बौद्धिक पलायन कि आगमन ?
राजनीतिक स्थिरतासँगै परदेसिएका बौद्धिकहरुको खोजी
नेपालमा करिब एक वर्षदेखि ब्रेन गेन (बौद्धिक प्राप्ति) को चर्चा चलिरहेको छ । ब्रेन ड्रेन (बौद्धिक पलायन) बारे दशकौँदेखि सुन्दै आएका हामीलाई ब्रेन गेन शब्दावली नौलो नै लागेको हुनुपर्छ । सरकारले नेपालबाट विदेसिएका बौद्धिकहरूको विद्वतालाई स्वदेशमा उपयोग गर्न ब्रेन गेन सेन्टरको स्थापना गरेको छ । यसले गर्दा अध्ययन, रोजगारी वा अन्य सिलसिलामा विश्वका विभिन्न देशमा छरिएका नेपालीले हासिल गरेको विज्ञतालाई नेपालको विकास र समृद्धिमा सदुपयोग गर्न सहज होस् भन्ने उद्देश्यले केन्द्र स्थापना भएको देखिन्छ ।
खासगरी डायस्पोरामा पुगेका नेपालीबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आर्थिक, बौद्धिकलगायत सहयोगको अपेक्षा सरकारले गरेको छ । मध्यपूर्व तथा अन्य देशमा रोजगारीमा गएका अदक्ष र अर्धदक्ष कामदारले पठाएको रेमिट्यान्सले जसरी देशको अर्थतन्त्रलाई टेवा दिएको छ, त्यसैगरी दक्ष र विज्ञता हासिल गरेर डायस्पोरामा गएका बौद्धिकहरूको ज्ञानले देशको नीति, योजना, आर्थिक उन्नति, विकास, समृद्धि आदिमा टेवा पुग्नेछ भन्ने अपेक्षा देशले गरेको छ । विश्व मानचित्रमा नेपाललाई अदक्ष कामदार आपूर्ति गर्ने देशको रूपमा चिनिन्छ, जसलाई न्यून वेतनमा काम लगाउन सकियोस् । तर नेपालबाट विज्ञता हासिल गरेका व्यक्ति पनि विदेसिने गरेका छन् र कतिपय गन्तव्य मुलुकमै पुगेर विज्ञता हासिल गरेका छन् । जसले नेपालको धरातल बुझेका छन्, यहाँको आर्थिक अवस्था जानेका छन्, यहाँको आवश्यकता पहिचान गरेका छन्, उनीहरूले बनाएको योजना, दिएका सुझाव र सामूहिक लगानीमा सञ्चालन गरिने परियोजनाले देशको मुहार फेर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ नै । विश्वका विभिन्न मुलुकले प्रवासी जनशक्तिको ज्ञानको उपयोग गर्दै विकासमा फड्को मारेका छन् । जस्तै, चीन, भारत, ताइवान, अफ्रिका, कोरिया यसका केही उदाहरण हुन् । नेपालले पनि अब त्यस्ता विज्ञता हासिल गरेका प्रवासी नेपालीलाई स्वदेशमै फर्काएर उनीहरूको सीप र दक्षताअनुसारको रोजगारी दिन नसके पनि तिनको बौद्धिकतालाई उपयोग गरेर स्वदेशको विकासमा विकसित देशका विभिन्न नमुना भित्र्याउन सक्छ ।
जब चीनमा राजनीतिक स्थिरता सुरु भयो, त्यसपछि उसले विदेशमा भएका आफ्ना दक्ष प्रवासी नागरिकलाई देश विकासमा योगदान गर्न निम्तो दियो । खासगरी चीनबाट अध्ययन, व्यापार, बौद्धिक कामकाजका लागि अमेरिका पुगेका लाखौँ प्रवासी चिनियाँ स्वदेशको समृद्धिका लागि फर्किए । उनीहरूलाई स्वदेश फर्कन (रिभर्स ब्रेन ड्रेन) का लागि सरकारले पनि खास नीति ल्यायो । यसरी फर्कने बौद्धिकलाई सरकारले उच्च सामाजिक सम्मान दिएर उनीहरूको बौद्धिकता स्वदेशमा पोख्न प्रेरित गर्यो । स्थानीय सरकारले यस प्रकारका जनशक्तिलाई अतिरिक्त बोनस दिएर कामको जिम्मेवारी दिए । यस्तामध्ये केही स्वत:स्फूर्त राष्ट्रभक्तिको भावनाले ओतप्रोत भएकाहरू थिए । र, अर्को एक थरी परिवार र आफन्तको दबाबले स्वदेश फर्किएका बौद्धिक थिए । उनीहरूले अमेरिकामा सिकेका सीप, ज्ञान, प्रविधि र विकासका आधुनिक नमुना स्थानान्तरण गरेर छोटो समयमै चीनलाई विश्वको विकसित देशको रूपमा अघि बढाए । चीनमा सन् १९९० देखि २००० को दशकमा लाखौँ चिनियाँ बौद्धिक गन्तव्य देशबाट स्वदेश फर्किएका थिए । कोरियामा पनि यही क्रममा ब्रेन गेन भयो भने भारतले पनि सूचना र प्रविधिमा फड्को मार्नुमा अमेरिका तथा युरोपबाट फर्किएका बौद्धिकहरूको ठूलो योगदान रहेको छ । सन् २००१ पछाडि पाकिस्तानको पत्रकारिताको नीति निर्माण तहमा व्यावसायिक र दक्ष जनशक्तिको प्रवेश यस्तै रिभर्स ब्रेन ड्रेनबाट भएको हो ।
ब्रेन गेनबाट आशा
२४ वैशाख ०७६ मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ब्रेन गेन सेन्टरमा आबद्ध हुन आह्वान गर्दै एक सन्देश जारी गरेका थिए । उक्त सन्देशमा सन् २०२२ सम्म नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै विकासशील मुलुकमा र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने सरकारको लक्ष्य भएकाले त्यसमा योगदान गर्न डायस्पोरामा रहेका नेपालीलाई आह्वान गरेका छन् । बढ्दो ज्ञान पलायनप्रति चिन्ता जाहेर गर्दै मन्त्री ज्ञवालीले विश्वका विभिन्न भागमा रहेका नेपालीको विशिष्ट क्षमताको पहिचान गरेर त्यस्ता प्रतिभालाई स्वेदशको विकासमा कसरी लगाउन सकिन्छ भनेर ब्रेन गेन सेन्टर (बीजीसी) को स्थापना गरेको उल्लेख गरेका छन् ।
पलायन भएका बौद्धिकहरू नेपालमा अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकारले योगदान गर्न सक्छन् । उनीहरूले बीजीसीमा दर्ता गराएको आफ्नो रुचि र विज्ञताअनुसार सरकारले विभिन्न क्षेत्रमा योगदानका लागि आह्वान गर्न सक्छ । कोही प्रवासी बौद्धिकले आफूले बालमैत्री सिकाइको विज्ञता हासिल गरेको छ भने बाल शिक्षकको तालिमको प्रशिक्षकको रूपमा उपयोग गर्न सक्छ । दीर्घकालीन रूपमा स्वदेश फर्कनेचाहिँ विभिन्न कारण हुन सक्छन् । गन्तव्य देशको जीवनशैलीबाट आजित बनेर, ज्ञान र सम्पत्तिको उच्चतम बिन्दुमा पुगेर स्वदेशको मायाले उनीहरू सदाका लागि यतै फर्कन्छन् । गन्तव्य देशको एकल र व्यस्त जीवनशैलीले उनीहरूमा निराशा सुरु भएर मौलिक जीवनशैलीमा फर्केकाहरूबाट पनि देशले फाइदा पाउन सक्छ । चीनमा जस्तै पारिवारिक कारणले यस प्रकारका बौद्धिक स्वदेश फर्कने सम्भावना हुन्छ ।
ब्रेन ड्रेन : बदलिँदो अवधारणा
मानिसको स्वभाव गतिशील हुन्छ, जसले एक ठाउँमा ऊ अडिन सक्दैन । कनेक्टिभिटीले गर्दा विश्व अहिले साँघुरो भएको छ । भौगोलिक सीमाले मानिस अब रोकिने र छेकिने स्थिति छैन, जसमा नेपाली अछुतो रहने कारणै भएन । बसाइँसराइ मानसिक र भौतिक विकासका लागि वरदान नै मानिन्छ । ज्ञानको भोकको कारण, आकर्षक रोजगारीका कारण, उच्च र आधुनिक जीवनशैलीका कारण मानिस एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्छन् । खासगरी बौद्धिक पलायन (ब्रेन ड्रेन) चाहिँ आफ्नो योग्यता र सीपअनुसारको रोजगारी नपाएर, त्यसअनुसारको पारिश्रमिक नपाएर वा अझ उन्नत किसिमको ज्ञान हासिल गर्न मानिस जन्मभूमि छाडेर विदेशतर्फ लाग्ने गर्छन् । मन्त्री ज्ञवालीको भनाइमा उनीहरू सुरुमा पढेर फर्कने सोचले यस्ता देशमा पुग्छन् । त्यहाँ पुगेर बिहेबारी गरेपछि छोराछोरीका लागि भनेर उतै बस्छन् र पारिवारिक जन्जालमा परिसकेपछि चाहेर पनि उनीहरू स्वदेश फर्कन सक्ने अवस्थामा हुँदैनन् ।
केही वर्षअघिसम्म ब्रेन ड्रेनलाई समस्याको रूपमा लिइन्थ्यो । तर अब यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । मानिसको सिकाइ एकै ठाउँबाट मात्र पूरा हुने स्थिति छैन । ज्ञानको विशिष्टीकृत भइरहेको अवस्थामा ब्रेन ड्रेन हुन्छ नै । विश्वले यसलाई अहिले ब्रेन सर्कुलेसनको नामकरण गरेको छ, जसले ब्रेन ड्रेन र ब्रेन गेन दुवैलाई समेट्छ । त्यस कारण ब्रेन सर्कुलेसनले विश्वको जुनसुकै कुनामा रहे पनि आफूले चाहेको ठाउँमा आफ्नो दक्षता योगदान गर्न सक्छ । आधुनिक प्रविधि उपयोग गरेर भौतिक रूपमा उपस्थित नभएर पनि यस्ता बौद्धिकले चाहेका ठाउँमा आफ्नो विद्वता छरिदिन सक्छन् । अझ के देखिन्छ भने ब्रेन ड्रेनबाट गन्तव्य देशले मात्र होइन, ब्रेन ड्रेन आपूर्ति गर्ने देशले पनि फाइदा पाउन सक्छ किनकि यसबाटै कोही व्यक्तिले उच्च स्तरको विज्ञता वा आर्थिक हैसियत प्राप्त गर्छ । गन्तव्य देशलाई उसले ज्ञान, राजस्व आदिद्वारा योगदान गर्छ भने ब्रेन गेनमार्फत आफ्नो देशलाई पनि उक्त ज्ञानमार्फत योगदान गर्छ । त्यसैले कतिपयले ब्रेन ड्रेनलाई अवसरका रूपमा लिनुपर्ने तर्क पनि राख्छन् ।
अन्य देशमा जस्तै नेपालमा पनि जब राजनीति स्थिरता सुरु भएको छ, तब देशबाट परदेसिएका बौद्धिकको खोजी भएको छ । उनीहरूले विश्वका विभिन्न भूगोलमा आर्जन गरेका ज्ञान, सीप नेपालको द्रुत विकासका लागि सहयोगी हुनेछन् । हालसम्म हामी विकासको परम्परागत शैली नै पछ्याइरहेका छौँ, जसले गर्दा तोकेको समयमा काम सम्पन्न गर्न सकिरहेका छैनौँ । नेपाललाई द्रुत विकास गर्न अहिले सजिलो के पनि छ भने विश्वका विकसित देशले लामो समयसम्मको अनुसन्धान र प्रयोगपछि अपनाएका विकासका नमुनालाई अवलम्बन गरे पुग्छ । यस्ता नमुना र सीप नेपालबाट छोटो समयको विदेश भ्रमणमा गएका कर्मचारीभन्दा त्यहाँ वर्षौं बसेर, पढेर र कामै गरेर ज्ञान हासिल गरेका प्रवासी नेपालीबाट आयात गर्नु कैयौँ गुणा प्रभावकारी हुन्छ । त्यसले गर्दा ब्रेन गेन गर्ने सरकारको योजना नेपालको स्वास्थ्य, शिक्षा, विकास, प्रविधिलगायत क्षेत्रका लागि बहुुउपयोगी हुनेछ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...