अझै नचेत्ने हामी !
कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको पहिलो दिन राजधानीमा जे देखियो

कोभिड–१९ ले सारा विश्व नै आक्रान्त छ । अहिलेसम्म १ सय ९६ देशमा फैलिइसकेको कोरोना भाइरसले १७ हजार १ सय ४८ जनाको ज्यान लिइसकेको छ । नेपालमा संक्रमितको भयावह स्थिति नभए पनि एक १९ वर्षीया विद्यार्थी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिइसकेका छन् ।
फ्रान्सबाट कतारको ट्रान्जिट हुँदै नेपाल प्रवेश गरेकी ती किशोरी आफूसँगै सिटमा बसेको भियतनामको साथी कोरोना संक्रमित पुष्टि भएपछि शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पताल टेकु पुगेकी थिइन् । तर तिनीसँगको हवाई यात्रामा को–को थिए भनेर सरकारले पछ्याउन जरुरी ठानेको छैन । तिनीसँग सम्पर्कमा आएका अन्यको अवस्थाबारे पनि सरकारले कुनै जानकारी दिएको छैन ।
भारतमा गायिका कनिका कपुरले राम्ररी कोरोना भाइरस परीक्षण नगर्दा राष्ट्रपतिदेखि थुप्रै राजनीतिज्ञ तथा बलिउड कलाकार अहिले क्वारेन्टाइनमा बसेको स्थिति यहाँनेर स्मरणीय छ । मंगलबारबाट नेपाल लकडाउन छ । लकडाउनको अर्थ अत्यावश्यक कामबाहेक घरबाट बाहिर निक्लन नपाउने अवस्था हो । विडम्बना, नेपालीले सरकारले घोषणा गरेको लकडाउनलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।

मध्यबानेश्वरकी ५६ वर्षीया जमुनादेवी अधिकारी घरमै बस्छिन् । ग्यास सकिएकाले भान्जा साँझ–बिहान उनको घरमा खाना खान आउँछन् । ती भान्जाबाबु न मास्क लगाउँछन्, न त बाहिरबाट आएपछि साबुनपानीले हात नै धुन्छन् । भन्छिन्, "भान्जाको यस्तो बानी देखेर मैले त गाली गरिदिएँ । यस्तो लापरबाहीले उनी मात्र होइन, हामी पनि असुरक्षित हुन्छौँ ।"
जमुनादेवीको घरमा ७९ वर्षीय ससुरा पनि छन् जो बिरामी परिरहन्छन् । रेडियोबाट एक साता घरबाहिर निक्लिन पाइँदैन भन्ने सुनेपछि उनले एक साताका लागि चाहिने तरकारी अघिल्लो दिन नै किनिसकेकी थिइन् ।
लकडाउनलाई जमुनादेवीले जस्तै गम्भीरतापूर्वक लिने थुप्रै नेपाली घरभित्रै बसेका छन् भने कतिले यसलाई पूरै बेवास्ता गरेको पनि देखिएको छ ।
यस्तो लापरबाहीलाई इंगित गरेर सामाजिक सञ्जालमा सचेतनासहितका कुरा अपलोड भइरहेका छन् । कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले लेखेका छन्, 'तपाईँले मानिसहरूले भनेको सुन्नुभएको होला, यो सत्य होइन भनेर । तर यो सत्य हो । तपाईंले मानिसहरूले भनेको सुन्नुभएको होला यो नराम्रो होइन भनेर । तर यो नराम्रो हो । तपाईंले मानिसहरूले भनेको सुन्नुभएको होला, यसले सखाप पार्दैन । तर यसले पार्छ । म डराउँछु, ह्यासट्याग कोभिड—१९ । तपाईं आफ्नो भागको काम गर्नुस् । घरमा बस्नुस् । सुरक्षित रहनुस् ।'
यस्तै, फेसबुकमा व्यंग्यात्मक पारामा पदम लेख्छन्, 'लकडाउन भनेको बिरालोजस्तो चुलो कुरेर घरभित्रै बस्नु भनेको हो । कुकुरजस्तो लखरलखर डुल्नु भनेको होइन । सावधान !'

सामना मिश्र लेख्छिन्, 'एक महिना अघि पाँच, छ जना संक्रमित भेटिँदा, इटालियनहरूले सरकारलाई अवज्ञा गरेर जुन गल्ती गरे, आज नेपाल त्यही गर्दैछ । विश्वका उत्कृष्ट स्वास्थ्य सुविधा भएका देशहरूमध्ये एक हो, इटाली ।'
काठमाडौँमा मंगलबार गरिएको अवलोकनमा अधिकांश मानिस मास्क नलगाई हिँडिरहेका थिए । त्यस्तै, हिँड्दा पनि विश्व स्वास्थ्य संगठनले भनेजस्तो भौतिक दूरी १.५ मिटर राखेको देखिएन । पुरानो बानेश्वर चोकमा विद्युत प्राधिकरणका कर्मचारी भौतिक दूरी त परै जाओस्, सहजै हात मिलाउने र समाउने गरिरहेका थिए । चोकमा भीडभाड गरी बसिरहँदा पनि प्रहरीले चासो दिएको देखिएन ।
उसो त सरकारी नियम उल्लंघन गरेमा कानुनी कारबाही पनि हुन सक्छ । संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा ९२० बमोजिम जारी उक्त आदेशको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । स्थानीय प्रशासन ऐन, २०२८ पनि आकर्षित हुन सक्छ ।
संक्रामक रोग ऐन, २०२० मा कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारी निर्देशन अवज्ञा गरे एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना हुने उल्लेख छ । ऐनको दफा ३ मा उल्लेख गरिएको छ, 'यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।'