अव्यावहारिक एकीकृत बस्ती
एकीकृत बस्ती एकातिर, पशुपालन र खेतीपाती अर्कातिर
हरियो छाना । सेतो रङले पोतिएको भित्तामा कलेजी घेरा । आकार र रङ पनि उस्तै । चिटिक्क घरको चमकले जोकोहीलाई लोभ्याउँछ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको १९ घर भएको बस्ती पुग्दा मान्छे भेटाउनै मुस्किल ।
सेलाङ नमुना एकीकृत बस्तीका अध्यक्ष सेबले तामाङले सुनाए, “गाउँले खेतीपाती र वस्तुभाउको स्याहारका लागि पुरानो बस्ती सेप गाउँ जान्छन् । त्यहाँ पुग्न दुई घन्टा लाग्छ । बस्ती नजिक भएको भए पो सबैलाई सजिलो हुन्थ्यो ।”
१२ वैशाख ०७२ सम्म गाउँले सेप गाउँमै बस्थे । भूकम्पले त्यहाँका सबै घर ढाल्यो । ढलेको घरमा पुरिएर १४ जनाको मृत्यु भयो । भूकम्पपछि गएको पहिरोले विस्थापित भएर काफ्लेडाँडामा टहरालाई बास बनाएको उनीहरूको १९ घरपरिवार यसै वर्ष ४ असारबाट उक्त बस्तीमा बस्न थालेको हो ।
तामाङका अनुसार अक्सफाम नेपालको आर्थिक सहयोग र ग्रामीण सेवा समितिको व्यवस्थापनमा ३७ रोपनी जग्गामा फैलिएको उक्त बस्तीको प्लटिङ गाउँपालिकाले गरिदिएको हो । बस्ती निर्माणमा जनश्रमदानसमेत गरी १ करोड ३७ लाख ७५ हजार रुपैयाँ खर्च भयो ।
बस्तीका सबै घर तीन कोठे छन् । तीन आनामा बनेका साँघुरा घरमा सबै परिवार अटाउँदैनन् । भूकम्पपीडित भीमबहादुर लोप्चन भन्छन्, “घर त पायाैँ, अन्नपात राख्ने ठाउँ छैन । घरमुनि पहिरो गइरहेको छ ।”
एकीकृत बस्तीका दुई दलित परिवारको घर पहिरोको मुखमै छ । पहिरोले कुनै पनि बेला पुर्न सक्ने उनको अनुमान छ । “पहिला भूकम्पले बाँच्यौँ,” लोप्चन दुखेसो पोख्छन्, “अब पहिरोले लग्ने हो कि भन्ने पिरलोले सताएको छ । तामाङ संस्कार, संस्कृति, भाषा र पहिचान नमिलेकै कारण दलित परिवार छुट्टै बसेका थिए ।
जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा सेलाङमा त्योभन्दा सुरक्षित ठाउँ अन्त नभेटिएपछि त्यहीँ बस्ती निर्माण गरेको बताउँछन् । भन्छन्, “डोजरले खन्दा निस्किएको माटो पानीले बगाउँदा तल खोल्सोजस्तो देखिए पनि बस्ती असुरक्षित छैन ।” दुई दलित परिवार माथि बस्न नमानेका कारण सोही स्थानमै घर बनाइदिएको शर्माको भनाइ छ । बस्ती संरक्षणका लागि ९३ लाख रुपैयाँको डिपिआर पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भइसकेकाले संरक्षणको काम वर्षा अगाडिबाटै थालिने शर्मा बताउँछन् । भन्छन्, “घर र पशुपालन एकै ठाउँ हुने भएकाले एकीकृत बस्तीका घर साँघुरा भएका छन् ।” अधिकांशले खेतीपाती र पशुपालन गर्ने भएकाले पनि बस्ती र खेत टाढा हुँदा अव्यावहारिक देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सुरतबहादुर सुनारको भनाइ छ ।
प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौला भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद्को टोलीकै सिफारिसमा एकीकृत बस्ती बसाइएको दाबी गर्छन् । बस्ती संरक्षणका लागि वरिपरि सुरक्षित पर्खाल लगाउने, सडक छाप्ने, आँगन फराकिलो बनाउनेलगायत काम बाँकी नै छ ।
सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१२ बाँसबारीस्थित थाक्लेमा रहेको एकीकृत बस्ती १७ रोपनी जमिनमा फैलिएको छ । प्रत्येक घर सात रोपनी क्षेत्रफलमा बनेका छन् । भूकम्पअघि पनि स्थानीयको बसोबास एकीकृत बस्ती बनेकै स्थानमा थियो । जग्गा सट्टापट्टा मिलाएर पुस ०७५ देखि स्थानीयले एकीकृत बस्ती विकासको काम थालेका थिए ।
सिन्धुपाल्चोकमा भूकम्पपछि सबैभन्दा पहिला बनेको नमुना माझी गाउा जीर्णावस्थामा
महिला आत्मनिर्भरता केन्द्रसँगको साझेदारीमा अक्सफाम नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती ठडिएको हो । घर निर्माणमा अक्सफामले ७ लाख २५ हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराएको बस्ती विकास समितिका अध्यक्ष चेतबहादुर तामाङ बताउँछन् ।
तामाङका अनुसार पुनर्निर्माण सकिँदा श्रमदानसमेत प्रतिघर लागत १३ लाख रुपैयाँ पुग्ने अनुमान छ । साढे ३ देखि ४ लाख रुपैयाँ सम्बन्धित घरधनीले बेहोर्नुपर्ने देखिएको छ । पूर्वाधार विकासको काम ५० प्रतिशत मात्र सकिएको छ । बस्तीको पूर्वाधार विकासमा ५ करोड रुपैयाँ लाग्ने डिपिआर तयार भएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का इन्जिनियर पुकार शर्मा भन्छन्, “तर प्राधिकरणको मापदण्डअनुसार प्राप्त थोरै रकमले धेरै काम गर्नुपर्ने बाध्यता छ ।”
पर्खाल निर्माणका क्रममा जग खन्दा तीन वटा घर जोखिममा परेका छन् । थाक्ले नमुना एकीकृत बस्तीका अध्यक्ष तामाङ जग खन्दा माटो भासिएर नयाँ घर जोखिममा परेको गुनासो गर्छन् । भन्छन्, “संरक्षणका लागि पर्खाल लगाउन बजेट नपुग्दा बीचैमा अलपत्र छाड्नु परेको छ ।”
सरकारले दिएको ३ लाख अनुदानमा ४ लाख थपेर घर बनाएकी चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी टोलकी लक्ष्मी माझी दसैँमा नयाँ घर सरेकी छन् । तर उनलाई भूकम्पले भत्किएको पुरानै घरको डिजाइन ठीक लाग्छ । भन्छिन्, “यो त भुइँतला मात्रै छ । पुरानो घर त भुइँतलासहितको तीन तला थियो । सबै कुरा राख्न पाइन्थ्यो ।” उनका छिमेकी सोमबहादुर माझी पनि दसैँलगत्तै टहरोबाट नयाँ घरमा सरे । ७ जनाको उनको परिवारलाई त्यो घर अपुग छ । घरमा अन्नपात राख्नसमेत ठाउँ नभएको उनको गुनासो छ ।
मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको नमुना एकीकृत बस्ती पनि बस्नलायक छैन । भूकम्पपछि थाई नेपाली नामक संस्थाले एक कोठे बस्ने घर बनाइदिएको थियो । एक कोठाको घरमा बस्न नमिलेपछि ४६ घरधुरीको माझी बस्तीभित्रै अहिले पक्की घर ठडिएका छन् । एउटा कोठामा सबै परिवार बस्न नमिलेपछि ऋणमा छुट्टै घर बनाउनु परेको सुनिता माझी बताउँछिन् । थाई नेपालीले बनाइदिएको घर भत्किने अवस्थामा पुगेपछि आफैँ नयाँ घर बनाएर बसेको उनको स्पष्टीकरण छ ।
सिन्धुपाल्चोकमा ३० एकीकृत बस्ती छन् । २३ बस्ती निर्माण सम्पन्न भए । चार निर्माणाधीन र तीन बस्ती निर्माण चरणमा रहेको इकाइ प्रमुुख सन्तोष निरौला बताउँछन् । प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपालप्रसाद शर्मा सरकारको बजेट सीमित हुने भएकाले निर्माण गरिएका घर साँघुरा भएको स्वीकार्छन् । उनका अनुसार धेरैजसो बस्तीका घर साँघुरा छन् । १०/१२ जनाको परिवार दुई कोठामा अटाउनुपर्ने बाध्यता छ ।
बजेट अभावकै कारण सिन्धुपाल्चोकको नोर्बुलिङमा दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन तयार भइसके पनि घर निर्माण सकिएको छैन । सुरुआती चरणमा प्रभावकारी योजना नबन्दा समस्या निम्तिएका छन् । पुनर्निर्माण प्राधिकरणकै एक इन्जिनियर सरकारलाई नयाँ काम देखाउनुपर्ने बाध्यताले सुरुमा केही हतारो भएको बताउँछन् ।
पुनर्निर्माण प्राधिकरणका आवास इन्जिनियर सुरतबहादुर सुनारका अनुसार प्राधिकरणले निजी आवास पुनर्निर्माणका क्रममा जहाँ–जहाँ घर भत्किएका छन्, त्यहीँ मात्र नभई छरिएर रहेका घरलाई समेटेर एकीकृत नमुना बस्ती विकास गरेको हो । बस्तीको भौतिक पूर्वाधारका लागि सरकारले छुट्टै रकम उपलब्ध गराएको छ । आवश्यक सहयोगका लागि प्राधिकरणबाट ३ हजार प्राविधिक खटाएको छ ।
एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, ०७५ मा तीन विकल्प अघि सारिएका छन् । साविक स्थानमा बस्ती बसाउन नसकिने देखिए, केहीलाई स्थानीय स्तरमै राख्न सकिने भए पनि स्थानान्तरण गर्नुपर्ने परिवारलाई मात्र अन्यत्र लग्ने गरी मिश्रित रूपमा र हाल छरिएर रहेका निजी घरपरिवारले चाहे एकीकृत बस्ती विकास गर्न सक्ने कार्यविधिमा उल्लेख छ । बस्ती विस्तारमा न्यूनतम १० घर हुनुपर्नेछ । १० देखि ९९ घरसम्म स्थानीय आयोजना कार्यान्वयन इकाइबाट र बाँकी प्राधिकरणले तोकेको निकायबाट कार्यक्रम कार्यान्वयन हुने कार्यविधिमा छ ।
“एकै पटक घर निर्माण गर्दा पूर्वाधार बनाउन सजिलो र कम खर्चिलो हुने भएकाले केही हदसम्म राम्रो पनि देखिएको छ,” प्राधिकरणका एक इन्जिनियर भन्छन्, “विस्थापित र भूमिहीन, आफ्नो छुट्टै घर बनाउन नसकेका भूकम्पपीडितका लागि एकीकृत बस्तीको विकास गरिए पनि यो अव्यावहारिक देखिएको छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...