‘त्यसै मरिँदैन आरके, मरिँदैन, हामी मरे देश कसले बनाउँछ’
बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला खराब हुन्छ । प्रत्यारोपण भने मुस्किलले दुई सयको मात्र ।
मिर्गौला प्रत्यारोपणमा कहलिएका चिकित्सक हुन्, प्राडा प्रेमराज ज्ञवाली । १२ वर्षयता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा प्रत्यारोपण गरिएका ६ सय १३ मध्ये झन्डै ५ सय शल्यक्रियामा उनी संलग्न छन् । उनका लागि ६ सय १४ औँ प्रत्यारोपण विशेष रह्यो, जो प्रधानमन्त्री केपी ओलीको थियो ।
प्रधानमन्त्री ओली राज्यकोषबाट सहायता लिएर विदेशमा उपचार गराउने नेताको अग्रपंक्तिमै पर्छन् । एक दशकयता स्वास्थ्योपचारका लागि उनी कम्तीमा नौ पटक विदेशका अस्पताल पुगेका छन् । जटिल मानिएको दोस्रो मिर्गौला प्रत्यारोपणका लागि भने स्वदेशकै सरकारी अस्पताल रोजेर ओलीले नेपाली स्वास्थ्य सेवा पनि अन्तर्राष्ट्रिय स्तरमा पुगेको उजागर गराएका छन् ।
“डाक्टरका लागि सबै बिरामी बराबरै हुन् । प्रत्यारोपणको विधि पनि एउटै हो,” ज्ञवाली भन्छन्, “तैपनि सरकार प्रमुखको उपचार गर्न पाउँदा छुट्टै हौसला बढ्दो रहेछ । यसले नेपाली चिकित्सकमा ऊर्जा थपिएको छ ।”
ज्ञवालीको नेतृत्वमा १६ सदस्यीय चिकित्सक टोलीले झन्डै पाँच घन्टा लगाएर २१ फागुनमा ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालले २४ साउन ०६५ देखि मिर्गौला प्रत्यारोपण थालेको थियो । तर चर्चा भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलतापछि बल्ल हुँदै छ । प्रत्यारोपणमा ९५ देखि ९७ प्रतिशतसम्म सफलतालाई अन्तर्राष्ट्रिय मापदण्ड मानिन्छ । शिक्षण अस्पतालमा भने प्रत्यारोपण सफलताको दर ९८ दशमलव ७ प्रतिशत रहेको ज्ञवाली बताउँछन् ।
गत साउनदेखि मिर्गौलाको समस्याले सताएपछि ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल पुगेर प्लाज्माफेरेसिस गराए । तैपनि प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि ओलीले १३ कात्तिकदेखि नियमित डायलेसिस गराउँदै आए । डायलेसिस गर्न ताजा रगत चाहिन्थ्यो । एउटै रक्त समूह ‘ओ नेगेटिभ’ भएकाले भान्जी समीक्षा संग्रौलाले ओलीका लागि रक्तदान गर्न थालिन् । उनै ओलीलाई मिर्गौलामार्फत् नयाँ जीवन दिएकी हुन् ।
सुरुमा प्रधानमन्त्रीको रोजाइ ग्रान्डी अस्पताल थियो, जहाँ उनकी निजी चिकित्सक डा दिव्यासिंह शाह कार्यरत छन् । सातामा तीन पटकसम्म डायलेसिस गर्नुपर्ने भएपछि ओली बिरलै मात्र बालुवाटारबाहिर निस्कन्थे । भित्रभित्रै उनको मिर्गौला प्रत्यारोपणको तयारी हुँदै थियो । १० मंसिरमा एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि गर्नु परेको शल्यक्रियाले भने ओलीको मिर्गौला प्रत्यारोपणलाई पर धकेलिदियो । त्यतिबेला पनि उनको शल्यक्रिया शिक्षण अस्पतालमै गरिएको थियो ।
मिर्गौला प्रत्यारोपणमा नेपाली सरकारी अस्पतालको अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि राम्रो नतिजा बुझेपछि प्रधानमन्त्री ओलीले स्वदेशी सरकारी अस्पताल रोजेको बालुवाटार स्रोत बताउँछ । त्यसमा प्राध्यापक डा अरुण सायमीको पनि भूमिका छ ।
सायमी २५ वर्षदेखि ओली नजिकका चिकित्सक हुन् । उनी ०५१ सालमा तत्कालीन एमालेको अल्पमत सरकारको क्याबिनेट चिकित्सक थिए । ओलीलाई शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गराउन उनले सुझाएका हुन् । “प्रधानमन्त्री ओलीले स्वदेशमै प्रत्यारोपण गराउँदा जनस्तरसम्मै यसको राम्रो सन्देश गएको छ,” डा सायमी भन्छन्, “सरकारी स्वास्थ्य सेवाप्रति विश्वास बढाउन यसले मद्दत पुगेको छ ।”
प्रत्यारोपणअघिका लम्बेतान प्रक्रिया र परीक्षणका कारण पनि ओलीलाई स्वदेशमै प्रत्यारोपण गराउन सजिलो भयो । बितेका तीन महिना उनी नियमित डायलेसिससँगै प्रत्यारोपणको तयारी गर्दै थिए । तिनै तयारीका लागि विदेश जानु परेको भए कार्यकारी भूमिकाका ओलीका लागि सहज हुने थिएन ।
पार्टीभित्र आफूविरुद्ध बढ्दै गएको असन्तुष्टिका बीच ओली कार्यवाहक भूमिकासमेत कसैलाई नदिई प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए । राज्यकोषबाट विदेशमा उपचार गराएको भन्दै आलोचना बेहोर्दै आएका ओलीका लागि स्वदेशमै प्रत्यारोपण गराउँदा प्रशंसा पाउने मौकासमेत जुर्यो ।
प्रधानमन्त्री ओली रोगसँग जुध्न थालेको झापा विद्रोहका क्रममा जेल परेबाटै हो । त्यतिबेला उनलाई ग्यास्ट्राइटिस बिग्रेर अल्सर भयो । आन्द्रामा घाउ भएपछि नराम्ररी थलिए । अल्सर सन्चो नहुँदै क्षयरोगले सतायो । गोलघरमा सँगै बसेका उनका समकालीन नेता राधाकृष्ण मैनाली भन्छन्, “जेलमा निकै कष्ट बेहोर्नुपर्यो । पौष्टिक खाना चाहिने बेला उसिना चामलको भरमा बाँच्नुपर्यो । त्यसले पनि ओलीजीलाई एकपछि अर्को रोग लाग्दै गयो ।”
अल्सरपछि टीबी भएपछि उनका धेरै राजनीतिक सहकर्मीले आशा मारिसकेका थिए । दिसापिसाब गराउनसमेत ओलीलाई डोर्याएर लैजानुपर्थ्यो। त्यतिबेला पनि ओलीको मनोबल भने उच्च रहेको मैनाली सम्झिन्छन् । ‘त्यसै मरिँदैन आरके, मरिँदैन । हामी मरे देश कसले बनाउँछ’ भन्दै ओलीले चिन्तित सहकर्मीलाई ढाडस दिने गरेको उनी सुनाउँछन् । उनीभन्दा हट्टाकट्टा बन्दीहरू भेटला राजवंशी र छविलाल राजवंशीको टीबी लागेर जेलमै निधन भयो । ओलीले भने रोगलाई जित्दै आए ।
ओलीलाई ०५१/५२ पछि उच्च रक्तचापको समस्या देखियो । रक्तचाप नियन्त्रणमा हेलचेक्र्याइँको असर ०५६ पछि मिर्गौलामा पर्यो । रोग बढ्दै गएर ०६३ सम्म आइपुग्दा उनका दुवै मिर्गौलाले काम गर्न छाडे । भारतको अपोलो अस्पतालमा ०६४ साउनमा पहिलोपल्ट मिर्गौला प्रत्यारोपणपछि झन्डै एक दशक उनको स्वास्थ्यस्थिति ठीकै रह्यो । तर ०७० को दोस्रो संविधानसभा निर्वाचनको धपेडीबाट बिग्रेको उनको स्वास्थ्य फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा समस्या, हातखुट्टामा फंगस संक्रमण र मस्तिष्क ज्वरो हुँदै प्रत्यारोपित मिर्गौलाले काम नगर्ने स्थितिसम्म आइपुग्यो । डा ज्ञवाली भन्छन्, “नयाँ मिर्गौलाले काम गर्न थालेपछि प्रधानमन्त्रीको स्वास्थ्य ठीक हुँदै छ । ढिलोमा एक साताभित्र डिस्चार्ज हुनु हुनेछ ।”
प्रधानमन्त्रीलाई जस्तो सर्वसाधारणका लागि भने मिर्गौला प्रत्यारोपण सहज छैन । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार बर्सेनि झन्डै तीन हजार व्यक्तिको मिर्गौला खराब हुन्छ । प्रत्यारोपण भने मुस्किलले दुई सयको हुने गरेको छ । त्यसैले उपचार नपाएर थलिने र मृत्युवरण गर्नुपर्ने मिर्गौलापीडितको संख्या उल्लेख्य छ । यस्तोमा मिर्गौलापीडित प्रधानमन्त्री ओलीबाट बिरामीले धेरै अपेक्षा गरेका छन् ।
मानव अंग प्रत्यारोपण ऐन, ०५५ मा नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने व्यवस्था थियो । ओली पहिलोपल्ट प्रधानमन्त्री भएका बेला ०७२ मा संशोधन गरी दाताको दायरा बढाइयो । तीन पुस्ताभित्रका नातेदार, धर्मपुत्रपुत्री, मित छोराछोरीले समेत मिर्गौला दान गर्न पाउने व्यवस्था अहिले छ । प्रत्यारोपणमा असम्बन्धित चिकित्सक, अस्पताल प्रशासक, जिल्ला प्रशासन प्रतिनिधि र कानुनी सल्लाहकार रहेको प्रत्यारोपण स्वीकृति समितिले निर्णय गरेपछि मात्र मिर्गौला प्रत्यारोपण गर्न पाइन्छ ।
अहिले प्रत्यारोपणका लागि भर्ना हुने बिरामीलाई सरकारले ४ लाख र अस्पतालले साढे १ लाख अनुदान सहयोग गर्छ । उक्त अनुदानबाट जटिल समस्या नआए विपन्न वर्गको मिर्गौला प्रत्यारोपणका लागि खर्च पुग्ने अस्पतालको दाबी छ । ऐनले ‘ब्रेन डेथ’ बिरामीबाट मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको छ । केन्द्रले तीन जना त्यस्ता बिरामीबाट ६ जनामा मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरेको थियो ।
सरकारीमा शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र वीर अस्पताल तथा निजीमा ग्रान्डी, निदान, सुमेरु र भरतपुर मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । वीर अस्पतालमा ९९ र केन्द्रमा ६ सय ९२ मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिसकेका डा श्रेष्ठ भन्छन्, “मिर्गौला बिग्रिने संख्याको तुलनामा प्रत्यारोपण धेरै कम छ । बिरामीले सहज प्रत्यारोपणको सुविधा दिलाउन सरकारले सेवा विस्तार गर्नुपर्ने खाँचो छ ।” प्रधानमन्त्री आफैँ मिर्गौलापीडित भएकाले हजारौँ बिरामीको हितमा सेवा विस्तार हुनेमा आशावादी रहेको उनी बताउँछन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...