन्डी, फोनमा आएको म्यासेज, नयाँ बानेश्वर २६ को शरीरमा लागेका घाउ, चोटपटकलाई सबुदको रूपमा हेरेको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रतिवादीले साथमा लिएर गएका सुरक्षाकर्मीलाई साक्षीका रूपमा हेरिएको छ ।
अधिवक्ता एवं कानुनका उपप्राध्यापक सुजन पन्तका अनुसार यो कुनै मुद्दामा सरकारी वकिलले गर्न मिल्नेसम्मको अभियोजन हो । भन्छन्, "यो उत्कृष्ट अभियोजनमध्येकै एकमा पर्न सक्छ । अभियोग पत्र बलियो बनाएका छन् । अपराधका चार चरण हुन्छन् । यो तेस्रो चरणसम्म पुगेको अपराध हो ।"
अदालतमा मुद्दा गएपछि सबै कुरा भन्न मिल्दैन । तर डीएनए परीक्षण र पोलिग्राफलाई दोस्राे प्रमाणका रूपमा अदालतले लिने गरेको अधिवक्ता पन्त बताउँछन् । महराले पोलिग्राफ टेस्ट गर्न इन्कार गरेका थिए । तर प्रहरी प्रारम्भिक अनुसन्धानमै चुके र सरकारी वकिलको कार्यालयले प्रमाण र सबुदलाई अदालतमा राम्ररी प्रस्तुत गर्न नसके महरा सामान्य तारिखमा छुट्न पनि सक्छन् । महरा मुद्दामा प्रहरीले अनुसन्धानमा कति इमानदारी देखाएको छ, त्यो भने १७ कात्तिकमै छर्लंग हुनेछ ।