विप्लव विद्रोहमा विचलन
प्रहरी गिरफ्तारीको त्रासले समूह परित्यागको बाटोमा नेता–कार्यकर्ता
राजपुर गाउँपालिका–३ करंगाकी मीना विकले पति वीरबहादुर विकलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी समूहले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन मानव अधिकार आयोगलगायत विभिन्न संघसंस्थामा अनुरोध गरेकी छन् । पतिले विप्लव समूहको गढवा क्षेत्रको युवा संगठनको जिम्मेवारी लिएको र १/२ महिनाको अन्तरमा मात्रै घरमा आउने गरेको उनले बताएकी छन् ।
“३० असोज बिहान झिसमिसेमा श्रीमान् घर आउँदा केही बेर बसेर घरायसी कुरा गरिरहेका बेला कसैको फोन आयो,” मीना भन्छिन्, “पार्टीका साथीहरूले बोलाएका छन् भनेर निस्कनुभएको थियो । त्यसपछि सम्पर्कमा हुनुहुन्न ।” उक्त दिन विप्लव समूहका धेरैजसो नेता पक्राउ परेकाले प्रहरीलाई सूचना दिएको आरोपमा पतिलाई बेपत्ता पारिएको उनको अनुमान छ ।
घटनापछि चन्दले पार्टीको राप्ती ब्युरो बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको स्थानमा हस्तक्षेप गरेको जनाउँदै जारी गरेको विज्ञप्तिमा हरेक गद्दारी, ठक्कर र बलिदानीबाट विचलित नहुने दाबी गरेका छन् । विप्लव समूहका २१ नेता–कार्यकर्ता प्रहरीले पक्राउ गरेको एक महिनापछि दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट आधुनिक हतियारसमेत फेला पर्यो ।
प्रहरीले विल्पव समूहका उच्च तहका नेताहरू पक्राउ गरी ठूलो परिणाममा हतियार पनि बरामद गर्दा विप्लव समूहका गतिविधि नियन्त्रणमा आएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहको दाबी छ । शाहका अनुसार विप्लव समूहसँग लुकाइराखेको ५ थान एसएमजी राइफल, १३ थान राइफलको म्याग्जिन, राइफलमा प्रयोग हुने ३ सय ९० राउन्ड गोलीलगायत सामग्री बरामद भएको थियो ।
राजीनामाको लहर
विप्लव समूहका अधिकांश नेता–कार्यकर्ताले प्रहरीले पक्राउ गरिसकेपछि हिरासतमै रहेका बेला राजीनामापत्र लेख्ने गरेका छन् । यसलाई कतिले प्रहरीबाट उन्मुक्ति पाउने रणनीतिका रूपमा पनि लिएका छन् भने कतिले साँच्चिकै विप्लव समूहको गतिविधि उचित नलागेर छाडेको बुझेका छन् । तर प्रहरीबाट छुटेकामध्ये निकै कमले मात्रै फेरि विप्लव समूहमा सहभागिता जनाएका छन् । कतिले सामान्य जीवनयापन गरेका छन् भने कतिले सूचना दिएर प्रहरीलाई नै सहयोग गरिरहेका छन् ।
विप्लव समूहका घोराही उपमहानगर इन्चार्ज रहेका सहदेव थारुले लामो समय हिरासतमा बसेपछि पार्टी परित्याग गरेको घोषणा गरे । विगतको १० वर्षे सशस्त्र द्वन्द्वमा समेत माओवादी तर्फ रहेका थारुले अहिले एक पटक प्रहरीले पक्राउ गर्दैमा कसरी पार्टी छाडे त ? यो उनको बाध्यता हो या पार्टीमा सुरक्षित तरिकाले राजनीति गर्ने रणनीति ?
३० असोजमा दाङको राजपुरबाट २१ नेताहरू नियन्त्रणमा लिँदा प्रहरीबाट बरामद हतियार र अन्य सामग्री
“श्रीमती बिरामी भएकाले घरमा हेरचाह गर्ने कोही भएन । लामो समय थुनामा बस्दा घर लथालिंग भयो,” नेकपा घोराही इन्चार्जबाट राजीनामा दिएका थारु भन्छन्, “मेरो आफ्नै समस्या भएकाले पार्टीबाट राजीनामा दिनु परेको हो । अहिले घरकै काममा ध्यान दिइरहेको छु । तत्काल फेरि राजनीतिमा लाग्ने विचार छैन ।”
थुनाबाट उन्मुक्ति पाइने र प्रहरीले फेरि पक्राउ गर्ने त्रासबाट बचिने आशाका साथ विप्लव समूहका नेताहरूले आफ्नो घरायसी कारण देखाई पार्टी छाडेको विज्ञप्ति जारी गरिरहेका छन् । बंगलाचुली गाउँपालिका इन्चार्ज शशिधर दमाई पनि पार्टी परित्याग गरेको विज्ञप्ति निकालेर प्रहरीबाट छुटे । यसैगरी नेकपा निकट शिक्षक संगठनको सल्लाहकार रहेका घोराही–१३ वनगाउँका वीरबल वलीले पनि पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत प्रहरी हिरासतबाट मुक्ति पाए । ६७ दिनको नियन्त्रणबाट मुक्ति पाएका वली प्रहरीले नै जबर्जस्ती राजीनामापत्र बनाइदिएको दाबी गर्छन् । “लामो समयदेखि प्रहरी नियन्त्रणमा रहेकाले मेरो स्वास्थ्य अवस्था नाजुक छ । दाङ, रोल्पा, प्युठान घुमाएर मलाई दु:ख दिने काम भयो,” उनी भन्छन्, “प्रहरीले पार्टी छाडेको राजीनामापत्रमार्फत बदनाम गर्न खोज्यो । अरू कुरा आफैँ बुझ्नुस् ।”
अदालतले थुनामुक्त गर्न आदेश दिँदा पनि प्रहरीले अनेक मुद्दा लगाएर फेरि पक्राउ गर्ने र दु:ख दिन थालेपछि नेताहरू राजीनामाको रणनीतिमार्फत प्रहरीबाट उन्मुक्ति पाइरहेका छन् । चन्दपछि दोस्रो वरीयतामा रहेका खड्कप्रसाद विश्वकर्मालाई पनि प्रहरीले देशका विभिन्न भागमा पुर्याएर मुद्दा चलाएको थियो ।
प्रहरीको रणनीति पटक–पटक पक्राउ गरेर तनाव दिने र अन्त्यमा पार्टी छेड्न बाध्य पार्ने देखिन्छ भने विप्लव समूहका नेताहरू लामो समय थुनिनुभन्दा राजीनामाको विज्ञप्ति निकालेर छुटकारा पाउने मनसायमा देखिन्छन् । प्रेस विज्ञप्ति जारी गरेर पार्टी छाडेको घोषणा गरेपछि सबैले थाहा पाउने, पार्टीसम्म कुरो पुग्ने र उनीहरूलाई पनि नैतिक दबाब हुने भएकाले पहिलेजस्तै सक्रिय हुँदैनन् कि भन्ने आश प्रहरीको देखिन्छ । यो रणनीतिमा प्रहरी सफल पनि देखिन्छ ।
ध्वस्त आधार इलाका
विप्लव समूहले क्रान्तिका लागि आधार इलाका साविक राप्ती अञ्चललाई नै मानेको छ । उसले वर्गीकरण गरेका जिल्लामध्ये राप्तीका सबै जिल्ला ‘क’ वर्गमा पर्छन् । आफ्नो प्रभावका आधारमा हरेक जिल्लालाई ‘क’ देखि ‘घ’ श्रेणीमा विभाजन गरिएको छ । विप्लव समूह स्रोतका अनुसार ‘क’ श्रेणीमा २०, ‘ख’ मा ३७, ‘ग’ मा १४ र ‘घ’ मा ६ जिल्लालाई राखिएको छ । दाङ, रोल्पा, प्युठान, रुकुम र कालिकोट उनीहरूले मुख्य आधारभूमि मानेका छन् ।
विगत द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीका चर्चित र भरपर्दो आधार इलाका थियो, रोल्पाको थबाङ । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि विद्रोही भूमिकामै रहेर फरक चरित्र देखाउने यो गाउँलाई नै चन्दले पहिलो केन्द्र बनाएका थिए । सुरुमा पुष्पकमल दाहाल नेतृत्वको माओवादीबाट छुट्टिएर मोहन वैद्यले अर्को पार्टी खडा गर्दा थबाङ पूरै वैद्यको पछि लाग्यो । थबाङका अगुवा सन्तोष बुढा मगर यही पार्टीमा भएकाले गाउँ दाहालविरोधी खेमामा उभियो । दाहालले सत्तामा गएपछि विगतका आधार इलाका र जनतालाई भुलेको भन्दै उनीहरू आक्रोशित थिए, जसका कारण दाहाल लामो समय थबाङ जान नै सकेनन् । ०७० को संविधानसभा निर्वाचनमा शून्य मतदान गरेर उनीहरूले दाहालविरुद्धको आक्रोशलाई सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।
चन्द नेतृत्वको पार्टी भएपछि थबाङ फेरि पनि विद्रोही समूहतिर लाग्यो । चन्दले थबाङमै बैठक राखेर आफ्नो आधार इलाका बचाइराख्ने प्रयास गरे तर स्थानीय निर्वाचन वहिष्कार योजना सफल हुन सकेन । कुनै एक राजनीतिक आदर्शका नाममा एकजुट हुँदै आएको थबाङलाई स्थानीय तह निर्वाचनले विभिन्न पार्टीमा विभाजन गरिदियो । थबाङ पहिलोपल्ट बहुदलीय प्रतिस्पर्धामा गयो ।
चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिका अध्यक्षमा निर्वाचन उठेका थिए । उनी अहिले राजपुरमा पक्राउ परे । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर घर्ती १ हजार ९ सय ९० मत ल्याएर विजयी भए भने घर्तीले १ हजार ५७ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका विप्लव निकट नेताहरूले वडा–१ मा मात्रै आफ्नो पकड जमाउन सफल भएका थिए । अरू सबै वडामा माओवादी केन्द्रले आफ्नो पुरानो साख फर्कायो । वडा–१ को अध्यक्षमा चन्द निकट स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढा तथा सदस्य लकअप बुढा, भद्रकुमार झाँक्री, मनपरी बुढा र जितकुमारी विक विजयी भएका थिए । वडा–१ थबाङको पुरानो गाउँ हो ।
चन्द पक्षले गाउँपालिका प्रमुख नै नजिते पनि एक वडा जितेकाले पुरानो थबाङ गाउँमा आफ्नो प्रभाव रहेको दाबी गरिरहेको छ । उक्त प्रभाव देखाउन एक पटक गाउँपालिका अध्यक्षलाई अपहरण नै गरेका थिए । वडाध्यक्षको निधनपछि सम्पन्न उपनिर्वाचनमा विप्लव समूहले थबाङ–१ मा भद्रकुमार झाँक्रीलाई स्वतन्त्र उम्मेदवार बनाएको थियो तर आलोचित भएपछि अन्त्यमा उम्मेदवारी फिर्ता लिन लगायो ।
विप्लव समूहले आधार इलाका ठानेर थबाङमै ५–८ फागुन ०७३ सम्म आठौँ महाधिवेशन सम्पन्न गरेको थियो । १ फागुनमा काठमाडाैँमा उद्घाटन गरिएको महाधिवेशन आधार इलाका ठानेरै थबाङ लगिएको थियो । त्यही महाधिवेशनबाट नेकपा माओवादीको नाम परिवर्तन गरी नेकपा मात्रै राखिएको हो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...