रियालिटी शोबाट नेता जन्मिन्छ ?
विजेता नेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख पुरस्कार मात्र होइन, राष्ट्रिय राजनीतिमा अवसरको अफर । तर राजनीति वृत्त तरंगित पार्दै एउटा प्रश्न उब्जिएको छ, के रियालिटी शोबाट नेता जन्मिन्छ ?
नेतृत्व लिन र सम्हाल्न सकेका भए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई किनारीकृत हुँदै अहिलेको स्थितिमा आइपुग्ने थिएनन् । रवीन्द्र मिश्रको राजनीतिक कौशल पनि पछिल्लो उपनिर्वाचनमा उनका सबै उम्मेदवारको जमानत जफतबाटै छर्लंग भइसकेको छ । तर, यिनै नेताहरू राजनेता जन्माउने भन्दै ‘द लिडर’ रियालिटी शोको निर्णायक बन्दैछन् । निर्णायक टोलीमा उनीहरूसँगै छिन्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ।
त्यस्तो रियालिटी शो, जहाँ विजेता नेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख पुरस्कार मात्र होइन, राष्ट्रिय राजनीतिमा अवसरको अफर दिइएको छ । सामाजिक सन्जाल र राजनीति वृत्त तरंगित पार्दै एउटा प्रश्न उब्जिएको छ, के रियालिटी शोबाट नेता जन्मिन्छ ? नेता छान्ने शोमा पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितालाई विश्लेषकहरूले हास्यास्पद भनेका छन् ।
“बाबुरामजी र रवीन्द्रजी आफैँ नचलेका नेता हुन् । तिनले नेता छान्नुभन्दा आफ्नै पार्टीमा मिहिनेत गरे राम्रो हुनेथियो,” विश्लेषक कृष्ण पोखरेल भन्छन्, “सामाजिक सन्जाल, मिडिया र रियालिटी शोले हंगामा गर्न सक्छन्, नेता जन्माउन सक्ने कुरा होइन ।”
पूर्वप्रधानमन्त्री भट्टराई स्वयंलाई थाह छ, नेता हुन्छु भनेर कोही नेता हुने होइन । घोषणाकै बेला २६ मंसिरमा उनले प्रस्टैसँग भने, ‘लोकतन्त्रमा जनता आफैँले आफ्नो नेता छान्ने हो । नेता इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ ।’ तैपनि, उनको सोच रियालिटी शोसँग मिल्न गयो । युगले नयाँ नेता मागेको ढंगले अर्थ्याउन खोजेका नेता भट्टराई हिजोका नेतालाई सराप्नुको सट्टा आगामी दिनका लागि नयाँ नेता छनोट गर्नुपर्ने धारणा राख्छन् । त्यसको माध्यम भने उनले रियालिटी शोलाई बनाउन चाहेका छन् । कम्तीमा जनतालाई युग अनुकूल नेता छनोट गर्न यसले मद्दत गर्ने उनको तर्क छ ।
भट्टराईभन्दा भिन्न पृष्ठभूमिबाट आएका साझा पार्टीका अध्यक्ष मिश्र नेपालले गर्वयोग्य इतिहास, धर्म–संस्कृति, प्राकृतिक सम्पदा र सहनशील जनता र धेरै राजनीतिकर्मी पाए पनि राजनेता नपाएको भन्दै रियालिटी शोले राजनेता जन्माउने विश्वास गर्छन् । ‘म पनि राजनीतिकर्मीको भीडमा मिसिएको छु । तर, देश रूपान्तरणका लागि राजनेता नै चाहिने रहेछ,’ उनी भन्छन् । मिश्रको बुझाइमा राजनेता हुनलाई इमान्दारी, क्षमता, सुझबुझपूर्ण विचार र दूरदृष्टिको खाँचो चाहिन्छ, जुन नेपाली नेताहरूमा छैन । ‘शेक्सपियर हलो जोत्दै होलान् भनेझैँ वास्तविक राजनेता पहाडका कुनाकाप्चामा होलान् । तिनका प्रतिभालाई शोले उजागार गर्नेछ,’ मिश्र भन्छन् ।
अर्का निर्णायक पूर्वप्रधानन्यायाधीश कार्की नेताले अभिभावकको भूमिका निभाउनुपर्नेमा विकृति मौलाएर नेताका पछि कुद्नेले करोडौँ कमाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै भन्छिन्, ‘यो व्यक्तिबाट हुन्छ कि भन्यो उल्टो निस्कन्छ । अर्को आउँछ, उस्तै । निष्ठा र न्याय भने पनि आफ्नो हातमा डाडु पन्युँ परेपछि आफ्नै पोल्टामा मात्र हाल्छ ।’
विश्लेषक श्याम श्रेष्ठ जनताको अनुमोदनबिना कोही पनि नेता बन्न नसक्ने हुँदा यस्ता रियालिटी शोले नेता जन्माउला भन्नेमा आफूलाई विश्वास नलागेको बताउँछन् । “नेता खोज्नुपर्ने बेला होइन यो । अहिले हामीकहाँ कद–कदका नेता छँदैछन्,” उनी भन्छन्, “राजनेताको कुरा गरेको हो भने त्यो समयले, राष्ट्रिय संकटले जन्माउने हो । कसैले रहर गर्दैमा नेता जन्मिने होइन ।”
विश्लेषक पोखरेल आन्दोलन र मुद्दाले नेता जन्मिने बताउँछन् । ००७ सालको क्रान्ति, पञ्चायतबिरुद्धको आन्दोलन र माओवादी विद्रोहले गाउँगाउँबाट नेता जन्मिएको उल्लेख गर्दै भन्छन्, “नेता बन्न संगठन चाहिन्छ, जनताको विश्वास चाहिन्छ । रियालिटी शोबाट व्यक्तित्व विकास होला । वक्ता बन्न सक्ला । राजनीति बुझ्न सकिएला तर नेता बन्न सकिन्न ।”
कांग्रेसको संगठन र नेतृत्वको जग २००७ सालको क्रान्ति हो । ०४६ को परिवर्तनपछि पूर्वपञ्च धेरै नेताहरू कांग्रेसमा प्रवेश गरे । त्यसबेला तत्कालीन एमालेले संगठनमा बल गर्यो र नेता जन्मायो । सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले गाउँ तहबाटै संगठन र नेता जन्मायो । मधेस आन्दोलनपछि उसैगरी तत्कालीन मधेसी जनअधिकार फोरमले नेतृत्व विकास गर्यो । ती चरणमा बनेका संगठन र नेताको बलमा अहिलेको राजनीति अडेको छ ।
पछिल्लो उपनिर्वाचनले न पुराना पार्टीहरू नेकपा र कांग्रेसप्रति जनताको मोहभंग भएको देखायो, न त वैकल्पिक पार्टी र नेता पत्याइएको देखियो । झन्डै चार लाख मतदाता सहभागी उपनिर्वाचनमा मिश्रको साझा पार्टीले ०.५ प्रतिशत पनि मत ल्याउन सकेन । भट्टराई संघीय परिषद् अध्यक्ष रहेको समाजवादी पार्टीको संगठन आधार उही पुरानै फोरमकालीन नै देखियो ।
नेता बन्न र टिक्न समयको पदचापलाई बुझ्नुपर्ने र त्यसका लागि अडिने संगठन चाहिने पोखरेलको धारणा छ । संगठन अभावले कुनैबेला स्थापित भएका नेताहरू सीपी मैनाली, राधाकृष्ण मैनाली, पूर्वपञ्च नेताहरू र स्वयं भट्टराईको प्रभाव क्षयीकरण भएको उल्लेख गर्दै उनी भन्छन्, “नागरिक समाज, मिडिया र सामाजिक सञ्जालमा राम्रो भएर हुने भए गगन थापा र धनश्याम भुसाल उहिल्यै पार्टी अध्यक्ष हुनेथिए ।”
कसरी गरिन्छ 'द लिडर' शो ?
‘द लिडर’ शोको पहिलो चरणमा अडिसनका लागि फाराम खुलिसकेको छ । १८ वर्ष पुगेका र आपराधिक पृष्ठभूमि नभएको जोकोहीले भाग लिन सक्नेछन् । सात वटै प्रदेश र विदेशमै गएर सम्भाव्य नेता छनोट गरिनेछ ।
निवेदकसँग सामूहिक छलफल, एक्लाएक्लै अन्तर्वार्ता र उनीहरूको क्षमता परीक्षणपछि एक सय जना छनोट हुनेछन् । त्यसका लागि निर्णायक मण्डलमा अरु दुई जना थपिनेछन् । तिनैबाट विजेता घोषणा गरिनेछ ।
शो सञ्चालक एसआरबीएन मिडियाका प्रमुख कार्यकारी अधिकृत रमेश न्यौपाने बाल्यकालदेखि नै देशले नेता पाएन भन्ने सुन्दै हुर्किएकाले यस्तो कार्यक्रमको परिकल्पना गर्नुपरेको बताउँछन् । भन्छन्, “हामीले कस्तो राजनीति र नेतृत्व चाहेका छौँ भन्ने यो नयाँ ढंगको बहस पनि हो । युवाहरूलाई राजनीतिमा आउन र नेतृत्व विकास गर्न प्रेरणा मिल्नेछ ।”
नेता छनोटका लागि यो पहिलो टेलिभिजन कार्यक्रम भने होइन । नौ वर्षअघि कान्तिपुर टेलिभिजनमा यस्तै प्रकृतिको ‘खोज युवा नेतृत्वको’ कार्यक्रम सञ्चालन गरिएको थियो । अमेरिकी सहयोग नियोग (युएसएड) को सहयोगमा सञ्चालित कार्यक्रमका निर्णायक थिए, पत्रकार युवराज घिमिरे, कानुनविद् भीमार्जुन आचार्य र अधिकारकर्मी सपना मल्ल प्रधान । तर, धाँधलीको विवाद चर्किएपछि अनुदान रोकियो, कार्यक्रम बन्द हुनपुग्यो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...