कोठी नं ६४
दिल्लीको जीबीरोडमा यसरी बेचिन्छन् नेपाली महिला
कोठी नं ५११ मा बेचिँदा १४ वर्षकी थिइन, नुवाकोटकी वीणा लामा । यौनधन्दामा संलग्न हुन सक्ने शारीरिक अवस्था थिएन । एक महिनासम्म कोठामा थुनेर विभिन्न प्रकारका औषधी खान दिइन्थ्यो । हेर्दा सुन्दर र आकर्षक देखिन स्तन बढाउनेदेखि जवान बनाउने औषधी खुवाइन्थ्यो । युवती बनेपछि त्यो अँध्यारो कोठीमा इज्जत लुटाउन बाध्य भइन् ।
इज्जत लुटाउन नमान्दा खाना पनि नदिई कुटपिट गर्थे । मारिदिने धम्की पनि दिन्थे । मारिनुभन्दा यौनधन्दा गर्न ठीक ठानिन्, वीणाले । त्यसपछि दिनमा १२/१५ जनासँग शरीर लुटाउनुपर्यो । कोठीमा आएका नयाँ र पुराना ग्राहकको यौन तृष्ण मेटाउनु उनको दैनिकी बन्यो । आँसु पिएर बस्नुबाहेक अरू उपाय थिएन, उनीसँग । त्यहाँबाट भाग्ने सम्भावना भने ज्यादै कम हुन्थ्यो । कोसिस असफल भए मृत्युसमेत हुन सक्थ्यो । वीणाले भाग्नेबारे सोच्न पनि सकिनन् ।
निम्नमध्यम वर्गकी वीणा काठमाडौँको एक होटलमा भाँडा माझ्ने काम गर्थिन् । गाउँकै नातामा काकी पर्ने कृष्णमाया लामा र काका शेरबहादुरले घरमा लगेर आफैँले पढाइदिने भनी होटलको काम छुटाइदिए । पढ्न पाउने भएपछि वीणा पनि उनीहरूसँग जान राजी भइन् । घर जाने भनी बसमा चढाएर भारतको दिल्ली नजिकै मधुवन पुर्याए । लठ्ठाउने औषधी खुवाएकाले बाटोमा के भयो, उनले पत्तो पाइनन् । भोलिपल्ट काकी र काकाले कोठी साहूनी हेमा र लक्ष्मीलाई भारु १० हजारमा वीणालाई बेचेर घर फर्किएका थिए ।
उनीहरूले एक महिना आफूसँगै राखेर कोठी नं ५११ मा बेचेका थिए । त्यहाँ उनलाई दुई वर्ष राखेर यौनधन्दा गराएपछि थप दुइटा कोठी नं ६४ र ४० मा बेचिदिए । कोठीमा हुँदा भोगेका कष्ट निकै पीडादायी भएको उनी सुनाउँछिन् । “बिरामी हँुदासम्म गिजोल्न छाडेनन्, सक्दिनँ भन्दा उल्टै कुटाइ खानुपर्थ्यो”, वीणा भन्छिन्, “आफ्ना ले नै खुसी लुटेपछि जति पीडा भए पनि आँसु पिएर बस्नुबाहेक अरू विकल्प थिएन ।”
उनलाई त्यहाँबाट निकालेर कोठी नं ६४ मा दुई वर्षका लागि बेचिएको थियो । “कोठीमा आएका ग्राहकले बजारमा वस्तु छानेझैँ युवती छान्थे,” भन्छिन्, “शरीर बेच्न तयार हुनुपर्थ्यो ।” ग्राहकले एक पटकको ३ सय ५० भारु कोठी साहूनीलाई बुझाउँछन् ।
कोठी नं ४० मा पुगेपछि भने उनले त्यो नर्कबाट उन्मुक्ति पाइन् । कारण, ग्राहक नै उनलाई नारकीय जीवनबाट छुटाउने ‘भगवान्’ बनेर आए । कोठीबाट निकालेर फिर्ता ल्याउँदा नेपालगन्ज सीमा नाकाबाट गत २० कात्तिकमा माइती नेपाले उनको उद्धार गर्यो । मानव बेचबिखन अनुसन्धान ब्युरोमा उनले काकाकाकीविरुद्ध उजुरी गरिन् । २७ कात्तिकमा काकी ललितपुरको चापागाउँबाट पक्राउ परिन् भने काका फरार छन् ।
उनीजस्तै पीडा भोगेर कोठीबाट फर्किइन्, १५ वर्षीया शुभेच्छा तामाङ । १२ वर्षको उमेरमै बेचिएकी शुभेच्छालाई पनि विभिन्न औषधी र सिरिन्ज प्रयोग गरी युवती बनाएर यौनधन्दामा लगाइएको थियो । टाइफाइड भएर गल्दा पनि ग्राहकलाई शरीर सुम्पिनुपर्थ्यो । तर उनको शरीर बेचेर पैसा कमाउने कोठी साहूनीले उपचार गरिनन् । उल्टै घर फिर्ता पठाइदिइन् ।
तीन वर्ष यौनधन्दा गर्न बाध्य भइन्, शुभेच्छा । “आफ्नो शरीर अरूलाई सुम्पेर पाउने पैसा पनि आफ्नो हुँदैनथ्यो । प्रहरी छापा हान्न आउँथे । किन यस्तो काममा लागिस् भन्दै थर्काउँथे र कुट्थे”, भन्छिन्, “डरले हामीले सत्य बोल्न पाउँदैनथ्यौँ । आफ्नै रहरले आएकी हँु भनेर झुटो बोल्नुपर्थ्यो । त्यसबेला निकै पीडाबोध हुन्थ्यो ।”
बिहे गर्ने भनी झुक्याएर दिल्ली पुर्याएका प्रेमीबाट गत ३ मंसिरमा कोठी नं ५९ मा बेचिएकी थिइन्, नुवाकोटकी निया तामाङ । मोबाइलमा कुराकानी गर्दा नजिकिएका प्रेमी उनलाई भेट्न नुवाकोट पुगेका थिए ।
दुई पटककै भेटमा काठमाडौँ घुम्न जाने र बिहे गर्ने सपना देखाए, ती युवकले । झापा घर बताएका ती युवकको बोलीमा विश्वास गरिन्, नियाले । थप बुझ्न चाहिनन् । केही दिनपछि ती युवक भेट्न नुवाकोटबाट काठमाडौँ आइन् । उनीहरू बसपार्ककै होटलमा बसे । युवकले बिहे गर्छु भनी यौनसम्बन्ध राखे । युवकसँगको सपनामा अल्झिएकी नियाले घरमा बिहे गरिसकेकाले नफर्किने जानकारी गराइन् । युवकले झापा घर जाने भन्दै लठ्ठाउने औषधी खुवाएर दिल्ली पुर्याए । दिल्ली पुगेपछि युवकले साथीको कोठामा पुर्याए । दुवै जनाले जागिर खाएपछि बिहे गर्नुपर्छ भनेर आश्वासन दिए ।
भोलिपल्ट कोठीमा लगेर साहूनीलाई दिदी भन्दै ती युवकले चिनाए । दिदीसँगै काम सिक्न जाऊ भनी पठाए । एकछिनपछि ती युवक ‘तिमी बस्दै गर, म बेलुका आउँछु’ भनेर गए तर फर्किएनन् । शुभेच्छा भन्छिन्, “बेचिएको थाहा पाएपछि धेरै रोएँ । मेरा आँसु देख्ने कोही थिएनन् ।”
कोठीमा उनले शरीर बेच्नुपर्यो । “आफ्नै प्रेमीले यस्तो गर्ला भनेर सोचेकी थिइनँ,” भन्छिन्, “अहिले सम्झिँदा पनि रुन मन लाग्छ ।” दिनमा १५ जनासम्म र रातमा तीन जना ग्राहकलाई शरीर सुम्पिनु परेको उनले नमीठो विगत सुनाइन् । बेचिएको ८ महिनापछि माइती नेपालले कोठीबाटै उनको उद्धार गरेको थियो । उनलाई बेच्ने युवक भने फरार छन् ।
माथिका प्रस्तुत यी घटना त उदाहरण मात्रै हुन् । दिल्लीस्थित जीबीरोडको कोठीमा बेचिएका महिलाको नाम, थर र घर फरक भए पनि भोग्ने पीडा उस्तै हो । पीडित महिलाकै भनाइमा शरीर बेचाउन नरक अवस्थामा पुर्याउने आफन्त र छिमेकी नै हुन् ।
अमेरिकाले तयार पारेको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन २०१८ अनुसार नेपालबाट बेचिने महिला कोलकाता, मुम्बई, गुजरात, हैदरावादका अलावा नेपाल–भारत सीमा क्षेत्रकै विभिन्न सहरका होटल तथा फ्ल्याटमा पनि बेचिने गरेका छन् । नेपाली महिला कोठीमा मात्रै होइन, पछिल्लो समय फ्ल्याटमा बेचिनेको संख्या पनि बढ्दै गएको छ । तर यसको तथ्यांक कसैसँग छैन ।
दुई वर्षअघि नेपालगन्जका सुनील नेपाली भनिने ‘सुनील थापा’ ले फेसबुके प्रेमी १८ वर्षीया सुनमाया चौधरीलाई दिल्ली पुर्याएर रमेश नेपालीलाई बेचिदिए । रमेशले फ्ल्याट वा अन्य कुनै फार्महाउसमा राखेर यौनधन्दा गराए । सुनमायासँगै रमेशको फ्ल्याटमा अन्य ७ जना किशोरी तथा युवती पनि थिए । फ्ल्याटमा १३ वर्षीया एक बालिकासमेत थिइन् ।
रातको मूल्य बढी
सुनीलले बेचेर गएपछि रमेशले सुनमायालाई ‘फ्रेस माल’ भन्दै ७० वर्षका वृद्धदेखि सय केजी तौलका व्यक्तिसँग पठाउन थाले । रमेशले सुनमायालाई खाने, बस्ने र लुगा मात्रै दिएका थिए । उनले सुनमाया र अन्य युवतीलाई एक महिनासम्म आफ्नै फ्ल्याटमा ग्राहक बोलाउने, ग्राहककै गाडी वा आफ्नै गाडीमा विभिन्न व्यक्तिको घर वा फार्महाउसमा लिएर जाने गरेका थिए ।
त्यसबापत रमेशले प्रतिग्राहक ३० देखि ३५ हजार भारु लिने गरेको दिल्लीस्थित ‘आफन्त नेपाल’ का उद्धार अधिकृत नवीन जोशी बताउँछन् ।
सुनमायाका अनुसार रमेशको फ्ल्याट दिल्लीकै आनन्द बिहारमा थियो । सुनमायालाई त्यही फ्ल्याटमा राखिएको थियो । तर १५/१५ दिनमा रमेशले कोठा सार्ने गर्थे । सुनमायालाई त्यो कोठाबाट बाहिर पठाउने बेला लठ्याउनका लागि कि सुई लगाइन्थ्यो । त्यसपछि उनलाई कहाँ लगिँदै छ भन्नेसमेत थाहा हुँदैनथ्यो ।
युवतीलाई आफूलाई लैजाने स्थलबारे र शारीरिक पीडा नहोस् भनेरै बेहोस बनाएर औषधी प्रयोग गरी यौनकार्यमा लगाउने गरेको उद्धार अधिकृत जोशी बताउँछन् । त्यसको केही समयपछि सुनमायालाई रमेशले कोठी नं ६४ मा बेचेका थिए । आफन्त नेपालले नै उनलाई कोठीबाट उद्धार गरेको थियो ।
मानब बेचबिखन अनुसन्धान ब्युरोको सम्र्पकमा आएकी काठमाडौँकी २० वर्षीया युवतीलाई एक वर्षअघि दिल्लीमा भेटिएका रमेश खत्रीले कल सेन्टरमा काम लगाइदिन्छु भनी आफ्नै फ्ल्याटमा राखेर यौनकार्य गराए ।
टाउकोको उपचार गराउन गएकी ती युवतीलाई खत्रीले काम लगाइदिन्छु भनी फ्ल्याटमा ल्याएर बेहोस बनाउने औषधी खुवाएर अश्लील भिडियोसमेत बनाएका थिए । त्यही भिडियो देखाएर ब्ल्याकमेलिङ गरी ती युवतीलाई यौनकार्यमा लाग्न बाध्य बनाएको ब्युरोका डीएसपी राजकुमार सिलवाल बताउँछन् । सिलवालका अनुसार ती युवतीलाई तीन वर्षसम्म कोठामा राखेर र बाहिर ग्राहकसँग पठाएर यौनकार्य गराएका थिए । दिनमा ६ देखि १० जना ग्राहकसँग पठाउने गरेको पीडित युवती बताउँछिन् । एक ग्राहकसँग रातको १० देखि ३० हजार भारुसम्म लिने गरेको डीएसपी सिलवाल बताउँछन् । फल्याटमा रमेशले उनीसँगै २५ जना नेपाली युवतीलाई यौनकार्य गराएका थिए । भन्छन्, “अहिले उनीहरू सम्पर्कमा छैनन्, खोजी भइरहेको छ ।” दलाल रमेश मानव बेचबिखनको कसुरमा कारागारमा छन् ।
डीएसी सिलवालका अनुसार दलालहरूले विभिन्न प्रलोभन दिएर महिला तथा किशोरीलाई सीमा कटाउने र प्रहरी नजर नपर्ने सेल्टरमा लुकाउने गरेका छन् । वेबसाइट, मोबाइल र अनलाइन मनी ट्रान्सफरजस्ता एप्लिकेसन एप्स प्रयोग गरी एकै पटक धेरैसँग डिल गरेर यौनकार्यमा लगाउने गरेको सिलवालको भनाइ छ ।
मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन, ०७६ अनुसार भारतमा बेचिने धेरै युवती दलालको चंगुलमा पर्ने गरेका छन् । दलालहरूले फोनबाट युवतीको मन जित्ने, भेट्न बोलाउने, जबर्जस्ती यौनसम्बन्ध राख्ने, बिहेको नाटक गर्ने, घुम्न भनेर भारत पुर्याउने र कोठीमा बेच्ने गर्छन् । सामाजिक सञ्जालबाट चिनजान भएका व्यक्तिलाई विश्वास गर्दा पनि युवती बेचिने गरेको प्रतिवेदनमा भनिएको छ ।
मानव बेचबिखनमा काम गर्ने संस्थाहरूको भनाइमा ०४७ सालपछि बाह्य मुलुक जाने नेपालीको संख्या पनि बढ्न थाल्यो । नेपालका गाउँगाउँमा कामको खोजीमा रहेका महिला तथा युवती भारतको कोठीसम्म पुर्याइन थालियो ।
उद्धार गर्नै मुस्किल
भारतका कोठीमा छापा मारेर पनि बेचिएका युवतीलाई सहजै फर्काउन सक्ने अवस्था हुँदैन । कतिपय युवती कोठी सञ्चालकको धम्कीका कारण त्यहाँबाट निस्कन मान्दैनन् ।
कोठीमा छापा गएको सूचना पाए च्यानल गेटभित्र थुनेर र सुरुङभित्र लुकाएर राख्ने गरेको अनुभव दिल्लीस्थित आफन्त नेपालका उद्धार अधिकृत नवीन जोशी सुनाउँछन् । कोठीमा यौनकार्य गरेको सबैले थाहा पाउने डरले पनि युवतीहरू उद्धार हुन मान्दैनन् । उनी भन्छन्, “उद्धार भएका युवतीले पनि डर, धम्की र इज्जतका कारण प्रहरीकहाँ दलालविरुद्ध उजुरी गदैनन् । अधिकांशका आफन्त पनि दलाल हुन्छन् ।”
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६५ महिलाको उद्धार गरिए पनि एक जनाले मात्रै दलालविरुद्ध उजुरी गरेको जोशी सुनाउँछन् । सोही कारण पनि कोठीमा बेचिएका कम मात्रै घटना सार्वजनिक हुने गरेको उनको बुझाइ छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार उजुरी गरेका पीडितलाई पनि पीडकबारे धेरै जानकारी नहुनु र प्रमाण पुर्याउन नसक्दा पीडक अदालबाट उम्किने गरेका छन् । पीडक पक्षको धाकधम्की र प्रलोभनका कारण पीडित अदालतमा उपस्थित नहुँदा मुद्दा कमजोर बन्ने गरेको छ ।
मानव बेचबिखन अन्तरदेशीय अपराध भइसकेकाले विदेशमा हुने घटना अनुसन्धान र प्रमाण संकलनको काम असहज हुने थपलियाको बुझाइ छ ।
ब्युरोको तथ्यांकअनुसार नेपालभर ०७४/७५ मा ३ सय ५ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । त्यस्तै, ०७५/७६ मा २ सय ५८ वटा मुद्दा दर्ता भए । जबकि यस्तो संख्या ०७१/७२ मा १ सय ८१, ०७२/७३ मा २ सय १२ र ०७३/७४ मा २ सय २७ थियो ।
छैन तथ्यांक
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, ०७६ मा भारतमा मात्रै १ करोड ८३ लाख व्यक्ति आधुनिक दासताको सिकार भएका छन् । त्यमध्ये सबैभन्दा बढी यौन शोषणबाट पीडित छन् ।
भारतको कोठीमा कति नेपाली महिला छन् भन्ने तथ्यांक सरकारी र गैरसरकारी सस्थासँग छैन । ०७२ वैशाखको भूकम्पपछि मात्र कोलकाता, मुम्बई र दिल्लीका कोठीमा ३० हजारजति नेपाली महिला बेचिएको अनुमान छ ।
सन् २०१९ मा भारतीय प्रहरीले विभिन्न कोठी निरीक्षण गर्दा १ हजार ५ सय महिला रहेका, तीमध्ये ६ सय ६० जना पश्चिम बंगालका, २ सय २५ कर्णाटकका र २ सय १५ जना नेपालका भेटिएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आव ०७१/७२ देखि ०७५/७६ सम्म १ हजार ८ सय ७० जना नेपाली बेचबिखनमा परेका छन् ।
गत वर्षको माइती नेपालको तथ्यांकअनुसार २ हजार ४ सय २ जना महिला सीमावर्ती नाकाबाट उद्धार भएका छन् । ३ हजार ९ सय ८४ महिला तथा बालबालिका हराएको भनी परेको उजुरीमध्ये १ हजार ५ सय ३५ जना भेटिएका छन् ।
माइती नेपालका अध्यक्ष विश्व खड्का भारतमा सञ्चालित कोठीबाट तथ्यांक संकलन गर्न नसकिने बताउँछन् । भन्छन्, “संख्या खोज्नुभन्दा पनि महिला बेचबिखन नियन्त्रण गर्नतिर केन्द्रित छौँ ।”
(पीडितहरूको नाम परिवर्तन गरिएको छ ।)
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...