साइबर अपराधको निशानामा बालबालिका
इन्टरनेट चलाउने बालबालिका कति सुरक्षित ?
एक वर्षअघि भक्तपुरकी १७ वर्षीया किशोरीको फेसबुक आइडीमा एक युवकको फ्रेन्ड रिक्वेस्ट आयो । स्वीकारपछि बिस्तारै उनीहरुबीच च्याट हुन थाल्यो । ‘भर्चुअल’ दुनियााबाट नजिकिएका उनीहरुले छिट्टै बिहे गर्ने योजनासमेत बुने । वैदेशिक रोजगारीमा मलेसिया गएका ती युवकसँग उनी फेसबुकमा घन्टौँ कुरा गर्थिन् ।
त्यही क्रममा एक दिन ती युवकले नग्न तस्बिर खिचेर पठाउन भने । त्यसो गर्न सक्दिनँ भनेपछि उनले ‘मायामा विश्वास नगरेको’ भनेर घुर्की देखाए । आखिर बिहे उसैसाग गर्ने हो, के फरक पर्ला र भनेर फोटो खिचेर पठाइन् । त्यसपछि अर्धनग्न अवस्थामा भिडियो च्याट गर्न भने । युवकले भनेका सबै कुरा मान्दै गइन् । युवकका यस्ता हर्कतले आजित भएपछि सम्बन्ध तोड्न खोजिन् । च्याट नगरे फोटो र भिडियो फेसबुकमा अपलोड गरिदिने धम्की ती युवकले बारम्बार दिन थाले । युवकको धम्की सहन नसकेपछि किशोरीले आत्महत्याको बाटो रोजिन् । घटनापछि किशोरीका आफन्तले महानगरीय अपराध महाशाखा टेकुमा जानकारी गराए पनि पीडकविरुद्ध उजुरी भने दिएनन् ।
धनगढीकी १६ वर्षीया किशोरी फेसबुकमा साथी बनिन्, टीकाराम भण्डारीसँग । उनीहरुबीच फेसबुकमै घन्टौँ च्याट हुन थाल्यो । कुराकानीकै क्रममा एक दिन ती युवकले सेक्स प्रस्ताव राखे । उनले मानिनन् । फेक आइडी बनाएर ती युवतीको अश्लील फोटो र भिडियो अपलोड गरेपछि उनका दाजुले ३ भदौ ०७६ मा प्रहरीमा उजुरी दिए ।
१७ चैत ०७३ मा काठमाडौँ सामाखुसी रानीबारीस्थित नेपाल प्रहरी स्कुलमा १४ वर्षीय बालक मृत भेटिए । प्रहरी अनुसन्धानबाट उनले स्कुलको छतबाट हाम फालेर आत्महत्या गरेको देखियो । आफ्नै स्कुलकी केटी साथीको नक्कली फेसबुक आइडी बनाएर अश्लील सामग्री पठाएको घटनाले आत्महत्यासम्म पुर्यायो ।
८ कक्षा पढ्ने यी विद्यार्थीको सहपाठी केटी साथीसाग झगडा भयो । त्यही निहुुुँमा उनले केटी साथीको नामबाट ‘नक्कली फेसबुक आइडी’ बनाए । सोही आइडीबाटै केटीका बुबालाई अश्लील सामग्री पठाइदिए फेसबुकमा उनको आइडीबाट अश्लील सामग्री अपलोड भएको देखेपछि बुबाले छोरीलाई बोलाएर सोधे । उनले आफ्नै सहपाठीले यस्तो हर्कत गरेको हुन सक्ने लख काटिन् । केटीका अभिभावक विद्यालय पुगेपछि विद्यालयकी तत्कालीन वार्डेन शर्मिला गुरुङले अश्लील फोटो अपलोड गर्ने विद्यार्थीलाई आइन्दा यसो नगर्न र स्कुल आउँदा आमालाई लिएर आउन भनिन् । तर ती विद्यार्थीले घर नगएर स्कुलको होस्टल भवनबाटै हाम फालेर आत्महत्या गरे ।
चार महिनामा ४५ पीडित
सामाजिक सञ्जाल कतिसम्म डरलाग्दो बन्दै गएको छ भन्ने उदाहरण माथिका घटनाबाट प्रस्ट हुन्छ । सामाजिक सञ्जाल प्रयोगबाट पीडित हुनेमा सबैभन्दा बढी महिला र त्यसपछि बालबालिका छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको तथ्यांकले ०७६/७७ भदौदेखि मंसिरसम्म चार महिने अवधिमा दर्ता भएका ८ सय १८ उजुरीमध्ये ४५ बालबालिका सामाजिक सञ्जाललगायतका माध्यमबाट हुने अपराधबाट पीडित भएको देखाएको छ । महिलाको संख्या ४ सय ७३ भए पनि मुद्दा २४ वटा मात्रै दर्ता गरिएको छ ।
ब्युरोका प्रवक्ता तथा एसएसपी नवीन्द्र अर्याल बालबालिकादेखि वृद्धवृद्धा सबै सामाजिक सञ्जालबाट हुने अपराधको सिकार भएको बताउँछन् । भन्छन्, “किशोर–किशोरी सुरुमा प्रेम गर्छन्, त्यही क्रममा शारीरिक सम्बन्ध हुन्छ, पछि छुटेपछि एकअर्काको चरित्र हत्या गर्ने माध्यम फेसबुकलाई बनाउने गरेका छन् ।”
सेयरकास्ट इनिसिएटिभले गरेको मिडिया सर्वेक्षण, २०१९ अनुसार नेपालमा ३३ प्रतिशत जनसंख्याले नियमित रूपमा इन्टरनेट प्रयोग गर्छ । इन्टरनेट प्रयोग गर्ने नेपाली महिलामध्ये ८२ प्रतिशतले फेसबुक प्रयोग गर्छन् । यसपछि धेरै प्रयोग हुने एप्लिकेसन फेसबुककै मेसेन्जर हो ।
याे पनि पढ्नुहाेस् : अनलाइनमा असुरक्षित बालबालिका
एसएसपी अर्यालको भनाइमा किशोरीमाथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने, मानसिक यातना दिनेजस्ता घटना बढी देखिन्छन् । गालीगलौज मात्रै होइन, प्रेमसम्बन्ध बिग्रिएपछि त्यसलाई पोख्ने साधन पनि बनेको छ, सामाजिक सञ्जाल । ब्युरोको तथ्यांकअनुसार साइबर अपराधमध्ये २२ प्रतिशत बालबालिकासँग जोडिएका छन् । सामाजिक सञ्जाल घरायसी विवाददेखि व्यक्तिगत सम्बन्धमा समेत रिसइबी साँध्ने माध्यम बन्दै गएको अर्याल बताउँछन् । उनको अनुभवमा जोकसैको पनि फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्ने, सजिलो पासवर्ड राख्ने र जे भन्यो, त्यो मान्ने भएकाले पनि सामाजिक सञ्जालबाट हुने अपराधको निशानामा बढीजसो बालबालिका पर्ने गरेका छन् ।
असामाजिक सञ्जाल
फेसबुक, ट्वीटर, भाइबर, इमो, गेमिङ साइट, भिडियो साइटजस्तै युट्युब, ब्लग आदिलाई सामाजिक सञ्जालमा समेटिएको छ । सामाजिक सञ्जालबाट देश–विदेशमा रहेकासँग एकअर्कामा जोडिन, ज्ञान आर्जन, रचनात्मक कर्म तथा मनोरञ्जन पनि प्राप्त गर्न सकिन्छ । बालबालिकालाई सही तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सिकाउन सकिए लाभ पुग्न सक्ने बालअधिकारकर्मी रवि गौतम बताउँछन् ।
उनको भनाइमा सामाजिक सञ्जालमा एक पटक पोस्ट गरिएका सामग्री तथा फोटा कहिल्यै पनि हटाउन सकिँदैन । मोबाइल या कम्प्युटरबाट डिलिट गरे पनि क्लाउडमा रहन्छ । ह्याकरले कुनै पनि बेला यसलाई डाउनलोड गर्न सक्छ भन्ने चेतना अभिभावकले बालबालिकालाई दिन सक्नुपर्छ । बालबालिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन्, कुन साइट हेर्छन्, फेसबुकमा के कुरा पोस्ट गर्छन्, उनीहरूका साथी कस्ता छन् जस्ता विषयमा अभिभावकले निगरानी गरे केही हदसम्म अपराधबाट जोगाउन सकिने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी पशुपतिकुमार राय बताउँछन् ।
प्रहरीकहाँ पुग्दैनन् घटना
अनलाइन अपराध घटना अहिले विद्यालयमा अध्ययरत बालबालिकासम्मै पुगेको छ । यसको क्रम बढ्दो रहे पनि प्रहरीसमक्ष भने त्यस्ता घटना कम मात्रै पुग्ने गरेका छन् । बालबालिकामाथि अनलाइनबाट हुने दुर्व्यवहारका क्षेत्रमा काम गरिरहेको संस्था भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापा विभिन्न माध्यमबाट बर्सेनि १५ देखि २० वटा घटना आफूहरूकहाँ आउने गरेको बताउाछन् । पीडित बालबालिका उजुरीका लागि प्रहरीकहाँ कमै मात्रै जाने गरेको उनको भनाइ छ । सन् २०१८ मा संस्थाले बनाएको अनलाइनपीडित बालबालिकासम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालबाट हुने अपराधमध्ये ७० प्रतिशत यौन दुर्व्यवहारबाट पीडित भएको देखाइएको छ । दुर्व्यवहारबाट पीडित २५ प्रतिशत बालबालिका आत्महत्या गर्ने अवस्थामा समेत पुगेको प्रतिवेदनमा उल्लेख छ । उनीहरूको उमेर १२ देखि १८ वर्षसम्म छ । संस्थामा आएका अनलाइन दुर्व्यवहारका घटना रिपोर्ट त हुन्छन् । तर अधिकांश घटना गुपचुप राखिएपछि त्यत्तिकै मिल्ने गरेका छन् । थापा भन्छन्, “अनलाइनमार्फत बालबालिकामाथि भइरहेको दुर्व्यवहारलाई सामान्य रूपमा लिने गरिएको छ । त्यसैले यस्ता घटना बाहिर आउनै पाउँदैनन् ।”
उनका अनुसार बालबालिकामाथि हुने दुर्व्यवहारका घटना उजुरी प्रक्रिया बालमैत्री छैन । झन्झटिलो प्रक्रियाले अभिभावक उजुरी गर्ने निकायसम्म पुग्न चाहँदैनन् । त्यस्ता घटना छानबिनका लागि गोपनीयता अपनाएर दोषीलाई कारबाही हुनेमा पीडितलाई आश्वस्त तुल्याउन सक्नुपर्ने थापाको सुझाव छ ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता, एसएसपी नवीन्द्र अर्याल छोराछोरीका घटना बाहिर आउँछन् भनेर लुकाउने गरिएको बताउँछन् । उनको बुझाइमा अहिले अभिभावकको बालबालिकाप्रति पारिवारिक ‘कन्ट्रोल मेकानिजम’ फुत्किएको छ । “छोरीको हकमा अभिभावक केही हदसम्म सचेत छन् । तर छोराले के गर्दै छ भन्ने कष्ट गर्दैनन्,” अर्याल भन्छन्, “उनीहरूमाथि निगरानी नगरिँदा दुर्घटना निम्तिन पुग्छ ।”
ठूलो अपराध, सीमित कानुन
देशभरका साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा मात्रै चल्छ । यस्ता अपराधका मुद्दाको अनुसन्धान मूलत: महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी अपराध महाशाखा, केन्द्रीय साइबर ब्युरोले गर्छन् भने मुद्दा चलाउने काम जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत हुन्छ ।
महानगरीय अपराध महाशाखा काठमाडौँको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ देखि चालू आव ०७६ कात्तिकसम्म ५ हजार ८ सय २२ उजुरी आएका छन् । सबैभन्दा बढी उजुरी गत आव ०७५/७६ मा १ हजार ९ सय ३८ वटा परेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आव ०७४/७५ देखि चालू आव ०७६/७७ सम्म ३२ वटा मात्रै मुद्दा दर्ता भएका छन् । जबकि सोही अवधिमा ३८ व्यक्ति मात्रै पक्राउ परेका छन् । अनुसन्धानमा सहभागी प्रहरीको भनाइमा समाजमा यस्ता घटना बढ्तै रहे पनि विभिन्न कारणले प्रहरीसमक्ष थोरै मात्रै उजुरी आइपुग्छन् । ब्युरोको तथ्यांकअनुसार चालू ०७६ को साउनमा मात्रै फेसबुक म्यासेन्जरको अपराधबाट १ सय २९ पीडित भएका छन् । भदौमा २ सय ९, असोजमा १ सय ३६, कात्तिकमा १ सय ३५ र मंसिरमा १ सय ७९ वटा छन् । यी तथ्यांकले बोल्छ, साइबर अपराध बढ्दै गएको ।
प्रहरीले साइबर अपराध नियमनका लागि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, ०६३ प्रयोग गर्दै आएको छ । उक्त ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
सबै किसिमका साइबर अपराध ब्युरोले समेट्न नसक्ने भए पनि आफ्नो परिभाषाभन्दा बाहिरका अपराधमा समेत यही ऐन आकर्षित भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी पशुपतिकुमार राय बताउँछन् । अहिले अपराधको स्वरूप परिवर्तन भएको उनको तर्क छ । साइबर ऐनको परिच्छेद ९ मा उल्लिखित कम्प्युटरसम्बन्धी व्यवस्थाअन्तर्गत मोबाइलबाट हुने अपराधमा अश्लील फोटो/भिडियो अपलोड, चाइल्ड पोर्नाेग्राफी, अनलाइनबाट हुने बैंकिङ ह्याकिङको विषय समेटिएको छैन । ऐनले नसमेटेपछि कारबाही गर्न पनि समस्या हुने रायको भनाइ छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...