चीनतिर ‘दुलही’ तस्करी
अदालतमा गरिने अधिकांश कागजी बिहे नक्कली
लमजुङकी माया गुरुङलाई २५ साउनमा अचम्मको प्रस्ताव आयो, ‘चाइनिज’ केटासँग बिहे गरी उतै घरजम गर्ने । आफ्नै साथी अमृता गुरुङले राखेको यस्तो प्रस्ताव सुनेर माया छक्क परिन् । कसरी चाइनिज केटा खोजिदेलान् ? सुरुमा पत्याइनन्, उनले । तर त्यस्तै प्रस्ताव उनका अर्का साथी भरत तामाङले पनि गरे । त्यसपछि भने उनी सोच्न बाध्य भइन् ।
अमृताले चिनियाँ केटासँग बिहे गरे परिवारलाई आर्थिक सहयोग गर्न पाइने, रोजगार पाइने, बिहे गरे पनि सँगै बस्नु नपर्ने र पछि आमाबुबालाई उतै लैजान पाइने भनी लोभ्याइन् । मायाले प्रस्ताव स्वीकारिन् । स्वीकार नगरून् पनि किन ! गरिब परिवारकी मायाका लागि यो प्रस्ताव कल्पनाबाहिरको थियो ।
उनकी साथी अनु गुरुङलाई पनि प्रस्ताव आयो, ‘चाइनिज’ केटासँगै बिहे गर्ने । मायालाई जस्तै प्रलोभन दिएपछि अनु पनि लोभिइन् । बिहे गर्न राजी भइन् । ५ भदौमा माया र अनुलाई अमृताले लमजुङबाट काठमाडौँ ल्याइन् । ब्युटिपार्लर लगिन् । नयाँ कपडा किनिदिइन् । बेलुकी टोखास्थित पार्वती गुरुङसँग भेटाइदिइन् । पार्वतीले उनीहरूलाई आफू बस्ने घरको छुट्टै कोठामा लगेर राखिन् । पार्वतीले आफ्नी साथी रीना तामाङ ‘बिबीरानी’ सँग पनि भेट गराइन् । रीना त्यही घरको माथिल्लो तलामा बस्थिन् ।
त्यो कोठमा आफूहरूजस्तै साथी सरिता गुरुङ, रुविता परियार र रमिता चौधरीलाई भेटे । घर र थर फरक भए पनि सपना र उद्देश्य भने एउटै थिए, चिनियाँ केटासँग घरजम गर्ने र परिवारलाई गरिबीबाट मुक्ति दिलाउने । घरेलु समस्याका कारण उनीहरू अन्जान देशमा ‘दुलही’ बनेर जान बाध्य थिए ।
त्यही कोठामा बस्दाबस्दै उनीहरूले आफ्नो पीडा पनि साट्न पाए । जस्तो, रमिता चौधरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटी गार्डको काम गर्थिन् । उनलाई ‘पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर चीन गए टन्न कमाइ हुने बताए । एजेन्टले आकर्षक जागिर र कमाइ हुने अनि सँगै बस्नु नपर्ने आश्वासन दिए । श्रीमानसँग पनि राम्रो सम्बन्ध नभएको अवस्थामा उनी बिहे गर्ने सोचमा पुगिन् ।
लमजुङबाट काठमाडौँ आएपछि मात्रै माया र अनुले पहिलो पटक वीच्याटको भिडियो कलमा आफ्ना हुनेवाला श्रीमानलाई देखे । माया विगतसम्झिँदै भन्छिन्, “बिहे गर्ने केटा राम्रो थिएन । एउटा हात बांगो परेको थियो । तर बिहेपछि केटाको परिवारले प्यारालाइसिस भएकी आमाको उपचारका लागि तीन/तीन महिनामा ५० हजार रुपैयाँ पठाइदिने भनेपछि राजी भएँ ।” माया र अनु दुवै जनाको चीनमै बिहे गर्ने गरी कुरा छिनियो । चिनियाँसँग लगनगाँठो कस्न राजी भए । तर उनीहरूलाई आफ्नो हुनेवाला श्रीमानको नाम र घरको ठेगानासमेत थाहा थिएन ।
चीन जान चाहिने कागजपत्र र भिसासम्बन्धी सबै काम बिबीरानी र रोज तामाङले गरेको अनु बताउँछिन् । अनुका अनुसार उनीहरूसँगै बसेकी साथी रुविता परियारको चिनियाँ केटासँग बिहे भइसकेको थियो । सरिता गुरुङको भने चीन गएर बिहे गर्ने पक्का भएको थियो । रमिता चौधरीका हुनेवाला श्रीमान् बिहे गर्न भनी चीनबाट काठमाडौँ आएर एक होटलमा बसेका थिए । उनीहरूको बिहे १५ भदौमा तय भएको थियो ।
विमानस्थलबाटै तस्करी
११ भदौमा माया, अनु, सरिता, रुविता र उनका चिनियाँ श्रीमान् क्वान झान पेङलाई लिएर बिबीरानी चीन जाँदै थिइन् । एक दिनअघि माया र अनुलाई बिबीरानीले ‘एयरपोर्टमा प्रहरीले सोध्यो भने आफन्तलाई भेट्न जान लागेको’ भन्नू भनेर सम्झाएकी थिइन् । उनको कुरामा शंका लागेपछि उडान भएकै दिन अनु र माया त्यहाँबाटै भागे ।
भागेकै दिन माया लमजुङ गएकी थिइन् भने अनुले प्रहरीलाई बिबिरानीहरू चीन जान लागेको खबर दिएकी थिइन् । सोही आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोले चीन जान लागेको अवस्थामा ५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरूलाई पुर्याउन गएका रोज गुरुङ पनि त्यहीँबाट पक्राउ परेका थिए ।
पक्राउ परेकी नेपाली एजेन्ट बिबीरानीको बयानका आधारमा बालाजुको एक होटलबाट रमितालाई बिहे गर्न भनी बसेका क्वीन लियाङ, झम्सिखेलबाट दुई एजेन्ट झाङ डोङ हुई र जेङ छिङ डोङ पक्राउ परेका थिए । त्यस्तै, टोखाबाट पार्वती गुरुङ, माया तामाङ, अमृता गुरुङ, कृष्णकुमार घले तथा लमजुङबाट भरत तामाङ र सानेपाबाट ब्युटिपार्लर सञ्चालक उषाकुमारी घिमिरेसहित १२ जना पक्राउ परेका थिए ।
अनेक प्रलोभन देखाई नेपाली युवतीको चिनियाँ केटासँग बिहे गरी चीन तस्करी गर्ने एजेन्टहरूको योजना विफल भएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलिया बताउँछन् । पक्राउ परेका अभियुक्तको साथबाट २१ लाख ९७ हजार नेपाली रुपैयाँ, ३८ हजार भारु, ३ हजार ३ सय युआन र २ सय डलर बरामद भएको थियो ।
थपलियाका अनुसार गाउँबाट काठमाडौँ ल्याइसकेपछि युवतीलाई सुन्दरी बन्न सिकाउने, भड्किलो पहिरन लगाउन उत्प्रेरित गर्ने, विवाह गर्न इच्छुक चिनियाँ केटासँग प्रत्यक्ष र भिडियो कलमार्फत भेट गराउने गरिएको छ । भेटघाटमा भएको कुराकानीको अनुवादको काम एजेन्ट रीना तामाङले गर्थिन् । युवतीलाई विवाह गर्ने भनिएका श्रीमानकाे घरपरिवारबारे अनलाइन कलबाटै अत्यन्तै न्यून जानकारी गराइन्थ्यो ।
विवाह गर्ने युवती तय भएपछि चीनमा रहेका एजेन्टमार्फत चिनियाँ केटा काठमाडौँ आएर यहाँ रहेका उतैका एजेन्टसँग सम्पर्क गर्छन् । सुरुमा चिनियाँ केटाले फोटो हेरेर युवती छान्ने गरेका छन् ।
काठमाडौँमा भेटपछि चिनियाँ केटाले आफूले छानेका युवतीको यकिन गर्ने गरेका थिए । विवाह हुन लागेको केटासँग ५ दिनसम्म विभिन्न स्थानमा कुराकानी गराउने, चिनियाँ खानपिन तथा रहनसहनबारे सिकाउने गरेको ब्युरोका डीएसपी सुधीर शाह बताउँछन् ।
शाहका अनुसार एजेन्टले विवाहका लागि युवतीका परिवारलाई समेत प्रलोभनमा पारी सहमति लिने, सम्भव भएसम्म हुनेवाला ज्वाइँसँग भेटघाट गराइदिने गरेका छन् । काठमाडौँ जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी परिवारका सदस्यहरूकै उपस्थितिमा विवाह दर्ता गराउने र विमानस्थलसम्म पुर्याउनेसम्मको योजना बनाउँछन् । शाह भन्छन्, “परिवारको पूर्ण सहमतिमा विवाह गराई चीन पठाउने गरेको देखिएको छ ।”
प्रहरीका अनुसार एक युवतीलाई विवाह गराएबापत काठमाडौँमा रहेका चिनियाँ एजेन्टले १० लाखसम्म पाउने सहमति भएको थियो । त्यस्तै, काठमाडौँका नेपाली एजेन्टले १ देखि २ लाख, युवती राख्ने नेपाली एजेन्टले ८० हजार, युवतीका अभिभावकले ६० हजार र नयाँ फोन वा जिन्सी सामान प्राप्त गरेको देखिएको छ ।
“नेपाल–चीन” कनेक्सन
चिनियाँ युवकसँग नेपालका युवती कहिलेदेखि विवाह गरेर जान थाले भन्ने यकिन छैन । तर ५ वर्षअघिबाट विवाह हुन थालेको तथ्य भेटिएको छ । ०७१ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छेलु इन्टरनेसनल नामक कार्यालय नै सञ्चालन गरी चिनियाँ युवकसँग नेपाली युवतीको विवाह गराई चीन पठाउने गिरोहका छेलु शेर्पालगायत ५ जनालाई पक्राउ गरी कारबाही गरेको थियो ।
‘म्यारिज ब्युरो’ सञ्चालन गरेर नक्कली विवाह गराएको भेटिएपछि चीनमा दुलहीको तस्करी हुने तथ्य पत्ता लागेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता तथा एसपी गोविन्द थपलिया बताउँछन् । “बिहे गरेर चीन गएका नेपाली युवतीमाथि त्यहाँ कस्तो व्यवहार गरिन्छ, थाहा छैन,” थपलिया भन्छन्, “तर चीनबाट फर्किएकी एक महिलाले आफ्ना पतिले अरू पुरुषसँग पनि यौनसम्बन्ध राख्न बाध्य बनाउने गरेको बताएकी छन् ।” घरमा बस्न नसक्ने अवस्था आएपछि त्यहाँबाट भाग्दा उनलाई चिनियाँ प्रहरीले उद्धार गरेर फर्काएको थियो ।
थपलियाका अनुसार सन् १९७८ मा चीनमा जनसंख्या बढेपछि सरकारले एक सन्तान नीति ल्यायो । त्यहाँका दम्पतीले छोरा मात्रै जन्माउन छोरीको भ्रुणहत्या गर्न थालेपछि केटीको संख्या घट्दै गयो र त्यसको असर सहरभन्दा गाउँमा बढी पर्न थाल्यो । सामान्य आर्थिक हैसियत भएका केटाहरूले केटी पाउन मुस्किल भएपछि नेपाललगायत सीमा जोडिएका १६ देशबाट दुलही भित्र्याउन थाले ।
त्यसपछि नेपाली र चिनियाँ एजेन्टले गाउँदेखि चीनसम्म आफ्नो सञ्जाल फैलाएर संगठित रूपमा पैसाको लेनदेन गराई विवाह गराउने गरेको थपलिया बताउँछन् । चिनियाँ युवतीसँग विवाह गर्नुभन्दा पाकिस्तान, म्यानमार, बंगलादेश, भियतनाम र नेपाललगायत मुलुकका युवतीसँग विवाह गर्दा कम खर्च लाग्ने र श्रमिकका रूपमा कजाउन पाइने भएपछि उनीहरूले बाहिरी देशबाट दुलही भित्र्याउने गरेका हुन् ।
प्रहरीका अनुसार ११ भदौमा चिनियाँ युवकसँग विवाह गराएर चीन लैजाँदै गरेको अवस्थामा विमानस्थलबाट पक्राउ परेकी एजेन्ट रीना तामाङ ‘बिबीरानी’ को पनि एजेन्टमार्फत चिनियाँ युवकसँगै बिहे भएको थियो ।
०७१ मा बौद्धमा संखुवासभाकी लक्की शेर्पाले उनलाई विभिन्न प्रलोभन दिएर चिनियाँ केटासँग बिहे गराइदिएकी थिइन् । पेटमा बच्चा बसेको ७ महिनामै उनको पतिको दुर्घटनामा परेर मृत्यु भएको थियो ।
बच्चा तीन वर्षको भएपछि उनको नेपाल आउ–जाउ क्रम बाक्लियो । नेपाल आउँदा रोज तामाङसँग उनको भेट भयो । रोजको जापानमा भएकी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनीहरू टोखामा कोठा लिएर लिबिङ टुगेदरमा बस्न थाले । उक्त घरमा पार्वती र रुविता पनि बस्थे । त्यही क्रममा उनीहरूको चिनजान भएको थियो ।
२४ चैत ०७५ मा रीनाले पार्वती गुरुङकी छोरी पुष्पा गुरुङको विवाह चिनियाँ केटासँग गराइदिइन् । त्यसपछि रीनाले पार्वतीलाई पनि एजेन्ट बनाइन् । रीनाले प्रहरीलाई दिएको बयानअनुसार मंगोलियन अनुहार भएका युवतीलाई गाउँबाट काठमाडौँ ल्याएर चिनियाँ केटासँग बिहे गराइदिने काममा पार्वतीले समेत सहयोग गर्थिन् । अमृताले भने गाउँबाट युवतीलाई फकाएर काठमाडौँसम्म ल्याउने काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भरतले गाउँबाट युवतीलाई फकाएर ल्याएपछि अमृताको जिम्मा लगाउने गरेका थिए भने उषाले विभिन्न स्थानबाट युवतीलाई सम्पर्क गरेर चिनियाँ एजेन्टसँग भेट गराउने काम गर्थिन् । रीनाका छिमेकी हुवईका एजेन्ट जेङ छिङ डोङले चीनमा सेटिङ मिलाउने काम गर्थे । एसपी थपलिया भन्छन्, “चिनियाँ–नेपाली एजेन्ट मिलेर विवाह गर्ने बहानामा नेपाली युवतीको तस्करी गरी बेचबिखनको धन्दा चलाइरहेका छन् ।”
अदालतबाटै “नक्कली विवाह”
गिरोहले त्रिभुवन विमानस्थलबाट युवती तस्करी गर्न अप्ठेरो हुने भएपछि अदालतबाट कागजी विवाह गरेर चीन लैजाने गरेको छ । कतिपय अवस्थामा भने बिहेका लागि चाहिने सम्पूर्ण कागजात बनाएर नेपाली युवतीलाई भिजिट भिसामा चीन पुर्याइन्छ ।
मुलुकी देवानी संहिता, ०७४ मा विवाहसम्बन्धी व्यवस्थामा विदेशीसँग विवाह गर्नेको हकमा देशको कानुन, व्यक्तिगत विवरण खुलाएको नो–अब्जेक्सन लेटर, सम्बन्धविच्छेद भएकाको हकमा सम्बन्धविच्छेद गरेको कागजात, पासपोर्टलगायत कागजात र १५ दिन नेपालमै बसेको हुनुपर्ने भनिएको छ ।
नेपाली युवतीको हकमा अविवाहित प्रमाणपत्र, नागरिकता, सम्बन्धविच्छेद भएको भए त्यसको कागजात र काठमाडौँ बाहिर घर भएको हकमा १५ दिन काठमाडौँमै बसेको देखिनुपर्छ । यी सबै कागजात प्रक्रिया पूरा गरे मात्रै विदेशीसँग बिहे गर्न सकिने जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठ बताउँछन् ।
अदालतमा यी सबै प्रक्रिया पूरा गर्न झन्झटिलो भए पनि एजेन्टहरूले सजिलोसँग कागजात बनाएर विवाह गराउने गरेको अनुसन्धानबाट पुष्टि भएको छ । ०७६ जेठमा उनै रीना तामाङमार्फत चिनियाँ केटासँग बिहे गरेर चीन गएकी इन्द्रमाया तामाङ विवाहित हुन् । उनका ९ वर्षीय छोरा छन् । पतिले बेवास्ता गरेपछि चिनियाँ केटासँग बिहे गरे उतै जागिर पाइने र सँगै बस्न पनि नपर्ने भनेपछि छोराको भविष्यका लागि उनी कठोर निर्णय लिन बाध्य भएकी थिइन् ।
एजेन्ट रीनाले गाउँपालिकाबाट उनलाई अविवाहिताको प्रमाणपत्रलगायत कागजात बनाई जिल्ला अदालत काठमाडौँबाट विवाह दर्ता गराएर चीन पठाएको अनुसन्धानबाट खुलेको ब्युरोका डीएसपी सुधीर शाह बताउँछन् । शाहका अनुसार अनुसन्धानका क्रममा विवाहित अनु गुरुङ र रमिता चौधरीले पनि अविवाहित प्रमाणपत्र बनाएको खुलेको छ ।
तर इन्द्रमाया चिनियाँ केटासँग बिहे गरेर उतै गए पनि त्यहाँ दासीसरह व्यवहार गरेपछि ४ महिनामै नेपाल फर्किन् । नेपाल फिर्ता हुन्छु भन्दा १८ लाख रुपैयाँमा किनेर ल्याएकाले उतै काम गर्नुपर्ने धम्की चिनियाँ श्रीमानले दिएको इन्द्रमायाले प्रहरीलाई बताएकी थिइन् ।
जिल्ला अदालत काठमाडौँको तथ्यांकअनुसार चालू आव ०७६/७७ को ७ महिने अवधिमा १८ विदेशी नागरिकसँग विवाह भएको छ । गत मंसिरदेखि १३ महिने अवधिमा १२ चिनियाँ केटासँग नेपाली युवतीको विवाह भएको छ । स्रेस्तेदार श्रेष्ठ भन्छन्, “सम्पूर्ण कागजात पूरा गरेर आउने भएकाले बिहे गर्नेको नियत के हुन्छ, थाहा हुँदैन । तर पछिल्लो समय कडाइ गरिएको छ ।”
ब्युरोका प्रवक्ता एसपी थपलिया अदालतमा गरिने अधिकांश कागजी बिहे नक्कली हुने गरेको बताउँछन् । “विवाहको प्रमाणपत्र देखाउँदा विमानस्थलमा कसैले अवरोध गर्दैनन्”, थपलिया भन्छन्, “नेपाली युवतीलाई चीनमा तस्करी गर्न एजेन्टलाई सजिलो भएको छ ।” उनका अनुसार यो प्रमाणपत्रको बिहेले चीनमा मान्यता पाउँदैन ।
चोरका अनेक दाउ
धादिङ घर भई काठमाडौँ टोखाको पार्वती गुरुङ र रीना तामाङ बस्ने घरमै डेरा जमाएकी सरिता गुरुङको वास्तविक नाम जेनी हो । ०५९ मा जन्मिएकी जेनीले चितवनबाट एसईई गरिन् । तर उनको नागरिकता र पासपोर्ट सरिता गुरुङको नामबाट बनेको छ ।
एजेन्टले चिनियाँ केटासँग बिहे गराउन उनको सम्पूर्ण कागजात नक्कली बनाएको ब्युरोका प्रवक्ता तथा एसपी थपलिया बताउँछन् । उनका अनुसार एजेन्टले उनको नक्कली जन्मदर्ता पनि बनाएका थिए । त्यहीँ नक्कली कागजातको आधारमा अविवाहित प्रमाणपत्र पनि बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा कतिको संख्यामा नेपाली युवतीको तस्करी भइरहेको छ भन्ने तथ्यांक कसैसँग पनि छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल चीनस्थित दूतावासमा पीडितले सम्पर्क नगरेका कारण पीडित कति छन्, यकिन नभएको बताउँछन् ।
दिल्लीको बाटो हुँदै खाडी जाने महिलालाई रोक्न सीमा क्षेत्रमा थुप्रै संघसंस्थाले काम गरिरहेका छन् । तर चीनमा हुने युवती तस्करीबारे सरकारी तथा गैरसरकारी संस्थालाई समेत थाहा छैन ।
आप्रवासन विज्ञ गणेश गुरुङका अनुसार भाषा, संस्कार र संस्कृति नमिलेका कारण पनि नेपाली युवती चिनियाँसँग समायोजन हुन सक्दैनन् । चिनियाँ रिसाहा हुन्छन् । छिटोछिटो काम गर्न नसके दुर्व्यवहार गर्छन् । बिहे गरेर नेपाली युवतीलाई कि त श्रमिकका रूपमा राख्छन् कि त यौनदासी ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराज खड्का तस्करी हुँदै चीन पुगेका युवती सम्पर्कमा नआउने भएकाले पनि उनीहरूको अवस्थाबारे थाहा नभएको बताउँछन् । भन्छन्, “भाषाको समस्याका कारण नेपाली युवती पीडित भइहाले पनि उद्धार गर्न कठिन छ ।”
(पीडितको नाम परिवर्तन गरिएको छ ।)
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...