संसदमै अड्किन्छन् उत्खनन् नियन्त्रण गर्ने कानुन
राजनीति शक्तिकै आडमा प्राकृतिक स्रोत–साधनमा हालिमुहाली गर्ने क्रसर सञ्चालकलाई नियममा बाँध्ने विधेयक प्रदेशसभा र सांसदको प्राथमिकतामा परेको देखिँदैन ।
प्रदेश २ सरकारले चुरेको दोहन रोक्न दुईवटा विधेयक प्रदेशसभामा पेश गरेको महिनौँ बितिसक्यो । तर सभाको प्राथमिकतामा यी परेका छैनन् ।
उद्योग, वन, पर्यटन र वातावरण मन्त्रालयले तयार पारेको वातावरण विधेयक र वन विधेयकमा चुरे संरक्षणसँगै खोलाको दोहनलाई लगाम लगाउने कडा प्रावधानहरू प्रस्ताव गरिएको छ ।
वन विधेयकमा चुरे संरक्षण विशेष समिति गठन गर्ने र चुरेमा भइरहेको उत्खनन् अनुगमन, व्यवस्थित र रोकथाम गर्ने उल्लेख छ । वातावरण विधेयकमा पनि खोलाको अनियन्त्रित दोहनलाई कस्ने नियम लागु गर्ने उल्लेख छ । चुरे संरक्षण र खोला दोहनमा लगाम लगाउने यी दुई विधेयक प्रदेशसभाको प्राकृतिक स्रोत समितिमा छलफलका लागि पठाइएको महिनौं बितेको छ । राजनीति शक्तिकै आडमा प्राकृतिक स्रोत–साधनमा हालिमुहाली गर्ने क्रसर सञ्चालकलाई नियममा बाँध्ने यी दुबै विधेयक प्रदेशसभा र सांसदको प्राथमिकतामा परेको देखिँदैन ।
२९ पुसमा जनकपुरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको सगरमाथा संवाद श्रृंखलामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे दोहन र खोलाको अनियन्त्रित उत्खनन्मा तीनै तहको सरकार उदासीन रहेको स्वीकारे । मुख्यमन्त्री राउत कड्किए, ‘रातको समयमा पनि चुरे दोहन हुँदैछ । क्रसरले मनलाग्दी गरेको छ । वन विनाश रोकिएको छैन । रोक्नेलाई टिपरले किचेर मारिन्छ । हामी मुकदर्शन बनेका छौं ।’
मंसिरको पहिलो साता जनकपुरमै भएको लिटरेचर फेस्टिवलको चुरे संवाद सेसनमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरेमा राज्य संरक्षित टिपर र एक्साभेटर ‘डन’को दबदबा रहेको आरोप लगाए । ‘चुरिया दोहनमा सबै पार्टीका नेता/कार्यकर्ताको संलग्नता छ,’ पूर्व राष्ट्रपति यादवले भने, ‘चुरेमा डोजर आंतक छ ।’ यादवले यसो भनिरहँदा नेकपाका नेता माधवकुमार नेपाल उनीसँगै संवादमा उपस्थित थिए । यादव राष्ट्रपति र नेपाल प्रधानमन्त्री भएकै बेला राष्ट्रपति चुरे संरक्षण योजना सरकारले लागु गरेको थियो । तर, पूर्वराष्ट्रपति यादवले अर्को गम्भीर तितो पनि पोखे, ‘चुरे संरक्षणको मास्टर प्लान तयार छ । तर, कानुन बनाउन कुनै सरकारले चासो देखाएनन् ।’
चुरे दोहन र वालुवा–गिट्टीको जथाभावी उत्खननको असर समाजमा पर्न थालेको छ । तराई–मधेसमा गर्मी–जाडो दुबै सिजन असह्य हुन थालेको छ । मधेसका बस्तीमा भूमिगत पानीको सतह मुनिमुनि जाँदैछ । बाढी आउँदा उफान हुन्छ । अग्लो ठाउँ पनि डुवानमा पर्न थाल्यो । तर, सरकारको उपल्लो तहमा बसेकाले नै चुरे दोहन र खोला उत्खनन् किन रोकिएन भन्ने समान्य नागरिक झैं निरीहता पोखिरहेका छन् । कुन अदृश्य शक्तिको आडमा डोजर, टिपर र एक्साभेटरवाला चुरेमा खेलाँची गर्दैछन् त ?
मुख्यमन्त्री राउतले थोरै संकेत गरे । ‘तलदेखि माथिसम्मको सेटिङमा चुरेमा बद्मासी भइरहेको छ । चुरे माँसेर नेताहरुले नै सडक बनाएका छन्,’ उनले भने ।
दिलीपको दबाब
२५ पुसको एकाबिहानै दिलीप महतोको निद्रा टिपर र लोडरको आवाजले खुल्यो । धनुषाको औरही खोलामा रातको समयमा दोहन भइरहेको थियो । त्यहाँबाट ३ सय मिटर दूरीमा दिलीपको घर छ ।
दिलीपको हत्यापछि शोकाकुल परिवारजन । तस्बिरः अजित तिवारी
मिथिला नगरपालिका–५ को श्रीपुर टोल । यही टोलमा दिलीप बस्छन् । त्यहीँ पर क्रसर छ । औरही खोला त झन् दिलीपको घर टाँसिएरै बग्छ ।
भारतको भुपालमा बिटेक इन्जिनियरिङ पढिरहेका दिलीप घर फर्किँदा उनलाई सधैं त्यही खोलाको पीर हुन्थ्यो । खोलामा टिपर कुदेको र पोखरी जत्रा खाल्डो खनेको देखेर उनको मन खिन्न हुन्थ्यो । उनको एउटै चिन्ता थियो, ‘खोला यसरी खोस्रिए खेत र बस्ती दुबै जोखिममा पर्छ ।’ उनी धेरै पटक क्रसरमै पुगेर सञ्चालकलाई सम्झाए । जथाभावी दोहन रोक्न आग्रह गरे । नमानेपछि अवरोध गर्न थाले ।
शुक्रबार बिहान पनि उनलाई यही चिन्ताले निदाउनै दिएन । साथी पर्ने वडाध्यक्ष श्यामबाबु यादव र छिमेकी साथी रोशन यादवलाई फोन गरेर बोलाए । र, खोलामै पुगेर उत्खनन् रोक्न सल्लाह गरे । वडाध्यक्ष अन्तिम समयमा बहाना बनाएर घर फर्किए । दिलीप र रोशन खोलातिर सोझिए । दिलीप हतारिँदै गए । रोशन पायल्सको अपरेशन गरेकाले बिस्तारै हिँडे । रोशन खोलामा पुग्दा दिलीपको हत्या भइसकेको थियो ।
पढ्नुस् : क्रसर डनले निमोठेको आवाज
छठ पर्वको बेला पनि दिलीप र क्रसर सञ्चालकबीच विवाद भएको थियो । उनी दुई वर्षदेखि औरही खोलाको अवैध उत्खनन् रोक्न युवा र समाजलाई एकजुट गर्न लागेका उनका साथी कमलेश सिंहले बताउँछन् । एक वर्षअघि जनकपुरका पत्रकारलाई बोलाएर दिलीपले खोलामा भइरहेको अवैध उत्खनन्बारे जानकारी दिएपछि केही समय बालुवा–गिट्टी झिक्ने क्रम रोकिएको थियो । तर, अहिले रातको समयमा खोलाबाट बालुवा–गिट्टी झिक्ने क्रम बढेपछि दिलिप जोखिम मोल्दा ज्यानै गुमाउनु पर्यो ।
कहाँ पुग्यो अनुसन्धान ?
धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरपस्ट रगतको नमूना संकलन गरेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको छ । “क्रसरमा प्रहरी खटाइएको छ । रगतको टाटालाई सुरक्षित राखिएको छ,” धनुषा प्रहरीका एसपी रमेश बस्नेतले भने, “रगतको रिर्पोटले अनुसन्धान झन् सजिलो हुनेछ ।”
धनुषा प्रहरीले टिपरका सहचालकलाई पनि खोजिरहेको छ । उनी चस्मदिद रहेकाले घटनाको धेरै रहस्य बुझेको प्रहरीको अनुमान छ । “हत्याको योजना बुन्ने र आक्रमण गर्ने समयमा पनि खलासीको उपस्थिति देखिन्छ,” एसपी बस्नेतले भने, “घटनापछि फरार छन् । नियन्त्रणमा लिएपछि धेरै कुरा खुल्छ ।” धनुषा प्रहरीले दिलीपको हत्यामा वडाध्यक्ष श्यामबाबु यादव र रोशन यादवको संलग्नता रहे/नरहेतर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ । यादवद्वय दिलीपका साथी हुन् । र, खोला जानुअघि तीनैजना चोकमा भेला भएपछि वडाध्यक्ष यादव अन्तिम समयमा घर फर्किएका थिए ।
“वडाध्यक्ष र रोशनको संलग्नता कति छ खोज्दैछौं,” एसपी बस्नेत भन्छन्, “हत्यासँग जोडिएको हरेक पहलूको अनुसन्धान हुँदैछ । संलग्न कोही पनि कारबाहीबाट जोगिँदैनन् ।”
प्रहरीलाई चालक मुनिन्द्र महतोले दिएको प्रारम्भिक बयानमा दिलीप ढलेको स्थानसम्म टिपर ब्याक गरेर टाउको किचेको स्वीकारेका छन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार दिलीपलाई टिपरले किचिरहेका बेला उनका साथी रोशन घटनास्थल पुगिसेका थिए । उनी त्यहाँबाट फुत्किएर गाउँतिर भाग्दै हल्ला गर्न थाले । रोशनकै हल्ला सुनेर टिपर लिएर अभियुक्तहरू क्रसरतिर भागे ।
पन्छिदै नियमनकारी निकाय
नियमनकारी निकायबीच मतभेद हुँदा धनुषामा खोला दोहन झन् बढेको छ । अनुमति दिने स्थानीय तह र अनुगमन गर्ने सरकारी निकायबीचको मतभेदको फाइदा भने क्रसर सञ्चालकले लिइरहेका छन् । बालुवा–गिट्टीको अनुमति र राजस्व बुझ्ने स्थानीय तह अनुगमनको पाटोमा अनिच्छुक बनिदिँदा क्रसर सञ्चालकको ज्यादती बढेको हो ।
पुरानो संरचनामा जिल्ला विकास समिति, प्रमुख जिल्ला अधिकारी र घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग र उत्खननको अनुगमन गथ्र्यो । तर, नयाँ संरचनामा यी दुबै कामको जिम्मेवारी स्थानीय तहलाई छ । स्थानीय तहका धेरैजसो पदाधिकारीले आफैं वा नातागोतालाई खोला जिम्मा लगाएका छन् । जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने अनुगमन समितिले पनि सबै अधिकार स्थानीय तहको रहेको भन्दै आफ्नो दायित्वबाट पन्छिने गर्छन् ।
स्थानीय तहका जनप्रतिनिधि गम्भीर नहुँदा क्रसर उद्योगले समस्या बढाएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेल बताउँछन् । औरही खोलाको दोहन रोक्न पुग्दा २४ वर्षीय दिलीप महतोको हत्यापछि स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पत्रचार गरी अवैध क्रसरबारे जानकारी मागेको उनी बताउँछन् ।
खोला ठेक्का लगाउँदा स्थानीय तहले उत्खननको मापदण्ड तोकेपनि क्रसरले जथाभावी खोस्रेकोमा चुप बस्छन् । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिअनुसार दुई वर्षको फरकमा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन र वर्षेनी खोला उत्खनन्को स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, धनुषामा उत्खननका लागि स्थानीय तहले जिल्ला समन्वय समितिको सहमति नलिएको उपप्रमुख दीपक झाले बताए । “खोला ठेक्का स्थानीय तहले लगाउने र जिल्ला अनुगमन समितिले अनुगमन गर्ने व्यवस्था भएपनि व्यवहारिक रुपमा कार्यान्वयन भएको छैन,” जिल्ला समन्वय समितिका उपप्रमुख झाले भने, “जिल्ला समन्वय समितिलाई स्थानीय तह, प्रहरी र क्रसर सञ्चालक कसैले टेरेको छैन । कारबाही गर्ने निकाय अनुगमन समितिको निर्णय र निर्देशन स्थानीय तहका जनप्रतिनिधिले अटेरी गरेको छ ।”
अनुमति लिएपछि क्रसर उद्योगले उत्खनन् गर्ने क्षेत्र र परिमाण तोकिएको बोर्ड झुन्ड्यिाएर साँझ ६ बजेअघि नै खोलाबाट बालुवा–गिट्टी र ढुंगा झिकिसक्नु पर्ने नियम छ । तर, धनुषामा रातको समयमा निर्वाध खोला दोहन भइरहेको छ । मापदण्ड पूरा नगरेका क्रसरलाई कारबाही गर्न जिल्ला अनुगमन समिति धनुषामा सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख रामदेव बनरैता बताउँछन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...