वज्रयानको मूलथलो स्वयम्भूको अन्तर्कथा
काठमाडौँ उपत्यकाको सिर्जनासँग जोडिएको प्राचीन सम्पदा स्वयम्भूको अन्तर्कथा
नयाँ पुस्ता स्वयम्भूको फोटो खिचेर सामाजिक सञ्जालमा प्रोफाइल अपलोड गर्न व्यस्त छ । विदेशी पर्यटकका लागि स्वयम्भू 'मंकी टेम्पल' का रूपमा चर्चित छ । स्वयम्भू न सुन्दर दृश्यावलीका लागि मात्र हो, न त बाँदरका लागि । उत्पत्ति र विकाससम्बन्धी मिथकले स्वयम्भूलाई रहस्यमय बनाइदिएको छ ।
काठमाडौँ उपत्यकाको सिर्जनासँगै स्वयम्भूको कथा जोडिएको छ । पाँचौँ शताब्दीतिर उत्पत्ति भएको मानिने स्वयम्भूमा शताब्दीयौँदेखि मानव पूजाआजा गर्न जान्छन् । र, स्वयम्भूको उत्पत्तिसँगै काठमाडौँ उपत्यकामा मानव बस्ती बसेकाले यसको वास्तु, मूर्तिकला, मूर्ति, मन्दिर, चैत्य र त्यहाँ विकासित दर्शनको मिहीन अध्ययन भइसकेको छैन ।
पौराणिक कथाअनुसार स्वयम्भू नहुँदो हो त काठमाडौँमा बस्ती बसाल्नु असम्भव हुन्थ्यो । स्वयम्भू चैत्यपुराणअनुसार लाखौँ वर्षपहिले काठमाडौँ ठूलो दह थियो, जसको चर्चा सर्वत्र थियो । विपश्वी बुद्ध यहाँ आए । चन्द्रागिरिमा बसेर ध्यान गरे । दहमा नागको बसोबास थियो । ध्यान गरेपछि उनले कमलको बीउ दहमा फालिदिए । ८० हजार वर्षपछि कमल फुल्यो ।
कालान्तरमा त्यही फूलको दर्शन गर्न मञ्जुश्री २ पत्नी र ५ सय विद्यार्थीसहित तिब्बत हुँदै साँखुको मणिचुर आए । हिँड्न नसकेका जेठी पत्नीलाई फूलचोकी र पछि कान्छीलाई मच्छेगाउँमा छाडे । नागार्जुन पुगेपछि उनमा विचार आयो, बस्ती बसाउन पाए कति सुन्दर होला !
खड्गले गोकर्णबाट काट्न खोज्दा असफल भए । अनि चोभारमा गएर काटे । दहको सम्पूर्ण पानी बाहिर जानुका साथै दहमा बस्ने नाग पनि बगे । नाग बगेपछि कालान्तरमा पानीको हाहाकार हुन्छ भन्ठानेर उनले टौदहमा कर्कट नागलाई बस्ने व्यवस्था गरिदिए । उनीसँगै आएका धर्माकरलाई राजा उर्फ कोटवाल बनाए । धर्माकरले उनीबिना बस्न नसक्ने भनेपछि श्रीपञ्चमीको हरेक रात आउने, १ वैशाखसम्म बस्ने र शिक्षा दिने वाचासहित मञ्जुश्री फर्किए ।
तर इतिहासविद् प्रमाणलाई मात्र विश्वास गर्छन् । वैज्ञानिक युगमा हरेक कुरालाई परीक्षण गरिन्छ । सम्पदाविद् सुदर्शनराज तिवारी स्वयम्भूको उत्पत्ति कथालाई फरक तरिकाले अथ्र्याउँछन् । उनी कथालाई मिथक मात्र भन्न रुचाउँदैनन् । बरु त्यसको पछाडि अर्थपूर्ण तर्क हुन सक्ने अनुमान गर्छन् । भन्छन्, "यी सुनिएका कथा किंवदन्ती हुन्, कथाकारले विम्ब प्रयोग गरेका हुन्छन् । त्यसलाई अर्थ्याउन सक्नुपर्छ ।"
सम्पदाविद् तिवारी यसलाई आध्यात्मिक साम्राज्यवादको पक्ष मान्छन् । मञ्जुश्री पहिले साँखुको मणिपुर जानु, त्यसपछि नागार्जुन, चन्द्रागिरि र फूलचोकीजस्ता थातथलो कथामा बारम्बार आउनुमा यी सब घटनाको मञ्जुश्रीभन्दा अगाडि नै ती ठाउँ अर्थपूर्ण हुनुपर्छ । नाम बारम्बार आइरहनुले यी चार डाँडामा पक्कै केही छ भन्ने अर्थ लाग्छ ।
स्वयम्भू पुराण १४ औँ शताब्दीमा लेखिएको मानिन्छ । सम्पदाविद् तिवारीका अनुसार जसले स्वयम्भू पुराण लेखे, उनको संस्मरणमा यी ठाउँ रहेछन् । साँखु वारिपट्ट लिच्छवि कालमा निर्मित चाँगुनारायण मन्दिर छ । चाँगुनारायण विष्णुको प्रतीक हो । साँखुभित्रको विहार पनि लिच्छविकालीन रहेको तिवारी बताउँछन् ।
फूलचोकीतिर विशंखुनारायणको मन्दिर छ । चम्पादेवीको छेउमा शेषनारायणको मन्दिर र नागार्जुनमुनि इचंगुनारायण । इतिहासकारका अनुसार चार नारायण लिच्छवि शासकले तेस्रो शताब्दीतिर राखेका हुन् । कथाअनुसार हरिदत्त वर्माले ती मन्दिर बनाएको भनिन्छ । लिच्छवि शासक जब वैष्णव थिए, बस्ने ठाउँलाई मण्डलाको रूपमा सोच्ने गर्थे । त्यसको एउटा केन्द्र हुन्छ र वरिपरि चार किल्ला ।
हिन्दु, बौद्ध परम्पराअनुसार सहर होस् या घर, सबैको प्रारूप सोही 'कसमस' वा वास्तुअनुसार गर्नुपर्छ । चार नारायण चारतिर बसे । बीचका सत्यनारायण हाँडीगाउँमा बसे । सत्यनारायण रहेको ठाउँ लिच्छवि राजधानीको केन्द्र हो । मल्ल युगमा त्यो राजधानी भक्तपुर सर्यो । कालान्तरपछि पनि चार नारायणको पूजा भइरहेको छ भने पाँचौँ नारायण सत्यको पूजा हुन छाड्यो । यस समय काठमाडौँमा वैष्णव र वज्रयान दुवै मानिन्थ्यो ।
स्वयम्भू चैत्यपुराणअनुसार मञ्जुश्रीले कमलको फूल काटे । मञ्जुपटन सहर बनाए । मञ्जुश्रीले कमल टिप्दा जरा टुक्रियो । त्यो जरा गुह्यश्वेरीमा रहेको विश्वास गरिन्छ । तसर्थ, मञ्जुपटन स्वयम्भू र गुहेश्वरीको बीचमा छ । पहिले डाँडाको टुप्पामा बस्ती थियो । पछि तलतिर सर्यो । बुङमतीमा ठडिएको सात सय फिट कालो माटो सबैभन्दा ढिलो सुकेको विज्ञहरूको अनुमान छ ।
हिन्दु ग्रन्थमा जस्तो सत्य र त्रेता युगबाट नभई द्वापर युगबाट चर्चा सुरु हुन्छ, स्वयम्भू पुराण । द्वापर युगमा स्वयम्भू मासिन्छ भनेर चैत्य बनाइयो । स्वयम्भू ग्रन्थअनुसार बंगालबाट प्रचण्डदेव आए । उनी दीक्षित भएपछि शान्तिकराचार्यमा परिणत भए । उनैले स्वयम्भू महाचैत्य बनाए । स्वयम्भूमा अवस्थित शान्तिपुर त्यसैको प्रतिविम्ब हो । शान्तिकरलाई वज्रयान 'बुद्धिज्म' को प्रारम्भकर्ता पनि भनिन्छ । पहाडको टुप्पोमा बसेको स्वयम्भू महाचैत्य ५ औँ शताब्दीमा बनेको र पछि १७ औँ शताब्दीमा पुनर्संरचना भएको मानिन्छ ।
के हो वज्रयान ?
वज्रयानको विकास काठमाडौँ उपत्यकाभित्रबाट भएको विज्ञहरूको एकमत छ । सम्पदाविद् वसन्त महर्जनका अनुसार सारा जगतले चिन्ने तिलौराकोटका सिद्धार्थ गौतम, जो शाक्यमुनि बुद्ध बने । उनले सुरुमा दिएको उपदेशलाई थेरवाद ज्ञान भनिन्छ । यस्तै, बुद्ध धर्ममा त्रियानको पनि चर्चा छ - हिनयान, महायान र वज्रयान ।
बुद्धले धेरै ज्ञान दिए पनि जसको क्षमता जति छ, उसले त्यही रूपमा बुझ्यो । आफूले ध्यान गरेर र बुद्धत्व प्राप्त गरेर जन्म र मृत्युबाट बच्नेलाई हिनयान भनियो । साधना गरेर अरूलाई पनि दुःखबाट मुक्ति दिन बोधिसत्वयान उर्फ महायान भनियो । रोचक के भने स्वयम्भू थेरवाद सिद्धान्तमा बनेको छैन । बरु बुद्ध जन्मेको ५ सय वर्षपछाडि विकास भएका सिद्धान्तमा आधारित स्वयम्भू बनेको देखिन्छ, जुन वज्रयान हो । वज्रयानमा तन्त्रमन्त्रको साधना गरिन्छ ।
थेरवादअनुसार ४ असंख्य कल्प र एक लाख अरू कल्प पार गरेपछि बुद्धत्व प्राप्त हुने हुँदा वज्रयानले एउटै जन्ममा तन्त्रमन्त्रको साधनाबाट बुद्धत्व प्राप्त गर्न सकिने दर्शनका आधारमा यसको प्रादुर्भाव भएको हो । अनुसन्धानकर्तासमेत रहेका महर्जनका अनुसार स्वयम्भूमा वज्रयानको ठूलो प्रभाव छ । करिब १० वर्षअगाडि त्यहाँका मूर्तिको लगत राख्दा भेटिएका करिब ६ सय १६ मूर्तिमा शाक्यमुनि बुद्धका जम्माजम्मी १५-१६ वटा मात्र मूर्ति भेटिएको उनी बताउँछन् ।
महर्जनका अनुसार बुद्ध र बौद्ध भनेको फरक हो । बुद्धिस्ट दर्शनमा आधारित अन्य देउताको मूर्ति बौद्धअन्तर्गत पर्छ । सात बुद्धमध्येका शाक्य मुनि एक र अन्तिम बुद्ध हुन् । स्वयम्भूमा पञ्चबुद्धका धेरै मूर्ति छन्, जुन मानव-बुद्ध होइनन् । ती ध्यानी बुद्ध हुन् । ध्यान गरेपछि बनाएका मूर्ति ।
करिब ८-९ औँ शताब्दीतिर बंगालबाट तन्त्रविद्या नेपाल भित्रिइसकेको इतिहासविद्को मत छ । तर तिवारी यस भेगमा तन्त्रविद्या किराँती समयदेखि नै सामान्य प्रचलनमा रहेको बताउँछन् । उनका अनुसार बलि दिने कुरा लिच्छविको पालामा भेटिएका शिलापत्रमा उल्लेख छ । शक्ति कल्टको उत्पत्तिसँगै तन्त्रविद्या सुरु भएको मानिन्छ । वज्रयानको मूल पक्ष पनि बलिदान हो ।
वरिष्ठ मूर्तिकार एवं थेरवाद बुद्धिस्ट एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्ररत्न शाक्यका अनुसार ६-७ औँ शताब्दीमै वज्रयानको उल्लेख भएको अंशुवर्माको अभिलेखमा भेटिन्छ । वज्रयानको उदयसँगै बौद्ध धर्ममा थुप्रै 'भगवान्' को सिर्जना भयो, जसमा करिब ३ सय देवदेवीको वर्णन छ । हिन्दु ग्रन्थमा भएका ब्रह्मा, विष्णु, शिव, कुँवेर, गणेश सबै वज्रयानमा समाहित छन् ।
वज्रयानको अर्को विशेषता देवीको उपस्थिति हो । बौद्ध धर्ममा देवीको उपस्थिति छैन । तर वज्रयानले पञ्चदेवीको सुरुआत गरेर लैंगिक समानता भित्र्याएको छ । १० र ११ औँ शताब्दीतिर यहाँ वज्रयानको विकास भइसकेको केही विज्ञहरूको मत छ । "मानदेवकै पालामा काठमाडौँमा बौद्ध धर्म प्रखर थियो । सबैभन्दा पुरानो गोपाल वंशावलीअनुसार मानदेवलाई पितृहत्याको आरोप लगाइयो," सम्पदाविद् तिवारी भन्छन्, "चैत्य राजारानीको सम्झनाको सन्दर्भमा बनाइन्छ । मानदेवका बुबा धर्मदेवलाई हरिशयनी एकादशीको दिन पारेर काटियो र चैत्य बनाइयो । त्यसबेला लिच्छविकालमा यसरी समाधि लिने चलन थियो ।" धर्मदेवका बाबु वृषदेवलाई पनि त्यसरी नै सोही दिन काटिएको तिवारीको तर्क छ । यस कारण हरिशयनी एकादशीको भोलिपल्ट अझै पनि हाँडीगाउँमा जात्रा हुने गरेको उनी सुनाउँछन् ।
आफूलाई काटेर समर्पण गरिने चैत्य, स्तुपामा बुद्धको अस्तु या बुद्धका सामग्री राखेर बनाइन्छ । देहान्तपछि बुद्धको अस्तु ८ भागमा बाँडियो र ७ राज्यलाई दिइयो । एक भागचाहिँ नवलपरासीको रामग्राममा भएको स्तुपामा रहेको पुरातत्त्वविद् तिवारी बताउँछन् । मौर्यवंशका राजा अशोकले बाँकी सातै ठाउँको अस्तु झिकेर हजार-हजार भागमा बाँडेर विश्वभर सात हजार स्तुप बनाएका थिए ।
स्वयम्भूमा पञ्चबुद्धको मूर्ति पनि भेटिन्छ । लिच्छविकालीन दोस्रो अन्तिम राजा जयदेव द्वितीयले सबै राजाबारे अभिलेखमा उल्लेख गरेका थिए । वृषदेवबारे बौद्ध धर्मको पक्षपाती भनेर अभिलेखमा उल्लेख गरेका छन् । वृषदेवले नै पञ्चबुद्धको मूर्ति बनाएका हुन् भन्ने केही विद्वानको मत छ । पञ्चबुद्धको अवधारणालाई पञ्चज्ञान र पञ्चतत्त्वसँग पनि जोड्ने गरिन्छ । पञ्चबुद्धमा वैरोचन, अक्शोभ्य, रत्नसम्भव, अमिताभ र अमोकसिद्धि । वैरोचनलाई आदिबुद्ध पनि भनिन्छ । उनी धर्मचक्र मुद्रामा हुन्छन् । अमिताभ ध्यान मुद्रामा र रत्नसम्भव वरद (वरदान) मुद्रामा हुन्छन् । नेपालका राजा पनि यही मुद्रामा हुने गरेका तस्बिर भेटिन्छन् ।
बुद्धका मूर्ति प्रायः ३ अवस्थामा भेटिन्छन्- शान्त, अर्धशान्त र क्रोध मुद्रा । क्रोध मुद्राका मूर्ति वज्रयानमा पर्छन् । वज्रयानमा ध्यान देवताको महत्त्व ठूलो छ । ध्यान गरेपछि आएको आकृतिलाई चित्र वा मूर्तिमा उतार्छन् । शिवमा कुनै शक्ति छ भने त्यो शक्ति आफूमा पनि आओस् भनेर त्यहीअनुरूप अन्तमा चित्र कोर्ने र मूर्ति बनाउने गर्छन् । मूर्ति बनाएपछि त्यो मनको आकाशमा आएको भन्दै हटाउँछन् । बौद्ध धर्मले ब्रह्मा, विष्णु, शिव मानेको छ । तर तिनलाई संसारको सृष्टिकर्ताको रूपमा भने हेरेको छैन । बुद्धले आफ्नो भाग्य आफैँले बनाउने भन्नेमा विशेष जोड दिएको मूर्तिकार शाक्य बताउँछन् । उनका अनुसार बुद्धले देवता छैन भनेको छैन र बुद्ध नास्तिक पनि होइन ।
युनिक आँखा
महर्जनका अनुसार स्वयम्भूमै गहिरो ध्यान दिँदा संसारमै नभएको दर्शन पाइन्छ । स्वयम्भू महाचैत्यमा दुई आँखा छन्, जुन संसारमा कतै नभएको उनी बताउँछन् । मुस्ताङमा पनि आँखा छ । स्वयम्भूकै आँखा बनेपछि त्यहाँ बनाइएको हो । मुस्ताङमा स्थानीय संस्कृति छ तर बुद्धको दर्शन अनुसरण गरिएको छ । आँखा भएको स्थानलाई हर्मिका भनिन्छ । स्तुपाको चार दिशामा चार बुद्ध छन् । विशेष अवस्थाबाहेक अन्य बेला आदिबुद्ध मूर्ति राखिँदैन । आँखालाई त्यही आदिबुद्धको प्रतीकका रूपमा बुझिन्छ ।
महर्जनका अनुसार नेपालमा थेरवाद राणाकालमा मात्र विकास भएको हो । तर वज्रयानबारे सातौँ शताब्दीमै अभिलेख भेटिन्छ भने थेरवादको प्रमाण भने भेटिएको छैन । काठमाडौँ उपत्यकामा भएका बौद्ध स्तुप सबै महायान र वज्रयानमा आधारित रहेको पुरातत्त्वविद्को भनाइ छ ।
कतिपयले बुद्ध जीवित छँदै काठमाडौँ आएको तर्क गरेका छन् । स्वयम्भू पुराणमा बुद्ध काठमाडौँ आएको उल्लेख छ । तर प्रमाण केही छैन । बुद्धको सय वर्षसम्मै १८ वटा 'स्कुल अफ थट' थियो भनिन्छ । तेस्रो शताब्दीमा महायानको विकास भयो । दक्षिण भारतबाट सुरु भई बंगालमा चरम विकास भई तन्त्र काठमाडौँ आयो । तर वज्रयानको त्यही विकास उता भने हुन सकेन । महर्जन भन्छन्, "यसरी यहाँ महायान र वज्रयान छ्यासमिस भयो । यसलाई नेवार बुद्धिज्म भन्न थालियो ।"
तन्त्रको तपोभूमि
बुद्ध भनेको अहिंसा हो । तर वज्रयानको विकाससँगै तन्त्रको विकास भयो । वज्रयानमा बलिदान दिने प्रथा भएकै कारण यसको विकासमा बेलाबेला अवरोध भइरहेको विज्ञ बताउँछन् । यसलाई पुष्टि गर्न सम्पदाविद् तिवारी भन्छन्, "लिच्छविकालमा माछा, कुखुरा, राँगो, प्याज, लसुनमा कर लगाएको अभिलेख भेटिन्छ ।"
यस्तै, शान्तिकराचार्यले समाधि लिएको विश्वास गरिने शान्तिपुरमा तान्त्रिक अभ्यास गरिन्छ । त्यहाँ बुद्धाचार्यका थकालीले मात्र पूजा र ध्यान गर्न पाउँछन् । स्वयम्भूकै पुजारीलाई पनि त्यहाँ प्रवेश निषेध छ । पुजारी बुद्धाचार्यका अनुसार थकाली बितेपछि मात्र उनले शान्तिपुरमा प्रवेश पाउँछन् । त्यहाँ जाँदा माछामासु खान नहुने, चोखो बस्नुपर्ने र मान्छे मर्दा जुठोसमेत बार्नु नपर्ने उनी बताउँछन् ।
शान्तिपुरको अर्को रोचक पक्ष भनेको त्यहाँ कुँदिएका पेन्टिङ हुन् । ती पेन्टिङ कलाको प्राविधिक दृष्टिकोणले उत्कृष्ट नभए पनि शान्तिपुरका पुजारीले ध्यान गरेर आएपछि कोरेका हुन् । बनारसको शंकराचार्य मठबाट शंकराचार्य दुई पटक काठमाडौँ आएको अभिलेख स्वयम्भूको छाउनी म्युजियममा छ । त्यसबेला भारतमा शैवतन्त्रको विकास भइसकेको थियो । उनले आनन्ददेव युवराजलाई दीक्षा दिएको अभिलेखमा उल्लेख छ ।
प्रतापपुर र अनन्तपुर
मिथकअनुसार राजा गुणकामदेवको पालामा अनावृष्टि भयो । त्यसपछि शान्तिपुरमा नागको सभा भयो तर कर्कट नागले भाग लिएनन् । गुणकामदेवले फर्काएर ल्याए । मच्छिन्द्रनाथको कथा पनि यसैसँग जोडिएको मानिन्छ । फेरि राजा प्रताप मल्लको पालामा पानी परेन । उनले शान्तिपुर भित्रबाट नागको रगतले लेखेको पुस्तक निकाल्दा वृष्टि भएको विश्वास छ । उनले स्वयम्भूमा प्रतापपुर र अनन्तपुरको निर्माण गरे । शिखर शैलीका यी चैत्य वज्रयानका देउताका लागि बनाइएको हो ।
स्वयम्भू चैत्यसँगै रहेको बिहार, जहाँ स्वयम्भूका पुजारी बुद्धाचार्यको कार्यालय छ । यसको अगाडि लिच्छवि चैत्य छ । स्वयम्भू चैत्यको १३ भुवनले निर्वाणका १३ चरण देखाउँछन् । १३ चरण पार गरेपछि मात्र बुद्धत्व प्राप्त गर्न सकिन्छ । स्वयम्भूमा जलचरलाई सम्मान दिई नाग राजाको प्रतीकको रूपमा नागपुर छ ।
सन् १९५४ मा बनाइएको कर्मराजा महाविहार तिब्बती शैलीको काग्युप्पाको मोनास्ट्री छ, जहाँ बुद्धको ठूलो चित्र छ । यस्तै, भासुपुर र वायुपुर पञ्चतत्त्वको सिद्धान्तका मन्दिर हुन् । ज्योतिकीर्ति महाविहारमा ५ ध्यानी बुद्धका चित्र छन् । वज्रयाना देवताको प्रतिनिधित्व गर्ने १० देवताको प्रतिमा अक्शोभ्य, वैरोचन, मामाकी तारा, रत्नसम्भव, पानडारा आदिको प्रतिमा पनि स्वयम्भूमा छ ।
स्वयम्भूको विकास
पुरातत्त्वविद् महर्जनका अनुसार एउटै आँखाले स्वयम्भूको विकासलाई हेर्नु हुँदैन । आज हेर्दा तिब्बती प्रभाव बढी छ । स्वयम्भूमा ५-६ औँ शताब्दीदेखि हालसम्मका सानाठूला थुप्रै मूर्ति छन् । अझ कति मूर्ति त हेर्नसमेत पाइँदैन । साथै, स्वयम्भूको विकासमा दर्शन मात्र नभई त्यसमा आधारित कलाको विकास भएको छ । थान्का, पौभा र प्रस्तर कला त्यसैका नमुना हुन् ।
लुम्बिनीमा जन्मेका शाक्यमुनि बुद्धले जुन दर्शन बाँडेका छन्, त्यसलाई अनुसरण र अभ्यास गर्ने क्रममा त्यसको क्षेत्रफल बढाइयो । ध्यान गर्दा आएको विचारलाई चित्र, मूर्ति बनाइयो । धेरैजसो मूर्ति सोही अवस्थाका हुन् । महर्जनका अनुसार मुख्य मूर्तिले अर्को मूर्तिलाई टेकेको देखिन्छ । धेरैजसो नांगा मान्छे र आइमाईले कुल्चेको भेटिन्छ । त्यस्ता मूर्ति मनमा भएका विचार, दम्भ कुल्चेर माथि आएको भन्ने बुझिन्छ । कतिपय नांगा मूर्ति हुन्छन् । महर्जनका अनुसार शुद्ध ज्ञान देखाउन ती मूर्ति बनाइएको हो । नबुझ्नेले अश्लील ठान्छन् तर काम, लोभ, मोह केही छैन भनेर यसले देखाएको हो ।
०७२ को भूकम्पले भित्ता भत्कायो । शान्तिपुरलाई पनि असर पार्यो । तर शान्तिपुरमा कति तला छ, मुख्य थकालीबाहेक अन्यलाई थाहा छैन । पुरातत्त्व विभागका सूचना अधिकारी सुरेशसुराश श्रेष्ठका अनुसार शान्तिपुरमा धेरै तला छन् र २७ भन्दा बढी कोठा भएको अनुमान छ ।
मुलुकमा पटक-पटक आएको भूकम्पका कारण स्वयम्भूले कति भार थाम्न सक्छ ? भू-इन्जिनियरले त्यसको अनुसन्धान गरेको पुरातत्त्व विभागले दाबी छ । ३५ फिट उचाइमा बनाउन पाइने नियमलाई अहिले २४ फिटमा झारिएको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...