प्रधानमन्त्रीको ट्वीटले जन्माएको जवाफदेहिताको प्रश्न
प्रधानमन्त्री कार्यालय र सचिवालय प्रहरीले अनुसन्धान गर्दैछ भन्ने, प्रहरी जानकारी नै छैन भन्ने विरोधाभाषबीच कतै टालटुल पार्नमात्र यसो भनिँदै त छैन ?
काठमाडौं : प्रधानमन्त्री सचिवालयले हालसम्म प्रमको ट्वीटर 'ह्याक' भएको भनेको छैन । केबल पासवर्ड दुरुपयोग भएको आशंकामात्र भनेको छ । पासवर्ड दुरुपयोग कसरी भयो ? कसले गर्यो ? सम्भवतः प्रहरी अनुसन्धानको विषय यही हो ।
प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड को कोसँग थियो ? प्रधानमन्त्रीको ट्वीटर आधिकारिक रुपमा चलाउने जिम्मा सचिवालयका जजसले पाएको हो, उनीहरूबाटै रिट्वीट भएको हो वा पासवर्ड बाहिरिएर अरु कसैले त्यसो गरेको हो भन्ने प्रहरी अनुसन्धानले खोज्नेछ ।
तर नेपाल प्रहरीको भनाईलाई आधार मान्ने हो भने यसमा अनुसन्धान सुरु भएकै छैन ।
यता प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको निजी सचिवालयको दाबीलाई मान्ने हो भने प्रहरीलाई अनुसन्धानको जिम्मा दिइसकिएको छ र छानबिन सुरु भइसकेको छ ।
प्रहरी र प्रधानमन्त्री कार्यालय/सचिवालयको भनाईमा विरोधाभाष देखिन्छ ।
दुरुपयोग कसरी ?
प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट भारतीय कंग्रेसकी नेतृ सोनिया गान्धीको भिडियोसहितको ट्वीट रिट्वीट भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले भन्यो- 'पासवर्ड दुरुपयोगको आशंकामा छानबिन हुँदैछ ।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उत्तिखेरै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको पासवर्ड दुरुपयोग भएको शंकामा छानबिन भइरहेको उल्लेख गरे । थापाले 'कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न' ट्वीटमार्फत् नै अनुरोध गरेका थिए ।
सम्माननीय प्रधानमन्त्रीज्यकाे twitter @PM_Nepal बाट अन्यथा retweet भएकाे देखिन अाएकाे छ। पासवर्डकाे दुरूपयाेग गरि यस्ताे गरिएकाे हुनसक्ने अाशंकामा छानविन भइरहेकाे छ । तसर्थ : कुनै प्रकारकाे भ्रम र गलतफहमीमा नपर्न अनुराेध गर्दछु ।
— Surya Thapa (@ThapajiSurya) December 20, 2019
प्रधानमन्त्रीको एकाउन्टबाट रिट्वीट भएको केहीबेरमै 'अनडु' भइसकेको थियो अर्थात् केहीबेरमै उक्त रिट्वीट हटिसकेको थियो ।
प्रधानमन्त्रीको एकाउन्टबाट भारतीय विपक्षी दल कंग्रेस नेत्रृ सोनिया गान्धीको यस्तो विषयको ट्वीटर रिट्वीट भएको थियो, जसका कारण भारतभर आन्दोलन चर्किएको छ । पढ्नुस्ः विवादित नागरिकता कानुनले विभाजित भारत
नागरिकता कानुन संशोधन गरी गैह्र मुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने कानुन बनेपछि त्यहाँ असन्तुष्टि चर्किएको छ र त्यही विषयमा गान्धीले सरकारको आलोचना गर्दै भिडियो सन्देश जारी गरेकी थिइन् ।
In a democracy people have the right to raise their voice against wrong decisions & policies of the govt & register their concerns… BJP govt has shown utter disregard for people’s voices & chosen to use brute force to suppress dissent: CP Smt. Sonia Gandhi #IndiaAgainstCAA pic.twitter.com/5AKOpn76Dx
— Congress (@INCIndia) December 20, 2019
उक्त भिडियोसहितको ट्वीटर नेपालका प्रधानमन्त्रीको आधिकारिक एकान्टबाट रिट्वीट भएपछि त्यसको चर्चा भारतीय मिडियामा समेत भएको छ ।
अनुसन्धान 'गोप्य'
आइतबार बिहान पनि सल्लाहकार थापाले 'प्रहरी संयन्त्रलाई जानकारी गराइसकिएको' नेपाललाई बताए ।
'प्रहरीमा कहाँ जानकारी गराउनुभएको ?' नेपालको प्रश्नमा थापाले भने- "हामीले प्रहरी संयन्त्रलाई भनिसकेका छौँ । साइबर सम्बन्धी विषय प्रहरीको कसले हेर्छ त तपाईँ खोज्नुस् ।"
प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलिले प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्वीटर भएकाले छानबिनबारेको सूचना उसैले दिन सक्ने बताए । "यसको अनुसन्धान प्रहरीले गोप्य रुपमा थालिसकेको छ", उनले भने, "यो प्रम कार्यालयको ट्वीटर भएकाले अनुसन्धानबारे पनि कार्यालयले नै भन्न सक्छ ।"
यो पनि पढ्नुस्ः भारतभरि किन सल्कियाे नागरिकता संशोधनको डढेलो ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुषालले अनुसन्धानको चरणमा रहेको भन्दै विस्तृत विवरण दिन नमिल्ने बताए । "प्रहरी अथोरिटीमा जानकारी गराइएको छ, अनुसन्धान भइरहेको छ", भुषालले भने, "नतिजा आएको छैन । अहिलेलाई यत्ति भन्न सकिन्छ ।"
प्रहरी भन्छ- 'औपचारिक जानकारी छैन'
प्रधानमन्त्रीका सल्लाहकार थापाले प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड दुरुपयोगमा छानबिन भइरहेको बताए पनि नेपाल प्रहरीले भने यसबारेमा औपचारिक जानकारी नआएको बताएको छ ।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनुसन्धानका लागि जानकारी नआएको प्रष्ट पारे । "हामीलाई यसबारे कुनै जानकारी छैन",पोखरेलले भने । पोखरेल केन्द्रीय प्रहरी प्रवक्ताको अन्तिम दिनको जिम्मेवारीमा छन् । उनी सोमबारदेखि महानगरीय प्रहरी कार्यालय रानी पोखरी (मेट्रो) को नेतृत्व गर्दैछन् । सोमबारदेखि केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा हाल महानगरीय प्रहरी कार्यालयमा प्रमुख रहेका डीआईजी शैलेश थापा क्षेत्री आउँदैछन् ।
साइबर अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरोले पनि प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट अनुसन्धानका लागि अनुरोध भएकोबारे अनभिज्ञता देखाएको छ । ब्यूरोका प्रमुख डीआईजी विकास श्रेष्ठले यसबारे आफूले पत्रपत्रिकामा मात्र पढेको प्रतिक्रिया दिए । "मैले पनि पत्रपत्रिकामा पढेकोमात्र हो । लिखित रुपमा कुनै निर्देशन, जानकारी वा उजुरी आएको छैन", श्रेष्ठले भने, "अनुसन्धानका लागि केही न केही विवरण आवश्यक पर्छ ।"
महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा पनि अनुसन्धानका लागि औपचारिक जानकारी आफूकहाँ नआएको बताउँछन् । "अनुसन्धान गर्नु भनेर औपचारिक जानकारी कसैले पनि दिएको छैन", नेपालसँग उनले भने ।
प्रधानमन्त्री कार्यालय र सचिवालय प्रहरीले अनुसन्धान गर्दैछ भन्ने, प्रहरी जानकारी नै छैन भन्ने विरोधाभाषबीच अनुसन्धान हुँदैछ वा टालटुल पार्नमात्र यसो भनिँदैछ ? जवाफदेहिता लिन कोही तयार छैन ।
पत्रकार अखिलेश उपाध्यायको बुझाईमा यो नैतिक जिम्मेवारी लिएर सच्याउनुपर्ने विषय हो । "यो कमजोरी लुकाउनुपर्ने विषय नभर नैतिक जिम्मेवारी लिएर सच्याउनुपर्ने कुरा हो", उपाध्याय भन्छन्, "प्रधानमन्त्री कार्यालयले आफूलाई सही देखाउन लागिरहनु उचित हुँदैन ।" हालै अस्ट्रेलियामा ठूलो आगलागी हुँदा बिदा मनाउन गएको भनी प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भएको र स्वदेश फर्केर उनले माफी मागेको उदाहरण दिँदै उपाध्याय प्रश्न गर्छन्, "के यस्तो नैतिकता हाम्रो नेतृत्वले देखाउन मिल्दैन ? यसमा अनावश्यक दोष दिएर पन्छाउने कार्य उचित होइन ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...