नक्कली जोडी, सक्कली भिसा
अन्य बाटोबाट अमेरिका छिराउन नसकेपछि एजेन्ट र आफन्त नै कागजी विवाह गराउन सक्रिय
धनुषाकी सुषमा पूर्वछानेले १३ भदौमा लगनगाँठो कसिन्, अमेरिकी नागरिक यनगोनसन युनसँग । ५२ वर्षीय यनगोनसन सुष्माभन्दा २८ वर्ष जेठा छन् । जिल्ला अदालत काठमाडौँमा दर्ता विवाह गर्नुभन्दा एक महिनाअघि उनी नेपाल आएका थिए ।
२६ भदौमा मुस्ताङका ३४ वर्षीय टुक्थे गुरुङको विवाह भयो, ४९ वर्षीया अमेरिकी महिला याङ्कीसँग । टुक्थले जिल्ला अदालत काठमाडौँमा दर्ता विवाह गरेका हुन् । बिहेका लागि आएकी याङ्की तीन महिनादेखि नेपालमै बसिन् ।
दाङकी २६ वर्षीया रोशी गुरुङले ४२ वर्षीय अमेरिकी नागरिक वाडी जुस्टिनसँग २८ कात्तिकमा जिल्ला अदालत काठमाडौँमा दर्ता विवाह गरिन् । त्यस्तै, कास्कीकी ४० वर्षीया उर्वशी प्रधानले पनि २५ भदौमा ७० वर्षीय अमेरिकी नागरिक ल्युपोल्डो आसियाससँग विवाह गरिन् । उनले आफूभन्दा ३० वर्ष जेठासँग जिल्ला अदालत काठमाडौँबाट दर्ता विवाह गरेकी हुन् ।
प्रस्तुत दृष्टान्त जिल्ला अदालत काठमाडौँमा दर्ता अमेरिकी–नेपाली नागरिकबीच भएका विवाहका हुन् । मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि अहिले देशभरका अदालतमा दर्ता विवाह हुन थालेका छन् ।
भदौ ०७५ देखि १५ माघ ०७६ सम्मको १७ महिने अवधिमा जिल्ला अदालत काठमाडौँमा १ हजार ६ सय १० विवाह दर्ता भएको छ । दर्ता विवाहमध्ये सबैभन्दा बढी २ सय ५ विवाह अमेरिकीसँग भएको छ । त्यसपछि क्रमश: अस्ट्रेलिया, बेलायत, क्यानडा, चीन, कोरिया, जापान छन् । विदेश जानकै लागि युवायुवती आफूभन्दा बढी उमेरका व्यक्तिसँग पनि बिहे गर्न राजी हुने गरेको घटनाबाट पुष्टि हुन्छ ।
६ महिनाअघि काठमाडौँका २५ वर्षीया दुई युवतीले अमेरिका जाने लोभमा ५५ वर्षका अमेरिकीसँग विवाह गरेका थिए । अमेरिका नलगेपछि सम्बन्धविच्छेद गर्न खोज्दा श्रीमान् फरार भएको अधिवक्ता अञ्जना अर्याल बताउँछिन् । भन्छिन्, “अमेरिका जाने लोभमा कागजी विवाह गरेका धेरै युवायुवती ठगीमा समेत पर्ने गरेका छन् ।”
अमेरिकामा स्थायी बसोबास गरेका ग्रिनकार्ड होल्डरहरूले पनि नेपालमा आएर देखावटी विवाह गरेर उतै लैजाने गरेका छन् । कतिपयले त बढी उमेरका विदेशी नागरिकसँग मात्र होइन, अमेरिका जानकै लागि त्यहाँ थातबास बनाएर बसेका नेपालीसँग पनि विवाह गर्ने गरेका छन् । ७ कात्तिकमा नुवाकोटकी ३१ वर्षीया निरजरा तामाङले अमेरिकी ग्रिनकार्ड होल्डर ७० वर्षका छविलाल राईसँग अदालतमा दर्ता विवाह गरेको अभिलेख छ । कतिपय अवस्थामा अमेरिकामा भएका परिवारलाई भेट्न जानका लागि दूतावासले भिसा नदिए पनि देखावटी विवाह गरेर जाने गरेको अधिवक्ता शम्भु दवाडी बताउँछन् ।
आफन्त नै मध्यस्थ
धेरै युवा–युवतीको रोजाइको देश हो, अमेरिका । उनीहरूले अमेरिका पुग्नैका लागि लाखाँै रुपैयाँ डुबाएका मात्रै छैनन्, ज्यानसमेत गुमाएका छन् । तैपनि त्यहाँ जाने क्रम रोकिएको छैन ।
०७५ भदौदेखि १५ माघ ०७६ सम्म जिल्ला अदालत काठमाडौँमा दर्ता भएको विवाहको तथ्यांकबाट पनि अमेरिकालगायत देश जान युवा–युवतीले आफूभन्दा ३० वर्षसम्म उमेर अन्तरका व्यक्तिसँग विवाह गरेको देखिन्छ ।
अन्य बाटोबाट अमेरिका छिराउन समस्या भएपछि एजेन्ट र आफन्तले नै अदालतमा कागजी विवाह गराएर पठाउने गरेको अदालतका कर्मचारी सुनाउँछन् । कतिपय अवस्थामा अमेरिका बस्ने आफन्तले पनि एजेन्टमार्फत विदेशी र ग्रिनकार्ड होल्डर नेपालीसँग विवाह गराएर उतै लैजाने गरेका छन् ।
ग्रिनकार्ड भएका र अमेरिकी नागरिकता प्राप्त व्यक्तिसँग विवाह गरेको कानुनी कागजात अमेरिकी दूतावासमा पेस गरे सहजै भिसा पाइने भएकाले धेरैले अदालतमा देखावटी विवाह गर्ने गरेको अधिवक्ता शम्भु दवाडी बताउँछन् । भन्छन्, “यसरी विवाह गर्ने धेरैको उद्देश्य विदेश छिर्ने नै हुन्छ” ।
१५ माघमा जिल्ला अदालत काठमाडौँमा दर्ता विवाहका लागि इन्जु पौडेल अमेरिका गएका भुटानी शरणार्थी बिच्छेबहादुर राईसँग आएकी थिइन् । विवाहका लागि ग्रिनकार्ड होल्डर राईसँग उनको परिवारले चिनजान गराएको थियो ।
लामो समय अमेरिका बसेका नेपालीले त्यहाँका नागरिक र ग्रिनकार्ड होल्डर नेपालीसँग सम्पर्क गराउने, नेपाल बोलाउने र अदालतमा लगेर विवाहसमेत गराइदिने गरेका छन् । ती एजेन्टले अदालतमा पेस गर्नेुपर्ने सम्पूर्ण कागजातसमेत बनाइदिने गरेका छन् ।
स्रोतका अनुसार बिहे गरेबापत एक अमेरिकी नागरिक र ग्रिनकार्ड होल्डर नेपालीसँग १६ लाखदेखि २० लाख रुपैयाँसम्म लिने गरेका छन् भने केही कमिसन एजेन्टले राख्ने गरेका छन् ।
छैन कानुन
मुलुकी देवानी संहिता, २०७४ को विवाहसम्बन्धी व्यवस्थाको दफा ७७ मा नेपालीको हकमा, नेपाली नागरिकता, विवाह नभएको प्रमाणपत्र, विवाह भएको भए अन्त्य भएको वैवाहिक सम्बन्धको बेहोरा, नेपालभित्र भएको जिल्ला अदालत र नेपालबाहिर भएको हकमा नेपालको दूतावास र महावाणिज्यदूतावाससमक्ष निवेदन दिन सक्ने उल्लेख छ ।
विदेशी नागरिकको हकमा सम्बन्धित दूतावासको नो अब्जेक्सन लेटर (एनओसी), पासपोर्ट, भिसा, विवाह भएको भए अन्त्य भएको वैवाहिक सम्बन्धको बेहोरा, सम्बन्धित देशको कानुन र १५ दिन नेपालमा बसेको सिफारिस चाहिन्छ । तर यी सबै कागजात सजिलै मिलाएर अदालतबाट बिहे गराई अमेरिकालगायत देशमा पठाउन एजेन्ट सक्रिय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल बताउँछन् । “यसरी बिहे गरेर गएका व्यक्ति समस्यामा परे पनि उजुरी गर्दैनन्,” उनी भन्छन्, “यस्तो कार्य गर्ने एजेन्टमाथि गरिने कारबाहीबारे कानुनसमेत छैन ।” त्यसैको फाइदा उठाएर यस्तो गैरकानुनी धन्धा भइरहेको उनको भनाइ छ ।
जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठ विदेशी नागरिकसँग भएको विवाह स्वाभाविक होइन भन्ने थाहा हुँदाहुँदै पनि कागजी प्रक्रिया पूरा गरेकाले विवाह दर्ता गर्नु परेको स्वीकार्छन् । एक युवकले अमेरिका जानैका लागि विवाह गर्ने महिलालाई २० लाख रुपैयाँ दिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका डीएसपी नरहरि रेग्मी बताउँछन् । विदेशी नागरिकसँग विवाह गरेर समस्या वा ठगीमा परेको भनी अहिलेसम्म उजुरी नआएको उनी सुनाउँछन् ।
समाजशास्त्री पुष्प राई दर्ता विवाह तत्काल फाइदाजनक देखिए पनि यसले संकट निम्त्याउन सक्ने औँल्याउँछन् । भन्छन्, “विवाह भौतिकीकरण हुन थालेको छ । विवाह भएका मानिसले अमेरिका जानैका लागि अर्को बिहे गर्ने प्रचलन बढेकाले परिवारमा समेत यसले विखण्डन निम्त्याउन सक्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...