सन्दर्भ माघ १९ : पूर्वराजाकाे जाेगी कार्ड
अचेल ज्ञानेन्द्र सक्रिय शाही शासन फर्काउन नसके पनि राजतन्त्रको संवैधानिक पुनरावृत्ति गराउन पाए आफ्नो वंश विरासत रहने थियो भन्ने कामनासहित भेटघाट तिब्र पारिरहेका छन् । त्यसका लागि उनले हतियार बनाएका छन्– हिन्दुत्वको राजनीतिलाई ।
माघ १९ । क्यालेन्डरको यो मितिले नेपालका गणतन्त्रवादी मात्रै होइन, स्वयं राजावादीलाई पनि झस्काउने गर्छ । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको संवैधानिक सम्झौता तोड्दै सक्रिय शासन अभ्यास गर्ने हुँदा त्यसको मूल्य सिंगै राजसंस्थाले चुकाउनु परेको थियो– डेढ दशकअघि । ०६१ सालको त्यही शाही कदमले नेपाललाई निर्णायक रूपमा गणतन्त्रतर्फ मोडेको थियो । अचेल ज्ञानेन्द्र शाही शासन फर्काउन नसके पनि राजतन्त्रको संवैधानिक पुनरावृत्ति गराउन पाए आफ्नो वंश विरासत रहने थियो भन्ने कामनासहित भेटघाटमा सक्रिय देखिन थालेका छन् । त्यसका लागि उनले हतियार बनाएका छन्– हिन्दुत्वको राजनीतिलाई । रिपोर्टः
विश्व हिन्दु महासंघले बाँसबारीस्थित मुख्यालयमा १५ माघमा केन्द्रीय समिति बोलायो । बैठकको एउटा एजेन्डा थियो, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निम्त्याएर अभिनन्दन गर्ने । आउँदो ९ फागुनमा शिवरात्रि अवसर छोपेर हुने भनिएको तीन दिने विश्वशान्ति महायज्ञमा भारतीय जनता पार्टीभित्र प्रभावशाली मानिएका यी नेता बोलाउने महासंघको धोको थियो । तर छोटो समयमा भ्रमणको चाँजोपाँजो मिलाउन सम्भव देखिएन ।
बैठकले उक्त महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाउने निर्णय गर्यो । महासंघ त्यही संस्था हो, जसले दक्षिणपन्थी राष्ट्रवादी विचार बोक्छ । आवरणमा धार्मिक संगठन देखिए पनि महासंघले ‘राजासहितको हिन्दु राष्ट्र’ माग्ने गरेको छ । महासंघले निम्तो गर्न खोजेका आदित्यनाथ तिनै हुन्, जो नेपालमा ‘हिन्दु राजतन्त्र’ को वकालत गर्छन् ।
“योगीजीलाई नेपालमा अभिनन्दन गर्ने हाम्रो पहिलेदेखिकै चाहना हो । जनकपुरमा प्रदेश सरकारले उहाँको अभिनन्दन गर्यो,” विश्व हिन्दु महासंघ (अन्तर्राष्ट्रिय) की महासचिव अस्मिता भण्डारी भन्छिन्, “चाँडै अभिनन्दन गरेर नेपालमा राजासहितको हिन्दु राष्ट्रको औचित्य छ भन्ने सन्देश दिन चाहन्छौँ ।”
१३ वर्षअघि जनआन्दोलनको बलमा ४ जेठ ०६३ को प्रतिनिधिसभाले राजसंस्था निलम्बन घोषणा गर्यो । त्यसको दुई वर्षपछि संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्दै राजा र राजपरिवारले उपभोग गर्दै आएको सम्पूर्ण राजनीतिक अधिकार खारेज गर्यो । २९ जेठ ०६५ मा पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रले नारायणहिटी दरबार परित्याग गरे ।
राजपाठ गुमाए पनि ज्ञानेन्द्रमा राजतन्त्रको अतृप्त तिर्खा देखिन्छ । अहिले सीधै राजतन्त्र माग्दा जनभावनाविपरीत त देखिन्छ नै, त्यो संविधानको खिलाफ पनि हुन जान्छ । त्यसैले उनले आफ्नो चाहना पूर्तिको भर्याङ बनाउन चाहेका छन्, हिन्दुत्वलाई । छिमेकी भारतमा बढ्दै गएको धार्मिक उन्मादको राजनीतिक ज्वारलाई आफ्नो राजनीतिक लाभका लागि पुँजीकृत गर्ने उनको स्वार्थ देखिन्छ ।
त्यसैका लागि ज्ञानेन्द्रले कट्टरपन्थी हिन्दुत्वसँग जोडिएका योगीहरूसँग सम्पर्क बनाइरहेका छन् । तिनैमध्येका एक हुन्, आदित्यनाथ । ज्ञानेन्द्रले उनीसँग पारिवारिक तहसम्मै सम्बन्ध विस्तार गरेका छन् ।
अतिवादी हिन्दु विचारधारा बोक्ने भाजपा नेतासमेत रहेका आदित्यनाथका लागि पनि उनीहरूकै शब्दमा ‘हिन्दु सम्राट’ एउटा राजनीतिक औजार हो । उनले नेपालमा ‘राजासहितको हिन्दु राष्ट्र’ वकालत गर्नुको कारण पनि यही हो । ०७३ कात्तिकमा पशुपतिनाथस्थित वनकाली परिसरमा आयोजित विराट विश्व हिन्दु सम्मेलनमा उनले ज्ञानेन्द्रकै सामु ‘हाम्रो मिसन हिन्दु राजा–हिन्दु प्रजा’ भनेकै थिए । २४ पुस ०७४ मा आफैँ गाडी चलाएर नेपालगन्ज नाका हुँदै लखनउ पुगेका ज्ञानेन्द्रले सपरिवार आदित्यनाथ भेटेका थिए । त्यहाँ पनि आदित्यनाथले पूर्वराजालाई ‘हिन्दु सम्राट’ कै हैसियतमा खातिरदारी गरे ।
त्यसअघि ८ असारमा केही नेपाली पत्रकारहरूलाई लखनउस्थित मुख्यमन्त्री निवास बोलाएर उनले ‘नेपाल हिन्दु राष्ट्र हुँदा तीन करोड जनसंख्या भएको देशले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्ने र त्यसले हिन्दु पहिचान पनि कायम हुने’ बताएका थिए । योगीे अभिव्यक्तिलाई भारतको कुनै पनि आधिकारिक निकायले सम्मति दिएको छैन । तर उनको अभिव्यक्तिमा भाजपा सरकारले कहिल्यै आपत्ति नजनाउनुलाई अर्थपूर्ण मान्ने गरिएको छ ।
भारतलाई हिन्दु राष्ट्र बनाउने भित्री अभीष्टका साथ अल्पसंख्यक धार्मिक समुदायमाथि आक्रमण बढाएको भनेर आलोचित राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक मोर्चा भाजपाले दोस्रो पटक बहुमतसहित सत्ताको नेतृत्व गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुत्वको एजेन्डालाई आक्रामक ढंगले अगाडि लैजान चाहेको प्रस्ट देखिन्छ । ‘अवसर पाए सबै मस्जिदमा गौरी–गणेशको मूर्ति स्थापना गर्नेछु’ भनेर अभिव्यक्ति दिने आदित्यनाथले नेपालमा राजासहितको हिन्दु राष्ट्रको वकालत गर्नु र उनको दल भाजपाले ‘हिन्दु सम्राट’ को व्यवहार गर्नुले पनि ज्ञानेन्द्र केही हौसिएका हुन सक्छन् ।
तीन दशकयता भारतमा अतिवादी हिन्दु संगठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) ले बृहत् सञ्जाल विस्तार गरिसकेको छ । यसको छातामुनि भाजपा, शिव सेना, बजरंग दल, विश्व हिन्दु परिषद्लगायत दर्जनौँ अतिवादी हिन्दुत्वको वकालत गर्ने संगठन सक्रिय छन् । एक दशकयता आरएसएसले नेपालमा पनि आफ्नो संगठन विस्तार गर्दै आएको छ ।
हिन्दु स्वंयसेवक संघ, नेपालले ‘राजनीतिलाई हिन्दुकरण र हिन्दुलाई सैनिकीकरण’ नारा दिँदै आएको छ । नेपालका ५० भन्दा बढी जिल्लामा शिव सेना नेपालको उपस्थिति छ । आदित्यनाथ आफँैले नेतृत्व गरेको हिन्दु युवा वाहिनी नेपाल च्याप्टरमार्फत युवाहरू संगठित छन्, जसको उद्देश्य राजासहितको हिन्दु राष्ट्र रहेको बुझ्न कठिन छैन । नेपालमा भारतका हिन्दुवादी संगठनको विस्तारमा कहीँ न कहीँ उनै आदित्यनाथ जोडिन्छन् । उनको योजना र स्वीकृतिमै यस्ता संगठन नेपालमा जन्मिए, सक्रिय भए । हिन्दु राष्ट्र नेपाल : अतीत एवं वर्तमान पुस्तक लेखेका ४७ वर्षीय आदित्यनाथलाई भाजपाले ‘हिन्दु पुनर्जागरणको महानायक, सांस्कृतिक राष्ट्रवादका प्रतीक, हिन्दुत्व र विकासको स्वप्नद्रष्टा’ भन्दै देवत्वकरण गर्न कुनै कसर बाँकी राखेको छैन ।
भारतको उत्तराखण्डस्थित गढवाल गाउँका अजय विष्टबाट योगी आदित्यनाथ बनेका उनले नेपालको सीमा जोडिएको उत्तरप्रदेशको गोरखपुरस्थित गोरक्षनाथ मठको नेतृत्व गर्दै आएका छन् । त्यही हैसियतमा उनले १ माघमा संक्रान्तिको अवसर छोपेर महाराजगन्जस्थित निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रलाई महारोट पठाए । ज्ञानेन्द्रले पनि आदित्यनाथलाई विशेष खिचडी पठाए । दुवैले यसो गर्नुको पछाडिको सन्देश थियो, राजनीतिक रूपमा अस्तित्वमा नदेखिए पनि परम्परागत रूपमा नेपालमा राजसंस्था यथावत छ ।
“राजतन्त्र र हिन्दु राष्ट्रलाई हटाउँदा देशको समग्र स्थितिमा सुधार भयो त ? परम्परागत शक्ति र पहिचान मेटाउँदै गर्दा हामीले प्राप्त गरेको कुरा के हो ? यसको जवाफ कसैले पाएको छैन । त्यसैले हिन्दु राष्ट्रसहितको राजतन्त्रको पक्षमा हामी उभिँदै आएका छौँ,” राप्रपा संयुक्तका नेता राजाराम श्रेष्ठ भन्छन्, “कसैले निषेधको राजनीति गर्न सक्दैन, परम्परागत र नयाँ शक्ति मिलेर जान सकिने राजतन्त्रसहितको लोकतन्त्र आजको आवश्यकता हो ।”
गोरखनाथलाई नेपाली राजपरिवारको कुल देवता मानिन्छ । गोरखपुरको गोरखनाथ मन्दिरसँग सदियौँदेखि नेपालको राजसंस्था जोडिँदै आएको छ । गोर्खाको गोरखनाथ मन्दिरदेखि जुम्लाको चन्दननाथ, दाङको सिद्घ रत्ननाथ, काठमाडौँको थापाथली मन्दिर र मृगस्थलीको नाथ अखडासँग रहेको परम्परागत सम्बन्धले पनि ज्ञानेन्द्र र योगी आदित्यनाथलाई एक ठाउँ ल्याउन मद्दत पुगेको छ । धर्मको आड लिएर आ–आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न दुवैको स्वार्थ मिलन भएको बुझ्न कठिन छैन ।
“राजतन्त्रको अन्त्यपछि एकअर्कालाई टेकोको आवश्यकता भएकाले भारत जाँदा नेपालका पूर्वराजाले धार्मिक व्यक्ति भेट्छन्, तिनीहरू नेपाल आउँदा पूर्वराजालाई भेट्छन्,” विश्लेषक सीके लाल भन्छन्, “राजाका लागि धर्मगुरु संरक्षक हुन्छ भने धर्मगुरुका लागि राजा पनि त्यस्तै संरक्षक हो । यसैले धर्म र राजाको सम्बन्ध भनेको प्रेम र घृणाको हो । दुवै एकअर्कामा निर्भर छन् तर शक्तिशाली भएको भने देख्न चाहँदैनन् ।”
भारतीय हिन्दु समाजमा विशेष महत्त्व राख्ने कतिपय योगीहरूलाई नेपाल पठाउने सूत्रधारका रूपमा पनि हेरिन्छ, उनै आदित्यनाथलाई । राजसंस्थाको औपचारिक बिदाइ भएको एक दशकमा दर्जनौँ पटक ज्ञानेन्द्रले नेपाल र भारतमा त्यस्ता योगीहरूलाई भेटेका छन् । उनले जुन योगी भेटेका छन्, उनीहरू सबै नेपालमा राजासहितको हिन्दु राष्ट्रको वकालत गर्छन् ।
गत मकर संक्रान्तिको अवसर पारेर भारतबाट दुई योगी नेपाल आए । भारतको राजनीतिमा समेत प्रभाव राख्ने यी दुई योगी थिए, नेपाली मूलका कालिदास बाबा र केदारनाथधामका प्रमुख पीठाधीश भीमाशंकर लिंग । नेपाल आउनासाथ दुवैले पूर्वराजासँग निर्मल निवासमा अलग–अलग भेटेका थिए, २९ पुसमा । नवलपुरको चोरमारामा आयोजित महायज्ञमा यी दुई योगी सहभागी मात्र भएनन्, राजासहितको हिन्दु राष्ट्रको वकालत गर्न पनि भ्याए ।
यसअघि भारतीय हिन्दु राजनीतिमा विशेष महत्त्व राख्ने शंकराचार्य निश्चलानन्द सरस्वती पनि नेपाल आएका थिए । ७ जेठ ०७५ मा उनले ज्ञानेन्द्रलाई मात्र भेटेनन्, पत्रकार सम्मेलन गरेरै राजा अनि हिन्दु राष्ट्रको पक्षमा भट्याउन पनि भ्याए ।
नेपालमा आएर पूर्वराजासँग भेट गर्ने अनि सार्वजनिक रूपमा राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकताको वकालत गर्ने यस्ता धर्मगुरुहरूलाई नेपाल पठाउने संयोजन कहीँ न कहीँ मुख्यमन्त्री आदित्यनाथले गर्दै आएका छन् । यसैले नेपालमा भारतीय धर्मगुरुहरूको लर्को लागिरहन्छ । धार्मिक भनिइने यस्तो भ्रमणभित्र लुकेको राजनीति बुझ्न कठिन छैन । “राजासहितको विश्वको एक मात्र हिन्दु राष्ट्र हाम्रो राजनीतिक मुद्दा हो । यसको पक्षमा हामी वकालत गरिरहन्छौँ,” महासचिव भण्डारीको दाबी छ, “नारायणहिटीको महेन्द्र मञ्जिलमा पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी बसिरहनुको केही सांकेतिक अर्थ छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।”
आफ्नो पालामा गुमेको राजपाठ आफ्नै प्रयासले फिर्ता ल्याउन ७२ वर्ष पार गरिसकेका पूर्वराजा ज्ञानेन्द्रसामु धेरै समय छैन । आफूले शासन गर्दागर्दै अन्त्य भएको राजतन्त्र आफ्नै पालामा फर्काउन सकिन्छ कि भन्ने चाहनाले नै उनलाई देशाटन गर्ने अनि छिमेकी भारत र चीनसम्मको भ्रमणसम्म पुर्याएको छ ।
भारतको राजनीतिक शक्तिलाई रिझाइरहने र नेपालमा पनि जनस्तरमा भेटघाटलाई निरन्तरता दिने दुवै रणनीति उनले एकसाथ अपनाइरहेका छन् । नारायणहिटी गुमाइसकेपछि पूर्वराजा ज्ञानेन्द्रले दर्जनभन्दा बढी पटक भारत भ्रमण गरिसकेका छन् । गणतन्त्र आएकै वर्ष फागुन ०६५ मा उनले भाजपा अध्यक्ष लालकृष्ण आडवाणीसँग भेटेर यसको प्रारम्भ गरेका थिए । पछिल्लो समय अर्थात् पुस दोस्रो सातादेखि पत्नी कोमल र निजी सचिव सागर तिम्सिनासहित ज्ञानेन्द्र भारतको सिक्किम र दार्जिलिङ भ्रमणमा छन् । स्रोतका अनुसार त्यहाँ रहेका नेपाली समुदायसँग राजासहितको हिन्दु राष्ट्रको एजेन्डा राखेका थिए, उनले ।
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर पूर्वराजा ०७३ मंसिर दोस्रो साता उत्तरी छिमेकी चीन पनि पुगे । सार्कमा चीनलाई स्थान दिने प्रस्ताव गरेको आक्रोशस्वरूप भारतले राजतन्त्र समाप्तिमा भूमिका खेलेको बताएर चिनियाँ समर्थन लिने उनको योजना बुझ्न कठिन थिएन । तर चीनले उनलाई बुझ्न चाहेन । बेइजिङबाट उनी रित्तो हात फर्कनुपर्यो । राष्ट्रपति सी चीनफिङले उनलाई भेट नै दिएनन् ।
दोस्रो पटकको बेइजिङ भ्रमणमा उनले चिनियाँ राष्ट्रपतिसँग भेट त पाए तर उत्साह जाग्ने कुनै आश्वासन पाउन सकेनन् । तेस्रो पटक बुहारी हिमानी शाहलाई चीन पठाए पनि हात लाग्यो शून्य नै भयो । उत्तरी छिमेकीबाट कुनै सहयोग मिल्न नसक्ने संकेत पाएपछि ज्ञानेन्द्र पछिल्लो समय भारतकै भरमा छन् । तर भारत नेपालको जनमतविपरीत जाने पक्षमा तत्काल देखिँदैन ।
“सबै समस्याको जड राजतन्त्र हो भनेर भ्रम फैलाइयो,” राप्रपा संयुक्तका नेता श्रेष्ठ भन्छन्, “तर राजतन्त्र नै भोटको राजनीतिभन्दा बाहिर बस्ने र देश अनि जनतालाई एकताको सूत्रमा बाँध्न सक्ने स्थायी शक्ति रहेछ भन्ने कुरा जनताले बुझ्न थालेका छन् । यसैले भारत वा अन्य कुनै विदेशी शक्तिले होइन, नेपाली जनताले चाहे राजासहितको लोकतान्त्रिक हिन्दु राष्ट्र गठन हुने दिन म धेरै टाढा देख्दिनँ ।”
श्रेष्ठको भनाइबाट पनि बुझिन्छ, राजसंस्था पुनर्स्थापनाको मुद्दालाई ‘मिडप्याक’ गरिसकेका छैनन्, ज्ञानेन्द्रले । तर न त्यसअनुरूपको राजनीतिक परिस्थिति छ, न त जनमत नै । यसैले अहिलेका लागि ‘पर्ख र हेर’ भन्नेबाहेक उनीसँग अर्को विकल्प छैन ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...